पहिचान के हो

पहिचान भनेको व्यक्तिले आफूलाई चिनाउने परिचायक स्तम्भ हो । जाति (?), धर्म, लिङ्ग, विचारधारा, राष्ट्रियता, संस्कृति, भाषा, इतिहास, व्यवसाय, विश्वास तथा सम्बन्धित राज्यको नीति र कानूनका आधारमा व्यक्तिले आफू हुनुको अस्तित्वबोध गर्ने माध्यमलाई पहिचान मानिएको छ ।

पहिचानका मूलतः दुई तह छन् : निजी र साझा । यद्यपि, निजी पहिचानबिना केवल साझा पहिचानको छुट्टै कुनै अस्तित्व छैन । वास्तवमा पहिचान भनेकै एउटा अमूर्त अवधारणा हो, जसको कुनै ठोस रूपाकार हुँदैन । हरेक घटनाक्रम, स्थिति र सम्बन्धित व्यक्ति वा समुदायको विश्वासअनुरूप पहिचान रूपान्तरित हुँदै जान्छ । पहिचानलाई निजी र साझा- दुई तहमा बाँडिनुको अर्थ के हो भने निजी पहिचान थोरै अस्थिर हुन्छ तर, साझा पहिचान अलि बेग्लै, दीर्घम्यादी वा हम्मेसि परिवर्तन नहुने खालको हुन्छ । निजी पहिचान अन्तरमुखी हुन्छ भने साझा पहिचान बहिर्मुखी हुन्छ । व्यक्तिले चाहेमा निजी पहिचान झट्ट फेर्न सक्छ । तर, उसलाई हेर्ने र बुझ्ने सामाजिक दृष्टिकोण सहजै फेरिँदैन । हो यही कुरालाई निजी र साझा पहिचानको फरक विन्दु ठानिएको छ ।

सामान्यतः पहिचान व्यक्तिले स्वयं निर्माण गर्दछ तर, अपवाद स्वरूप परोक्षरूपमा कहिलेकाहीं बाह्यपक्षले पनि पहिचान निर्धारण गरिदिन्छ । जस्तैः भूगर्भशास्त्री टोनी हेगन, पर्वतारोही एडमण्ड हिलारी, वन-पुतलीका खोजकर्ता कोलिन फिलिपस्मिथ र अर्का पर्वतारोही उमोङ गिललाई नागरिकता दिएर नेपाली बनाइयो । उनीहरू नेपाली बन्नुमा स्वयंको विश्वास र निजी मान्यताले काम नगरी नेपालको तत्कालीन राज्यव्यवस्था र कानूनले भूमिका खेलेको थियो । विश्वभरिका यस्ता अनेक उदाहरणहरू केलाउन सकिन्छ । तर, हाम्रो अहिलेको उद्देश्य त्यो होइन; त्यसर्थ मूल विषयवस्तुमा केन्द्रित बनौं ।

व्यक्तिको निजी जीवनमा पहिचान निर्माण गर्ने आधारहरू परिवार (नश्ल), भाषा, सामाजिक दृष्टिकोण, संस्कृति, परम्परागत मान्यता आदि हुन् भने शिक्षा, पेशा, व्यवसाय, राजनीतिक चिन्तन र मुख्य रूपमा सम्बन्धित राज्यको कानूनले पहिचान निर्माणमा पूर्वाधारको काम गर्दछन् । सरल रूपमा बुझ्नुपर्ने कुरा-व्यक्तिको निजी पहिचान तय भइसकेपछि उस्तै खाले धेरै व्यक्ति जुटेर बन्ने समूहमा बहुपक्षीय सरोकार मिल्यो भने उनीहरूको परिचय पनि साझा हुन्छ । यसरी साझा विषयवस्तुमा स्थापित परिचायक स्तम्भहरू एकात्मक नभएर बहुआयामिक हुन्छन् । तर, विडम्बना, आजभोलि संसारका विभिन्न ठाउँमा पहिचानका भ्रान्तिपूर्ण नाराहरू बनेका छन् । ती नारा बनाउनेहरूले बहुसंख्यक मानिसहरूलाई आफ्नो नारा कोच्याएर आफ्नै विचार सर्वमान्य बनाउनका लागि अनेक खाले छिनाझपटी गर्दै त्यसलाई ‘पहिचानको संघर्ष’ भन्ने गरेका छन् । वास्तवमा पहिचानको बहुआयामिक मर्म नबुझेका मान्छेहरूले पहिचानको संघर्ष गर्नै सक्तैनन् । गरे पनि त्यो व्यर्थको परिश्रम हुन्छ; अनावश्यक बुद्धिविलास हुन्छ ।

अहिलेसम्म यति कुरा गरिसकेपछि व्यक्तिले स्वयं वा अरूद्वारा सोधिएका प्रश्नको उत्तर निर्माण गरेर बन्ने अवधारणालाई पहिचान भनिएको यहाँहरूले बुझिसक्नुभएको हुनुपर्दछ । संसारमा जन्म लिएका सबै व्यक्तिले कुनै न कुनै दिन आफ्नो पहिचानबारे प्रश्नको सामना गरेकै हुन्छन् ।

‘म के हुँ, को हुँ ?’, ‘मेरो अस्तित्व कहिले शुरु भयो?’, ‘जीवन समाप्तिपछि मलाई के हुन्छ वा म कहाँ जान्छु ?’ जस्ता प्रश्नबाट व्यक्तिले प्राचीन कालदेखि नै शुरु गरेको चिन्तनबाट निर्मित अवधारणाहरू दर्शनकै रूपमा स्थापित भएका छन् । केही दशकअघिको कुरा हो, केही पश्चिमी शास्त्रज्ञहरूले व्यक्तिको पहिचान तोक्ने क्रममा “कोही इसाई हुनसक्छ, कोही मुसलमान वा कोही हिन्दू र बौद्ध मात्र हुनसक्छ” भनेर एकात्मक व्याख्या गर्न थालेपछि यस सवालमा विवाद उठ्यो ।

पश्चिमा दार्शनिक शास्त्रज्ञहरूको यस्तो तर्क र जिद्दि बढेपछि त्यस्तो दाबीको जवाफमा पूर्वेली समाजशास्त्री डा. अमर्त्य सेनले एउटा पुस्तक लेखेर गम्भीर वैचारिकी प्रस्तुत गरे । सन् २००८ मा उनको पुस्तक ‘पहिचान र हिंसा: नियतिको भ्रम’ (Identity and Voilence: The illusion of destiny) प्रकाशित भएपछि विश्वभरि मानिसको पहिचानबारे पुनः चर्चा र बहसहरू भए ।  कसैले पनि सेनको तर्क र दाबीमा ठोस विमति राख्न हिम्मत गरेनन् ।

डा. सेनको रायमा मानिसका पहिचानहरू बहुपक्षीय हुन्छन् । राज्य-राष्ट्रसित पनि परिवारमा झैं व्यक्तिको साइनो-सम्बन्ध हुन्छ ।  एउटा व्यक्ति एउटै घरभित्र कसैको बाबु, कसैको श्रीमान्, कसैको छोरो-नाति, कसैको जेठाजु वा कोही छोरी, बुहारी, आमा, काकी, माइजू बनेजस्तै हो राज्य वा राष्ट्रसितको साइनो पनि । र, त्यही साइनो उसको पहिचान पनि हो । एउटा व्यक्ति कुनै नारा-जुलुसमा सामेल भए त्यो अमुक दल वा संगठनको समर्थक-सदस्यको रूपमा चिनिन्छ भने कुनै अनुष्ठान वा भजन-कीर्तनमा सहभागी भएमा ऊ अमुक धार्मिक सम्प्रदायको सदस्य वा अमुक देवी-देउताको ‘भक्त’ को रूपमा चिनिन्छ । अर्थात् वस्तुनिष्ठ उपस्थिति र अवस्थिति अनुरूप मानिसका पहिचानहरू फेरिन्छन् । जन्मिएर हुर्किँदै जाँदा आफ्नै शरीरका अङ्गहरू त फेरिन्छन् भने वैचारिकी नफेरिने कुरै भएन । जीवनवादी सकारात्मकताका लागि फेरिनु आवश्यक पनि छ । तर, केका लागि फेरिने भन्ने प्रश्नले फेरिनुको मूल्य निर्धारण गर्दछ ।

