करिब ४० वर्ष पहिले विद्यालयमा उनको कविता पढ्दा नरबहादुर दाहाल कुनै आदिम कवि जस्तो लाग्थ्यो । नरेन्द्रप्रसाद कुमाई, अच्छा राई रसिक सँगै उनको नाम जोडिँदा मलाई यस्तो प्रतीत हुनु स्वाभाविक थियो । तर अहिले उनले लेखेका लेखहरू यदाकदा पत्रपत्रिका र अनलाइनमा पढ्न पाउँदा म पुनः आश्चर्यमा पर्छु उनको ऊर्जाशीलता देखेर, लगनशीलता देखेर, आत्मबल देखेर । सात दशक भन्दा लामो लेखनशीलता अझै सक्रिय हुनु भनेको यो पक्कै पनि दैवी गुण हुन पर्छ । सामाजिक सञ्जालमा त्यतिकै क्रियाशील उनी । आधुनिक प्रविधि अपनाएर कथा र लेखहरू मोबाइलमा टङ्कन गर्छ भनेर कतै पढेको थिएँ मैले जसले मलाई विस्मयमा पर्यो ।
धेरै समकालीन साहित्यकारहरूले इहलीला समाप्त गरेर उनलाई एक्लै छोडेर गए पनि दाहाल सर दार्जिलिङको नेपाली साहित्य इतिहासको स्वर्ण युगलाई अहिले पनि प्रतिनिधित्व गर्दै साहित्य सेवा गरिरहनु भएको छ ।
वर्तमान समयमा नरबहादुर दाहालज्यू उपस्थिति निकै महत्त्वपूर्ण छ नेपाली साहित्य र समाजलाई । उनी लेखक र कवि मात्रै होइनन् एक युगको साक्षी पनि हुन् । उनले बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, भवानी भिक्षु, पारसमणि प्रधान, धरणीधर कोइराला, अच्छा राई रसिक, नरेन्द्रप्रसाद कुमाई देखि नयाँ पुस्ताका कवि र लेखकसँग सङ्गत गर्ने अवसर पाए । उनी तीन पुस्ताका सेतु हुन्- भीष्म पितामह सरह । उनको नेपालसँग छुट्टै आत्मीयता छ, हार्दिकता छ ।
उनको पहिलो काठमाडौँ यात्रा थियो सन् १९५७-मा मदन पुरस्कार गुठीको आतिथ्यमा । त्यो बखत लीलाध्वज थापाको ‘मन’ उपन्यासको पाण्डुलिपिलाई पुरस्कार दिइएको थियो । उनी केवल २० वर्षका थिए, उनी सँगै आएका थिए वरिष्ठ समालोचक रामकृष्ण शर्मा- शर्मा मदन पुरस्कार गुठीका सल्लाहकार थिए त्यस बेला । पुस्तकका लेख भइसकेका थिएनन् उनी त्यस बेला । दोस्रो पटक ‘मुनामदन’ नाटक लिएर आए जुलाई सन् १९६२ मा । त्यो नाटक राजा महेन्द्रको जन्मोत्सवमा प्रदर्शन गरिएको थियो । तेस्रो पटक चाहिँ सन् १९६३ । साइत जुराई दिएको थियो कवि केदारमान व्यथितले । संयोग मिलेको थियो नेपाली साहित्य संस्थानको उद्घाटन र नेपाल राष्ट्रव्यापी साहित्य सेमिनारमा भाग लिन । अगमसिंह गिरी, महानन्द पौडेल र उनले पर्यवेक्षक प्रतिनिधिको रूपमा भाग लिएका थिए ।
