यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानम धर्मस्य तदात्मानं सृजाम्यहम् ॥
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥
माथिल्ला दुई श्लोकको अर्थ:
जब जब धर्मको नाश र पापको उदय हुन्छ
धर्म उत्थानका लागि म आफैंलाई सिर्जना गर्दछु ।
साधु र सत्पुरुषहरूको रक्षा र दुष्टहरूको नाश गरी
धर्मको स्थापना गर्न, म हरेक युगयुगमा जन्म लिनेछु ।
गीतामा कृष्णले अर्जुनलाई भनेका सर्वाधिक चर्चित श्लोकहरू हुन् ती ।
कृष्णको बारेमा कहाँबाट थाल्ने ? जसको थालनी र अन्त नै छैन, त्यसको बारेमा जहाँबाट थाले पनि हुने रहेछ । कृष्णको जन्म पनि कृष्णको सुरु हो भन्न सकिँदैन । कृष्ण एक गोलाकार बल जस्तै पात्र हुन् जसको सुरु र अन्त दुवै हुँदैन ।
“… देवकीको आठौं गर्भबाट जन्मेको सन्तानले तेरो विनाश गर्छ” भन्ने भविष्यवाणी भएदेखि नै कंशले आफ्नी बहिनी देवकी र ज्वाइँ वासुदेवलाई कठोर जेलभित्र थुनेर राखेको छ । उनीहरूलाई जुन कोठामा कैद गरिएको छ, त्यहाँ पुग्न ५ वटाभन्दा बढी ढोका पार गर्नुपर्छ । देवकीको पहिलो सन्तान जन्मेपछि नै कंशले वध गरिदिन्छ । त्यसपछि दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैठौं र सातौं सन्तान पनि मारिसकेको छ र कंश आठौं गर्भको बेहद प्रतीक्षामा छ । यो आठौं गर्भको प्रतीक्षा केवल कंश मात्र गर्दै छैन, वासुदेव र देवकी दुवै गर्दैछन्, कंशको अत्याचार सहने सबै जनहरू गर्दैछन् । पृथ्वीमा मात्र होइन, देवाधिदेवहरू पनि देवकीको आठौं गर्भको प्रतीक्षारत छन् । अब यति बिघ्न प्रतीक्षाबाट जन्मने कृष्णको जीवनको सुरुआत कुन हो भनेर कसरी भन्न सकिन्छ ?
देवकी र कंश एउटै बा-आमाका सन्तान होइनन् । मथुरामा उग्रसेन नामका एक राजा थिए । तिनका भाइको नाम देवक थियो । उग्रसेन र पद्मावतीको छोरो कंश थियो । देवकी चाहिँ देवककी छोरी थिइन् । यसकारण, देवकी र कंश दाजुभाइका छोरा छोरी, अथवा दाजु बहिनी थिए ।
आठौं गर्भ अथवा कृष्ण जन्म हुने रात आकाशवाणी हुन्छ, “कसैले थाहा नपाउने गरी यो गर्भ रातमै यमुनापार लगी नन्द रायकोमा छोडी आउनू र तिनकी कन्या लिएर आउनू ।” भाद्र महिना कृष्णपक्ष अष्टमीको त्यो रात देवकीको गर्भबाट कृष्णको जन्म हुन्छ । कैदका ढोका खुल्छन् । पहरेदार निदाउँछन् । यमुनाको जलसागरले वासुदेवको बाटो छोडिदिन्छ । वासुदेव राती नै गोकुल, नन्द गाउँमा पुगेर नन्द रायसँग बालक जन्मिएको र आकाशवाणी भएको कुरा सुनाउँछन् । नन्द रायले पनि मद्दत नै गर्दछन् । त्यहीँ रात नन्द रायको घरमा यशोदाको गर्भबाट कन्या जन्मिएको तर यशोदालाई कन्या हो कि बालक हो थाहा भइसकेको हुँदैन । उनी निदाइरहेकी हुन्छिन् । उनले थाहा नपाई नन्द रायले वासुदेवले ल्याएको बालकसँग आफ्नी कन्या साटिदिन्छन् ।
त्यसै रात वासुदेव मथुरा फर्कन्छन् । यथास्थितिमा कैदका ढोका लाग्छन्, पहरेदार ब्युँझन्छन् । रातभर के भयो ? पहरेदार कसैलाई थाहा हुँदैन, मात्र देवकीको बच्चा जन्मिएको थाहा पाउँछन् । कंशको दरबारमा खबर पुग्छ । कैदखानामा आएर हेर्दा कंशले कन्याको जन्म भएको देख्छ र आश्चर्य मान्छ । भविष्यवाणीमा बालक जन्मन्छ भनेकोले कंशले षड्यन्त्रको गन्ध पाउँछ तर भएको के हो अनभिज्ञ रहन्छ । बालक होस् वा कन्या, यो आठौं गर्भ हो भनेर बच्चा खोसी भित्तामा पछार्न खोज्दा कंशको हातबाट कन्या उडेर जान्छे र भन्छे, “हे दुष्ट ! तेरो वध गर्ने बालकको जन्म भइसकेको छ ।”
कंशले आफ्नो राज्यमा त्यस रात जति पनि बालकहरू जन्मिएका छन्, सबैको वध गर्नू भन्ने आदेश दिन्छ । कंशका सेनाले राज्यभरि त्यस रात जन्मिएका सारा बालकहरूको वध गर्दछन् । राज्यमा कोलाहल हुन्छ । कृष्ण जन्मेको रातका सबै बालक मारिसके पनि नन्द रायको एक बच्चा बाँकी रहन्छ । यो कुरा थाहा पाएपछि कंशले एक राक्षसनी पुतनालाई कृष्णको वध गर्न पठाउँछ । पुतनाले नन्द रायको घरबाट कृष्णलाई चोरेर लान्छे । केही पर लगेर दूध खुवाउने निहुँमा मार्न खोज्छे तर कृष्णले पुतनाको दूध चुस्ने क्रममा त्यसको प्राण नै चुसेर लिन्छन् ।
