प्रिय सिमोन,

तिमीसँगको प्रत्येक भेटले मलाई प्रश्नहरू तेर्स्याएको हुन्छ । कुनै बेला प्रेमको कुरा त कुनै बेला कविता विमर्श हुन्छ हाम्रो । हाम्रो वार्ताको कुनै सिमाना हुँदैन क्षितिज जस्तै, यसैले गर्दा हाम्रो गफमा कुनै नैतिकताको कृत्रिम पर्खाल खडा हुँदैन । यौन नेपाली समाजमा एउटा वर्जित विषय तर बन्द कोठाभित्र यसकै बढी चर्चा हुन्छ, प्रयोग हुन्छ ।

भारतीय उपमहाद्वीपमा तेस्रो शताब्दीतिर महर्षि वात्स्यायनले कामसुत्र लेखेको बखत युरोपतिर यस विषयमा चर्चा सम्म हुँदैन थियो । त्यो बेलाको हाम्रो समाज वैचारिक रूपमा निकै उदार थियो- यसको दृष्टान्त  परापूर्व लेखेको महाभारत प्रशस्त पाइन्छ । प्रसिद्ध इतिहासकार वेंडी डोनिगरका अनुसार, कामसूत्र सन् १८८३ मा रिचर्ड बर्टनले अंग्रेजीमा अनुवाद गरी  प्रकाशित गरेपछि  केही महिनामा नै “अङ्ग्रेजी भाषाका सबैभन्दा बढी नक्कली (पाइरेटेड) पुस्तकहरू” मध्ये एक बनेको थियो । यसले के दर्शाउँछ भने युरोपमा त्यस बेला सम्म यौन विषयमा उदारता आइसकेका रहेनछ ।  वात्स्यायनको कामसुत्र पछि सर्वाधिक प्रसिद्धि प्राप्त कोक्कोक कृत ‘रतिरहस्यको रचना’ दशौँ शताब्दीको अन्त्य तिर लेखिएको मानिएको छ । यसको प्रसिद्धिको कारण कतै कतै यौन शास्त्रलाई नै कोक शास्त्र पनि भन्ने चलन छ । तर जब ११ औं शताब्दीदेखि मुसलमानहरूको  शासनदेखि रासनसम्म वर्चस्व बढ्यो भारतीय उपमहाद्वीप भित्रको यौन उद्धारवाद केवल पुस्तक र टुँडालमा मात्र सीमित रह्यो । तर नेपालमा भने यो समय यौन साहित्यको कुनै स्रोत थाहा नपाए पनि मल्लकालमा पशुपति, बसन्तपुर र भक्तपुरका कैयन मन्दिर र टुँडालमा यौनक्रियाकलाप चित्रहरू खोपिएको छ सिमोन ! यो तिमीले पनि पक्कै देखेको हुनपर्छ । शायद यो काष्टकला काठमाडौंमा मुसलमानले गरेको आक्रमण पछि बनाएको हुनुपर्छ ।

“…तर पाश्चात्य संसारमा भने बीसौं शताब्दीको पूर्वार्द्धमा मात्र डा. सिगमन्ड फ्रायडले मनोविश्लेषणको माध्यमद्वारा यौन-प्रवृत्तिको व्याख्या र विश्लेषण गरेर यस क्षेत्रमा उल्लेखनीय र ऐतिहासिक योगदान गरे । हुन त फ्रायडका यी सिद्धान्तहरूमा उनकै समकालीन विश्वविख्यात मनोवैज्ञानिकहरू डा. कार्ल गुस्ताव युङ, अल्फ्रेड एडलर र विलहेल्प स्टेकलले असहमति मात्रै जनाएनन् कडा प्रतिवाद पनि गरे । तर फ्रायडद्वारा प्रतिपादित सिद्धान्त विश्वमा अझै पनि उत्तिकै लोकप्रिय मात्रै नभई मनोविश्लेषणका क्षेत्रमा महत्त्वपूर्ण प्राप्तिको रूपमा समेत रहेको छ,”  नेपाली यौन कथाको भूमिकामा प्रमोद प्रधान लेख्नुहुन्छ ।

भारतीय उपमहाद्वीपमा यौन साहित्य उधार हुँदा युरोप विशेषगर रोम र ग्रीसमा एक किसिमले संयमित यौन कविता लेख्न व्यस्त थिए । तर यौन साहित्य विशेषगरी आख्यानमा भारतीय उपमहाद्वीप भन्दा युरोप नै अगाडि देखिन्छ । नेपाली साहित्यमा पनि शृङ्गार रसको आगमन मोतीराम भट्टबाट शुरू भए पनि यो केवल कवितामा सीमित थियो । युरोपमा यौन कथा र उपन्यास लेख्न थालेपछि यसमा प्रतिबन्धको सामना गर्नुपर्‍यो सिमोन !