माथि नै भनियो: मानिसले आफ्नो वर्ग, लिङ्ग, सभ्यता, संस्कृति, भाषा, साहित्य र राजनीतिक वैचारिकीका आधारमा आफ्नो परिचय निर्धारण गर्दछन् । तर, उनीहरू सम्बन्धित राज्यको कानूनले व्याख्या गर्ने परिधि र आफ्नै समुदायको ऐतिहासिकता आदिबारेमा ध्यान दिँदैनन् । यस्तो उपेक्षा र उदासिनताका कारण पहिचानका अवधारणाहरू बीच थुप्रै अन्यौल, भ्रम सिर्जना हुन्छन् जसको परिणाम मानिसले आफ्नो ‘अद्वितीय’, ‘विशिष्ट’ अथवा अरूको भन्दा बेग्लै खाले अप्रतिम परिचय निर्धारण गर्ने हुटहुटीमा ठूल्ठूला भुल गर्दछ र त्यस्ता भुलहरूको परिणतिमा मानव समुदाय भीषण द्वन्द्व, हिंसा र उच्छेदन वा विस्थापनको चपेटामा पर्दछ । यस्तै व्यथाभरि वर्तमान हामीमध्ये धेरैले भोगिरहेकै छौं ।

अतः डा. सेनको रायमा हरेक मानिसले व्यक्तिको परिचय एकल नभएर बहुआयामिक हुन्छ भन्ने मात्र मान्न सके पनि संसारमा फैलिइरहेको द्वन्द्व र हिंसा न्यून भएर जान्छ । समुदायको पहिचान भनेको व्यक्ति व्यक्तिको परिचय जोडिएर बन्ने अमूर्त सामूहिक भावना भएकाले व्यक्ति (हरू) को वैचारिकीलाई सभ्यताको बाटोमा मोड्न सके समुदाय त स्वतःसिद्ध सही लक्ष्यमा मुखरित भइहाल्छ ।

आज, यो स्थानमा उभिएर पहिचानको कुरा उठाइरहँदा सबैले अनुमान गर्नुभएको हुनुपर्छ, त्यो एउटा निश्चित समुदायको सरोकारमा केन्द्रित विषय हो, जसलाई एउटा निश्चित भूगोलको परिसीमनमा जोडेर चिनिन्छ । अर्थात् त्यो हो भुटानको पृष्ठभूमि बोकेको नेपाली समुदाय ! गुत्थी अझ खोलौं- भुटानका नेपालीभाषीले आफैंलाई ‘नेपाली’ मात्र भनेर चिनाउने कि ‘नेपाली’ शब्दका पछि कुनै उपसर्ग, प्रत्यय जोडिनु आवश्यक छ-भन्ने सवाल नै आजको बहसको मुख्य विषय हो । सरल शैलीमा भन्दा- नेपालसित प्रत्यक्ष साइनो जोडिएकाहरू ‘सग्ला नेपाली’ र त्यस इतरका अन्य सबै नेपालीभाषीहरू ‘अर्धकट्टी’ अर्थात् अपूर्ण नेपाली हुन् त ? भन्ने मूल प्रश्नमा यहाँ चर्चा हुन गइरहेको छ ।

यस कुरामा बाह्यपक्ष, समाज इतरका इष्टमित्र, र हितैषी मात्र नभएर स्वयं भुटानी समुदायभित्रै पनि ठूलो असमञ्जस छ । माथि उल्लेख भइसक्यो, मानिसको पहिचान भाषिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा मुख्य रूपले कानूनी आधारमा फेरबदल भइरहन्छ । यस तात्पर्यमा प्रस्ट कुरा गर्दा भुटानको पृष्ठभूमि बोकेका नेपालीभाषीहरू भुटानमा हुँदा जति ‘नेपाली’ थिए आज पनि त्यति नै ‘नेपाली’ बन्न वा रहन सक्छन् । उनीहरूको पहिचानमा इतिहासले नेपाली शब्द जुन हदमा जोडिदिएको थियो आजको परिवेशमा पनि उनीहरूले त्यही सीमा तय गरेर ‘नेपालीत्व’ कायम गर्न सक्छन् । त्योभन्दा अधिक उनीहरू ‘सग्ला नेपाली’ बन्न सक्तैनन् ! आज अमेरिकी, अस्ट्रेलियाली, युरोपेली देशका नागरिकता बोकेर, तत् तत् देशका कानून र संविधानले व्याख्या गरे अनुरूप सुविधा भोग गरेर जति ‘नेपाली’ बन्न सम्भव छ; भुटानमा हुँदाको वस्तुस्थिति पनि त्यही थियो भनेर बुझ्नुपर्दछ ।

एउटा सिङ्गै समुदायको सरोकारमा लक्षित यो विषय भएकाले विषयक बहसको थालनीभन्दा पहिले त्यो निश्चित समुदायको पृष्ठभूमिबारे केही आधारभूत बुझाइ हुनु अनिवार्य हुन्छ । अमेरिका, केनाडा, अस्ट्रेलियालगायत पाँचवटा युरोपेली मुलुकहरूमा पुगेका पूर्व भुटानी नागरिकहरूलाई ठेट रूपमा चिन्न उनीहरू त्यहाँ पुग्नभन्दा पहिलेको परिचायक आधारबारे पर्याप्त चर्चा हुनु आवश्यक छ । उनीहरू तत् तत् देशमा पुग्नुको मुख्य आधार उनीहरूको पूर्व ‘भुटानी शरणार्थी’ परिचय हो ।

शरणार्थी भन्नेबित्तिकै यसको व्याख्यामा अनेक तहका सन्दर्भ-प्रसङ्गहरू जोडिन सक्छन् । तर, आजको बहसमा विषय केन्द्रित हुनलाई शरणार्थी शब्दको अर्थ र व्याख्यातिर नलागी पूर्व शरणार्थीहरूको चिनारी के हो ? र, त्यसका आधारहरू के के हुन् ? भन्ने मूल प्रश्नमा लागौं ।

भुटानबाट निर्वासनको करिब चार दशकपछि अहिलेको नयाँ परिवेशमा केही व्यक्ति विशेष र गैर-आवासीय नेपाली संघ (एन.आर.एन.) मा संलग्न पदाधिकारीहरूबाट ‘भुटानीहरू पनि नेपाली नै हुन्, उनीहरूले पनि एनआरएनको सदस्यता लिनु सर्व ग्राह्य हुन सक्छ- “हामी एकै परिवारका सदस्य हौं” जस्ता भनाइहरू बेलाबखत सार्वजनिक हुने गरेका छन् ।

हुनसक्छ; यो निर्वासित भुटानीहरूप्रति उहाँहरूको उदारता, सद्भावना, माया, सहृदयी अभिव्यक्ति जे भने पनि भयो । नेपाली जनमानसले भुटानीहरूलाई माया गरेको आज मात्र होइन । पहिलो कुरो त सन् १९५१ को शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय करार पत्रमा हस्ताक्षर नगरेको, सन् १९६७ को प्रोटोकलमा पनि सहभागिता नभएको देश नेपालले ९० ताका निर्वासित भुटानीहरूलाई प्रवेश दिएर शरणार्थी मान्यता दिलाउने कार्य गरी ठूलो उदारता देखायो । त्यसपछि झापा र मोरङका स्थानीयवासीले २० वर्षसम्म माया गरेर हामीलाई नझेलेका भए भुटानीहरू संगठित रूपमा आजको परिवेशमा अवतरित हुन सम्भवै थिएन । उनीहरू भारतका विभिन्न प्रान्तमा विलय हुन्थे र आज उनीहरूको नामोनिशान कतै भेटिने थिएन ।