श्रीकृष्ण अवतार भगवान् विष्णुको २२ औं अवतार हो भने १० मुख्य अवतारमध्ये ८ औं अवतार हो । भगवान् विष्णुले द्वापरयुगमा मथुरामा कंशकी बहिनी देवकी र वासुदेवका पुत्रको रूपमा जन्म लिएका थिए । सनातन हिन्दु धर्म मान्नेहरूका लागि श्रीराम जस्तै श्रीकृष्ण पनि अत्यन्तै लोकप्रिय र पूजनीय छन् । हिन्दु धर्ममा उनको विशेष स्थान छ । रामायणमा रामको जस्तै महाभारतमा श्रीकृष्णको वर्णन र मुख्य भूमिका रहेको छ । महाभारत युद्ध सुरु हुनु पूर्व कौरव र पाण्डवपक्ष युद्ध लड्न आम्नेसाम्ने खडा थिए, ठीक त्यही बेला श्रीकृष्णले अर्जुनलाई ती दुवै सैन्यहरूका बीचमा जुन ज्ञान दिए, त्यो ज्ञान श्रीमद्भागवत् गीताको रूपमा विश्वप्रसिद्ध छ । गीता एक यस्तो ग्रन्थ हो जसलाई आज पनि विभिन्न समारोहमा शपथ ग्रहण गर्दा अथवा अदालती कामकारबाहीमा साक्षी बयान गराउँदा गीतालाई छोएर सत्यतथ्य बोल्नेछु भनी शपथ खुवाइने प्रचलन रहेको छ । अर्को शब्दमा हिन्दु माइथोलोजीमा गीता सर्वाधिक पढिने र सबैभन्दा लोकप्रिय पुस्तक हो ।
युद्धको शंख बजिनसकेको बेला अर्जुनमा युद्धप्रति नैराश्यता छाउँछ । आफ्नो नातेदार, भाइहरू, गुरुजनहरू, बन्धुवान्धवहरूसँग युद्ध लड्नुपर्ने देखेपछि अर्जुन यस्तो युद्धको औचित्य नदेखी आफ्नो गाण्डीव बिसाउँछन् । अर्जुनलाई यही निराशाको अँध्यारोबाट कृष्णले ज्ञानको उज्यालोमा ल्याउँछन् । अर्जुन र कृष्णको बीच भएको यही संवाद नै गीता ज्ञान हो जसलाई ऋषि व्यासले टिपोट गरी लिपिबद्ध गरेका हुन् ।
कृष्णको बारेमा हजारौं कथाहरू छन् । गोलाकार रूप प्रतिबिम्ब भएका कृष्णको वर्णन गर्न सजिलो छैन । उनी एउटै समयमा अनेक जीवन बाँच्न सकेका पात्र हुन्, एउटा पूर्ण जीवन । हामी मनुष्य अगाडि–पछाडि, दायाँ–बायाँ र तल–माथि तीन आयामिक जीवन बाँचिरहेका छौं । कृष्ण बहुआयामिक जीवन बाँचेका पात्र हुन् । मनुष्य जीवनभन्दा पर उनी समय, अन्तरिक्ष, ग्रह उपग्रह, तारा, नक्षत्र, जन्म मृत्यु, भूत, वर्तमान, भविष्य त्रिकालदर्शी र परालौकिक जीवन पनि एकै पटक बाँच्न सक्ने पात्र हुन् । वर्तमानको जमिनमा टेकेर विगतमा के थियो ? आज वर्तमानमा के छ ? र भविष्यमा के हुनेछ ? त्यसको नतिजासमेत थाहा पाउने असीमित क्षमता भएका पात्र हुन् कृष्ण । उनी गीता उपदेशमा अर्जुनलाई भन्छन्, “यो जति पनि ब्रह्माण्ड छ, त्यो सबै मभित्र छ, तर म यिनीहरू कहीँमा छैन, यी सबभन्दा पर छु म ।” अर्जुनको यही संशय हटाउन कुरुक्षेत्रमा कृष्णले अर्जुनलाई दिव्यदृष्टि प्रदान गर्दै आफ्नो विराट स्वरूप देखाउँछन् र अर्जुनको द्विविधा हटाइदिन्छन् ।
कृष्ण यदुवंशी थिए । गोकुलमा गाई चराउने ग्वाला थिए तर उनले द्वारिका नगरी खडा गरी त्यसमा राज गरे । गाई चराउन जंगल जाने र झरी बादल सहँदै रातभर बिताउनेदेखि राजमहलसम्म पुगेर पहलमानहरूसँग कुस्ती खेल्न पनि पुगे । उनी स्वयम् राजा भएनन्, तर उनले धेरैलाई राजा बनाए । उनी प्रत्यक्ष राजनीतिज्ञ होइनन्, तर राजनीतिमा उनलाई कसैले परास्त गर्न सकेनन् । उनी कुनै देश वा राजाहरूका लागि कूटनीतिज्ञ पनि थिएनन् तर आफ्नो कूटनीतिको प्रयोग गरी त्यो युग नै उनले आफ्नो इशारामा चलाए । कृष्णले आफ्ना धेरै विरोधीहरूमध्ये थोरैलाई मात्र प्रत्यक्ष वध गरे भने अधिकांशलाई अरूबाट वध गराए जसले गर्दा त्यसको प्रत्यक्ष दोष आफूले बोक्नुपरेन । यो नै उनको कूटनीति थियो । मित्रहरूलाई कसरी आफ्नो पक्षमा राख्नुपर्छ र विरोधीहरूलाई धुलिट्याम पार्नुपर्छ भन्ने ज्ञान कसैले कृष्णसँग सिके हुन्छ । कसैको पनि सबल वा दुर्बल पक्ष पत्ता लगाई त्यसको सही उपयोगद्वारा नतिजा आफ्नो पक्षमा पार्न सक्ने त्यो युगका सबैभन्दा चतुर खेलाडी हुन् कृष्ण ।
कृष्ण कूटनीतिका केही प्रसङ्गहरू हेर्न सकिन्छ ।
००००
प्रसङ्ग १— कृष्णले भक्तहरूलाई असाध्यै प्रेम र आदर गरे तर तिनीहरूको वध गर्न/गराउन किञ्चित पनि संकोच मानेनन् । महाभारतमा भीष्मलाई उनी त्यस युगका एक महान् र आदरणीय व्यक्ति मान्थे । भीष्मका बाध्यता पनि उनी राम्रासँग बुझ्थे । भीष्म पनि कृष्णका परमभक्त थिए । उनी कृष्ण को हुन् ? भन्ने ज्ञान राख्थे तर युद्धमा पाण्डवहरूको जितका लागि उनले कूटनीतिक रूपमा शिखण्डीको प्रयोग गरी उनै भीष्मको वध गराए ।
प्रसङ्ग २— उनी कर्णलाई उत्तम पुरुष मान्थे, धर्मको ज्ञान भएको एक महात्मा मान्थे, पाण्डवहरूको जेठो भाइ कुन्तीपुत्र हुन् भन्ने पनि जानकार थिए तर युद्धमा निःशस्त्र अवस्थामा अर्जुनलाई उनीमाथि वाण प्रहार गराउन दबाब दिएर उनको वध गराए ।
