१. विषय प्रवेश
नेपाली साहित्यमा समालोचना विधा पनि अब निकै विकसित भएका छन् । यसका परिधि ठुलो बन्दै गएको पाइन्छ । यसलाई धेरै किसिम र नामले लेखिन्छ । जस्तै समालोचना, समीक्षा, विवेचना, परख, विश्लेषण, अनुशीलन, परिशीलन, पठन, विमर्श, पाठक प्रतिक्रिया, निरूपण आदि रहेका छन् । अझ अब त अध्ययन, निपठन, विपठन, निसमालोचना आदि जस्ता नवीन पद्धति पनि देखा परेका छन् । यद्यपि यी शब्दहरूका आ-आफ्नै अर्थ, अवधारणा र सीमा रहेका छन् । यद्यपि समग्रमा सबैलाई सालाखाला रूपमा समालोचना नै भन्ने गरिन्छ । यसका आफ्नै शक्ति र सीमा हुन्छन् ।
यसका तत्त्वहरू भावग्रहण, सूक्ष्म अन्तर्दृष्टि, बहुआयामिकता, सापेक्ष चिन्तन, सम्यक् दृष्टि, निष्पक्ष र निरपेक्षता आदि हुन् । यो सिर्जनात्मक साहित्यको अनुवर्ती भए पनि यसले कृतिलाई बोधगम्य एवम् रसास्वादन गराउन सहयोग गर्नका साथै कृति र कृतिकारको मूल्याङ्कन र विश्लेषण गर्दछ । पद्धतिगत आधारमा समालोचनाको वर्गीकरण नीतिवादी, समाजशास्त्रीय, जीवनीपरक, प्रभाववादी, तुलनात्मक, प्रगतिवादी, मनोविश्लेषणवादी, शैलीवैज्ञानिक, भाषाशास्त्रीय, संरचनावादी, रूपवादी, मिथकीय, सङ्केतपरक आदिका रूपमा गरिएको छ । समालोचना कुनै आधार, रीति, ढाँचा, प्रणाली, विधि, प्रक्रिया, तरिका आदिका परिप्रेक्ष्यमा गरिनु पद्धति हो ।
० ० ० ०
२. डा. इन्द्रबहादुर छेत्री
नेपाली समालोचनामा अब डा. इन्द्रबहादुर छेत्रीको नामले पनि स्थान पाएको छ । इन्द्रबहादुर छेत्रीको जन्म १५ जून, १९५९ मा पैंयूँ बस्ती, कालिम्पोङमा भएको हो । उनका बाबुआमाको नाम तुलाराम छेत्री र धनमाया छेत्री हो । उनले सन् १९८० मा माध्यमिक परीक्षा, सन् १९८२ मा उच्च माध्यमिक, १९८५ मा नेपाली अनर्स र १९८८ मा नेपाली विषयमा स्नातकोत्तर अध्ययन समाप्त गरेका हुन् । त्यसपछि उनले दार्जिलिङका नेपाली कथाहरूका प्रवृत्तिगत विश्लेषण तथा मूल्याङ्कन विषयमा २००३ मा उत्तर बङ्गाल विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेका हुन् ।
उनले एक वर्ष जति दलपचन्द जुनियर हाइस्कुलमा शिक्षण कार्य गरेपछि सन् १९८७ देखि भने पागाङ गुम्बा उच्चतर माध्यमिक विद्यालयमा नेपाली भाषा र साहित्यको शिक्षण कार्य गरी २०१९ मा सेवानिवृत्त भएका हुन् । सेवानिवृत्तपछि उनी साहित्य अध्ययन, चर्चा, चर्या र लेखनमा झन् सक्रिय भएर लागिपरेका छन् । उनी नेपाली साहित्यमा उनी एक समालोचक र कथाकारका रूपमा परिचित छन् । उनका केही समीक्षा, निबन्ध र कथाहरू नेपाल भारततिरका केही पत्रिकाहरूमा प्रकाशित देखिन्छन् ।
उनी पत्रिकाका सम्पादक पनि हुन् । यद्यपि उनी समालोचना परम्परामा एकजना सक्रिय समालोचकका रूपमा देखिन्छन् । उनले चासो पत्रिकाको सम्पादन गरेका छन् भने उनको समालोचनात्मक लेखसङ्ग्रह ‘केही साहित्यिक समीक्षा’ (२००९), ‘रामकृष्ण शर्मा रचना संचयन’ (सम्पादन, २०२२), भाइचन्द प्रधान रचना सञ्चयन (२०२३) ‘केही कृति : दृष्टि’ (२०२३) प्रकाशित देखिन्छन् । उनी नेपाली प्रकाशन परिषद्, नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङमा सक्रिय रूपमा संलग्न छन् ।
उनको ‘केही साहित्यिक समीक्षा’ मा जम्मा बाह्रवटा लेखहरू समावेश छन् । यसमा ‘नेपाली कथा : एक दृष्टि’, ‘भारतीय नेपाली पत्रिकाको परम्परामा साहित्य सङ्केत’, ‘सवाईको परम्परा गोर्खाको सवाइसम्म’, ‘समसामयिक भारतीय नेपाली कथामा आर्थिक सामाजिक जीवनबोध’, ‘टिस्टा बग्छ सधैँ जस्तो यथार्थवादी चिन्तन’, ‘कथाकारिता : मनभित्रको मनमा’, ‘पञ्चामृतको विश्लेषण’, ‘कठपुतलीको मनभित्र लीला’, ‘कथा सन्दर्भमा कालेबुङको नेपाली साहित्य परिषद्’, ‘किरातका कथा’, ‘सालीज्यूको झुम्के हुलाकी : एक दृष्टि’, ‘बितेका कुरा सम्झँदा’ हुन् ।
