
समाजमा केही प्रतिष्ठित व्यक्तिहरू हुन्छन् जसको योगदानको लेखाजोखा गर्न अभिनन्दन ग्रन्थ प्रकाशित गरिन्छ । उनीहरूको साहित्यिक सामाजिक, कलात्मक आदि क्षेत्रमा दिइएको योगदानको कदर गरी केही सचेत र निःस्वार्थी व्यक्तिहरू अघि बढेर काम गर्दछन् । यदि जिउँदो व्यक्ति छ भने अभिनन्दन ग्रन्थ हुन्छ भने यदि मृत हो भने स्मृति ग्रन्थ हुन्छ ।
अभिनन्दन ग्रन्थले ती महान् व्यक्तिको योगदानको कदर हुन्छ, जिउँदैमा मूल्याङ्कित हुन्छ । एउटा वरिष्ठ सर्जकको अभिनन्दन ग्रन्थ प्रकाशित गर्नु भनेको जिउँदैमा एउटा सच्चा सर्जकको योगदानको कदर हुनु हो, अन्य लेख्दै गरेकालाई प्रेरणा मिल्नु हो, सुकार्यको सार्थकता पाउनु हो ।
नेपाल र भारततिरको नेपाली साहित्य क्षेत्रमा अभिनन्दन ग्रन्थको प्रकाशन बढ्न थालेको छ । एउटा विशिष्ट सर्जक साहित्यकारलाई अभिनन्दित गर्नु, पुरस्कार दिनु, अभिनन्दन ग्रन्थ प्रकाशित गर्नु अति उत्तम कार्य हो । साहित्यमा अनवरत रूपमा सेवा पुर्याएको, धेरै र गुणात्मक कृति लेखेको, साहित्यिक संस्थामा पनि योगदान दिएको, साहित्य क्षेत्रमा प्रत्यक्ष परोक्ष रूपमा साहित्य सेवा गरेको आदि काममा संस्थागत रूपमा अभिनन्दन ग्रन्थ तयारी गरी प्रकाशित हुनेगर्छ । नेपाली साहित्यको प्रसङ्गमा यस्ता धेरै अभिनन्दन ग्रन्थ प्रकाशित भएका छन् । नेपाल र भारत दुवैतिरका केही नेपाली साहित्यकारका नाममा अभिनन्दन ग्रन्थ प्रकाशित देखिन्छन् ।
भारतीय प्रसङ्गमा सम्भवतः पारसमणि प्रधान अभिनन्दन ग्रन्थ पहिलो हुनुपर्छ । त्यसमा पनि लेखादि नअटेर तथा सम्पादक शिव प्रधानको चित्त नबुझेर पारसमणि प्रधान अभिनन्दन ग्रन्थ- परिशिष्टाङ्ग पनि प्रकाशित भएको थियो । त्यस ग्रन्थले पारसमणि प्रधानलाई चिनाउन ठूलो काम गरेको थियो । यस ग्रन्थलाई भारतीय नेपाली अभिनन्दन ग्रन्थको ठूल्दाजु भन्न सकिन्छ । त्यसपछि भने भटाभट यस्ता ग्रन्थ प्रकाशित भए ।
अभिनन्दन ग्रन्थ प्रकाशित गर्ने क्रममा साँचो र वास्तविक योगदान दिनेलाई समाजले चिनेर बुझेर अभिनन्दन ग्रन्थ प्रकाशित गर्नु उत्तम कार्य हो । यसले सर्जक साहित्यकार जिउँदो हुँदा सही मूल्याङ्कन र कदर हुन्छ । मरेपछि स्मृति ग्रन्थ प्रकाशित गर्नु, पुरस्कार दिनु भनेको ‘मरेपछि खा बाबै केरा’ भने जस्तो हो । जति सम्मान गर्नुपर्छ, जिउँदैमा गर्नुपर्छ, सही समयमा मूल्याङ्कन हुनुपर्छ । एउटा साहित्य सर्जक वा कोही पनि ठूलो योगदान दिने व्यक्तित्वलाई सटीक समयमा नै समीक्षित, पुरस्कृत, अभिनन्दित र संवर्द्धित हुनपर्छ ।