सन् १७४९ मा प्रकाशित जोन क्लेनडेद्वारा लिखित ‘फेनि हिल’ उपन्यासलाई अंग्रेजी भाषाको पहिलो अश्लील उपन्यासहरू मध्ये एक मानिन्छ, जसमा लन्डनकी एक युवती वेश्यावृत्तिमा लाग्ने कथा छ । यो उपन्यास बेलायत र अमेरिकामा लामो समयसम्म अश्लीलताको आरोपमा प्रतिबन्धित रह्यो । अमेरिकामा यसमाथिको प्रतिबन्ध सन् १९६६ मा सर्वोच्च अदालतको फैसलापछि मात्र हटाइयो । शायद त्यसपछि मात्र अंग्रेजी शब्दकोशमा फेनि शब्दको प्रवेश हुन्छ जसको अर्थ महिलाको जननेन्द्रिय वा नितम्ब भन्ने बुझिन्छ ।

यस्तै सन् १९२८ मा प्रकाशित डि.एच. लरेन्सको ‘लेडी च्याटर्लीज लभर’ उपन्यासमा एक उच्च वर्गकी महिलाको आफ्नै पति बाहेकका एक मजदूरसँगको प्रेम सम्बन्ध र स्पष्ट यौन भाषाको प्रयोग गरिएको छ । यो उपन्यास दशकौंसम्म बेलायतमा प्रतिबन्धित रह्यो, जबसम्म सन् १९६० को पेनग्युन बुक्स विरुद्धको चर्चित अश्लीलता मुद्दामा अदालतले प्रकाशकलाई निर्दोष ठहर गरेन । सो फैसला ब्रिटिश प्रकाशन स्वतन्त्रताको ऐतिहासिक क्षण थियो । यो पुस्तक अहिले क्लासिक पुस्तकको रूपमा संसारभरि पठन गराइन्छ ।

सन् १९१८ मा पहिलो पटक धारावाहिक रूपमा प्रकाशित जिम्स जोयसको आधुनिकतावादी कृति  ‘युलिसेस’ एक महिलाको मनोप्रवाहिक विचारहरू (stream of consciousness) सहितको यौन अभिव्यक्तिका कारण विवादित भयो । यो उपन्यास अमेरिकामा अश्लीलता मुद्दामा फसाइएको थियो र सन् १९३३ को ऐतिहासिक अदालतको फैसलाले प्रतिबन्ध हट्यो ।

सन् १९३४ मा प्रकाशित हेनरी मिलरको ‘ट्रपिक अफ क्यान्सर’ अर्ध-आत्मकथात्मक उपन्यासले पेरिसमा लेखकको बोहेमियन जीवनशैली र यौन सम्बन्धहरूको स्पष्ट वर्णन गर्छ । यो दशकौंसम्म अमेरिकामा प्रतिबन्धित रह्यो, तर १९६४ मा सर्वोच्च अदालतले अश्लीलता आरोप खारेज गर्‍यो ।

सन् १९५५ मा प्रकाशित ब्लादीमिर नाकानोभको ‘लोलिता’ उपन्यासमा १२ वर्षकी बालिकाप्रति एक वयस्क पुरुषको यौन आसक्तिको कथा एक अविश्वसनीय कथावाचक मार्फत प्रस्तुत गरिएको छ । शुरूमा अमेरिकी प्रकाशकहरूले यसलाई अस्वीकार गरे र पछि यो केही समयका लागि बेलायत तथा फ्रान्समा प्रतिबन्धित रह्यो । यस पुस्तकको प्रसिद्धि यति चुलियो कि ‘लोलिता सिन्ड्रोमֹ’ नामक एउटा पुस्तक नै प्रकाशित गरे जसमा विभिन्न देशहरू घटेको यस्तै सत्य घटनाहरूको केस स्टडिजको अध्ययन गरिएको थियो । अहिले यी पुस्तकहरू क्लासिक पुस्तकका रूपमा विश्वविद्यालयमा पढाइन्छ सिमोन ! यस्ता प्रतिबन्धित पुस्तकहरूको फेरिस्ता लामै छ सिमोन । भारतमा भने ब्रिटिश साम्राज्यको समय ‘सादा हुसेन मन्टो’ र ‘इसमात चुग्टाई’ले अश्लील कथा लेखे बापत मुद्दामामला खेप्नु परेको थियो । यी दुवै मुस्लिम थिए । चुग्टाई महिला भए पनि एउटा सुन्दर महिला समलिङ्गीको कथा ‘सिरक’ लेखेकी थिइन् जुन सन् १९४२ मा प्रकाशित भएको थियो । र मन्टोको ‘गन्ध’ र चुक्टाईको ‘सिरक’ कथालाई सरकारले अश्लील ठहराएपछि उनीहरूले अदालतको चक्कर लाउनुपरेको थियो।”