उनका अन्य अनेकौँ समालोचनात्मक लेखहरू साहित्य सङ्केत, चरित्र, चासो, परदेशी आदि पत्रिकातिर छरिएका छन् । उनको पहिलो समालोचना पुस्तकका लेखहरूमा विशेष गरी वादगत र संरचनागत प्रवृत्तिका आधारमा विश्लेषण गरिएका छन् ।
० ० ० ०
३. केही कृति : दृष्टि
डा. छेत्रीको पछिल्लो ‘केही कृति : दृष्टि’ यही वर्ष २०२३ मा नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङको प्रकाशकत्वमा प्रकाशित समीक्षासङ्ग्रह हो । यसको भूमिकामा डा. जीवन नामदुङले आँशिक रूपमा भए पनि यस कृतिको मूल्याङ्कन गरेका छन् ।
यसभित्र जम्मा १३२ पृष्ठहरू र चौधवटा लेखहरू रहेका छन् । ती हुन्- ‘समालोचक रामकृष्ण शर्मा’, ‘लौहित्य काव्य : एक विश्लेषण’, ‘कवि अगमसिंह गिरीका काव्य कृतिमा जातीय चिन्तन’, ‘राजेन्द्र भण्डारीको हिँउँदे यी चिसा रातहरू’, ‘रामकृष्ण शर्मा कथाकारका रूपमा’, ‘नरबहादुर दाहालका केही कथाहरूका मनोवैज्ञानिक अध्ययन’, ‘गोर्खा- मा लेख्ने कथाकारहरू’, ‘नेपाली साहित्य अध्ययन समितिका साहित्यिक गतिविधि’, ‘मनका लहर र रहरहरू : एक अवलोकन’, ‘सानुमति राईको काव्यदर्शन’, ‘समर्पित प्रतिविम्ब : एक अध्ययन’, ‘आइमाइको मन : एक झलक’, ‘एडोङ्ग रोङ्गोङका कथाहरू’, ‘कथाकारका रूपमा ज्ञान सुतार’ ।
यसमा रहेका १४ वटामध्ये पाँचवटा कथा समालोचना, चारवटा काव्य समालोचना, उपन्यासबारे दुईवटा र नियात्रा, संस्थागत र समालोचनाबारे एकेकवटा लेख रहेका छन् । यसमा रामकृष्ण शर्माको समालोचनाकारितामाथि समीक्षा गरेका छन् ।
उनले कथा विधामाथि बढी समीक्षा लेखेका छन् भने कविता र उपन्यासबारे पनि केही लेखेका छन् । उनले आफ्नो लेख्न लागेको विषयलाई सूक्ष्म रूपमा विश्लेषण गरेका हुन् । उनी सर्वेक्षणात्मकता, विषयकेन्द्री व्याख्यात्मक, प्राज्ञिक र शोधपरक समालोचकका रूपमा देखिन्छन् । समालोचक रामकृष्ण शर्मा भन्ने लेखमा रामकृष्ण शर्माको समालोचनाकारितामाथि सम्यक् समीक्षण र मूल्याङ्कन गरिएको छ । रामकृष्ण शर्माको समालोचनामा निर्भीकता, स्पष्टवादिता, तत्त्वाभिनिवेशी, निष्पक्षता, सिद्धान्तका आधारमा काव्यको लालित्य, सौन्दर्य, माधुर्यको परख गरेका हुन् ।
असमका एक वरिष्ठ र निष्ठावान कवि छविलाल उपाध्यायको लौहित्य काव्यको वस्तु र शिल्पको सम्यक् समीक्षा गरिएको छ । यस काव्यमा मुख्य गरी युगचेतना र प्रकृति चित्रणको सन्धान गरेका छन् । असममा उग्रवाद, विदेशी बहिष्कार, नेपालीहरूको विकराल सङ्कट स्थितिको चित्रण गरिएको कुरा उल्लेख गरेका छन् । यसै गरी असमको वनजङ्गल, प्रकृतिको सौन्दर्य छटा, ऋतुपरक वर्णन, फलफूल आदिको मनमोहक चित्रण गरिएको कुरा उल्लेख गरिएको छ । यसैगरी यस काव्य व्यङ्ग्य, प्रकृतिप्रेम, कर्मप्रेम, देशप्रेम, जातीय प्रेम, भाषा प्रेम आदिका भावना छताछुल्ल भएका छन् भन्ने कुरा उल्लेख गरेका छन् ।