उनले ‘राष्ट्र निर्माणमा साहित्यकारको भूमिका’ शीर्षक कार्यपत्र पढेको थिए भने कवि अगमसिंह गिरीलाई ‘क्रन्दन’ कविता मार्फत राजा महेन्द्रबाट स्वर्णपदक प्राप्त भएको थियो । त्यही अवसरमा गिरीले ‘श्री ५ महाराजाधिराजप्रति प्रवासको सद्भावना’ कविता रेडियो नेपालको कवि गोष्ठीमा पाठ गरेका थिए । त्यो कार्यपत्र संस्थानको मुखपत्र ‘हिमानी’ मा प्रकाशित भएको जानकारी दिनु हुन्छन् नरबहादुर दाहाल एक अन्तर्वार्तामा दीपक सुवेदीलाई जुन ‘साहित्यपोस्ट’ छापिएको थियो । त्यस पछि विभिन्न कार्यक्रममा भाग लिन निरन्तर काठमाडौँ आइरहे उनी । दाहालज्यूको अनुसार उनी राजा वीरेन्द्रको राज्याभिषेकमा नेपालबाहिरको सांस्कृतिक टोलीको नेतृत्व गरी सन् १९७१ मा काठमाडौँ आएका थिए जसको निम्ति उनले शुभ राज्याभिषेक पदक प्राप्त गरेका थिए ।
उनको पहिलो कविता थियो ‘उन्माद’ सन् १९५० लेखेको तर प्रकाशनको हिसाबले लैनसिंह बाङ्देलको सम्पादनमा कलकत्ताबाट प्रकाशित हुने ‘प्रभात’ पत्रिकामा ‘वरदान’ उपनामबाट ‘स्मरण’ शीर्षकको कविता पहिलो भन्न सकिन्छ । यसै गरी ‘भारती’ पत्रिकामा सन् १९५२-मा ‘मान्छे’ शीर्षकको कथाबाट उनले साहित्यिक यात्रा सुरु गरे । नरबहादुर दाहालको प्रवेश नेपाली साहित्यको दोस्रो चरणमा हुन्छ । पहिलो चरणमा सुधपा, रुपनारायण सिंह, शिवकुमार राई, इन्द्र सुन्दास, नरेन्द्रप्रसाद कुमाई, अच्छा राई ‘रसिक’, लैनसिंह बाङ्देलको गरिमामय उपस्थितिले नेपाली साहित्यलाई नयाँ दिशा दिन सहज भएको थियो ।
माथि उल्लेखित साहित्यकारहरू सक्रिय हुँदाहुँदै दोस्रो चरण श्रीगणेश हुन्छ दार्जिलिङमा सन् १९५०-को दशकमा । यो चरणमा भारती, प्रभात, हाम्रो कथा, दियालो, धुवाँ, मालिङ्गो, तेस्रो आयाम,साहित्यसङ्गम, साथी, फुल पात पतकर, जनदुन आदि साहित्यिक पत्रिकाले धेरै उच्च कोटीको साहित्यकारहरू जन्माउँछ । सबैको नाम उल्लेख गर्न सम्भव छैन तर मुख्य ट्रेन्डसेटरहरुमा अगमसिंह गिरी, वीरेन्द्र सुब्बा, दिलकुमारी सिंह, लक्खीदेवी सुन्दास, कवि धुर्व, तुलसी अपतन, ओर्किउयामा ग्वाईन, देवनम देवसा, दानियल खालिङ, हायमनदास राई, देवनम देवसा, अमृता क्षेत्री, प्रेम थापा, निलम प्रधान, चन्द्रकान्त दर्नाल, हरिश बंजन, विक्रम रुपासा राधिया राया, जी छिरिङ, वीर विक्रम गुरुङ, गाब्रियल राणा, प्रकास कोविद, एम. एम. गुरुड, सानुमति राई, सावित्रि सुन्दास, रविन्द्र कुमार मोक्तान, इन्द्रबहादुर राई, इश्वर वल्लभ, वैरागी काइँला, गुमानसिंह चामलिङ, जगत छेत्री, कृष्णचन्द्रसिंह मोक्तान, ज्ञानेश्वर गिरी, गनुसिंह गुरुङ, नरबहादुर दाहाल प्रमुख हुन । भारत स्वतन्त्र हुन भन्दा पहिले आधा दर्शन भन्दा कम कथा सङ्ग्रह प्रकाशित भएको दार्जिलिङमा यो दोस्रो चरणमा कथा सङ्ग्रह, उपन्यास र कविता सङ्ग्रहहरूको बाढी नै आउँछ । माथि उल्लेखित साहित्यकारहरूले कम्तीमा एउटा कृति निकालेको थियो त्यो समयमा ।