यद्यपि अचेल अभिनन्दन ग्रन्थका नाममा जुनसुकैका नाममा अभिनन्दन ग्रन्थ प्रकाशित गरिन्छ । चाहे नेपालमा होस् वा चाहे भारतको कुनै नेपाली साहित्यकार होस्, अभिनन्दन ग्रन्थ निकै प्रकाशित हुन थालेको छ । यो त एक प्रकारले फेशन जस्तो भएको छ । कतै कतै यसको दुरुपयोग भएको पनि पाइन्छ । साहित्यमा एक दुई कवितासंग्रह, कथासंग्रह, निबन्धसंग्रह र यस्तै के के जाति प्रकाशित गर्दा दुई चारजना अभिनन्दन गर्न तम्सिहाल्छन् । यसो गर्दा एउटा चटक्क परेको अभिनन्दन ग्रन्थ त प्रकाशित भैहाल्छ । अनि ठूलो र भव्य रूपमा अभिनन्दन ग्रन्थको लोकार्पण हुन्छ । फूलमालाले अभिनन्दित व्यक्तित्व पुरिन्छ । त्यसपछि साहित्य लेख्न छाडिदिएको पनि देखिन्छ । कसै कसैलाई आफ्नो घरको बैठक कोठामा सजाएर राखेको अभिनन्दन पत्र र ग्रन्थले नै व्यंग्य गरिरहेको हुन्छ । ‘खै अचेल कहाँ हराइस् ?’ त्यही अभिनन्दन पत्रले समेत मौन प्रश्न गर्न सक्छन् । आफूले नै गोप्य रूपमा पैसा लगानी गरेर आफ्नै अभिनन्दन ग्रन्थ तयारी पार्न पनि सक्छन् ।
अभिनन्दन ग्रन्थमा संग्रहित लेखहरूमा ती अभिनन्दित व्यक्तित्वको योगदानको सही अध्ययन, समीक्षण र मूल्याङ्कन भएको उत्तम कुरा हो । यस्तै हुनुपर्छ । यद्यपि कुनै ओहोदावाला व्यक्तित्वको अभिनन्दन ग्रन्थ निकाल्दा त्यसभित्रका लेखहरू सही हुनुपर्छ । कसै त्यसभित्र चाकरी चाप्लुसी गर्ने प्रवृत्ति देखा पर्नसक्छ । कतिपयका अभिनन्दन ग्रन्थमा यस्तो देखा परेका छन् । कुनै कुनै त गलत व्यक्तिको अभिनन्दन ग्रन्थ प्रकाशित भएको पनि पाइन्छ । ती ओहोदावालाको कृतित्व पक्षको कम तर व्यक्तित्व पक्षको बढिबढाइ गर्ने खालका लेखहरू पनि आएका हुन सक्छन् । उहाँ एक महान् व्यक्ति, उहाँसित मेरो घनिष्ठ मित्रता थियो, उहाँ यस्तो र उस्तो गर्नुहुन्थ्यो, यस्तो भन्नुहुन्थ्यो भनेर उनको भएभरका प्रशंसाका कुरा हालिएको हुन्छ । त्यस्तोलाई अभिनन्दन ग्रन्थ भन्नुभन्दा ‘भजनग्रन्थ’ भन्नुपर्ला कि जस्तो पनि देखिन्छ । त्वम् शरणम्को आलाप गरिएको विरुदावली ग्रन्थ जस्तो हुन्छ ।
अभिनन्दन ग्रन्थभन्दा बरु कृतित्वको समीक्षा गरिने अध्ययन ग्रन्थ प्रकाशित गर्नु उचित हुन्छ । त्यस्ता अध्ययन ग्रन्थमा ती लेखक सर्जकको कृतिहरूका बारेमा विभिन्न पक्षहरूको चर्चा र समीक्षा गरिएको हुन्छ । उनको कृतिहरूका पाइने विभिन्न तत्त्व र भाव, भाषा र शैली आदिलाई विभिन्न कोण-प्रतिकोणबाट अध्ययन गरिएको हुन्छ । राम्रो समीक्षक पाएमा उनको कृतित्वका बारेमा नयाँ नयाँ अध्ययनका फाँट विस्तार हुने गर्छ । यसो भए ती सर्जक व्यक्तिको साँचो मूल्याङ्कन र योगदानको कदर हुन्छ ।