यसै गरी अगमसिंह गिरीका कवितामा जातीय चेतनाको खोजी गरिएको छ । यस विषयमा अरू समीक्षकहरूको पनि समीक्षा पाइए तापनि यसमा उनको आफ्नै हेराइ र समीक्षण छ । दार्जिलिङको सामाजिक ऐतिहासिक, राजनैतिक पृष्ठभूमि र परिवेशको प्रभाव स्वरूप गिरीको कवितामा जातीय चेतना बढी फस्टाएको र गिरी अतिसंवेदनशील भएकाले जातीय प्रेम उच्च रहेको कुरा उल्लेख गरेका छन् । समीक्षकले अगमसिंह गिरीका कवितामा स्वदेश र स्वजातिप्रति अत्याधिक प्रेम, प्रकृति चित्रण, संवेदनशीलता, ओजस्वी अभिव्यक्ति, वार्णिक र लोकलयको प्रयोग जस्ता प्रवृत्तिहरूले भरिएको छन् । गिरीलाई अन्य समालोचकहरूले क्रान्तिकारी कवि, विद्रोही कवि, छायावादी कवि, अस्तित्ववादी कवि हुन् भनेका छन् । यद्यपि गिरीमाथि अध्ययनका फाँट बढ्दो छ । अझै नयाँ नयाँ तथ्य र अध्ययनका क्षितिज उघ्रिरहेका छन् ।
अर्को लेख राजेन्द्र भण्डारीको ‘हिउँदे यी चिसा रातहरू’ भन्ने लेखमा राजेन्द्र भण्डारीको सबैभन्दा पहिलो र सन् १९७९ मा प्रकाशित कवितासङ्ग्रहमा भएका कविताहरूको स्वरसन्धान गरेका छन् । यस लेखमा भारतीय नेपाली कविताहरूको प्रवृत्ति मूल चेतना केलाउँदै तिनका लहरमा राजेन्द्र भण्डारीको स्थानको खोजी गरेका छन् । उक्त सङ्ग्रहमा जम्मा उनन्चालिस वटा कविताहरूका केही स्वरगत साम्य पाइन्छन् । तीमध्ये नैतिकता, गरिबी, बेरोजगार, राजनीतिको कुव्यवस्था आदिका कारणले भारतमा गोर्खाहरूको स्थित दयनीय छ । आफ्नो कविता लेखनको शुरुवात्देखि नै राजेन्द्र भण्डारी जातीय चेतना, समसामयिक चेतना, व्यङ्ग्य चेतना, नैतिक चेतना, सुधार चेतना, विद्रोह चेतना आदि प्रभावशाली रूपमा प्रस्तुत गरेका थिए भन्ने कुरा उल्लेख गरेका छन् ।
अर्को लेख ‘रामकृष्ण शर्मा : कथाकारका रूपमा’ मा समालोचक भनेर मुख्य परिचय पाएका रामकृष्ण शर्मालाई कथाकारका रूपमा प्रस्तुत गरेका छन् । विभिन्न पत्रिकाहरूमा छरिएका रामकृष्ण शर्माका कथाहरूलाई खोजी गरेर तिनको अध्ययन प्रस्तुत गरिएको छ । शर्माका कथाहरूलाई एक ठाउँमा सङ्कलित हुन पाएको भए धेरै अध्येता र पाठकहरूले पढेर तिनको अध्ययन, मनन र मूल्याङ्कन गर्न सक्ने थिए भन्ने लेखको भनाई रहेको छ । रामकृष्ण शर्माका ‘त्यो दिन’, ‘प्रेमीको परिस्थिति’, ‘आकस्मिक भेट’, ‘अधुरो कहानी’, ‘सात लाक्षणिक कथा’ आदि जस्ता कथाहरूको समीक्षण गरिएको छ । यसमा रामकृष्ण शर्माका कथामा नैतिक चेतना, सामान्य मनोविज्ञान, यौनमनोवैज्ञानिकता, दाम्पत्य जीवनका सफलता र असफलता आदि प्रवृत्तिहरूको लेखाजोखा गरिएको छ ।
नेपाली साहित्यका एक महारथी नरबहादुर दाहालको कथाकारितामाथि अध्ययन र मूल्याङ्कन गरेर तिनलाई एक सफल कथाकाराका रूपमा उभ्याएका छन् । उनको वरपीपल कथासङ्ग्रहका आधारमा दाहालको कथाकारिताको लेखाजोखा गरिएको छ । दाहालका कथामा मनोविज्ञान, अपराध, विज्ञानको प्रयोग, मानवीय सद्भावना जस्ता पत्र पाइन्छन् ।
यद्यपि दाहालका कथामा स्वच्छन्दतावाद, सामाजिक यथार्थवाद, मनोवैज्ञनिक यथार्थवाद, हास्य-व्यङ्ग्यात्मक आदि गरी मुख्य चारवटा प्रवृत्ति पाइन्छन् । यसका सथा उनका कथामा वातावरण अङ्कन, भाषा शैली प्रयोग आदि पक्षबाट अध्ययन गरिएको छ । यसमा अझ नरबहादुर दाहालका केही कथाहरू जस्तै लभ यु जिन्दगी, मास्टर मोसाय एक अपराध कथा, एउटा अर्को भग्नावशेष, टेस्ट ट्युब बेबी जस्ता कथाहरूका बारे केही विस्तृत अध्ययन प्रस्तुत गरिएको छ ।
पुस्तकभित्र रहेको एउटा लेख ‘गोर्खामा लेख्ने कथाकारहरूलाई’ यसको मुख्य लेख मान्न सकिन्छ । यसमा कालिम्पोङबाट प्रकाशित गोर्खालीगको मुखपत्र गोर्खामा जनवरी, १९४५ देखि प्रकाशित कथाहरूको सर्वेक्षण र तिनका कथाहरूको मूल्याङ्कन गरिएको छ ।