नरबहादुर दाहालको ‘उन्माद’ कविता सङ्ग्रह (सन् १९५८) होस या ‘वरपीपल’ कथा सङ्ग्रह (सन् १९६०) यही समयको उपज हो । प्रयोगात्मक लेखनमा तेस्रो आयामले ठुलै प्रभाव छोडे त्यो समय । भाषा आन्दोलनको बृजारोपन यही समयमा नै भयो। जातीय चेत भएको कविताहरू त्यही समय अगमसिंह गिरीले रचे। ओर्किउयामा ग्वाईन र कवि वीरेन्द्रले वैचारिक र आध्यात्मिक उँचाइ दिए नेपाली कवितामा भने प्रकाश कोविद र सुवास धिसिङ्ले लोकप्रिय उपन्यासबाट पठन संस्कृतिको विकास गरे । समग्रतामा मूल्याङ्कन गर्दा यसलाई चरण भन्दा पनि एउटा युगको संज्ञा दिन उपयुक्त हुन्छ । अनि यसै युगका धेरै सशक्त पात्रहरू मध्येमा नरबहादुर दाहाल पनि एक हुन भन्दा अतिशयोक्ति नहोला ।
लेखनमा स्पष्टवादी उनी । रुपनारायण सिंहलाई जीवित देख्ने अहिले सम्म बाँचेको साहित्यकारहरू मध्येमा उनी सशक्त सर्जक । नरबहादुर दाहालले ‘बिजुली साँचै हराइन्?( समकालीन साहित्य, पूर्णाङ्क १३, माध-फागुन-चैत्र २०५०) शीर्षकको लेखमा सिंहको बिजुली उपन्यास किन अधुरो रह्यो भन्नेमा विभिन्न तर्क वितर्क दिएका छन् । उनी लेख्छन्, “ रुपनारायण सिंहको यो अपूर्ण उपन्यास ‘भारती ’-को पहिलो वर्षको सङ्ख्या २ देखि ४ या ५ सम्म)मा क्रमशः छाप्दै गयो । उहाँको यो उपन्यास लेखिसकेर छाप्न दिनुभएको थियो कि एक-एक अङ्कको लागि लेख्दै दिनुहुन्थ्यो यो आज एउटा शोधको विषय भएको छ । तर ‘भारती’ (पहिलो वर्षको पाँचौँ किस्ता छापिएन । बरु सङ्ख्या ६ मा यसको यस्तो विज्ञापन छापियो- “अब ‘बिजुली’ पुस्तकाकारमा छापिनेछ ।“ सङ्ख्या ७ मा अर्को विज्ञापन पनि देखियो- “ ‘बिजुली’, सामाजिक मौलिक उपन्यास, परिमार्जित भाषा, सुपाट्य शैली (छापिँदै छ)- मणि प्रिन्टिङ प्रेस दार्जिलिङ ।“ तर फेरि ‘बिजुली’ देखा परिनन् बिजुली साँचै हराइन्।“ उक्त लेखमा दाहाल महोदयले यो ननिस्कनुमा पारसमणि प्रधानको हात रहेको इङ्गित गरेको छ ।
नेपालका लेखकहरूसँग उनको गहिरो सम्बन्ध र स्नेह थियो । बालकृष्ण सम उनको आराध्य कवि, माधवप्रसाद घिमिरे उनको प्रिय कवि । देवकोटालाई आठ वर्षको हुँदा देखेको र सुनेको अनि शिरोमणि बाबुराम आचार्य, कविशिरोमणि लेखनाथ, ऋद्धिबहादुर मल्ल, सिद्धिचरण, भवानी भिक्षु र केदारमान व्यथितलाई भेटेको । उत्तम कुँवर, बालमुकुन्ददेव पाण्डे, पुरुषोत्तम बस्नेत, वासु शशि, पोषण पाण्डे, प्रेमा शाह, भवानी घिमिरे, कमल दीक्षित, वासुदेव लुइँटेल, विपिनदेव ढुङ्गेल आदि कुनै समय उनको समकालीन अनि घनिष्ठ मित्रहरू थिए । उनीहरूको सान्निध्यले दाहालज्यूको लेखनमा बृहत्तर चेतनाको विकाश भएको पाउँछौँ ।