यद्यपि, माया-ममताले दीर्घकालसम्म मानिसको सामूहिक स्थायित्व कायम गर्न सक्तैन । माया भावनात्मक हुन्छ । तर, आजको विश्वपरिवेश कठोर यथार्थवादी छ । निश्चित संवैधानिक परिधि र व्याख्यामार्फत न्यायिक निकायहरु चलेका छन् । त्यसमाथि कूटनीतिक दाउपेचबाट शक्तिकेन्द्रहरू चलेका छन् । त्यसर्थमा कुनै निश्चित विधान र नीतिसंहितामा उल्लेख नगरी बनेका मान्यताहरू अल्पकालीन हुन्छन् ।
यहाँहरूलाई अहिले लागिरहेको हुनसक्छ, यी भुटानीहरूलाई ‘नेपाली’ भन्दिँदा पनि ‘हामी नेपाली हैनौं’ भन्दै तातिन्छन्; ‘भोटाङे’ भन्दिँदा झन् खूब रिसाउँछन्-अब कसो गर्ने होला ? तपाईँहरूमा मात्र होइन यो अन्योल, भुटानी समुदायभित्रै यस्ता अनेकौं प्रश्नहरू गुम्सिरहेका छन् । नेपालमा शरणार्थी बनेर रहँदा नेपाल देशले नेपाली नागरिकता दिएर ‘सग्ला नेपाली’ नबनाइदिएकोमा भित्र-बाहिर दुवैतिर अनेकौं गुनासोका पोकाहरू छन् ।

भुटानीहरूमा भएको यो अन्योल हतासा र दिग्दारीको परिणाम हो भने शिविरसित नातो नजोडिएका नेपालीहरूमा यो अन्योल नश्लीय निकटताको, पारिवारिक आकर्षणको ममता हो । हो, नश्लीय पहिचानको मात्र कुरा गरे नेपालका बासिन्दा र भुटानका नेपालीहरू एकै परिवारका सदस्य हुन् । तर, नश्लीय चेतनाको हिसाब आजको विश्वमा गौण भइसकेको छ । नश्लको वर्चस्वबाट बन्ने राष्ट्रियता र त्यसकै आधारमा बनेको पहिचानको कुरा गर्न थालियो भने सारा विश्वव्यवस्था उलट-पुलट हुन्छ । सेतो छाला हुने जति सबै बेलायतमा, संसारका सारा यहुदीहरू इजरायलमा थुप्रो लाग्नुपर्ने जस्तो कुरा गरेर साध्य छैन; जुन काम व्यावहारिक रूपमा भुटानको तत्कालीन राज्यव्यवस्थाले गरेको छ । वर्तमान विश्वभरिको सामाजिक व्यवस्थामा उथल-पुथल हुने त्यस्तो चिन्तन कुनै सभ्यताको निशानी होइन । यो चिन्तनले हिटलरपरस्त तानाशाहीतन्त्रको स्थापना गर्दछ ।

आन्तरिक अनेकता र विद्रोहले थिल्थिलिएको तत्कालीन नेपालको नीतिले भुटानीहरूलाई ‘भुटानी’ भन्यो र शरणागत पाहुनाको रूपमा राख्यो; त्यो नै ठूलो कुरा थियो । भुटानीहरू नेपालको सो उदारताप्रति सदैव ऋणी हुनुपर्दछ । कसैको हृदयमा त्यो कृतज्ञता छैन भने पनि आफूलाई त्यो स्थानमा उभ्याएर चिन्तन गर्न सके सो अनुभूति हुनेछ । तर, कसै गरे पनि भुटानका पूर्व नागरिक नेपालीभाषी-आजका अमेरिकी, केनाडेली, अस्ट्रेलियाली वा युरोपेलीहरू पूर्ण रूपमा ‘नेपाली’ बन्न सम्भव छैन । यदि कसैले आफू वा आफ्नो समुदायलाई ‘सग्लो नेपाली’ भएको उद्दण्ड बखान गर्छ भने त्यो सामूहिक इतिहासको मानकविरुद्ध हुन्छ, आफैंप्रतिको अपराध हुन्छ  ।

भुटानको वर्तमान राजसंस्था स्थापनाभन्दा चारसय वर्षअघिदेखि भुटानमा रासोबासो भएका, वर्तमान राजपरम्पराको स्थापनामा समेत महत्त्वपूर्ण योगदान गरेका, सन् १९८८ सम्म कानूनसम्मत भुटानी नागरिकहरूलाई त्यहाँको जहानियाँ शासकले मनमौजी देशनिकाला गरेपछि सिर्जना भएको समस्या नै भुटानी शरणार्थी मुद्दा हो । यदि नेपालका शरणार्थी शिविरबाट वैधानिक बाटो भएर अमेरिकालगायतका देश छिरेका मानिसहरू स्वयं वा अन्य कसैको लहै लहैमा आफूलाई ‘नेपाली’ मात्र भनेर चिनाउँदै छन् अथवा चिनाउन चाहन्छन् भने त्यो सरासर भुटानको राजखलकले गरेको अपराधलाई टेवा दिने दुराशय हुन जान्छ । थिम्पूको दरबारले ‘तिमीहरू नेपाली हौ’, ‘जे जे चाहिन्छ गिरिजाप्रसादले दिन्छ, उसैलाई माग्नु’ भन्दै सिमाना कटाएका भुटानी नागरिकहरू आफ्नो मुद्दाले एउटा किनारा नपाई कसरी एकाएक त्यही दरबार परस्त कुत्सित दृष्टिकोण अपनाउँदै आफैंलाई थुक्न सक्छन् ? आफ्ना दर्जनौं सहयात्रीहरूलाई भुटानका जेलहरूमा बिर्सिएर, झापाका शिविरहरूमा अनिश्चितता बोकेर जीवन घिस्याइरहेका आफ्ना परिवारका सदस्यहरूलाई ‘लातले हानेर’ कसरी उनीहरू ‘सग्ला नेपाली’ हुन सक्छन् ?

कुरो यति मात्र होइन; पूर्व भुटानीहरूलाई पुनर्वास योजनामा सामेल गराउँदा आइओएममार्फत अमेरिकी गृहविभागले सबैभन्दा पहिले १९५१ को शरणार्थीसम्बन्धी संयुक्तराष्ट्रसंघीय करारपत्र र त्यसैको प्रोटोकल-१९६७ अन्तर्गत शरणार्थीको परिभाषाभित्र अँटाउनेहरूलाई मात्र अमेरिका छिर्न पाउने पूर्वशर्त स्वरूप प्रतिज्ञा पत्रमा सबैलाई हस्ताक्षर गराएको छ । कस्तो कागजमा सही गरें भनेर जानकारी  नपाउने शरणार्थीलाई ज्ञान नहोला तर, सामान्य पढा-लिखाहरूलाई यति कुरो थाहा हुनुपर्दछ । आज जुन हिसाबले नयाँ देशमा कानूनसम्मत हक-अधिकार र नागरिकता प्राप्त गरिएको छ, सोही हिसाबमा आफ्ना अग्रजहरूले भुटानमा पाएको हैसियतलाई अवमूल्यन गर्ने वृत्ति सिङ्गो समुदायका लागि घातक हुन्छ । यदि यो कुरो बुझेर पनि ढिप्पी गरिरहने, जीवनमा एकपटक भुटान र शरणार्थी शिविरसित साइनो जोडिएकाहरूमध्ये कोही छन् भने तिनीहरू पनि हालचालै नेपालमा चलेको ‘नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिकातिर छिराउने’ भ्रष्टाचारी योजनाका मतियारको रूपमा दह्रिन सक्छन् ।