प्रसङ्ग ३— युधिष्ठिर इन्द्रप्रस्थको राजा भएपछि कृष्णले नै उनलाई राजसूय यज्ञ गर्ने सल्लाह दिए । यो यज्ञ सम्पन्न भएपछि युधिष्ठिर त्यस समयका बादशाह अर्थात् चक्रवर्ती सम्राट बन्ने थिए । यज्ञका लागि संसारभरका राजाहरूले समर्थन गर्नुपर्ने र सकेको धन मद्दत गर्नुपर्ने हुन्थ्यो । यस यज्ञको बाटोमा सबैभन्दा ठूलो अड्चन मगध देशका राजा जरासन्ध थिए । यसको कारण के थियो भने जरासन्ध त्यस समयमा असाध्यै बलशाली, पराक्रमी र वीर राजा थिए । उनको मृत्युको रहस्य कसैलाई थाहा थिएन । ऊ महादेवको ठूलो भक्त थियो एवम् महादेवलाई १०१ राजाहरूको बली चढाएर चक्रवर्ती सम्राट बन्न चाहन्थ्यो । त्यसैले उसले संसारका ६३ देशका राजाहरूलाई जितेर कैद गरी तिनीहरूको राज्यमा अधिकार जमाएको थियो ।
अर्को कुरा, जरासन्धका सबैभन्दा ठूला दुश्मन कृष्ण थिए किनभने कृष्णले उसका ससुरा एवम् परममित्र कंशको वध गरेका थिए । कंशको वध भएपछि जरासन्धले मथुरामा पटकपटक आक्रमण गरी त्यो देश र त्यहाँका जनताहरूलाई साह्रै दुःख दिएको थियो । कुटनीतिका चतुर खेलाडी कृष्णले जरासन्धको चक्रवर्ती सम्राट बन्ने सपनालाई युधिष्ठिरको राजसूय यज्ञको निहुँमा धुलिसात पारिदिए । भयो के भने कृष्णले यही मौकाको प्रयोग गरी भीमसेन र अर्जुनसँग ब्राह्मण भेषमा मगध देश गई अन्तमा मल्लयुद्धमा भीमसनेद्वारा जरासन्धको वध गराई उसले कैद गरेका ६३ राजाहरूलाई मुक्त गरिदिए । कैदमुक्त भएका ती राजाहरूले सजिलै युधिष्ठिरको राजसूय यज्ञलाई पनि समर्थन गरे । यसरी, कृष्णले युधिष्ठिरको राजसूय यज्ञलाई आधार बनाई जरासन्धको चक्रवर्ती बन्ने सपना युधिष्ठिरको भागमा हाली उनलाई चक्रवर्ती सम्राट बनाए । यहाँ पनि कृष्णले आफ्नो शत्रु जरासन्धलाई कूटनीतिकै प्रयोग गरी वध गरे ।
प्रसङ्ग ४— कृष्ण स्वयम् राजा होइनन् तर उनले धेरैलाई राजा पनि बनाए । जरासन्धको मृत्युपश्चात् त्यो राज्य नै उनी लिन सक्थे तर उनले त्यसो नगरी जरासन्धकै छोरो सहदेवलाई राजा बनाइदिए । जरासन्धले बन्दी बनाएका राजाहरूको राज्य पनि कृष्णले लिन सक्थे, तथापि उनले सबै राजाहरूलाई उनीहरूको राज्यमा पठाइदिए ।
प्रसङ्ग ५— कृष्ण र कालयवनका बीचको द्वन्द्व पनि कृष्ण कूटनीतिको अर्को उदाहरण हो । शेशिरायण अथवा गाग्र्यत मुनिलाई एक पटक यदुवंशीहरूले अपमान गरेका थिए । पितामाथिको अपमानको भारी बोकेर शेशिरायणका पुत्र कालयवन यदुवंशी र कृष्णसँग प्रतिशोधको भावना बोकेर हिँडेका थिए । भगवान् शिवजीले कालयवनलाई अजेय हुने वरदान दिएका थिए जुन कुरा कृष्णलाई ज्ञात थियो । कालयवनसँग नजितिने युद्ध गर्नुभन्दा बुद्धिले परास्त गर्नुपर्ने ठानी कृष्ण भाग्दैभाग्दै एउटा पहाडी गुफाभित्र पसे जहाँ मुचुकन्द ऋषि मस्त निद्रामा सुतिरहेका थिए । कृष्णले आफ्नो कपडा तिनै ऋषिमाथि ओढाइदिएर आफू एउटा कुनामा छेलिएर बसे । कृष्णलाई खेद्दै त्यही गुफामा पुगेका कालयवनले कृष्णको लुगा ओढेर सुतिरहेको मुचुकन्दलाई नै कृष्ण ठानी लात्ती प्रहार गरे । मुचुकन्दले निद्राबाट उठेर जसलाई अगाडि देख्छन्, त्यो जलेर भष्म हुने वरदान पाएका थिए । लात्ती प्रहारले निद्राबाट ब्युँझिएका मुचुकन्दले कालयवनलाई अगाडि देखे । मुचुकन्दको आँखाबाट अग्निको ज्वाला निस्कियो । अग्निको त्यही ज्वालामा डढेर कालयवन खरानी भए ।
महाभारतको युद्धपश्चात् कृष्णको जीवनमा यस्ता अनेकौं लीलाहरू भेटिन्छन् । तसर्थ, उनी लीलाका एक कुशल नायक पनि हुन् । कृष्णसँग जोडिएका केही रोचक कथाहरू पनि छन् ।
००००
केही कथाहरूलाई पढौं है त-
कथा १ : राधाको कृष्णसँग किन विवाह भएन ? रोचक कथा ।
राधालाई कृष्णकी प्रेमिकाको रूपमा चिनिन्छ । वैदिक साहित्यमा कृष्णसँग राधा अथवा राधासँग कृष्ण जोडिएर आउने पात्र हुन् । उनीहरूबीच बाल्यकालदेखि नै प्रेममय सम्बन्ध थियो तर उनीहरूको बीचमा विवाह भने हुन सकेन । कृष्णले विदर्भ देशकी राजकुमारी राजा भीष्मककी छोरी रुक्मिणीलाई हरण गरेर पत्नीका रूपमा ग्रहण गरेका थिए । वैवाहिक सम्बन्धद्वारा ल्याएका कृष्णका जम्मा ८ पत्नीहरू थिए, ती हुन्: रुक्मिणी, जाम्बवन्ती, सत्यभामा, कालिन्दी, मित्रबिन्दा, सत्या, भद्रा र लक्ष्मणा । अझ उनका सोह्र हजार एक सय गोपिनीहरू पत्नीका रूपमा थिए भन्ने कुरा पौराणिक कथाहरूमा पनि सुन्न र पढ्न पाइन्छ । विवाहित भएर पनि यति धेरै गोपिनीहरूसँग सम्बन्ध जोडिएका कृष्णको नाम सबैभन्दा बढी राधासँग जोडिएर आउँछ; र पनि राधासँग कृष्णको विवाह किन हुन सकेन ? यसबारे प्रश्न र जिज्ञासा आम रूपमै उठ्दछन् । यो प्रश्नको सटिक उत्तर कृष्णले दिएको भनेर कुनै शास्त्र वा पुराणहरूमा यकिनका साथ पाइँदैन । यसका पछाडि थुप्रै रोचक श्रुति कथाहरू सुन्न पाइन्छन् । तीमध्ये एउटा कथालाई म यहाँ राख्न चाहन्छु ।