गोर्खाका प्रथम सम्पादक रणधीर सुब्बा थिए भने अन्य सम्पादकहरूमा शिवकुमार राई, टिकाराम शर्मा, लक्ष्मीप्रसाद क्षत्रीय, रामकृष्ण शर्मा, पूर्णप्रसाद शर्मा, नरजीत छेत्री, नरबहादुर दाहाल, देवप्रकाश राई, जगत् छेत्री र रूपराम देवान हुन् । गोर्खामा निरन्तर कथा लेख्ने एक सय सातजना कथाकारहरू, फाट्टफुट्ट रूपमा कथा लेख्नेहरू, व्यङ्ग्य कथा लेख्नेहरू, महिला कथाकारहरू, छद्मनाम दिएर लेख्ने कथाहरू, अनूदित कथाहरू आदि उपशीर्षक दिएर अध्ययन गरेका छन् । गोर्खामा अधिक कथा प्रकाशित गर्ने कथाकारहरूमा हरिप्रसाद गोर्खा राई, एल कान्त, अच्छा राई रसिक, किशोर सोताङ, जगपाल सुब्बा, चन्द्रकान्त दर्नाल, सरसा राई, ऋषि, सुकबहादुर राई मुख्य थिए ।
अर्को लेख ‘नेपाली साहित्य अध्ययन समितिका साहित्यिक गतिविधि’मा कालिम्पोङको प्रतिष्ठित र सक्रिय साहित्य संस्थाको कार्यहरूको लेखा गरिएको छ । यसमा समितिको पृष्ठभूमि, उद्देश्य, साहित्यिक गतिविधिहरूको सर्वेक्षण गरिएको छ । साहित्यिक गतिविधिहरूमा बर्सेनी पालन गरिने भानु जयन्ती, देवकोटा जयन्ती, साहित्यिक गोष्ठी र वार्ताहरूको आयोजना, बाल कविता लेखन प्रतियोगिता, कविता लेखन प्रतियोगिता, पुस्तकालय सञ्चालन, साहित्य सङ्केत पत्रिका प्रकाशन, पुरस्कृत साहित्यकारहरूलाई अभिनन्दन कार्यक्रम, पुस्तक प्रकाशन, पुरस्कार वितरण र यसका गुठी, साहित्यकारहरूको प्रतिमा स्थापना, जन्म जयन्ती पालन आदिको चर्चा गरिएको छ ।
अझ पारसमणि प्रधान पुरस्कार भारतीय नेपाली साहित्यमा एउटा अत्यन्त गरिमामय पुरस्कारका रूपमा प्रतिष्ठित छ । भाइचन्द प्रधान कविता पुरस्कार र पूर्ण राई कथा पुरस्कारको स्थान पनि गरिमामय रहेको छ । अध्ययन समितिले पालन गर्ने भानु जयन्ती पनि अत्यन्त गरिमामय रहेको छ । कालिम्पोङको एउटा पर्वका रूपमा नै भानु जयन्तीको मनाइने गरिन्छ । यसमा रामायण पाठ प्रतियोगिता, साहित्यिक वार्ता, लोकनृत्य प्रतियोगिता, कविता प्रतियोगिता आदि प्रस्तुत हुन्छन् । यसको अर्को उपलब्धि भनेको ‘साहित्य सङ्केत’ पत्रिकाको प्रकाशन पनि हो ।
यसले भारतीय नेपाली साहित्यकारहरूको रचना प्रकाशित गर्ने प्राथमिकता दिएको छ । कुमार छेत्री, रूपराम देवान, सुधा गुरुङ, योगवीर शाक्य, सञ्जय विष्ट आदिका कुशल सम्पादनमा साहित्य सङ्केतले हालसम्म चालिस अङ्क प्रकाशित गरिसकेको छ ।
३६ औँ अङ्कसम्ममा साहित्य सङ्केतले १ सय ११ वटा कथा, ६३ वटा निबन्ध, १ सय ९ वटा समालोचना, ११ वटा अन्तर्वार्ता, ३० वटा संस्मरण, ५ वटा लोकसाहित्यपरक लेख, १६ वटा हास्यव्यङ्ग्य, केही एकाङ्की नाटक, केही बालसाहित्य, केही विज्ञानपरक लेख, केही जीवनी, केही नियात्रा लेख, केही गीत, केही भाषा शिक्षणपरक लेख प्रकाशित गरेको छ । यसका साथै समितिले हालसम्म ३१ वटा पुस्तक प्रकाशन गरिसकेको छ । यसले धेरै साहित्यकारलाई अभिनन्दन र पुरस्कृत गरिसकेको छ ।
इन्द्रबहादुर राई, शिवकुमार राई, गुमानसिंह चामलिङ, नरबहादुर दाहाल, मगन पथिक आदिलाई बोलाएर सम्मान अभिनन्दन गरेको छ । जयन्ती पालन गर्ने क्रममा बर्सेनी कसैलाई वार्ता गर्न लाएर पनि प्रतिभाको कदर गर्ने गरेको छ । डा. छेत्रीको यस लेखमा अध्ययन समितिले नाटक प्रतियोगिताको उल्लेख गरिएको पाइएन । यसले सन् सत्तरी र अस्सीको दशकमा नाटक प्रतियोगिता पनि सम्पन्न गरेको थियो । त्यसबारे अझै लेखाजोखा गर्नु बाँकी नै छ । साहित्य अकाडेमी नयाँ दिल्ली, बिपी कोइराला फाउण्डेसन, पुस्तक लोकार्पण समारोह आदिसित सहकार्य पनि गर्दै आएको छ ।
यस पुस्तकमा एम बी प्रधानको ‘मनका लहर र रहरहरू’ नामक नियात्रा पुस्तकको समीक्षा गरिएको छ । यस कृतिमा नियात्राका संक्षिप्त रूपमा केलाउँदै एकेक वटा लेखहरूबारे प्रकाश पार्दै यात्राको रोमाञ्च, लेखकीय दार्शनिक विचार, स्थलगत वर्णन र संवेदनशील पक्षको अङ्कन गरिएको छ ।