आधुनिक नेपाली कथा र यौनवृत्ति शीर्षकको लेखमा डा. तारानाथ शर्मा लेख्छन्, “यौनवृत्ति मानिसको ज्यादै नै महत्त्वपूर्ण पक्ष हो र यसका बारेमा नौलानौला अध्ययनहरू प्रस्तुत गर्दै मानिसको मनको वैज्ञानिक विश्लेषण गर्नु साहित्यमा नवीन आयामहरू थप्दै लानुमा हरेक प्रतिभाशाली लेखकको काम हो । हाम्रा आधुनिक कथाकारहरूमा पोषणप्रसाद पाण्डे, रमेश विकल, विजय मल्ल, बालकृष्ण पोखरेल आदि यस दिशातर्फ नयाँनयाँ प्रयोगहरू गर्दै अगाडि बढिरहनुभएको छ ।”

विश्वेश्वरप्रसाद कोइरालाको फ्रायडवादी अवधारणामा आधारित कथा ‘चन्द्रवदन’लाई (वि.स.१९९२) फ्रायडीय यौनविज्ञानका सिद्धान्तका प्रथम मौलिक नेपाली कथा रूपमा लिन सकिन्छ । कोइरालाका ‘दोषीचश्मा’ र ‘श्वेतभैरवी’ कथासंग्रह भित्रका ‘कर्नेलको घोडा’, ‘पवित्रा’, ‘प्रेम’, ‘श्वेतभैरवी’ लगायत अन्य कथाहरूमा यौन मनोविज्ञान पाइन्छ सिमोन । कोइरालाको उपन्यासहरू – ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’, ‘मोदिआइन’ले नेपाली साहित्यलाई यथार्थवादी उपन्यास लेखनबाट यौन मनोवैज्ञानिक युगमा पुराएका हुन् ।

भवानी भिक्षुको ‘प्रेमको एउटा कथा’, ‘मैयाँसाहेब’, ‘अनि ?’, ‘बन्दना’, ‘अब म त्यस पसलमा सिगरेट किन्दिनँ’, ‘एउटा समस्या’ र ‘पाइप’ यौन मनोविज्ञानमा आधारित कथाहरू प्रसिद्ध छन् भने उनकै स्कूलिङका कनिष्ठ लेखक गोविन्दबहादुर मल्ल ‘गोठाले’  र विजय मल्लले यो विधामा पारङ्गत हासिल गरे । गोठालेको ‘भाँडो’, ‘मैले सरिताको हत्या गरेँ’, ’के गरेकी शोभा ?’  कथाहरू बाहेक ‘पल्लो घरको झ्याल’ उपन्यास यो विधामा उत्कृष्ट छन् । यसैगरी विजय मल्लको ‘अनुराधा’ उपन्यास र ‘परेवा र कैदी’ कथा संग्रह आदिले नारी यौन मनोविज्ञानलाई उजागर गरेका छन् ।

त्यसैगरी तारिणीप्रसाद कोइरालालाई बाल-यौन मनोविज्ञानको पहिलो प्रयोक्ताको रूपमा लिन सकिन्छ । यसको ज्वलन्त उदाहरण हो उनको उपन्यास- ‘सर्पदंश’ ।