राधा र कृष्णको विवाह नहुनुका पछाडिको कारण खोज्न राधा र कृष्णको जन्मपूर्व धेरै परको समयसम्म पुग्नुपर्ने हुन्छ । राधाकृष्णको जन्मकालभन्दा धेरै पूर्वसमयको कुरा हो- शुक्राचार्य, स्वर्गका राजा इन्द्र र भगवान् विष्णुका बीचमा अनौठो द्वन्द्व चलेको थियो । शुक्राचार्य एक विशिष्ट ज्ञानी ऋषि थिए । उनको ज्ञानको तुलना भगवान् विष्णुसँग हुन्थ्यो । अझ शुक्राचार्यलाई भगवान् विष्णुभन्दा पनि बढी ज्ञानी मानिन्थ्यो । शुक्राचार्य पनि आफूलाई विष्णुभन्दा माथि नै ठान्थे । उनको यही ख्याति र प्रसिद्धिले शुक्राचार्य चाहन्थे- इन्द्रले आफूलाई गुरु मानुन् । यसका बाबजुद राजा इन्द्रले शुक्राचार्यको साटो भगवान् विष्णुलाई गुरु माने । यसलाई शुक्राचार्यले आफ्नो अपमान भएको सम्झिएर इन्द्रलाई पाठ सिकाउन प्रतिशोधपूर्ण उपायको खोजी गर्न थाले । उपायको पहिलो कडी उनले देवताहरूका जाति दुश्मन दैत्यहरूलाई प्रयोग गर्ने मनसाय राखी उनीहरूलाई शिक्षा दिन थाले । अब शुक्राचार्य राक्षसहरूका गुरु बने । इन्द्रसँग लड्न शुक्राचार्यलाई दैत्यहरूको ठूलो शक्ति प्राप्त भइसकेको थियो । उपयुक्त मौका पर्खिएर बसेका शुक्राचार्यले दानवहरूको बलमा इन्द्रसँग युद्धको अन्तिम तयारी गरे ।
युद्धको घोषणा गर्नुपूर्व उनले दुवै तर्फको शक्तिको आकलन गर्दा शुक्राचार्यले देवताहरूलाई परास्त गर्न कठिन हुन सक्ने महसुस गरे । यसको कारण के थियो भने देवताहरूलाई कुशमाण्डा माताले संरक्षण गरेकी थिइन् ।
तब शुक्राचार्यले कुशमाण्डा मातामाथि विजय हासिल गर्नका लागि महादेवको तपस्या गर्न थाले । महादेवलाई प्रसन्न पारी उनलाई गुरु बनाउने शुक्राचार्यको पहिलो योजना थियो । महादेवलाई गुरु बनाएपछि महादेवबाट मृत सञ्जीवनीको वरदान माग्ने उनको दोस्रो योजना थियो । आफ्नो योजनाअनुसार महादेवबाट वरदान प्राप्त गरेपछि शुक्राचार्यले सम्पूर्ण राक्षसजातिलाई आफ्ना परिवार तथा बालिबालिकाहरूलाई भृगु ऋषि र काव्यमाताको कुटीमा राख्नू भनी आदेश दिए ताकी देवताहरूले राक्षसजातिमाथि हानी गर्न नसकुन् । भृग ऋषि र काव्य माता शुक्राचार्यका पिता माता हुन् ।
देवताविरुद्ध यस्तो भयंकर युद्ध गर्ने योजना चाल पाएर इन्द्रले भृगु ऋषिको आश्रममाथि आक्रमण गरे । देवता र दानवहरूका बीच भयानक लडाइँ भयो । देवताहरूको आक्रमणबाट बच्न काव्य माताले असुरहरूको वरिपरि अभेद्य कवचको निर्माण गरिन् । यस्तो अभेद्य रक्षा कवचले घेरिएपछि देवता र असुरहरूका बीच भएको भयङ्कर युद्धमा देवताहरूको हार हुन थाल्यो ।
देवता र दैत्यहरूको युद्धलाई ध्यानसँग नियाल्दै गरेका विष्णुलाई शुक्राचार्यको उद्देश्य थाहा नहुने कुरै थिएन । शुक्राचार्यको आफूप्रतिको ईर्ष्या र देवताहरूसँगको वैरभावको ज्ञान राम्रोसँग थाहा थियो । दैत्यहरूलाई शिक्षा दिई देवताहरूको विरुद्ध लडेका शुक्राचार्य केवल बदलाको भावमा छन् भन्ने कुरा विष्णुका लागि अज्ञात थिएन । तसर्थ, देवताहरू परास्त हुन थालेको देखेर भगवान् विष्णुले देवताहरूको सहयोगका लागि आफ्नो सुदर्शन चक्रले काव्य माताको शिरच्छेदन गरिदिए ।
विष्णुले आफ्नी पत्नीको शिरच्छेदन गरेको देखेर क्रोधित भई ऋषि भृगुले विष्णुलाई धरतीमा गएर पत्नीवियोग सहनुपरोस् भनी श्राप दिए । शिरच्छेदन गरिएकी आफ्नी पत्नी काव्यमतालाई भृगुले पछि कामधेनु गाइको मद्दतले पुनर्जीवन दिए ।
केही कालपछि पृथ्वीमा जब कृष्णका रूपमा विष्णुको अवतार भयो, राधासँग उनको भेट भयो । उनीहरूका बीचमा गहिरो प्रेम बसे पनि जब कृष्ण गोकुलबाट मथुरा गए, त्यसपछि राधासँग उनको सदाका लागि बिछोड भयो । उनीहरूको जीवनभरि एक पटक पनि मिलन हुन सकेन । भृगु ऋषिको त्यही श्रापको कारणले उनको राधासँग विवाह हुन सकेन ।
द्रष्टव्य: कुशमाण्डा माता को हुन् ? कुशमाण्डा माताको बारेमा धेरैलाई थाहा नहुन सक्छ । हिन्दु धर्मावलम्बीहरूले पूजा गर्ने शक्तिकी देवी दुर्गा भवानीका नौ वटा शक्तिस्वरूपमध्ये चौथो शक्तिस्वरूप कुशमाण्डा माता हुन् । दुर्गा भवानीमाताका अन्य शक्तिस्वरूपमा शैलपुत्री, ब्रह्मचारणी, चन्द्रघण्टा, कुशमण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन् । हिन्दुहरूको महान् चाड दशैंको बेला आशीष दिइन्छ, “नवदुर्गा भवानीले रक्षा गरून् ।” दशैंमा नवदुर्गा भवानी भनेर नौ दिनसम्म पूजा गरिने नवदुर्गाहरू यिनै हुन् ।
कथा २: कृष्णका १६,१०० गोपिनी कसरी भए ?