सानुमति राईको कविताकारिताबारे पनि अध्ययन र मूल्याङ्कन गरिएको छ । उनका कविताहरूलाई ‘उद्गार’ (२००१) र ‘मनपीडा’ (२०११) गरी दुई वटा कविता सङ्ग्रह प्रकाशित छ । यस सङ्ग्रहका ६२ वटा र अन्य केही फुटकर कविताहरूका आधारमा सानुमति राईका कविता पीडा र व्यथा, जलन र दुःख र निस्सारता, वेदना र आर्तनाद, विरह र एक्लोपन पाइन्छन् । उनका भित्र नारीका पीडा पक्ष अव्यक्त रूपमा रहेका छन् । नारीका अस्मिता र सुरक्षा, प्रेम, आशावाद, जीवन दर्शन, वैयक्तिक भाव, प्रेम र विछोड, निराशा र आशा, प्रकृतिप्रतिको मोह, सूक्ष्म भावाभिव्यक्ति जस्ता वस्तु र प्रवृत्ति पाइन्छन् । यसका साथै कलात्मक शब्द संयोजन, चित्रात्मक वाक्यहरू, प्रतीकात्मकता, कोमल भावतरङ्ग आदि जस्ता शैल्पिक दक्षता पाइन्छ । राईका कवितामा छायावादको पनि प्रभाव परेको कुरा उल्लेख गरेका छन् ।
अर्को लेख ‘समर्पित प्रतिबिम्ब : एक अध्ययन’मा ग्याल्पो लामाको २०१८ मा प्रकाशित ‘समर्पित प्रतिविम्ब’ उपन्यासको कथ्य र पात्रको निरूपणात्मक समीक्षा गरिएको छ । यसै गरी ‘आइमाईको मन एक झलक’ भन्ने लेखमा पनि रत्न कुमार फुयेंलको ‘आइमाईको मन’ उपन्यास (२०१०) को कथावस्तु, पात्रविधान, वैचारिकता, परिवेश, कौतूहल आदि औपन्यासिक तत्त्वहरूका आधारमा समीक्षा गरेको छ । उपन्यासमा रहेका कमजोरी पक्षहरूबारे पनि प्रकाश पारेका छन् । यी दुई उपन्यासको बारेमा भने सामान्य चर्चा गरिएको पाइन्छ ।
‘एडोन रोङ्गोङका कथाहरू’ भन्ने लेखमा दार्जिलिङका एक कथाकार एडोन रोङ्गोङको कथाकारिता निरूपणात्मक समीक्षा गरिएको छ । उनका कथामा युगचेतना, प्रकृति चित्रण र बालकथा आदिको अध्ययन प्रस्तुत गरिएको छ । यसैगरी अन्तमा ज्ञान सुतारको कथाकारितामा आधारित ‘कथाकारका रूपमा ज्ञान सुतार’ भन्ने लेख पाइन्छ । यसमा सुतारको ‘सालीज्यूको झुम्के बुलाकी’ कथासङ्ग्रहका कथाहरूका आधारमा उनका कथाहरूमा सामाजिक विषयप्रधान, रतिरागात्मक एवम् यौनमनोविश्लेषणात्मक र व्यङ्ग्यात्मक भाव वा विषयवस्तुका कथाहरू गरी तीनवटा प्रवृत्ति खुट्याएर विश्लेषण गरिएको छ ।
० ० ० ०
४. ‘केही कृति : दृष्टि’ को समालोचनात्मक प्रवृत्तिका आधारमा वर्गीकरण-
यस पुस्तकमा समालोचनाका केही अङ्ग रहेका छन् । तिनलाई यसरी अध्ययन गर्न सकिन्छ- व्याख्यात्मकता, मूल्याङ्कनपरकता, सैद्धान्तिकता र शोधपरकता । यसका साथै केही प्रवृत्ति र विशेषता पनि हेर्न सकिन्छ- क. पुस्तक समीक्षा, ख. प्रभाववादी, ख. वस्तु व्याख्यात्मक, ग. सर्वेक्षणात्मक घ. इतिहासपरक ।
यसमा डा. छेत्रीले आफूले पढेका कृतिहरूलाई अध्ययन गरी तिनको सम्यक् समीक्षा र विश्लेषण गरेर सर्जकको लेखनको मूल्याङ्कन गरेका छन् । सर्जकलाई समीक्षा गरेर आलोकित पार्नु आफ्नो कर्तव्य ठानेर अघि आएका छन् । यसरी उनी आफ्नो काममा समर्पित र इमानदार छन् । यस पुस्तकमा प्रयुक्त समालोचनाका केही अङ्ग यसरी समाहित भएका छन्-
४.१. व्याख्यात्मकता-
यस किसिमको समालोचनामा कृतिभित्र वस्तु पक्षको अध्ययन विश्लेषण गरिएको हुन्छ । आलोच्य कृतिको सौन्दर्यको उद्घाटन गर्नका साथै गहन अध्ययन मननपश्चात् तिनको भावगत र सौन्दर्यको व्याख्या विवेचना गर्दछ । यसले कृति विशेषको समग्र तत्त्व र कृतिका विशेषताहरूलाई व्याख्या गर्दछ । संक्षेपमा भन्नुपर्दा कृतिभित्र निहित महत्त्व, तथ्य र सौन्दर्य आदिको व्याख्या गर्दछ । डा. छेत्रीको यस पुस्तकका आधारमा हेर्दा यसमा वस्तुगत व्याख्या पक्ष प्रबल रूपमा पाइन्छ । रामकृष्ण शर्माको समालोचना र कथाकारिता, नरबहादुर दाहालका कथामा मनोवैज्ञानिकता, ज्ञान सुतारका कथा आदिबारे व्याख्या-विश्लेषण गरिएको छ ।
