रामकृष्ण शर्माको भूमि कालेबुङ । शिक्षा, साहित्य, भाषा आन्दोलन र जातीय जागरणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका एक ऐतिहासिक स्थल हो कालेबुङ । रामकृष्ण शर्मा सँगसँगै पारसमणिको नाम जोडिएको एक ‘सांस्कृतिकता’ हो कालेबुङ ।

प्रसिद्ध समालोचक रामकृष्ण शर्माको चर्चा र ख्याति भारतीय नेपाली साहित्यमा शीर्ष स्थानमा रहेको छ । तथापि उहाँलाई नेपालको नेपाली साहित्यले पनि उत्तिकै आदर र सम्मानले ग्रहण गरेको छ ।

कुनै बेला रामकृष्ण शर्माको निर्भीक र दमदार कलमबाट झस्किन्थे देवकोटा र सम पनि ।

काठमाडौँको साहित्यिक वृत्तमा रामकृष्णबारे यी टिप्पणीहरू अहिले पनि चर्चाको विषय हुने गरेका छन् ।

रामकृष्ण शर्माले सांस्कृतिक मलजलबाट सिँचेको भूमि हो, नवीन पौड्यालको उद्गम पनि । अहिले कालेबुङलाई सिङ्गार्न, सांस्कृतिक समृद्धि प्रदान गर्न डा. राजेन्द्र भण्डारी र गौरी नेम्वाङ आदि पश्चात् नवीन पौड्याल सशक्त ढङ्गबाट देखा परेका छन् । भण्डारीले कवितालाई छाडेनन् । नवीन पौड्यालले रामकृष्ण शर्माकै बाटोलाई पहिल्याएका छन्, समालोचकीय परम्परालाई आदर्श मानेर।

नवीन पौड्यालका समालोचनाका कृतिहरू आधा दर्जनको सङ्ख्या नाघेका छन् । सन् २०२३ फेब्रुअरीमा इन्द्रेनी प्रकाशन असमद्वारा प्रकाशित नवीन पौड्यालको ‘नेपाली गीतको सेरोफेरो’भित्र गीतका इतिवृत्तमा लेखिएका १३ वटा विभिन्न शीर्षकका समीक्षाहरू रहेका छन् । यी समीक्षाहरू खोज, अनुसन्धान र अन्वेषणमा आधारित छन् । ‘नेपाली कथा समीक्षा’ (सन् २००५), ‘आख्यान अनुशीलन’ (सन् २०११), ‘साहित्य अनुशीलन’ (२०१४), ‘साहित्य सन्धान’ (सन् २०१८), ‘कृति सन्धान’, (सन् २०२०) र ‘भारतीय नेपाली समालोचक सन्दर्भिका’ (सन् २०२१) पश्चात् सन् २०२३ को प्रारम्भमा ‘नेपाली गीतको सेरोफेरो’ पेस गरेका छन्न, नवीन पौड्यालले भारतीय नेपाली समालोचना वृत्तमा । भारतीय नेपाली समालोचकका हैसियतले नवीनले त्यहाँ भइरहेका सिर्जना, साहित्यिक गतिविधि र कृति प्रकाशनका सन्दर्भहरूलाई विशेष दस्ताबेजीकरण गरेका हुन् ।

भारतीय गीत–सङ्गीत क्षेत्रको नालीबेली उधिन्ने क्रममा नवीनले नेपालका केही नयाँ–पुराना आधुनिक गीत र लोकगीतका सन्दर्भमा पनि विश्लेषण गरेका छन् । नेपाली गीत–सङ्गीत नेपालीभाषीको धरोहर भएको हुँदा भारतीय नेपालीभाषी समेत यसबाट पृथक् रहन सक्तैनन् । नवीनको यो कृति गीत–सङ्गीतकै केन्द्रबिन्दुमा रहेर इतिहासदेखि वर्तमानसम्म निर्माण भएको धरातललाई विस्तार गर्ने अभीष्टमा रहेको छ ।

गीत–सङ्गीत र साहित्यमा भूगोलको सीमारेखाले अलिकति पनि फरक नपार्ने कुरा नवीनले नेपाल र भारत बिचको सांस्कृतिक सहसम्बन्धले जोडेको नाताबाट पुष्टि गरेका छन् । नेपालका धर्मराज थापा (गायक–गीतकार), राजेन्द्र थापा (गीतकार), पल शाह (अभिनेता), मलिका (अभिनेत्री), झलकमान गन्धर्व (गीत सङ्कलक र गायक), चाँदनी शाह (गीतकार) कृष्णहरि बराल (गीतकार), गोपाल योन्जन (गीतकार) अम्बर गुरुङ (सङ्गीतकार), रविन शर्मा (गायक), मदनकृष्ण श्रेष्ठ (कलाकार), मिथिला शर्मा (कलाकार), राजनराज शिवाकोटी (गीतकार), मार्मिक लामा (गायक) आदिले गीत–सङ्गीतका क्षेत्रमा पुर्‌याएको योगदानलाई विश्लेषण गर्न बिर्सेका छैनन्, नवीन पौड्यालले ।