अभिनन्दन ग्रन्थका नाममा विकृति पनि भित्रेको छ । अभिनन्दन ग्रन्थका नाममा पैसाको धन्धा हुन्छ भन्ने गाइँगुइँ पनि सुनिन्छ । पैसावाला, पावरवाला, सर्जक असर्जक व्यक्तित्वलाई मात्र यस्तो अभिनन्दन ग्रन्थको भाग्य जुरेको हुन्छ ।
यस्तो पनि सुन्न पाइन्छ कि यदि कसैको अभिनन्दन ग्रन्थ प्रकाशित गर्नु हो भने उसैले नै सम्पादकलाई प्रकाशनका सम्पूर्ण खर्चको रकम बुझाउनु पर्ने अनि सम्पादकलाई पनि दुःख सास्ती बुझाउनुपर्ने भन्ने पनि बुझिन्छ । यसको अर्थ अभिनन्दित व्यक्तित्व आफैंले आफ्नै अभिनन्दन ग्रन्थ प्रकाशित गर्नुपर्ने हुन्छ । परोक्ष रूपमा भए पनि आफ्नो महिमा आफैंले गर्नलाउनु पर्ने, आफैं मूल्याङ्कन गर्नुपर्ने भने जस्तो हुन्छ । हुन पनि कसैलाई अर्काको अभिनन्दन ग्रन्थ प्रकाशित गरिदिएर फोकटमा पैसा उडाउनु छैन । राम्रो सर्जक, साँच्चिकै महान् योगदान दिनेको वास्तविक अभिनन्दन ग्रन्थ प्रकाशित हुने भाग्य जुरेको हुँदैन । आफैं पैसा बुझाऊ, आफ्नै अभिनन्दन निकाल, कसैले खासै पढ्ने हुँदैनन् आफैं पढ, आफैं गजक्क परेर बस, आफैं फुर्केर बस ।
यसो एक-दुई वटा कविता वा कथासंग्रह प्रकाशित भएका छन्, साहित्यिक संस्थामा केही पद लिंदैमा, यसो मञ्चमा साहित्यिक भनेर सम्मान पाउँदैमा अभिनन्दन ग्रन्थ प्रकाशित हुनैपर्छ भन्ने छैन । अभिनन्दन ग्रन्थ प्रकाशित खालको महान् काम गरिएको हुनुपर्छ । जोसुकैको अभिनन्दन ग्रन्थ प्रकाशित गर्नु उचित होइन । कहिलेकाहीं त लाग्छ, खास महान् सर्जकको यथोचित सम्मान हुँदैन तर हल्का-फुल्का लेख्ने, एक दुई सामान्य कृति निकाल्ने पैसावालाको सम्मान हुन्छ । त्यस्ताको नै बढिबढाइ गरिएको अभिनन्दन ग्रन्थ प्रकाशित हुन्छ, फूलमालाले पुरिन्छ ।
अभिनन्दन ग्रन्थका निम्ति लेखहरू, उनलाई धूपधुवाँर गर्ने खालका, प्रशंसापरक र जीवनमा कामकुरामा ठगार व्यक्ति भए पनि उसको प्रशंसा गर्ने खालका, अति सामान्यलाई अति विशिष्ट तुल्याउने खालका लेखहरू चाहन्छन् अनि यसै आशयका लेखहरू लेखकबाट माग्ने काम हुन्छ । लेखकहरू भने खाई नपाई छालाको टोपी लाई भने जति सित्तैमा लेखिदिएर ती तथाकथित अभिनन्दित व्यक्तिको गुणगान गाउने गर्छन् । यदि यस्तै भए ती अन्य लेखक त्यो सम्पादक र अभिनन्दित व्यक्तिको खेताला जस्तो ठहरिन्छन् । ती अभिनन्दित व्यक्तिको नकारात्मक पक्ष यदि कसैले लेखिदियो भने त्यो सेन्सर भएर ग्रन्थमा स्थान पाउँदैन । सम्पादक र ती अभिनन्दित व्यक्ति आफैंले पनि त्यस्ता लेखादिलाई च्यातिदिन्छन् ।