‘अस्ति नेपालमा जन्मेकाहरू चाहिं नेपाली हुन सक्छन्’ भनेर कसैले त्यस्तो ढिप्पीमा सहुलियत प्रदान गर्दछ भने त्यो पनि गलत नै हुन्छ । किनभने लामो यात्रा गर्दा बाटोमा रुखको फेदमुनि बास बसेपछि त्यो रूख बटुवाको   हुँदैन । भुटानीहरूका लागि नेपाल एउटा ‘ट्रान्सिज पोइन्ट’ मात्र थियो । त्यहाँको संविधान वा कुनै पनि कानुनी संहिताले ‘नेपालमा जन्मिएका शरणार्थीका सन्तान नेपाली बन्न सक्छन्’ भनेर लेखेको वा व्याख्या गरेको थिएन/छैन । आज अमेरिकी कानूनले जन्मको आधारमा नागरिकता दिएको बुझेपछि ‘नेपालमा जन्मिएकाहरू नेपाली हुन्’ भन्न कसरी सकिन्छ ? कामना छ, त्यस्तो नहोस् । तर, कथंकदाचित भोलि अमेरिकी संविधान- कानून फेरियो र जन्मकै आधारमा मात्र नागरिकता, राष्ट्रियता र समग्र पहिचान निर्धारण हुन्छ भन्ने तोकियो भने यहाँ नजन्मिएकाहरू कता जाने ?  अथवा भुटानमा जन्मिएका अनेकौं पुस्तासम्म त्यहाँका रैती, प्रजा वा जनता भएर बसे । दरबारमा सीमित भए पनि त्यहाँको पुस्तेनी कानूनले पूर्ण मान्यता दिएर उनीहरू त्यहीँका नागरिक बने । तर, ९० को वरिपरि उनीहरूले जालसाजीपूर्ण ढङ्गमा थातथलो गुमाए ?

यी सब अवस्थाहरू सम्बन्धित देशका तत्कालीन शासकीय विधि र कानूनद्वारा सिर्जित विषय हुन् । इतिहास अन्यायपूर्ण विजयको एकपाटे गाथा मात्र होइन । न्यायपूर्ण पराजयको पनि इतिहास हुन्छ । हुँदैन’थ्यो भने पनि अब बनाउनुपर्छ । यसर्थमा शरणार्थी शिविरमा जन्मिएर आएका हुन् वा पुनर्वासपछि जन्मिएका हुन्, अग्रज पुस्ता भुटानी भएका नवसन्ततिहरूले बरु आफ्ना पुर्खालाई किन बेदखल गऱ्यौ –भनेर भुटानका शासकहरूलाई शालीन प्रश्न बारम्बार सोधिरहनुपर्छ ! अन्यहरूले पनि सहृदयतापूर्वक यही कुरालाई प्रोत्साहित गर्नु समग्र रूपमा विश्वभरिका नेपालीहरूको लागि हितकारी चिन्तन साबित हुनेछ ।

‍‍====

संस्कृति र पितृभूमि

भुटानीहरूको पहिचानमा ‘नेपाली’ शब्द जोडिनुको एउटा मात्र आधार उनीहरूले बोल्ने भाषा र संस्कृति हो । र, आजको नेपाल ‘नेपाल’ रहेसम्म त्यो फेरिने पनि छैन । यस सवालमा बिर्ता वा पैतृक थलोको कुरा पनि बेलाबखत जोडिन्छ । तर, पितृथलो खोज्नभन्दा पहिले कुनै पनि देशका सिमानाहरू इतिहासमा कति पटक फेरिए होला भनेर पनि सोच्नुपर्ने हुन्छ । यसरी इतिहाससँगै पुस्ता दरपुस्ता पुर्खाको पैतृक थलो खोज्दै गयो भने बरु आदिमानवको उत्पत्ति गाथातिर पुगिएला, खोजी टुङ्गो लाग्दैन । समाज विकासक्रमको इतिहास केलाएर अध्ययन गरे आधुनिक समयको बुझाइ र नयाँ युगको संवैधानिक विधि, कानुनी व्याख्या अनुसारको राज्यव्यवस्था उहिले थिएन भन्ने सबैलाई ज्ञान हुनुपर्दछ !

विषयलाई सामाजिक मनोविज्ञानको कडीमा घोलेर हेर्दा वर्तमान नेपालका पूर्वी पहाडहरूबाट अहिलेका भुटानीका पुर्खाहरू उति बेला भुटान नामको अमुक देश गएका थिएनन्, उनीहरू त एउटा मुखियाको गाउँबाट अर्को मुखियाको गाउँ गएका थिए । एउटा पहाडबाट अर्को पहाड गएका थिए । जतिबेला आधुनिक नेपाल ‘नेपाल’ बनेकै थिएन; त्यही समयदेखि  केही ज्यानको चुनौती भोगेका र राजनीतिक दमनको शिकार बनेकाहरू सञ्चले गरी खाने ठाउँ खोज्न आफ्नो इलाका छोडेर पूर्वदिशा भासिँदै जाँदा भुटान पुगेका थिए । तत्कालीन परिवेशमा भुटानलाई नचाहिएको भए उनीहरू त्यहाँ पनि रहने थिएनन् । अन्तै कतै पुगेर विलीन हुने थिए । गृहयुद्धले थिल्थिलो भएको भुटानलाई त्यो बेला कर्मवीर मानिसहरू चाहिएको थियो-अपनायो । उनीहरू ‘निष्कलंक राजभक्ति’-मा आह्लादित हुँदै त्यही भूमिलाई कर्मथलो बनाएर बसे ।

वास्तवमा आठौं शताब्दिमा (सन्  ८१० मा) नालन्दा विश्वविद्यालयका बौद्धगुरु पद्मसम्भव वर्तमान नेपालको बाटो भएर भुटान जाँदै गर्दा साथमा गएकाहरूको बसोबासदेखि शुरु हुन्छ यो प्रसङ्ग । सन् ८२२ मा फेरि गुरु पद्मसम्भवले तिब्बत पुगेर एकहुल बौद्धभिक्षुहरू भुटान ल्याएको प्रसङ्ग पनि चाख लाग्दो छ । गुरुले तिब्बतबाट साथमा ल्याएका भिक्षु खाण्डु हिसे छोगेल र उनका अनुयायीहरू भुटानबाट गुरुको बिदाइपछि पनि त्यहीँ बसेका थिए ।-१

त्यसपछि आधुनिक भुटानका संस्थापक शाब्ड्रूङ नावाङ नाम्गेल सन् १६१६ मा तिब्बतबाट आएर भुटान राज्यको स्थापना गर्ने सिलसिलामा आफू आएको आठवर्ष पछि यानिकि सन् १६२४ मा गोर्खाका राजा रामशाहसित सम्झौता गरी बिसन थापा मगरको नेतृत्वमा ५० परिवार गोर्खालीहरू भुटान पुऱ्याइएको प्रसङ्गबाट शुरु हुन्छ भुटानमा नेपाली भाषा बोल्ने मानिसहरूको औपचारिक वृत्तिको कथा ।

अझ पछिका अनेकौं प्रत्यक्ष-परोक्ष गृहयुद्ध, महासमरहरूमा जोडिँदै नेपालीहरू भुटान प्रवेश गरेको अन्तिम समय राणाविरोधी आन्दोलनको समापन र विसं २००७ साल (सन् १९५१) मा प्रजातन्त्र स्थापनाको प्रसङ्गमा पुगेर टुङ्गिन्छ । तर, तिब्बतीहरूको भुटान प्रवेश विभिन्न बहानामा सन् १९६६ सम्म नै चलिरहन्छ ।-२

अथवा भन्न खोजिएको के भने सन् १६१६ देखि १९६६ सम्म तिब्बतबाट औपचारिक रूपमा लगातार भुटान प्रवेश गरेको समुदायचाहिं सर्वोच्च दर्जाको भुटानी नागरिक र शाब्ड्रूङ तिब्बतबाट आएको आठ वर्षपछि (सन् १६२४) सम्झौताको माध्यमबाट शुरु भएर सन् १९५१ मा अन्तिम पटक त्यहाँ पुगेका नेपाली (गोर्खाली) हरूचाहिँ  तल्लो दर्जाको भुटानी नागरिक हुनुपर्ने के त्यस्तो बाध्यता छ ?