४.२. मूल्याङ्कनपरक-
यसमा कृति र कृतिकार मूल्याङ्कन गर्ने किसिमको समीक्षा पाइन्छ । यसमा रामकृष्ण शर्मा, नरबहादुर दाहालको लभ यु जिन्दगी, राजेन्द्र भण्डारीको पहिलो कवितासङ्ग्रह हिउँदे यी चिसा रातहरू, मनका लहर र रहरहरू, समर्पित प्रतिविम्ब, आइमाईको मन, छविलाल उपाध्यायको लौहित्य जस्ता कृतिहरूको सम्यक् अध्ययन प्रस्तुत गरी तिनको मूल्याङ्कन गरिएको छ । यसैगरी रामकृष्ण शर्मा, एडोन रोङ्गोङ, ज्ञान सुतार, सानुमति राई, अगमसिंह गिरीका व्यक्तित्व र तिनको कृतित्वको मूल्याङ्कन गरिएको छ । यसमा ओझेलमा परेका केही लेखकहरू जस्तै सानुमति राई, ज्ञान सुतार आदिलाई बाहिर प्रकाशमा ल्याएर तिनको मूल्याङ्कन गरिएको छ ।
४.३. सैद्धान्तिकता-
पूर्वीय वा पाश्चात्य साहित्य सिद्धान्तलाई लिएर लेखिएको सैद्धान्तिक समालोचना हो । कुनै पनि साहित्यिक सिद्धान्तलाई आधार बनाएर लेखिने सैद्धान्तिक समालोचना हो । यसमा पुस्तकमा भएका लेखहरू जस्तै समालोचक रामकृष्ण शर्मा, कवि अगमसिंह गिरीका काव्य कृतिमा जातीय चिन्तन, रामकृष्ण शर्मा कथाकारका रूपमा, नरबहादुर दाहालका कथामा मनोवैज्ञानिक पक्षको सम्यक् चर्चा गरिएको छ ।
४.४. शोधपरकता –
यसमा रहेका केही लेख शोधपरक छन् । यसमा समीक्षकले शोधपद्धतिको अनुसरण गरिएको हुन्छ । समालोचनालाई वस्तुपरक वा प्रामाणिक बनाउने हो भने शोधपरक शैलीमा कृतिको विश्लेषण अनिवार्य हुनुपर्छ (डा. देवी नेपाल, लेखन शिल्प, २०७८, पृष्ठ ३२२) समीक्षक आफूले शोधकार्य गरेकालाई सदुपयोग गरेर यसमा रहेका केही लेखहरू शोधपरक रहेका छन् । यसमा कथा विधागत व्याख्याविश्लेषण, वस्तुपरकता, तठस्थता, अन्वेषणपरकता आदि गुण पाइन्छन् ।
समालोचकका रूपमा रामकृष्ण शर्मा, नरबहादुर दाहालका कथामा मनोवैज्ञानिकता, कवि अगमसिंह गिरीका काव्य कृतिमा जातीय चिन्तन, सानुमति राईको काव्यदर्शन, एडोन रोङ्गोङका कथाहरू, कथाकारका रूपमा ज्ञान सुतार आदि लेखहरूमा शोधपरक गुण पाइन्छन् । यसमा यी सर्जकका कृतिमा के कस्तो मूलस्वर, वस्तुतत्त्व, शिल्प आदिको अन्वेषण गरेर लेख तयार पारिएको छ ।
० ० ० ०
५.‘केही कृति : दृष्टि’ को समालोचनात्मक प्रवृत्तिका आधारमा वर्गीकरण-
यस पुस्तकको अध्ययन गर्दा हामी समालोचनाका निम्न केही प्रवृत्ति, पद्धति र विशेषता पाउँदछौं पुस्तक समीक्षा, प्रभाववादी समालोचना, सर्वेक्षणात्मकता, इतिहासपरकता आदि प्रवृत्ति पाउँदछौं ।
५.१. पुस्तक समीक्षा-
समालोचनाको कोटीमा पर्ने एउटा ठुलो फाँट हो पुस्तक समीक्षा हो । पुस्तक समीक्षामा कुनै एउटा पुस्तकको समग्र रूपमा छानबिन गरिन्छ । समीक्षकले पाठकलाई पुस्तकबारे परिचय दिँदछ । पुस्तकको लेखक, वस्तु, शिल्प, शैली, प्रकाशन स्तर आदि कुरामा प्रकाश पार्दछ । यसका साथै समीक्षकले समग्र रूपमा पुस्तकको आलोचनात्मक मूल्याङ्कन गर्दछ । यसले पुस्तकलाई विभिन्न कोणबाट हेरेर त्यसको निचोडमूलक जानकारी प्रस्तुत गर्दछ । समीक्षक डा. देवी नेपालका अनुसार पुस्तकका तीन प्रयोजन हुन्छन्- लेखन सूचना, व्यापारिक र पठन संस्कृतिको विकास । यसका चारवटा अङ्ग हुन्छन्- सहयोगी प्रसङ्ग, सारांश लेखन, आलोचनात्मक विश्लेषण र निष्कर्ष लेखन ।