उहिले द्वापरयुगको कुरा हो, नरकासुर नामको दैत्य प्रागज्योतिषपुर राज्यको राजा थियो । पुराणका अनुसार ऊ विष्णु र भूदेवीको सन्तान भए पनि दानवी चरित्रको थियो । उसले त्यस राज्यका साधु सन्त ऋषि आदि सबैलाई अत्यन्तै दुःख दिन थाल्यो । उसको प्रताडनाको शिकार नहुने कोही पनि थिएनन् । नारकासुरले आफूलाई नै भगवान् घोषणा गरी धर्मको परिभाषा आफैंले निर्माण गरेको थियो । “आफूले जे गर्छु त्यो नै धर्म हो” भन्ने उसको मान्यता थियो ।
नारकासुरले आफ्नो पराक्रम र शक्तिको आडमा देवताहरू इन्द्रलगायत वायु, अग्नि, वरुण सबैलाई काबुमा राखेको थियो । यी सबैलाई उसले युद्धमा हराई तिनीहरूको स्थान र श्रीसम्पत्ति सबै नै लियो । राज्यमा भएका सबै ऋषिमुनि तथा सन्तहरूका १६ हजार १ सय पत्नीहरू सबैलाई हरण गरी आफ्नो कैदमा राख्यो ।
नारकासुरको यस्तो जघन्य अपराध र अत्याचारबाट पीडित भएर सबैले श्रीकृष्णसमक्ष नारकासुरको अत्याचारविरुद्ध बिन्ती गरे । कृष्णले पनि उनीहरूको मद्दत गर्ने वचन दिए । नारकासुरलाई के वरदान प्राप्त थियो भने उसलाई कुनै पनि पुरुषहरूद्वारा हराउन नसकिने थियो । नारकासुरको यो वरदानसँग कृष्ण राम्रोसँग परिचित थिए । त्यसैले, उनले नारकासुरसँग युद्ध लड्न जाने निधो गरी आफ्नी पत्नी सत्यभामालाई सारथी बनाई लगे ।
सत्यभामालाई सारथी बनाई आकाशमार्गबाट कृष्ण नारकासुरको नगरी प्रागज्योतिषपुर पुगे । आकाशमा कृष्णलाई देखेर दैत्यराज कृष्ण भए ठाउँ पुगेर आफ्नो बखान गर्न थाल्यो । युद्धको धम्की दिँदै आफूलाई कसैले परास्त गर्न नसक्ने कुराको घमण्ड प्रदर्शन गर्यो । कृष्ण र नारकासुरका बीचमा ठूलो युद्ध भयो । नारकासुरले कृष्णको धनुलगायत अन्य सबै शस्त्रहरू भस्म गर्यो । लगातार कृष्णलाई पराजित गर्दै गएको नारकासुरले कृष्णमाथि एक शक्तिवाण प्रहार गर्यो । निहत्था जस्तै भएका कृष्णलाई बचाउन सत्यभामाले नारकासुरको त्यो शक्तिलाई आफ्नो हातको पञ्जाले छेकिदिइन् । नारीशक्तिद्वारा मात्र परास्त हुने वरदान पाएको नारकासुरको शक्तिलाई सत्यभामाले छेकिदिएपछि उसको शक्ति तत्कालै घट्न थाल्यो । कृष्णले त्यही मौकामा आफ्नो सुदर्शन चक्र प्रहार गरी दैत्यको शरीर दुई टुक्रा बनाइदिए । यसरी, नारकासुर दैत्यलाई कृष्णले बध गरेपछि उसले बन्दी बनाएका सबै १६ हजार १ सय स्त्रीहरूलाई कृष्णले मुक्त गरिदिए र भने, अब आ-आफ्नो घरमा जानुहोला ।
नारकासुर दैत्यबाट मुक्त भएका ती सबै १६ हजार १ सय स्त्रीहरूले आफूहरू मुक्त भए पनि आफ्ना पति तथा बाआमाका घर जान नसक्ने बताउँदै अगाडि भने, “हे कृष्ण ! अब नारकासुर दैत्यको कैदबाट मुक्त भए पनि हाम्रा परिवारजनले हामीलाई स्वीकार गर्नेछैनन् । तसर्थ, हामी त्यसरी जान असमर्थ छौं । हामीलाई तपाईंले मुक्त गर्नुभयो भने बरु तपाईंले नै हामीलाई पत्नीका रूपमा स्वीकार गर्नुपर्छ । हाम्रो मुक्ति जसले गर्यो, संरक्षण पनि उसैले गर्नुपर्छ ।”
नारकासुर दैत्यको हरणमा परेका स्त्रीहरूको यस्तो पुकारा सुनेर श्रीकृष्णले पनि उनीहरूको नारी मर्यादाको रक्षा गर्नका लागि पत्नीको रूपमा स्वीकार गरेको हुनाले उनका १६ हजार १ सय पत्नीहरू भएका हुन् । कृष्णले ती सबै स्त्रीहरूलाई अब आफ्नो आफ्नो घरमा जानु भनी अगाडि भने, “अब तिमीहरू सबैको घरमा आफ्नो मान र शानको पुनर्स्थापना हुनेछ ।” त्यसपछि ती सबै स्त्रीहरू आ-आफ्नो घर फर्किए ।
कृष्णका पत्नी तथा पुत्रहरू-
कृष्णका ८ पटरानी रुक्मिणी, जाम्बवती, सत्यभामा, कालिन्दी, मित्रबिन्दा, लक्ष्मणा र सत्या थिए । यी प्रत्येक पत्नीहरूबाट १०, १० सन्तान गरी कृष्णका ८० पुत्रहरू जन्मेका थिए ।
१. रुक्मिणीका सन्तान : प्रद्युम्न, चारुदेष्ण, सुदेष्ण, चारुदेह, सुचारू, चरुगुप्त, भद्रचारू, चारुचंद्र, विचारू र चारू ।
२. जाम्बवतीका सन्तान : साम्ब, सुमित्र, पुरुजित, शतजित, सहस्त्रजित, विजय, चित्रकेतु, वसुमान, द्रविड र क्रतु ।