अभिनन्दन ग्रन्थका नाममा विकृति बढ्ने सम्भावना हुन्छ । यसका माध्यमबाट गलत मान्छे अभिनन्दित हुन्छ । यसबाट कसैका निम्ति धन कमाउने साधन र धन्धा बन्नसक्छ । ‘तिम्रो योगदानका लागि एउटा अभिनन्दन ग्रन्थ प्रकाशित गरौं । म सबै पारा मिलाइदिनु, सम्पादन म गर्छु, सबै खर्च मिलाएर एक लाख हाल्नुहोस्’ भनेर यशोगानको प्रलोभन दिएर उक्त सामान्य सर्जकभित्रको कीर्ति लिप्साका कारण धन्धाको शुरूवात हुन्छ, अभिनन्दन ग्रन्थ प्रकाशन हुने गर्छ ।
यदि यस्ता खालका सस्ता खालको अभिनन्दन ग्रन्थ प्रकाशित हुनथाले वास्तविक र महान् वास्तविक योगदान सर्जक वा व्यक्तित्व ओझेलमा पर्दछन् । अघि आउनुपर्ने पछि पर्छन् अनि पछि बस्नुपर्नेहरू अघि आउँछन् । वास्तविक महान् व्यक्ति वा सर्जक चाउरिएर बस्नुपर्ने, मूल्याङ्कनविहीन भएर बस्नुपर्ने बाध्यता हुन्छ । पैसावाला तर सामान्य व्यक्ति अभिनन्दित हुने तर पैसा नभएको वरिष्ठ सर्जक भने मूल्याङ्कनहीन हुनु उचित होइन ।
यस लेखको आशय अभिनन्दन ग्रन्थ नराम्रो हो, यसलाई प्रकाशित गर्नुहुँदैन भन्ने कदापि होइन । सही व्यक्तिको सही समयमा मूल्याङ्कन समीक्षण र अभिनन्दन हुनुपर्छ । यदि आफ्नो बाबु वा आमाको योगदानको महत्त्व बुझेर छोराछोरीले यदि अभिनन्दन ग्रन्थ प्रकाशित गर्न चाहे असल कुरा हो । यसो भए सर्जकहरूलाई पनि लेख्न जाँगर चल्छ, योगदानको कदर हुन्छ । यद्यपि साहित्यमा अभिनन्दन ग्रन्थ प्रकाशनका नाममा धन कमाउने, पैसा असुल्ने आदि जस्ता विकृति हुल्न दिनुहुँदैन । यसलाई पैसा कमाउने धन्धा, पेशाका रूपमा विकास हुनथाल्नु उचित होइन । समाजलाई यो व्यक्ति वा सर्जकको योगदान साँच्चै अतुलनीय लागे त्यस्ताको अभिनन्दन ग्रन्थ प्रकाशित गर्नु उचित हुन्छ । यहाँ त कता कता उल्टा काम भइरहेको छ जस्तो लाग्छ । वास्तविक महान् सर्जकहरू मूल्यहीन हुनु तर खासै योगदान नदिएको सर्जक पो बित्थामा अभिनन्दित सम्मानित हुन्छ ।
यदि यसो भए साहित्यमा चम्चागिरी, चाप्लुसी, प्रचारमुखी, धन्दामुखी प्रवृत्ति बढ्छ । साधुलाई सूली चोरलाई पुरस्कृत भने जस्तो हुन्छ । मान्छेमा विवेक हुनुपर्छ । समीक्षक र लेखकले गुहु र गोबर चिन्न सक्नुपर्दछ । सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्दछ । साहित्यिक मूल्य, मान्यता, महत्त्व, योग्यता, क्षमता, प्रभाव, परिणाम सबै बुझ्नुपर्दछ ।
साहित्यमा यस्ता केही विकृति देखा पर्दैछन् । राजनीतिमा त विकृतिले भरिभराउ हुन्छ तर साहित्यमा भने विकृति हुनुहुँदैन । अभिनन्दन ग्रन्थ, पुरस्कार, साहित्यिक गुटबन्दी आदि विकृति देखिए त्यसलाई पन्छाउने प्रयास गर्नुपर्दछ । यदि यस्तो विकृति कायम रहे यसले भविष्यमा विकराल रूप लिनेछ । यो विकृतिको अन्त्य होस् भन्ने चाहना मात्र हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