कृतिको मन्तव्यमा डा. राजेन्द्र भण्डारीले जीवन, गीत र लयलाई एक अर्काका पूरक ठहर्‍याउँदै सर्वोत्कृष्ट लय चाहिँ ‘आमाको काख’ हो भनेर पुष्टि गरेका छन् । जुन लय गीत–सङ्गीतभन्दा जेठो भनेर स्विकारिएको छ । शायद यही आशीर्वचनलाई शिरोधार्य ठहर्‌याउने क्रममा नवीन पौड्यालको ‘नेपाली गीतको सेरोफेरो’ आइपुगेको हो, जहाँ असम, देहरादुन, कालेबुङ, डुवर्स, सिक्किम, दार्जिलिङ वा कलकत्ताको माटोले अर्थ्याएको छ । यसका अतिरिक्त नेपालको पुण्यितता पनि सह–संस्कृतिकीले जोडिन पुगेको छ । नवीनको मातृभाषाप्रतिको उत्कृष्ट अनुराग योभन्दा अर्को हुन सक्तैन । भारतीय नेपाली गीत लेखन वा गायन परम्पराको एक शताब्दी पुरानो इतिहासलाई पुनर्नवीकरण गर्न नवीनले विभिन्न स्रोत सामग्रीहरूलाई उपयोग गरेका छन् ।

नेपाली गीतका प्रारम्भिक चरणमा सन् १९०३ मा देखा परेका पुरुषतर्फ प्रथम गायक पहिलो विश्वयुद्धमा नेपालबाट भारत लाहुरे भएर गएका सेतुराम श्रेष्ठ हुन् भने नेपालकी मेलवादेवी सन् १९३१ मा देखा परेकी गायिका हुन् । यहाँ नवीनले मेलवादेवीलाई बिर्सेको अनुभव हुन्छ ।

त्यस कालमै असमका हरिनारायण उपाध्याय ‘विद्याभूषण’द्वारा सन् १९१० मा प्रकाशित गीत सङ्ग्रह, देहरादुनका बहादुरसिंह बरालद्वारा सन् १९३२ मा प्रकाशित गीत सङ्ग्रह, देहरादुनकै मास्टर मित्रसेन थापाद्वारा सन् १९४० मा रेकर्डिङ गरिएका गीतहरूले एउटा खाका कोर्दै गर्दा अगमसिंह गिरी, हरिभक्त कटुवाल, जस योन्जन प्यासी, सीके श्रेष्ठ, पुरण गिरी, पुष्कर पराजुली, नरदेन रुम्बा, बली सुब्बा, शरण प्रधान, तुलसी घिमिरे र सानु लामाजस्ता विशिष्ट भारतीय नेपाली गीत सर्जकहरूले आधुनिक युगको सूत्रपात गरेका हुन् ।

भारतीय नेपाली गीतकारहरूका बारेमा लेखिनुपर्ने थुप्रै कुरा छुटेको लेखकको आत्मस्वीकृतिलाई मनन गर्दा प्रस्तुत कृतिले थप अर्को अनुसन्धानको ढोका खोल्नु पर्ने तथ्य पुष्टि गरेको छ ।

समालोचना र अनुसन्धानको कार्य कम जोखिमपूर्ण हुँदैन । यो कार्यमा लगनशीलता र निर्भीकता विशेष आवश्यक हुन्छ । यसका अतिरिक्त अवसर र सुविधाबाट वञ्चित हुनेहरूका लागि थप जटिलता उत्पन्न हुनु अस्वाभाविक होइन ।

दार्जिलिङ जिल्लाअन्तर्गत रहेको कालेबुङ (हाल आफैँभिन्न जिल्लामा रूपान्तरित भइसकेको छ) भारतको पूर्वोत्तर राज्यमा पर्ने एक पहाडी भूभाग हो । यहाँ काठमाडौँको जस्तो सुविधा र अवसरहरू छैनन् । तथापि काँचो उमेरमा रहेका नवीन पौड्याललाई विशाल भारतभरि छरिएर रहेका नेपालीभाषी–नेपाली सांस्कृतिक सम्पदालाई खोजेर- बटुलेर समीक्षा विश्लेषण गर्ने कार्य निकै कठिन विषय हो । अझ यहाँ विज्ञ र मार्गदर्शकका अभावमा यसै हो भनेर यकिन गर्न कति कठिन हुन्छ, सहजै अनुमान गर्न सकिन्छ । यस्तो स्थितिमा यी कठिनता र चुनौतीहरूलाई आत्मसात् गरेर नेपाल र भारतलाई जोड्ने यो सांस्कृतिक कार्य सामान्य मान्न सकिन्न ।