दौलतविक्रम विष्ट, रमेश विकल, पोषण पाण्डे, कुमार नेपाल, मनु ब्राजाकी, भाउपन्थी आदिले  यौन-मनोविज्ञानमा आधारित धेरै कथा लेखेका छन् सिमोन । परशु प्रधान र पुष्कर लोहनी  यौनमनोविज्ञानमाथि कलम चलाउने लेखक हुन् । परशु प्रधानको ‘सीताहरू’ नामक कथोपन्यास पूर्णतः यौन स्वच्छन्दता अपनाएका हाम्रो समाजका नारी पात्रहरूमाथि केन्द्रित छ । उनको अर्को कथोपन्यास ‘घर’मा पनि यौनिक सन्दर्भहरू प्रशस्तै छन् । पुष्कर लोहनी, यौन मनोवैज्ञानिक कथाकार भन्दा पनि यौन कविताका कारण नेपाली पाठकमा परिचित छन् ।

माथि उल्लेखित साहित्यिक व्यक्तित्वहरूले नेपालको यौन साहित्यलाई नयाँ उचाइमा पुराएका छन् सिमोन ! तर तिनीहरूको हालहारीमा यस विधामा महिला लेखिकाहरू त्यो समयले पाउन सकेन ।  तर केही समय पछि देखा परेकी प्रेमा शाहले यस विधामा अमिट छाप छोडेर गइन् । उनको बारेमा प्रमोद प्रधान नेपाली यौनकथामा लेख्छन्, “प्रेमा शाह आफ्ना प्रारम्भकालीन यौन-मनोविश्लेषणात्मक कथाहरूका माध्यमबाट चर्चित मात्र भइनन्, नेपाली साहित्यमा सशक्त कथाकारका रूपमा प्रतिष्ठित पनि भइन् । ‘पहेँलो गुलाफ’ कथासङ्ग्रह भित्रका लोग्ने, एउटा जीवन्त क्षण जो मरी-मरी पनि बाँच्छ र सोही शीर्षकका कथा यसका उदाहरण हुन् । यौन-भावनाबाट मानिसका मनमा हुने ऊहापोहलाई मनोवैज्ञानिक विश्लेषणका साथ विशिष्ट भाषिक संरचना र कलात्मक शैलीका माध्यमद्वारा प्रस्तुत गर्नु उनको महत्त्वपूर्ण विशेषता हो । ‘एउटा जीवन्त क्षण जो मरी-मरी पनि बाँच्छ’ कथामा एक अपाङ्ग युवकको यौन अतृप्ति ज्यादै कलात्मक एवम् सजीवताका साथ प्रस्तुत भएको छ ।”

देवकुमारी थापा, पारिजात आदिमा पनि यो प्रवृत्ति देखिए पनि यौन कथाकारको दर्जामा उभ्याउन त्यति मिल्दैन । यौन कथाका अर्का सशक्त महिला हस्ताक्षर हुन्- सिता पाण्डे ! उनको ‘ज्वरो’ कथाले निकै चर्चा पाएको छ । ‘यौन र अनुभूति’, ‘बन्धकी खुसीहरू’, ‘सीता पाण्डेका कथाहरू’ उनका चर्चित पुस्तकहरू हुन् जहाँ उनको यौन कथा र अनुभूतिहरू पढ्न पाइन्छ ।

युवा पुस्तामा जया ओझा यौन उपन्यास लेखनमा निकै अगाडि छिन् । अहिलेसम्म जयाले `आवरण´, `अनुराग´ र  `रुमानी´ गरेर तीन वटा उपन्यास प्रकाशित गरिसकेकी छिन् । उनको उपन्यासहरूमा वर्तमान पिँढीको यौन जीवनलाई विश्लेषण गरिएका छन् ।

सिमोन, तिमीलाई थाहा छ बर्माबाट काठमाडौं अध्ययन गर्न र लेखक बन्न आएकी तैं तैं धितालले पनि यौन कथाहरू लेख्न प्रयास गरिरहेकी छिन् । उनको कथा ‘नीलो साँझ’ र ‘एक चम्चा रगत’ले महिला यौन मनोविज्ञानलाई बुझ्न सहज हुन्छ । उनको कथा जीवन्त हुन्छ । मनमोहक शैलीमा लेख्न खप्पिस उनी धेरै सम्भावना बोकेकी लेखिका हुन् ।

पत्रकार तथा कथाकार वसन्त पराजुलीको महिलाको यौन मनोविज्ञानमा आधारित रहेर प्रकाशित भएको ‘कुमाता’ कथासंग्रह सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानमा केन्द्रित छ सिमोन !