३. सत्यभामाका सन्तान : भानु, सुभानु, स्वरभानु, प्रभानु, भानुमान, चंद्रभानु, वृहद्भानु, अतिभानु, श्रीभानु र प्रतिभानु ।
४. कालिन्दी सन्तान : श्रुत, कवि, वृष, वीर, सुबाहु, भद्र, शांति, दर्श, पूणर्मास र सोमक ।
५. मित्रबिन्दाका सन्तान : वृक, हर्ष, अनिल, गृध्र, वर्धन, अन्नाद, महांस, पावन, वह्नि र क्षुधि ।
६. लक्ष्मणाका सन्तान : प्रघोष, गात्रवान, सिंह, बल, प्रबल, ऊध्र्वग, महाशक्ति, सह, ओज र अपराजित ।
७. सत्याका सन्तान : वीर, चन्द्र, अश्वसेन, चित्रगुप्त, वेगवान, वृष, आम, शंकु, वसु र कुंति ।
८. भद्राका सन्तान : संग्रामजित, वृहत्सेन, शूर, प्रहरण, अरिजित, जय, सुभद्र, वाम, आयु र सत्यक ।
यसका अतिरिक्त नारकासुरको बधपछि उनले स्वीकार गरेका अन्य १६ हजार १ सय पत्नीहरूबाट पनि कृष्णका १०, १० सन्तानहरू भए । यस हिसाबले गोपिनीहरूबाट १ लाख ६१ हजार पुत्रहरू भए । यसमा ८ पत्नीका ८० पुत्रहरू जोड्दा कृष्णका जम्मा सन्तानहरूको संख्या १ लाख ६१ हजार ८० थिए भन्ने देखिन्छ ।
००००
कृष्ण एक विज्ञान हुन् ।
द्रष्टव्य १: कृष्णको अर्थ कालो वा अँध्यारो हो । अर्थात् सृष्टिको उत्पत्ति हुनुपूर्व जुन अवस्था थियो, त्यो अन्धकारमय शून्यावस्था थियो, त्यो नै कृष्ण हो । कृष्ण माथि वर्णित …… एक पात्र मात्र होइन, ब्रह्माण्डको असीमित अन्धकार पनि हो । दृश्य ब्रह्माण्डको अँध्यारोभित्र पिण्डहरूको जम्मा मास ५ प्रतिशतभन्दा कम छ । यो अन्धकार हेर्दा अन्धकार भए पनि त्यसभित्र अनगन्ती खजानाहरू छन् । सम्भावनाको असीमितता त्यहीँ अन्धकारभित्र छ । हर अज्ञात कुराहरू अन्धकारमै लुप्त छन् । अन्धकारबाट निकालेर बाहिर ल्याएपछि मात्र त्यो वस्तुको पहिचान हुन्छ ।
आज जति पनि खोज तथा अनुसन्धानहरू भएका छन्, ती सबै कृष्णबाट बाहिर निकालेर उज्यालोमा ल्याइएको सूक्ष्म अंश मात्र हो । त्यो अँध्यारोभित्र पाइने अनन्त सम्भावनाको एक थोपा पनि बाहिर ल्याएन सकिएको छैन । जे जति उज्यालोमा ल्याइएको छ, त्यो उज्यालो नै पनि अँध्यारोबाट नै ल्याइएको हो ।
अर्को कुरा, अहिले विज्ञानले भनेको ब्ल्याक म्याटरको जुन कुरा छ, त्यो पनि कालो नै छ । त्यो कालो यस्तो कालो हो जसको चिनारी भइसकेको छैन । त्यो कालो वस्तु न कुनै मेसिनले देखाउँछ, न प्रयोगशालामा सिद्ध गर्न सकिन्छ । त्यसलाई न छुन वा अनुभव गर्न सकिन्छ । तर त्यो छ र त्यही कालो पदार्थले पैदा गर्ने घचेट्ने शक्तिको कारणले ब्रह्माण्ड फैलिरहेको छ भन्ने अनुमान गरिएको छ । ब्ल्याक म्याटरले उत्पन्न गर्ने शक्ति नै कृष्ण हो ।
अर्को कृष्ण “ब्ल्याक होल” पनि हो । ब्ल्याक होल अर्थात् भुमरी जस्तो बनेर घुमिरहेको कालो दुलो अत्यन्तै शक्तिशाली प्वाल हो जसको तान्ने शक्ति असीमित हुन्छ । यसले आफू वरिपरिका सबै आकाशीय पिण्ड, ग्रह तथा ताराहरूलाई आफूतिर तानेर निलिरहेको हुन्छ । यसको गुरुत्वबल यति धेरै हुन्छ कि प्रकाश पनि यसबाट बाहिर निस्कन सक्दैन । यसो भन्नुको मतलव, हजारौं लाखौं आकाशीय पिण्डहरू समाहित भइरहेको कालो दुलोमा प्रकाश छिर्दा परावर्तन भई फर्केर आउन सक्ने सम्भावना नै हुँदैन र केही पनि देख्न सकिँदैन । अर्को अर्थमा त्यसले प्रकाशलाई पनि चुसेर निल्छ । विज्ञानले पनि के भनेको छ भने ब्ल्याक होलभित्र विज्ञानका कुनै पनि नियमहरूले काम गर्दैनन् । तसर्थ, सृष्टिको नियमसमेत लागु नहुने त्यो ब्ल्याक होल वा कालो दुलो नै कृष्ण हो । यस कृष्णले जे जति निलिरहेको छ, ती कहाँ जान्छन् र तिनीहरूको अवस्था के हुन्छ भन्ने ज्ञान आजसम्म पनि कृष्णभित्रै छ ।