भुटान राज्यस्थापनादेखि आजसम्म भोटियाहरूबीच अनेकौं गृहयुद्धहरू भए । यद्यपि, गोर्खाली/नेपाली नामबाट चिनिएको समुदायले कहिल्यै पनि राजा र दरबारको साथ छोडेन । तर, पछिल्लो समयमा आएर त्यही दरबारले भन्यो ‘तिम्रो राजभक्ति अपर्याप्त भयो, अविश्वसनीय भयो ?’ राजभक्तिको परीक्षण गर्दागर्दै पन्ध्र वर्ष पहिले (सन् १९५१ मा) अन्तिम पटक ‘नेपाल’बाट भुटान प्रवेश गरेको एउटा समुदायलाई पन्ध्र वर्षपछि (सन् १९६६ मा) अन्तिम पटक तिब्बतबाट भुटान पसेको अर्को समुदायले “तँ मभन्दा कमसल नागरिक होस्, अराष्ट्रियतत्व होस्” भन्यो । हिंसात्मक अभियानमार्फत भूमिबाट बेदखल गऱ्यो । अनि हामी प्रत्यक्ष-परोक्ष उसैको चिन्तन प्रणालीलाई सिफारिस गर्न थाल्यौं । यसरी त्यहाँका शासकहरूले देशलाई हिंसाको गर्तमा डुबाउँदै नागरिकहरूलाई दासताको जन्जिरले बाँधेर ‘राष्ट्रिय खुशीयाली’को विश्वव्यापी प्रचार गरिरहँदा त्यसैलाई अप्रत्यक्ष टेवा पुग्ने गरी अनुमोदन गर्ने खालका अवधारणाहरू भुटानको नेपाली समुदायका लागि सहायक नभएर अझ घातक हुन्छन् ।

अब नेपाली जाति र भाषाको अलिकति कुरा गरौं । वास्तवमा, इतिहासको गम्भीर खोज गर्दा नेपाली जाति र संस्कृतिको एकनिष्ठ समूल केन्द्रबिन्दु कतै फेला पर्दैन । भाषाको इतिहासका पनि थुप्रै चरणहरू छन् ! सिञ्जा उपत्यकामा सीमित भएसम्म यो ‘सिञ्जाली भाषा’ थियो भने खसान प्रदेशमा प्रवेश गरेपछि यो ‘खस-कुरा’ बन्यो । खसान राज्यबाट विस्तारित हुँदै पर्वत पार गरेपछि ‘पर्वते’ बन्यो अनि गोर्खाराज्यको स्थापनापछि यो भाषा पनि ‘गोर्खाभाषा’ बन्यो । गोर्खाराज्य विस्तार अभियानअन्तर्गत पृथ्वीनारायण शाहले काठमाडौंमा आधिपत्य कायम गरेपछिको करिब शताब्दिसम्म गोर्खा पहिचान प्रचलित रह्यो । धेरैपछि मात्र क्रमिक रूपमा भाषा र सामाजिक संरचनाहरु ‘नेपाली’ नाममा रूपान्तरित हुँदै गए । सन् १९३३ मा नाट्य सम्राट बालकृष्ण समले नेपाली भाषा प्रकाशिनी समितिमा रूपान्तरित नगर्दासम्म आजको साझा प्रकाशनको नाम नै ‘गोर्खा भाषा प्रकाशिनी समिति’ थियो !

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा उपलब्ध बी.पाण्डे नामक एक विद्यार्थीको शोधपत्रमा उल्लेख भए अनुसार पटना विश्वविद्यालयले नेपाली भाषालाई मान्यता दिने उद्देश्यमा ‘नेपालीमै लेखिएको एउटा पनि महाकाव्य नभेटिएको गुनासो गरेपछि’ ‘महाकाव्य भन्न लायक’ एउटा कृति लेख्न नेपाली भाषानुवाद परिषद्ले लक्ष्मीप्रसाद देवकोटालाई जिम्मेवारी दिएको थियो । सोही जिम्मेवारी पूरा गर्न देवकोटाले कालिदासको ‘अभिज्ञान शाकुन्तलम’लाई आधार बनाई तीन महिना लगाएर विसं २००२ (सन् १९४५) मा शाकुन्तल महाकाव्य लेखी प्रकाशित गराएका हुन् ।

अर्थात् निष्कर्षमा के भन्न सकिन्छ भने नेपाली जाति र संस्कृतिको पूर्ण कद निर्माण भएको धेरै लामो समय बितेको   छैन । अनि यसमा कुनै एक भाषा र संस्कृति नभएर विभिन्न क्षेत्रगत परिधिका थुप्रै जात-वर्ग, लोकसंस्कृति र भाषिकाहरूको परिसीमन तथा समायोजन भएको छ ।

यद्यपि, यो इतिहास हो । इतिहास कुनै समस्या होइन । इतिहासप्रतिको अवधारणा हेरफेर गर्दै वर्तमान धमिल्याउने चिन्तनचाहिं समस्या हो । आजको विश्वपरिवेशले कसको पुर्खा कहाँबाट आयो वा कता गयो भन्ने कुराको इतिश्री वृत्तान्त माग्दैन । तर, जो जहाँ छ त्यहाँको विधिले तोकेको नियम मान्ने, कर तिर्ने, शान्ति र अमन-चैनले रहने कुराको माग गर्दछ । वर्तमान परिवेशमा जो जुन जुन भूगोलमा रहे पनि समाजले आपसमा सद्भावनापूर्ण हितैषी व्यवहार गर्ने र राष्ट्रले नीतिगत रूपमा त्यो सामाजिक सद्भावनालाई प्रवर्द्धनसहित रक्षा गर्ने भए मात्र सर्वकल्याणको बाटो खुल्दछ र एउटा सिङ्गो राष्ट्रिय अस्तित्व कायम रहन्छ ।

यहाँनेर भन्न खोजिएको चुँडान्त कुरो के हो भने भूगोल कुनै पनि होस्, मानिसको विशेष रूपरंग, भाषा र धर्म-संस्कृतिको आधारमा देश बन्न उहिले सम्भव थियो तर, आजको परिवेशमा त्यति मात्र पूर्वशर्तहरू पर्याप्त छैनन् । भाषा र संस्कृतिमा आधारित राष्ट्रियताले बनाउने पहिचान र नागरिकतासहितको राष्ट्रिय चिनारीले बनाउने पहिचान अलग अलग हुन्छन्; त्यो सामान्य ज्ञान भएका मानिसले सहजै बुझ्ने कुरा हो । तर, आजको विश्वपरिवेशमा नागरिकताबिनाको राष्ट्रियता फिका हुन्छ वा त्यस्तो राष्ट्रियताको मेरुदण्ड हुँदैन भन्ने कुरा पनि उतिकै मूल्यवान् छ ।

यति भनिरहँदा यो पङ्क्तिकारलाई नेपाली शब्ददेखि नै औडाहा भएको हो कि भन्ने भान पर्ला ! कुरो त्यस्तो होइन । कति मात्रै हो भने माया र सद्भावनाबाट नेपाली बन्नका लागि भुटानीहरूले कुनै निकायको सिफारिस वा संगठनको सदस्यता लिइरहनु पर्दैन । हामीले बोल्ने भाषा, लेख्ने अक्षर र मानेको संस्कृति ‘नेपाली’ नामबाट चिनिएसम्म हामी यसकै साथमा अजम्बरी रहने छौं । कालक्रममा कुनै परिबन्दले नामै फेरियो भने पनि लिपि र भाषा त नफेरिएला ! हामीले जीवनको जगदेखि सिकेर, जानेर, पढेर-बुझेर आएको यो भाषा हामी रहेसम्म रहनेछ । नयाँ पुस्ताका एकाध केही ऊर्जाशील अध्येयताबाहेक जीवनको २/३ अंश बिताइसकेका हामी र हाम्रा दौंतरीहरूले अब नयाँ भाषा पढेर, सिकेर साहित्यसम्म उतार्लान् भन्ने ठूलो आशा गर्न सकिँदैन । त्यसो हुनाले नेपाली भाषा र साहित्य हाम्रो जीवनको सर्वस्व सम्पत्ति हो ।

यति भन्दै गर्दा यहाँनेर जटिल प्रश्न उब्जिन सक्छ-भुटानीहरू ‘नेपाली’ बन्न वा भनिन नमान्ने तर, नेपाली भाषा र संस्कृतिको कुरा पनि गरिरहने-यो दोगलापन (दोहोरो मापदण्ड) भएन र ? यद्यपि, अर्को त्यस्तै प्रतिप्रश्नले त्यो पहिलो प्रश्नको उत्तर दिन्छ–हामीले ‘सग्लो नेपाली’ नभई नेपाली भाषा र संस्कृतिको उपभोग गर्दा कुनै कर तिर्नु त पर्दैन होला निः ? कि त्यस्तो नियमन गर्ने कुनै निकाय छ भने कृपया हामी पनि सुसूचित हुन पाउँ !