नेपाली साहित्यका समालोचकले साहित्यकारको दर्जा नदिएको तर धेरै भन्दा धेरै पाठकले रुचाएका लेखकहरू पनि यौन साहित्यमा आकर्षित भई यौन साहित्य लेखेका छन् । सुवास घिसिङको ‘निलो चोली’ कुनै समय लुकेर पढ्ने उपन्यास थियो । युधिर थापा, प्रकाश कोविदका उपन्यासहरूमा पनि प्रशस्त यौन मनोविज्ञान पाइन्छ । हरिश बम्जनको ‘शो केस भित्रको जिन्दगी’, शंकर सुब्बा ‘फागो’का कथा र उपन्यासमा महिला यौन चेतना र मनोविज्ञान पाइन्छ । महेश बिक्रम शाहको ‘ज्याकसन हाएट’ कथासंग्रहले विशेषगरी विदेशमा बस्ने नेपाली समाजका पात्रहरूको यौन जीवनलाई राम्ररी प्रस्तुत गरेको छ । मनीषा गौचनको ‘बल्लीको डायरी’ र ‘हवाइट केन’ मा पुरुष वेश्या, समलिङ्गी र यौन सम्बन्धलाई कुशलतापूर्वक प्रस्तुत गरेकी छिन् ।

वात्सयान नाम गरेका बागबजारका एक जना लेखकले पनि धेरै यौन साहित्य लेखे । ३० वर्ष अगाडि काठमाडौंका विभिन्न साप्ताहिक पत्रिकामा प्रकाशित हुने उनको लेख र कथाले तत्कालीन युवा पिँढीलाई निकै रोमाञ्चित गराउँथे । पञ्चायत कालमा सस्तो यौन साहित्यमा प्रतिबन्ध लगाएको थियो भने २०४६ पछि रत्नपार्कको सडकमा सस्तो यौन साहित्य खुलेआम बिक्री हुने गर्थ्यो सिमोन ! तर यौनकै कारण पश्चिमा मुलुकमा जस्तै साहित्यिक कृतिहरू नेपालमा प्रतिबन्धित भएको थाहा भएन । शायद यो साहित्य प्रति उदारता थियो कि ?

प्रिय सिमोन, वर्तमान नेपाली यौन साहित्यले नेपाली जनजीवनलाई न्याय गर्नसकेको छ जस्तो लाग्दैन । समय र परिस्थितिले एकल महिला घरमा सानो नानी छोडेर पठाउ चलाइरहेकी छिन् र उनले दिनदिनै यौन पीडा भोगिरहेकी हुन्छिन् । कतै उनको यौन कुण्ठाले केटो शिकार भइरहेको हुन्छ भने कहिले ऊ आफै पीडित भइरहेकी हुन्छिन् । मसाज पार्लरमा पैसामा अस्मिता बेचिरहेकी महिला, पति विदेशमा हुँदा स्वास्नीको रासलीला, युवा पुस्ताका महिलाहरूको उन्मुक्त जिन्दगी नेपाली कथाहरूमा आउन सकिरहेको छैनन् । तमाम विकृति र स्वीकृति बीचको यौन सम्बन्धका कथाहरू हाम्रो समाजमा छन् तर लेखिएका भने छैनन् ।

तिमीले लेख्ने होइन सिमोन, त्यस्तो कथा जहाँ दुई वयस्क महिला र पुरुष पूर्वाग्रह र अपेक्षा विना नै यौन सम्बन्ध राख्छन् । लेख्ने होइन कथा जहाँ महिलाको यौन चाहना र अपेक्षा पुरुष भन्दा बढी हुन्छ । लेख्ने होइन कथा जहाँ महिलालाई आदर्श भन्दा पनि उसको इच्छा र आकाङ्क्षाको कदर गरिन्छ, उनको यौन स्वतन्त्रको कदर गरिन्छ । लेख्ने होइन कथा सिमोन जहाँ पुरुषको होइन महिलाको यौन चाहना अनुसार रतिक्रीडा गरिन्छ । यौन साहित्य किन कम लेखिन्छ नेपाली साहित्यमा सिमोन ? हाम्रो समाज अहिले पनि गुरुप्रसाद मैनाली युगमा नै छन् ? विश्वेश्वरप्रसाद, भिक्षु, गोठाले, विजय मल्ल, विकलले वकालत गरेका यौन साहित्य किन खुम्चिएर गयो ? के मान्छेहरूको सम्बन्ध ७० वर्ष अगाडिको जस्तै छ ? यी तमाम प्रश्नहरू आज तिमीलाई तेर्स्याएको छु सिमोन !