डा. छेत्रीको यस पुस्तक पनि पुस्तक समीक्षाकेन्द्रित बनेको छ । यसभित्र रहेका केही लेखहरू जस्तै ‘लौहित्य काव्य एक विश्लेषण’, ‘राजेन्द्र भण्डारीको हिँउँदे यी चिसा रातहरू’, ‘मनका लहर र रहरहरू : एक अवलोकन’, ‘समर्पित प्रतिविम्ब : एक अध्ययन’, ‘आइमाईको मन : एक झलक’ । यी लेखहरूमा पनि कृतिलाई लेखनगत प्रवृत्तिको सूचना दिनु, पाठकोन्मुख बनाएर पठन संस्कृति बनाउनु, पुस्तकको समीक्षा गरेर पाठकलाई त्यस कृतिप्रति किनूँ किनूँ लाग्ने बनाउनु आदि कुरा पनि निहित छन् ।
५.२. प्रभाववादी समालोचना-
मूल पाठ पढेर त्यसबाट उब्जेका प्रतिक्रिया, प्रभावलाई उतार्नु, त्यसका आधारमा कृतिको विवेचना र मूल्य निर्णय गर्ने किसिमको समा कुरालाई यस्तो समालोचना पद्धति प्रभाववादी हो । यस्तो समालोचना लेखिनु कुनै कमजोरी होइन । यसले कृतिमा भएका यावत् कुरा निकाल्न सक्छ, मूल पक्षलाई केलाउँछ । कृतिका आन्तरिक र बाह्य दुवै किसिमका निहित पक्ष खोतल्न सक्छ । यस्तो समालोचना लेख्दा समालोचक कुनै सैद्धान्तिक बन्धन, कुनै एक विषयमा सीमाबद्ध नभएर समग्र अध्ययन गर्दछ । अधिकांश समालोचकका लेखहरूमा यसै प्रभावका आधारमा समीक्षा पाइन्छ ।
कुनै एउटा मूल विषय केन्द्रित सिर्जनात्मक कृति छ भने मात्र समालोचकले मूल विषयमा गहिरिएर अध्ययन गर्न पाउँछ । सामान्य कुनै कृतिमा बहुविषयको छ भने समालोचकको प्रभाववादी र सैद्धान्तिक अध्ययन गर्दछ । यस्तो समालोचनाले नै कृतिका विविध पक्ष देखाउँछ, व्याख्या गर्छ, सही मूल्याङ्कन गर्न सक्छ । यसका शक्ति र सीमा दुवै छन् । यसले कृतिको अन्तरङ्गभन्दा बहिरङ्ग व्याख्या गर्ने बढी सम्भावना हुन्छ । इन्द्रबहादुर छेत्रीको प्रस्तुत पुस्तकमा रहेका अधिकांश लेखादि प्रभाववादी समालोचना पाइन्छन् । यसमा उनले कृति पढेर त्यसभित्रका यावत् पक्ष र तत्त्व केलाएका छन् । यसमा भाव पक्ष बढी र आंशिक रूपमा शिल्प पक्षबारे पनि समीक्षा गरिएको छ ।
५.३. सर्वेक्षणात्मक-
यस पुस्तकमा रहेका गोर्खा मा लेख्ने कथाकारहरू, नेपाली साहित्य अध्ययन समितिका साहित्यिक गतिविधि गरी मुख्यतः दुईवटा लेखमा सर्वेक्षण पक्ष पाइन्छ । अखिल भारतीय गोर्खा लीगको मुखपत्र गोर्खामा कथाहरू पनि प्रकाशित हुन्थे । त्यस पत्रिकामा पचासको दशकदेखि अस्सीको दशकसम्ममा धेरै कथाकार जन्माएको, तीमध्ये कोही सिद्धहस्त कथाकार बनेका छन् भन्ने तथ्य प्रस्तुत गरिएको छ । यसैगरी भारतको एउटा अग्रणी साहित्यिक संस्था नेपाली साहित्य अध्ययन समितिका विभिन्न साहित्यिक गतिविधिको हरहिसाब गरिएको छ ।
५.४. इतिहासपरक अध्ययन-
कालक्रमिक रूपमा साहित्यको अध्ययन गरिने इतिहासपरक समालोचना हो । यसमा कुनै कृति, कृतिकार, विधा, उपविधा आदिका इतिहासका सापेक्षता गरिने यस पद्धतिको समालोचना लेखिन्छ । यसमा गोर्खा पत्रिकाले कथा साहित्यको इतिहास केलाइएको छ । यसमा गोर्खामा लेख्ने कथाकारहरूको पूरा नामावली, महिला कथाकार, नियमित कथाकार र आंशिक रूपमा लेख्नेहरूको पूरा सूचि प्रस्तुत गरिएको छ । यसमा कथा विधाको ऐतिहासिक समालोचना लेखिएको छ ।
० ० ० ०
६. ‘केही कृति : दृष्टि’को केही सबल र दुर्बल पक्षहरूको रेखाङ्कन-
इन्द्रबहादुर छेत्रीको केही कृति दृष्टि मा केही सबल र केही दुर्बल पक्ष परिलक्षित छन् । यसमा केही बिर्सिइएका, छोडिएका र मूल्याङ्कन नपाएका साहित्यकारका कृतिको समीक्षण र मूल्याङ्कन गरिएको छ । रामकृष्ण शर्माको समालोचकीय साथै कथाकारिताबारे पनि विश्लेषण गरिएको छ । यसमा रहेको नरबहादुर दाहालका कथाकारितामाथि निकै गम्भीर किसिमले अध्ययन गरिएको छ । यसै गरी एडोन रोङ्गोङ, ज्ञान सुतार, सानुमति राई, रत्न कुमार फुयेँल, ग्याल्पो लामा, एम बी प्रधान, राजेन्द्र भण्डारी, अगमसिंह गिरी, रामकृष्ण शर्माका आदिका कृतिको बहुपक्षीय अध्ययन प्रस्तुत गरिएको छ ।