यी माथिका तमाम विमर्शहरू नेपाली भाषालाई अर्कै नाम दिनुपर्ने तर्कमा पेश गरिएका होइनन् । यस सवालमा यहाँहरू सबै अवगत रहनुभएको अनुमान गर्दै थप एउटा कुरो प्रस्ट गराऊँ- भुटानीहरूलाई यही भाषा र संस्कृतिको बहानामा तिब्बतबाट झरेको, भिक्षु आदर्शको एउटा मगन्ते वंशले दर्जनौं शताब्दीपछि आफ्नो थातबासबाट कसरी बेदखल गऱ्यो-यसमा नेपाल भन्ने देशका अभिलेखालय, पूरातत्व विभागहरू, न्यायिक तथा कूटनीतिक निकायहरू किन चुप भए? भन्ने सवाल ठूलो कुरो हो । नेपाल सरकार किन उदासीन भयो-राजनीतिक नेताहरू किन यही मुद्दा भँजाएर सात पुस्ता पाल्ने भ्रष्टाचारमा मुछिए भन्ने सरोकारको प्रश्न विषयको मूल केन्द्रबिन्दु हो ।

भुटानी शरणार्थीको मुद्दालाई गिजोलेर ऐतिहासिक त्रुटि गरिरहने कार्यले नेपाल र नेपालीको गौरवगाथा बढाउँदै छ कि घटाउँदैछ-भन्ने मूल प्रश्न हो ? अनि आफ्ना सारा इमान-जमान कवाडीको भाउमा बेचेर हामीले ‘सग्ला नेपाली’ हुनुमा गर्वबोध गर्ने केही आधार छ ? झिना-मसिना खुत्रुके विषयहरू आउँछन्-जान्छन् तर, नेपाली हुनुको शाख बँचाउने-सर्वव्यापी विश्वसनीयतालाई स्थिर राख्ने सवाल यस्ता बहसहरूको मूल विषय बन्नुपर्दछ ।

यदि यो निश्चित समुदायको विद्यमान मुद्दालाई किनारा लगाएर नेपालीहरू पनि विश्वदृष्टिकोण निर्माणका लागि योग्य भएको नमुना पेश गर्ने ल्याकत नेपालका विद्वान वर्गमा छ भने सबै जुटेर त्यही बाटोमा लागौं र नीतिगत तहमै नेपाल-भित्र-बाहिरका सारा नेपालीभाषीले नेपालको औपचारिक सम्बोधनमा समाहित हुन पाउन् । अनि त्यस्तो विधि शताब्दिऔंसम्म कायम रहोस् । हैन भने भाषा र सांस्कृतिक एकरूपताको हवाला दिएर, अनुहार हेर्दा देखिने आवरणको बयान गरेर यस विषयको चर्चा टुङ्गोमा पुग्दैन, पुग्न सम्भवै छैन ।

====

भाषा र राज्य-राष्ट्र

कसैले भन्न सक्छ भाषा र संस्कृतिको आधारमा भारत-पाकिस्तान छुट्टिए । अझ पाकिस्तान र बंगलादेश पनि छुट्टिए । अझ पछि मिजोरमको पृथकतावादी विद्रोह भयो । मिजो भाषाको आधारमा सन् १९५४ मा वृहत् आसामबाट यो क्षेत्र जिल्लाको रूपमा छुट्टियो । त्यसपछि सन् १९७२ केन्द्रशासित प्रदेश हुँदै सन् १९८७ मा छुट्टै राज्यको रूपमा स्थापित भयो । उता कश्मीरविवाद पनि त्यही उर्दू भाषा र इस्लामिक संस्कृतिको आधारमा कायम रहेको छ । तर, यहाँनेर गम्भीर भएर विचार पुऱ्याउन आवश्यक अर्को कुरो के छ भने एउटै लवाइ, खुवाइ र धार्मिक विश्वास भएका पाकिस्तान र बंगलादेश कसरी छुट्टिए? तिब्बतसित एउटै जगमा उभिएको प्राचीन इतिहास, उस्तै किसिमका सांस्कृतिक पूर्वाधार भएको सिक्किम तिब्बत छोडेर के आधारमा भारतसित जोडियो ? धार्मिक परम्परा, भाषा र राजनीतिक-सामाजिक समन्वयसमेत कायम रहेको तिब्बत र भुटान कसरी अलग राष्ट्र भए ? राष्ट्र वा देशको पारिभाषिक निर्क्योल गर्न यस्ता अनेकौं प्रश्नहरूमा पनि घोत्लिनु जरुरी छ ।

आज भाषा, धर्म-संस्कृति र हेर्दा देखिने नश्लीय आवरणको आधारमा तपाईँहरू ‘भुटानका नेपाली’ हुलाई ‘सग्ला नेपाली’ बनेका देख्न चाहनुहुन्छ ! अघि माथि नै भनियो-त्यो तपाईँहरूको माया र सद्भाव-करुणाको भाषा हो । तर, सम्बन्धित देशको संविधान र कानूनमार्फत सम्बोधन गरी त्यसको व्याख्याले पुष्टि नगरेसम्म माया र सद्भावका कुरा तपसिलका गौण विषय हुन् । आज हामीलाई बेलायत, अमेरिका, केनाडा, अस्ट्रेलियाले उनीहरूका रैथानेजस्तै देखिने, भाषा र संस्कृति मिल्ने भएर नागरिकता दिएका होइनन् भन्ने कुरा सबैले बुझ्नुपर्दछ ?

नजरले देख्ने नश्लीय आवरणको प्रसङ्ग पनि सहज छैन-पहिले नै नेपालीपन र मन बनाएर हेर्नेहरूले मात्र हामीलाई ‘नेपाली’ देख्ने हुन् । नेपालीपन नभएका मनहरूले हेरेर हामीलाई ‘मेक्सिकन’, ‘इराकी’, ‘सिरियन’, ‘स्पेनिस’, ‘जर्मन’, ‘कुर्द’ आदि जे पनि देख्न सक्छन् । भाषा-संस्कृतिमा आधारित सद्भाव र मायाकै भरमा तपाईँहरू हामीलाई ‘नेपाली’ मात्र भएका हेर्न चाहनुहुन्छ भने तपाईँहरूको दृष्टिकोणले नेपाल बाहिर विभिन्न देशमा रहेका दुई करोड बढी नेपालीभाषीलाई पनि स्वागत गर्नुपर्ने हुन्छ ।

त्योभन्दा अधिक मनाङ-मुस्ताङतिर तिब्बती मूलका लामदोर्जी, निमा छिरिङ र ग्यामदोर्जीहरू, मिथिला साम्राज्यका रामबरण यादव, उपेन्द्र यादव, राजेन्द्र महतोदेखि महेन्द्रनारायण निधि, प्रभू शाह, …कुसवाहा सबैलाई ‘अनेपाली’ साबित गर्नुपर्ने हुनसक्छ ! के त्यो सम्भव छ ? भारतमा हुने नेपालीहरूलाई तपाईँहरू ‘भारतीय नेपाली’ भन्नुहुन्छ, बर्मामा हुनेलाई ‘बर्मेली’ ! उसै गरी भुटान (भोटाङ पनि भनिन्छ-यसको छुट्टै ऐतिहासिक प्रसङ्ग छ) मा हुनेलाई ‘भुटानी’ वा ‘भोटाङे नेपाली’ भन्न तपाईंहरूलाई के अप्ठ्यारो छ ? कि तपाईँहरू अमेरिका, अस्ट्रेलियातिर हुनेहरूलाई मात्र हेरेर ‘नेपाली’ बनाउने कुरा गर्दै हुनुहुन्छ ? यसो गरिएमा पछि गएर यो विषय पनि एउटा नयाँ ठगी धन्दाको रूपमा सार्वजनिक हुन सक्छ !