कृतिमा भाषागत अशुद्धता, अन्वेषणात्मक कार्यकुशलतामा अपूर्णता, गायक गीतकारहरूको जन्म साल र रचना कालका इस्वी संवतमा देखिएका कमी कमजोरी हुँदा हुँदै पनि भारतीय इतिवृत्तमा शताब्दीदेखि चलिआएका गीत–सङ्गीत क्षेत्रको प्रवर्द्धन र अभिलेख व्यवस्थापन गर्ने कार्य नवीनको प्रशंसनीय पक्ष हो ।

नवीनले जीवनको लय मात्र हैन गीतको, सङ्गीतको मर्म बुझेका छन् । लयात्मकतामा रहेका ती उद्यमताहरूलाई भारतीय नेपाली सांस्कृतिक पहिचानसित पर्गेलेर हेर्ने र अर्थ्याउने क्रममा नवीनले ‘गीति साहित्यको सुदीर्घ’ परम्परालाई प्रवर्द्धन मात्र नगरी सम्मानित तुल्याउन यो कृतिको प्रारूप तयार गरेका हुन् ।

अभिव्यक्ति सम्प्रेषणमा कविता–काव्य, कथाख्यान, नाटक वा निबन्ध सरह गीत–सङ्गीतको विशिष्ट भूमिका हुन्छ । यसले दर्द–विरह, पीडा-खुशी, हर्ष, उत्प्रेरणा, आह्लाद–आनन्द र जनजागरण प्रस्फुटन गर्न प्रभावकारी प्रस्तुति गर्दछ। गीत सङ्गीतको ऊर्जा र व्यापकतालाई विश्वको कुनै पनि सत्ता र शक्तिले नजर अन्दाज गर्न मिल्दैन । विश्वप्रसिद्ध नोबेल पुरस्कारबाट ओझेलमा रहेको गीत सङ्गीतको क्षेत्रले स्टकहोममा अवस्थित नोबेल फाउन्डेसनलाई साहित्यका अन्य विधाले झैँ नतमस्तक पारेको घटना अमेरिकी गायक तथा गीतकार बब डायलन एक प्रत्यक्ष उदाहरण हुन् ।

जातीय वा राष्ट्रिय पहिचानलाई एकताको सूत्रमा बाँध्ने गीत-सङ्गीतमा ईश्वरीय शक्ति हुन्छ, जसमा प्राणी जाति र प्रकृतिका बिच शान्ति र उमङ्गको एक सुखद् लय गाँसिएको हुन्छ ।

लयको आविष्कार र परिष्कारमाथि सूक्ष्म विश्वदृष्टि राख्ने क्षमता भएका गायक, गीतकार र सङ्गीतका व्यञ्जनकारहरूलाई आवहन गर्न नवीन पौड्याल सफल देखिएका छन् ।

नवीनले गीत, सङ्गीत र शब्दलाई न्याय गर्ने क्रममा आफ्नो समालोचकीय छविलाई सङ्कुचन गरेका छैनन् । ओझेलमा रहँदै आएका गीतकार र वाद्यवादनकारलाई पनि यथोचित स्थान दिनुपर्ने कुरामा विशेष सतर्कता देखाएका छन् ।

कृतिलाई निर्बन्ध आलेखमा व्याख्या र विस्तार गर्दा अनुभूतिका सुयोगहरूलाई विशिष्टीकृत गर्ने क्षमता एक कुशल निबन्धकारमा निर्भर गर्छ । नवीन पौड्यालको प्रतिविम्ब समालोचकीय व्यक्तित्वमा मात्र सीमित छैन । एक प्रखर निबन्धकारको हैसियत निर्माण गर्न सफल भएको देखिन्छ।

नवीन पौड्यालको समालोचकीय व्यक्तित्वसित जोडिएको निबन्धकार छविलाई उद्घाटन गर्न ज्ञानबहादुर क्षेत्री धेरै हदसम्म सजग रहेका छन् ।

‘अभिव्यक्तिका माध्यमहरूमा गीतको छुट्टै महत्त्व छ, किनभने गीतका शब्दहरूलाई सुर र सङ्गीतले सजाएर कारगर र प्रभावकारी तुल्याएको हुन्छ । कुनै पनि गीतको पुस्तकीय अध्ययन मात्रको आधारमा सही मूल्याङ्कन हुँदैन । तर साहित्यका अरू विधासरह गीतमा पनि शब्दले नै आत्माका रूपमा रहेर प्रमुख भूमिका खेलेको कुरालाई अस्वीकार गर्न मिल्दैन ।’

नवीन पौड्यालले ‘गीत सङ्गीतको सेरोफेरो’लाई इतिहास र अनुसन्धानको मापदण्डमा भित्र्याउँदै गर्दा शब्दको सार्थकतालाई बल प्रदान गरेका छन् । कल्पनाशक्तिको निर्बन्धतालाई अलङ्कृत गरेका छन् । त्यसैले यस कृतिभित्रका समालोचकीय परखहरू अनुसन्धानका कसीमा छन् । मूल्य र अस्तित्वका दसीमा छन् ।