द्रष्टव्य २: आधुनिक वैज्ञानिक भाषामा भन्दा कृष्ण एउटा शक्ति “इनर्जी” हो । विज्ञानले भन्छ पदार्थ नष्ट भई इनर्जी बन्दछ । इनर्जी एक रूपबाट अर्को रूपमा बदलिन्छ तर नष्ट हुँदैन । यही नष्ट नहुने तर रूप बदलिरहने इनर्जी नै कृष्ण हो । कुरुक्षेत्रमा कृष्णले अर्जुनलाई भन्छन्, “यो सृष्टिको प्रलय हुँदा सबै कुरा नष्ट हुन्छ र सबै ममा विलीन हुन्छ । फेरि सृष्टि उत्पत्तिको आरम्भ हुन्छ, त्यो मबाट नै हुन्छ । यो इनर्जीको एक रूपै त हो ।
द्रष्टव्य ३: कृष्ण एक गोलाकार चरित्र हो, माथि नै भनियो । गणितको एउटा शाखा ज्यामितिमा गोलाकार आकृतिलाई वृत्त भनिन्छ । वृत्तको एउटा केन्द्रबिन्दु हुन्छ र यसभित्र ३६० वटा कोण हुन्छन् । सबै कोण केन्द्रबिन्दुबाट सुरु हुनाले केन्द्रबिन्दु सबै कोणको साझा बिन्दु हो तर केन्द्रबिन्दु कुनै पनि कोणको एकाधिकार होइन । भन्नुको मतलब, सबै कोणहरू केन्द्रबिन्दुबाट सुरु हुन्छन्; तर केन्द्रबिन्दु कहींबाट सुरु हुँदैन, यो आफैं एकल अस्तित्वमा छ ।
अब कुरुक्षेत्रमा कृष्णले अर्जुनलाई भने, “हे अर्जुन ! म सबैमा व्याप्त छु तर ममा कोही छैन, म स्वतन्त्र छु ।”
यसको अर्थ वृत्तभित्र केन्द्रबिन्दु सबै कोणमा व्याप्त छ तर केन्द्रबिन्दुमा कुनै पनि कोण व्याप्त छैन, केन्द्रबिन्दु स्वतन्त्र छ ।” तसर्थ, ज्यामितिको त्यो स्वतन्त्र तर सबै गतिविधि सुरु हुने केन्द्रबिन्दु नै कृष्ण हो । यस आधारमा कृष्णले माथि अर्जुनलाई भनेको भनाइलाई प्रस्टसँग पुस्टी गर्दछ ।
द्रष्टव्य ४: कृष्ण एक “क्वान्टम इन्ट्याङ्गल” अर्थात बहुअस्तित्व भएका व्यक्ति थिए । कृष्ण केवल एक अस्तित्व भएका व्यक्ति नभई बहुअस्तित्ववाला व्यक्ति थिए । यसको अर्थ हो, बाह्य अस्तित्वमा कृष्ण एकसांख्यिक व्यक्तित्व देखिए पनि अन्तर्यमा बहुसांख्यिक क्षमता भएका व्यक्ति थिए । अहिलेको क्वान्टम फिजिक्समा “क्वान्टम इन्ट्याङ्गल”को सिद्धान्त छ जसमा एउटा पदार्थको अस्तित्व ब्रह्माण्डको कुनै स्थानमा अर्को उस्तै पदार्थसँग जोडिएर बहुअस्तित्वमा हुन्छ भन्ने हो । फेरि भनौं, यो ब्रह्माण्डमा कुनै पदार्थ एक्लो छैन, त्यसोसँग जोडिएको अर्को पदार्थ पनि यो ब्रह्माण्डमा छ । त्यो कहाँ छ ? भनेर विज्ञानले अहिले पत्ता लगाइसकेको छैन, तर त्यो छ भन्ने प्रमाणित भएको कुरा हो । यही क्वान्टम इन्ट्याङ्गलमेन्ट सिद्धान्तका लागि सन् २०२२ मा भौतिक शास्त्रको नोबेल पुरस्कार ३ भौतिक शास्त्री एलेन एस्पेक्ट, जन क्लाउजर र एन्टोन जेलिङ्गरलाई प्रदान गरियो । यस सिद्धान्तलाई छोटकरीमा भन्नुपर्दा “कुनै पनि कणको अर्को पनि उस्तै अस्तित्व छ र तिनीहरू अनन्त दुरीमा भए पनि एकअर्कासँग एकै इकाईको जस्तो व्यवहार गर्दछन् । एक कण धरतीमा हल्लियो भने त्योसँग जोडिएको अर्को क्वान्टम पार्टिकल उही समयमा ठीक विपरीत तरिकाले त्यहाँ पनि हल्लिन्छ ।” यसरी दुई उस्तै रूपमा कणहरू हल्लिँदा तिनीहरूको बीचमा हल्लिने समय शून्य हुन्छ । कृष्णका अनेक क्वान्टम रूपहरू अलग अलग स्थानमा थिए र एक ठाउँमा भएको गतिविधि अर्को ठाउँमा पनि उही समयमा हुन्थ्यो । क्वान्टम इन्ट्याङ्गलमेन्टमा दुई पदार्थको कुरा आउँछ तर कृष्ण त्योभन्दा अझ बढी एकैपटक हजारौं क्वान्टम पार्टिकलहरूमा देखा पर्न सक्ने एक क्वान्टम क्यारेक्टर थिए ।
यसको प्रत्यक्ष उदाहरण माथि कृष्णको “कथा २”मा वर्णन गरिएका १६ हजार १ सय गोपिनीको कथासँग जोडिन्छ । जस्तो, ती सबै स्त्रीहरूलाई कृष्णले पत्नीको रूपमा स्वीकार गरेपछि ती स्त्रीहरू कृष्णलाई कसरी पाउँथे त ? खासमा जब ती स्त्रीहरू आफ्ना पतिहरूलाई देख्दथे, त्यहाँ उनीहरू कृष्णलाई पाउँथे । यसको तात्पर्य के हो भने गोपिनीहरूले आफ्ना पतिमा कृष्णको छवि पाउनु भनेको कृष्णको आफ्नो देखिने एक स्वरूपलाई बहुसंख्यामा उत्पन्न गराई हरेक गोपिनीका पतिस्वरूपमा प्रतिबिम्बित हुनु हो । यो नै उनको बहुसांख्यिक रूपको प्रमाण हो ।
यो कुराको पुस्टीका लागि कोमल गीतामा कृष्णले अर्जुनलाई भन्दछन्-
ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम्