कुनै पनि विषयमा प्रश्न उठिसकेपछि सहज निकास दिन माया र मैत्रीत्वको निकटताले, पारिवारिक सद्भावनाले पुग्दैन; त्यस विषयमा लक्षित नीति र कानून अनिवार्य हुन्छ भन्ने कुरो त अहिलेसम्मको चर्चामा बारम्बार उठिसक्यो । यसैलाई थप पुष्टि गर्न अलिकति पुरानो कुराको स्मरण गरौं ।

केही वर्ष अमेरिका बसेर नेपाल फिर्ता गएका रवि लामिछाने भन्ने एकजना व्यक्ति नेपालका लागि कुनै परचक्री थिएनन् । नागरिकता र राष्ट्रियताको सवालमा उनीमाथि के के भए- यहाँहरुले देख्नु-सुन्नु भएको छ । शायद यहाँहरूलाई यो पनि स्मरण छ: नागरिकताले नेपाली हुने सवालमा लामिछाने ट्रेडमार्क बन्नभन्दा केही वर्ष पहिले नै लालबाबू पण्डित नामका एकजना मन्त्रीले विदेशी पीआर लिएका कर्मचारी र नेताहरूको उछित्तो काडेका थिए । त्यस्तो किन भएको हो भने नेपालमा सो सम्भावित विषयउपर स्थापित कानून र न्यायिक संहिताहरू थिएनन् ।

निश्चित विधि र कानूनको पूर्वाधार नबनेसम्म भविष्यमा जति शासकहरू फेरिँदै जान्छन्, यस्ता विषयउपरका नजिरहरू पनि फेरिँदैन जानेछन् । कोही वर्षेनी काठमाडौं पुगेर प्रचण्ड दाहाल, पौडेललगायतका नेपाली राजनीतिक नेताहरूलाई बगलमा उभ्याई ट्यास्स फोटो खिचाउँदा यदि नेपालीपन बढी झल्किने भए, नेपाललाई धेरै माया गरेको अर्थ लाग्ने भए, यदि उनीहरूले त्यतिकै भरमा कसैलाई विश्वनेपाली सद्भावना दूत नियुक्त गरिदिने भए त्यो काम त जो कसैले सहजै गर्न सक्छ । तर, त्यतिले विस्थापित समुदायको इतिहासमाथि न्यायिक सम्बोधन हुँदैन, उनीहरूको पहिचानमाथिको प्रश्नले सधैं औंला ठड्याइरहन्छ ! त्यसकारण महँगो होटलमा भोज खाएर, ठूलो क्यामेराले तस्बिर खिचाएर यस्ता दीर्घम्यादी मुद्दाहरूको सम्बोधन हुँदैन भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ । यी तमाम काम गर्नलाई जगबाट, आधारभूत तहबाट परामर्श, छलफल र बहसहरू हुन जरुरी छ; जुन काम आज यो बहसमार्फत शुरु गरिएको छ-यसलाई त्यस दिशाको थालनी मान्न सकिन्छ ।

अतः अब उसो सबैले खुम्चिएको मुटुलाई फराकिलो गराई विशाल हृदय बनाइदिऊँ । मात्र ‘नेपाली’ र ‘भुटानी नेपाली’ भएर साझा हितका कुनै पनि योजनाहरू, नीतिसंकायका विषयमा यदि भइपरी आएका वाधा छन् भने ती सबै फुकाइदिऊँ । बुझ्नुपर्ने कुरा कति मात्र हो भने तपाईँहरूले आफ्नो आञ्चलिकता वा सामीप्यता अनुभूत गर्नलाई पोखरेली र स्याङ्जाली भनेजस्तो, धराने र धनकुटे भनेजस्तो, भोजपुरे र पाँचथरे अथवा झापाली र इलामेली भनेजस्तै हामीलाई पनि नेपाली शब्दका अगाडि सधैं ‘भुटानी’ उपसर्ग लगाइरहन छोड्दिनुहोस् । हाम्रो सामाजिक चलनमा दाजु र भाइ अंशबन्डा गरेपछि दाजु डाँडाघरे, भाइ गैह्राघरे भएको कुरा सबैले बुझ्दछन् । हाम्रो सांस्कृतिक पहिचानलाई पनि त्यस्तै अल्प-आञ्चलिकताको रूपमा लिइए कुनै असमञ्जस रहने छैन । हामीबीच अझ बढी सौहार्द्रता, सामीप्य विकसित हुनसक्छ ।
तपाईंहरूलाई नेपाली भइरहन जति सजिलो छ हामीलाई एकै साथ भुटानी र नेपाली बनिरहन त्यति सहज छैन-धेरै गाह्रो छ । तर, जति गाह्रो छ त्यो सम्बोधन त्यतिकै प्यारो पनि छ । हामीलाई इतिहास सुरक्षित राख्नका लागि ‘भुटान’ शब्ज जोडिएको यो पहिचान चाहिएको हो । यसले हाम्रा सम्भावित वृहत् सहकार्यहरूमा कुनै पनि वाधा-अड्चन सिर्जना गर्नेवाला छैन । खाँचो कति भने-केवल विवेकको उपयुक्त प्रयोग हुनुपऱ्यो । विवेक र समझदारीपूर्ण समन्वय नभएको खण्डमा जतिसुकै मिलेर एउटै भवनमा, एउटै कोठामा बस्नेहरू बीच पनि ठूल्ठूला मतभेदहरू हुन्छन्, वैमनस्यता र कलह भइरहन्छन् ।

नयाँ देश (हरू) मा नागरिकता र कानुनी सुरक्षाका प्रावधानहरूले हामीलाई एक बनाउँदै लगेकै छन् । साझा पहिचान क्रमिक रूपमा विकसित हुँदैछ । अब बाँकी भनेको आ-आफ्ना इतिहास सुरक्षित गर्दै पुरानो नागरिकताले तय गरेको पहिचान र कानूनी सुरक्षाको अमूर्त घेराभन्दा हल्का बाहिर निस्किएर भावनात्मक एकरूपता गर्नुपर्ने काम मात्र हो । हामीबीचमा यसै पनि साझेदारी भइरहेकै छन् । विभिन्न आयामबाट साहित्यिक गतिविधिमा सहकार्य गरिरहेकै छौं । यसमा अलि बढी रफ्तार दिन आवश्यक देखिन्छ ।

अमेरिकाबाट नेपाल पुगेर युवा-युवतीले विवाह बन्धन कायम गर्ने सिलसिला चलिरहेकै छ । हरेक भूकम्प, बाढीदेखि धुर्मुस-सुन्तोली फाउन्डेसन, इन्द्रेणी फाउन्डेसनसम्म हाम्रो समुदायको निकटता छँदै छ । अझै कतै काहीँ रहल सङ्कीर्ण चिन्तन, अवसरहरूमा खोसाखोस वा ईर्ष्या-डाह बाँकी छ भने तिनलाई पनि जरैबाट उखेलेर फाल्नु जरुरी छ । फरक पहिचान र विभिन्न वैचारिकीमा एकता कायम गराउन नसकिने होइन । तर, त्यसो गर्न सबैलाई मुछेर एक जाति, एक परम्परा, एकात्मक परिचय नै बनाउनुपर्छ भन्ने ढिप्पी गर्दै त्यसैको आडमा सामाजिक पहिचान स्थापना गर्न खोजियो भनेचाहिँ हाम्रो चिन्तनमा पनि भुटानको राजशाहीले हामीलाई लखेट्न प्रयोग गर्दाको ‘एक राष्ट्र-एक प्रजा’ नीतिभन्दा फरकपन रहने छैन ।