यद्यपि उनको समीक्षाभित्र केही सीमा रहेका छन् । उनी कृतिको आन्तरिक पक्षभन्दा वस्तु पक्षको बढी केन्द्रित हुँदा त्यसका संरचना र शैलीबारे अलिक थोरै प्रकाश पारिएको पाइन्छ । यसमा भाषिक र शैलीगत अध्ययन नपुगेको वा अलिक थोर पुगेको लाग्छ । यसमा आन्तरिकभन्दा बाह्य पक्षको अध्ययन प्रस्तुत गरिएको छ । अझै गहन व्याख्या विश्लेषण गर्न सकिने ठाउँ थिए । कुनै कुनै लेख त सामान्य पुस्तक निरूपण जस्ता पनि रहेका छन् ।
कुनै कुनै लेखमा समीक्षागत सङ्गठन पनि मिलेको छैन । जस्तै ‘नरबहादुर दाहालका केही कथाहरूका मनोवैज्ञानिक अध्ययन’ भन्ने लेखमा मूल पाठमा हुनुपर्ने कथागत प्रवृत्ति अङ्कन र वातावरण जस्ता कुरा उपसंहारमा हालिएको छ । यसमा रहेका एकाध समीक्षाहरूमा कृतिको सबल र दुर्बल पक्षको अङ्कन गरिएको छ । यद्यपि कतिपय कृति आफैँ नै शिल्पगतभन्दा वस्तु पक्षमाथि केन्द्रित हुनाले पनि समीक्षकको दृष्टि पनि शिल्पभन्दा वस्तुमाथि केन्द्रित भएको छ ।
सबैभन्दा बढी उनी प्रभाववादी समालोचकका रूपमा अघि देखिन्छन् । पुस्तकको नामकरण भने केही कृति दृष्टि ले गर्दा यसमा केही शब्दको अधुरो, वाक्य पूरा नभएको जस्तो प्रतीत हुन्छ । केही नपुगेको र नमिलेको लाग्छ । यसका बद्ली बरु ‘केही कृति केही दृष्टि’ भए केही पूर्णता आउने थियो । यसबारे लेखकको विचार नपुगेको जस्तो लाग्दछ ।
० ० ० ०
७. मूल्याङ्कन र उपसंहार
यस पुस्तकमा रहेका लेखहरूको अध्ययन गर्दा डा. इन्द्रबहादुर छेत्री एक दक्ष समीक्षक, गम्भीर अध्येता, तत्त्व विश्लेषक हुन् । उनको विश्लेषण कृतिकेन्द्री रहेको छ भने कृतिकारको पनि मूल्याङ्कन गरिएको हुन्छ । यसमा कृतिभित्रका विभिन्न सन्दर्भ, वस्तु संरचना, पात्रका अवस्थितिबारे सम्यक् अध्ययन गरिएको पाइन्छ । उनी विशेषगरी कथा समीक्षामा रुचि लिएको देखिन्छ । कथा कृतिका प्रवृत्ति, कथावस्तु, बुनोट, पात्रविधान, भाषा-शैली आदिका बारेमा उनको अध्ययन केन्द्र रहेको हुन्छ । उनका समीक्षा लेखनमा विश्लेषणात्मक पद्धति पाइन्छ । यसमा रहेका समालोचनात्मक प्रवृत्ति अध्ययन गर्दा मुख्य गरी प्रभाववादी, वस्तु व्याख्यात्मक, सर्वेक्षणात्मक, मूल्याङ्कनपरक, ऐतिहासिक, सैद्धान्तिक, शोधपरक प्रवृत्ति पाइन्छन् ।
उनी कृति पढेर त्यसभित्रका विभिन्न पक्षमाथि विवेचना गर्ने समीक्षक हुन् । यस हिसाबले उनी प्रभाववादी समालोचकका रूपमा देखिन्छन् । पुस्तकको नामकरणमा भने उति सचेतता नदेखाएको प्रतीत हुन्छ । यसमा केही कमी कमजोरी पनि रहेकै छन् । कृतिको समीक्षण गर्दा परम्परागत समीक्षकीय दृष्टिकोण पाइन्छ । यद्यपि यस कृतिको कमजोर पक्ष पाइनु पनि स्वाभाविक ठहर्छ । नेपाली समालोचनामा एउटा उपलब्धिपूर्ण कृति बनेको छ ।
जे होस्, हामीले एउटा समालोचनाको पुस्तक पाएका छौं । यहाँ चर्चित र अचर्चितहरूको चर्चा गरिएको छ । कृतिहरूको जतिसक्दो समीक्षण र मूल्याङ्कनको प्रकाश पारिएको छ । पाठकका निम्ति उपयोगी, अन्य कृतिकारका कृतिको रसास्वादन गराउनमा, कृतिकारलाई चिनाउन र मूल्याङ्कन गर्न, साहित्येतिहासमा स्थान दिलाउन पनि यो कृति सक्षम छ । पुस्तक पठनीय, सङ्ग्रहनीय र पाठक रुचिकर छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।