मम वत्र्मा..नुवर्तन्ते मनुष्याः पार्थ ! सर्वशः
यसको अर्थ हो-
जो जस्तो भाव ली आउन् तिन्मा म त्यस्तै बन्दछु
सबै मानिसले पार्थ ! अनुगम्य सदा म छु ।
यो भनेको के हो भने कृष्ण एक भएर पनि धेरै अस्तित्वका व्यक्ति हुन् । उनको एक परिभाषा, एक चिनारी, एक रूप र एक अस्तित्व छैन । जसले जस्तो भाव लिएर आउँछ, कृष्ण त्यस्तै बन्दछन् । कसैले मित्रभाव लिएर आए मित्र, शत्रुभाव लिएर आए शत्रु, धनवान् सोचेर आए धनवान्, सहयोगी सोचेर आए सहयोगी उनको धर्म हो । १६ हजार गोपिनीले पतिभावमा हेरे, उनी पति बनेर देखा परे । जसले जुन भावले सोच्यो, त्यही भाव नै कृष्ण हो ।
कृष्णको बहुअस्तित्वको अर्को प्रमाण गोकुलमा भएको एक घटनालाई हेरे हुन्छ । घटना के थियो भने गोकुलमा उनलाई गाउँभरि दही घिर चोरेर खाएको भनी आरोप लागेको थियो । कृष्णकी माता यशोदाले यो आरोप पत्याएकी थिइनन् । एकदिन कृष्णले दही चोरी गरिरहेको बेला रङ्गे हात समातेर छिमेकीले खाँबामा बाँधी चोर प्रत्यक्ष गराउने हेतुले यशोदालाई बोलाउन उनको घरमा जाँदा कृष्ण घरमा खाना खाइरहेका थिए । छक्क पर्नु ! बाँधेको डोरी फुकाएर अघि यता भागेछ भनेर विश्वास गरेका छिमेकी फर्केर उनीहरूको घरमा जाँदा उता कृष्ण डोरीमै बाँधिएका थिए । एउटै कृष्ण उनको घरमा पनि प्रत्यक्ष थिए, छिमेकीको घरमा पनि प्रत्यक्ष थिए । यो कसरी भयो ? कसरी भने उनी एकबाट बहु अस्तित्वमा इन्ट्याङ्गल भएका वा जोडिएका एक वैदिक पात्र थिए । एउटै समयमा आफ्नो रूपलाई बहु संख्यामा उत्पादन गरी विभिन्न स्थानमा उपस्थित गराउन सक्ने भएकैले उनले १६ हजार गोपिनीहरूसँग अनेक लीला गर्न सक्थे ।
द्रष्टव्य ५: क्वान्टम फिजिक्समा “डबल-स्लिट एक्स्पेरिमेन्ट” भन्ने अर्को सिद्धान्तले “कुनै वस्तु एकै समयमा तरङ्ग र पदार्थको रूपमा हुनसक्छ” भन्दछ । यसको मतलब के हो भने यस प्रयोग विधिमा एउटा इलेक्ट्रोनलाई दुईवटा चेप भएको चौकुने पाटीबाट छिराई पर पर्दामा पुर्याउँदा तरङ्गका धेरैवटा स्पेक्ट्रम (छायाँ) देखा पर्दछन् । अब फेरि त्यस्तै इलेक्ट्रोनलाई त्यहीँ चेपबाट छिराई इलेक्ट्रोन कसरी छिर्दछ ? भनेर अवलोकन गर्न कुनै हेर्ने यन्त्र (अब्जरभेसन डिभाइस) राख्यो भने त्यो इलेक्ट्रोनले आफ्नो पदार्थको स्वरूपलाई पदार्थकै स्वरूपमा धेरै इलेक्ट्रोनका स्पेक्ट्रमहरू पर्दामा देखाउँछ । यसको अर्थ इलेक्ट्रोनलाई हेर्दा पदार्थ हो, नहेर्दा तरङ्ग हो । निष्कर्ष के हो भने एउटा इलेक्ट्रोन पदार्थ र तरङ्ग दुवै रूपमा अस्तित्वमा हुन्छ । यो कुरा प्रकाशको सन्दर्भमा पनि लागु हुन्छ र अन्य वस्तुहरूमा पनि लागु हुन्छ ।
यस प्रयोगको निष्कर्षलाई कृष्णमा हेर्यो भने उनी पदार्थ र तरङ्ग दुवै रूपमा देखा पर्ने क्वान्टम पार्टिकल हुन् । उनलाई छ भनेर हेर्यो भने नहुन पनि सक्छन्, छैन भनेर अस्वीकार गर्यो भने उपस्थित हुन सक्छन् । वैदिक साहित्यमा यस शब्दलाई माया अथवा लीला पनि भनिन्छ । कृष्ण एक माया हुन् । यसको प्रत्यक्ष प्रमाण कंशको दरबारमा मल्लयुद्धपश्चात् कंशका सबै कुस्तीबाजहरू हारेपछि कंशले अँगालो हाली निचोरेर मार्न खोज्दा कृष्ण कंशको अँगालोमा थिएनन्, अलि पर थिए । त्यही पुगेर कृष्णमाथि तरबार प्रहार गर्दा तरबारले कृष्णको शरीर पार गरे पनि त्यो केवल हावामा बत्तिए जस्तो मात्र भयो । यसको अर्थ भौतिक अस्तित्वमा देखिए पनि उनी पारदर्शी वायु वा तरङ्ग रूपमा भएकोले तरबार प्रहार विफल भयो ।
जे होस्, कृष्ण अवतार एक अद्भुत अवतार हो जसलाई वेद, पुराण र विज्ञान जुनसुकै विधाबाट प्रमाणित गर्न चाहे पनि प्रमाणित हुन सक्ने पात्र हुन् । कृष्ण जस्तो पात्र जन्माएर वैदिक साहित्यले हामीलाई लगाउनु गुण लगाएको छ । जय कृष्ण ।
रिचमण्ड, भर्जिनिया, अमेरिका ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१२ कार्तिक २०८२, बुधबार 