म यसै मञ्चबाट आह्वान गर्दछु, आउनुस् : तपाईँ कोशी, कर्णाली र सगरमाथा जोडिएको सग्लो नेपाली बनेर आउनुस्, हामी सुनकोश, मानस र ज्होमोह्लारी जोडिएको अर्धनेपाली भएर आउने छौं । तर हाम्रो संगमचाहिं आ-आफ्नो इतिहास जोडिएको भूगोलबाट टाढा कतै बिरानो मुलुकमा एउटा सिङ्गो भाषा र सग्लो संस्कृतिमा, साझा सामाजिक परम्परा र हितकारी चालचलनमा पुगेर स्थापित हुनेछ । विभिन्नताभित्रको एकतामार्फत यति गर्न सकियो भने यो व्यवहार विश्वलाई शान्ति र सभ्यता सिकाउने एउटा नमुना पनि साबित हुनेछ ।

====

एनआरएनको भूमिका

एनआरएन-जस्ता संस्थाहरूले माथि उल्लेख भएका गम्भीर विषयका मुद्दाहरूको स्थायी किनारा लगाउनु जरुरी छ । यो संस्थाको अहिलेसम्मको विधानले दक्षिण एसियाली सार्कसंगठनभित्र समाहित सात मुलुकमा रहेका नेपालीहरूलाई समावेश गरेको छैन । अझ त्यसमाथि संस्थाको सदस्य बन्नका लागि बाजे-नाति तीनपुस्ते नागरिकता मागिरहेको छ । संस्थाको नाम नै ‘गैर आवासीय…” छ जसको तात्पर्य नेपालमा आवास नभएको अथवा आवास अन्तै भएको नेपाली नागरिक भन्ने अर्थ लाग्दछ । जुन परिभाषामा भुटानीहरू अँट्तैनन् ।

अहिलेसम्मको अवस्थामा एनआरएन भनेको नेपाल सरकारको विदेश विभागीय प्रमुख पदेन नेतृत्व रहने गरी सञ्चालित औपचारिक सरकारी संस्था हो । तर, लज्जाजनक कुरो: यो संस्था आफैंमा एकनिष्ठ नेतृत्वमा सञ्चालित छैन । दीर्घकालीन योजनाहरू बनाएर तिनलाई कार्यगत रूप दिनुपर्ने समयमा विवाद र असमझदारी बोकेर हरेक चुनावमा २/३ जना अध्यक्ष बन्ने अनि बाझो-जुझो गर्दै भएका योजनाहरू पनि तुहिरहेको स्थिति छ । यता तपाईँहरू त्यही संस्थाअन्तर्गत भुटानीहरूलाई ‘नेपाली’ बनाउने कुरा गर्दै हुनुहुन्छ उता तपाईँहरूका आदर्श राजनीतिक मसिहाहरू ‘नेपाली’ लाई भुटानी बनाएर जहाज चढाउने ध्याउन्नमा छन् ।

====

निष्कर्ष

माथिका यी तमाम चर्चाबाट तपाईँहरूमा भुटानको पृष्ठभूमिबाट आएका नेपालीभाषीहरूप्रति यथेष्ट बुझाइ स्थापित भयो भन्ने आशा गर्दछु । उनीहरूले ‘नेपाली’ शब्दप्रति नै घृणा गर्दा रहेछन् भन्ने अर्थ नलगाइदिनुहोला ! ‘नेपाली’ शब्ददेखि नेपालीपन, नेपाली मनप्रति असाध्य ठूलो प्रेमभाव, लगाव बोकेको समुदाय हो भुटानको नेपाली   समुदाय । गाँठी कुरो के भने ‘नेपाली’ सम्बोधनको उद्गार कसैको नाफा-नोक्सानको हिसाबमा हुने लोलोपोतो नभएर मर्मशील हृदयको उद्गार बनोस् भन्ने चाहना हो । भविष्यमा नेपालको कुनै निकायमार्फत विश्वासयोग्य पहलमा विश्वभरिका गैर-नागरिक नेपालीहरूलाई सम्बोधन गर्ने कुनै ठोस नीति बनेछ भने त्यो दिन विस्तारमा छलफल गरौंला ।

अहिलेको स्थितिमा एनआरएनको सदस्यता र संलग्नताको चर्चा गर्नु व्यर्थ छ । यसको सट्टा तपाईँहरू नेपालबाहिर अन्य देशमा रहने नेपालीहरूप्रति कुन दृष्टिकोण राखेर, , कस्तो नीति लिएर उनीहरूले नेपाली भाषा-साहित्यलाई विश्वस्तरमा फैलाउन पुऱ्याएको योगदान, कायम राखेको नेपालीपनको शाख, नेपाली गाथा र कीर्तिको सम्मान गर्न सकिन्छ भनेर नेपालको सरकारलाई घच्घचाउनुहोस् । नेपाल बाहिर रहेका नेपालीभाषीहरूलाई जहाँ जहाँ छन् तत् तत् देशमै स्थापित हुने नीति निर्माणका लागि ताकेता गर्नुहोस् । ठोस कूटनीतिक चातुर्य र उन्नतशील रणनीतिका दीर्घकालीन योजना तर्जुमा गराउनुहोस् । बरु नेपाल र नेपालबाहिर रहने सबै नेपालीभाषीले आफूलाई परेको पीरमर्का पोखाउने विश्वस्तरीय एउटा निकाय होस्, भरोसायोग्य नेतृत्वको संस्था बनोस् ।

यदि त्यस्तो सम्भावनातर्फ आधारभूत तहको छलफलबाटै शुरुवात गरिएछ भने उचित योगदानका लागि तत्पर धेरै विद्वानहरू फेला पर्ने नै छन् । तर, पद र नेतागिरीको रहरमा संगठन बनाउने, यार्सागुम्बा खोजेझैं समर्थक खोजेर चुनाव जित्ने मनोवृत्तिहरूबाट समाजलाई जोगाउनु पनि हामी सबैको दायित्व हो । समाजलाई व्यापारिक नाफाको उद्देश्यमा परिलक्षित नभएर सामूहिक भविष्यमुखी सच्चा दूरदर्शितामा अघि बढ्ने रणनीति र नेतृत्वनिर्माणतर्फ लाग्नु आजको आवश्यकता हो । यसो भन्दै गर्दा संस्थामा आबद्ध भएकाहरूले आर्थिक सरोकारमा सोच्नै हुँदैन भन्ने कदापि होइन । तर, संस्थाकै विभागीय स्वरूपमा विभिन्न आर्थिक संकायहरु सञ्चालन गर्ने नीति बन्नु श्रेयस्कर हुन्छ ताकि एउटा कार्यक्रम आयोजना गर्ने बेला हरेक चोटि संस्थाका सदस्यहरू कटौरा थापेर सडकमा हिँड्न नपरोस् । यस्ता अस्थायी चिन्तनका योजनाले दीर्घकालीन लक्ष्य प्राप्त गर्ने सपना मृगमरीचिका सरह हुन्छ ।

नेपालभित्र बाहिर सबैतिरका विद्वतवर्गले व्यक्तिगत, गुटगत नाफा-नोक्सान छोडेर ठोस कूटनीतिक योजनामार्फत राष्ट्रिय- अन्तर्राष्ट्रिय साझा हितमा काम गर्ने दिशा तय गर्नु जरुरी छ । हदैसम्मको लचकता अपनाएर त्यस दिशाको सहकार्यमा हामी हातेमालो गर्नेछौं भन्ने प्रतिबद्धता साथ यो वक्तव्यलाई समापन गर्दछु ।

====

       सन्दर्भसहायक स्रोतहरू

१.        Kuensel -Guru Rinpoche’s time in Bhutan, June 16th, 2016

२.        Rahul, Ram- Modern Bhutan-P 102