नरबहादुर दाहालले पद्यबाट सुरु गरे साहित्यिक यात्रा । यो क्रमशः कथा हुँदै जीवनको पछिल्लो क्षणमा अनुसन्धानात्मक लेख र जीवनी लेखनमा केन्द्रित हुन्छ । ८४ वर्षीय नरबहादुर दाहाल गैर-आख्यान कृतिहरूले निकै प्रशंसा बटुलेको छ । नरेन्द्रप्रसाद कुमाइँ (जीवनी, २०००), गङ्गाप्रसाद प्रधान (जीवनी, २०११), गोर्खा महानायक डम्बरसिंह गुरुङ (जीवनी, २०१५) र अजम्बरी गङ्गाप्रसाद प्रधान ( सह-लेखन, २०१५) आदि कृतिहरूले इतिहासको गर्भमा लुकेका व्यक्तित्वहरूलाई उजागर गर्ने काम गरेको छ ।
धेरै सम्झेर पनि बिर्सिसकेको कवि नरेन्द्रप्रासद कुमाई माथि नरबहादुर दाहालले लेखेको लेख निकै रोचक र मनन योग्य छ । नरबहादुर दाहाल आफ्नो ‘कवि नरेन्द्रप्रासद कुमाई अस्ताएका सन्ध्या- तारा’ लेखमा लेख्छन्, ”आधुनिक भारतीय नेपाली साहित्यमा स्वर्गीय नरेन्द्रप्रसाद कुमाईको एउटा विशिष्ट स्थान छ । उनले साहित्य-सेवाको निम्ति यथेष्ट समय पाएनन् तर थोरै समयमा उनले जे जति लेखे यसैले उनीभित्रको सृजनात्मक प्रतिभाको झलक दिन्छ । दार्जिलिङमा अगमसिंह गिरी पूर्व जुन एउटा लयात्मक काव्य शैलीको सूत्रपात भएको थियो, त्यसमा प्रणेता स्वर्गीय नरेन्द्रप्रासद कुमाई थिए भन्दा अत्युक्ति नहोला।”
त्यही लेखमा दाहाल लेख्छन्, “नरेन्द्रप्रासद कुमाईका कविताहरूलाई मुख्यतः दुई श्रेणीमा विभाजन गर्न सकिन्छ । उनका एक श्रेणीका कविताहरूमा जातीय भावना-प्रधान विचारहरू बोल्दछन् भने अर्को श्रेणीका कविताहरूमा प्रणय र प्रीतिका, शृङ्गार रसका भावनाहरू मुखरित हुन्छन् । दुवै थरीका कविताहरूमा कविको सशक्त व्यक्तित्व देखिन्छ अनि आफ्नो काल र विचारलाई यी कविताहरूले राम्ररी प्रतिनिधित्व गरेको छ ।” आफ्ना अग्रज कविलाई श्रद्धापूर्वक विवेचना गर्नाले पनि नरबहादुर दाहालको महत्त्व र महत्ता बढेको छ ।
कैयन पुस्तकहरूको लेखनको अतिरिक्त नरबहादुर दाहालले ६०० जति फुटकर कविता, लेख, कथा लेखे । ती सबै सन् पचासको दशकको पत्रिका –भारती, प्रभात, गोर्खा देखि सुरु भएर कालान्तरमा धरती, जाग्रत् गोर्खा, मधुपर्क, रूपरेखा, मादल, दियालो, दियो, हाम्रो ध्वनि, अवलोकन, माया, सुनचरी, सुनाखरी, हिमाली आभा, हिम कस्तुरी हुनै हिमालय दर्पण सम्मको पत्रिकामा प्रकाशित भएको छ । कमल अझै बन्द भएको छैन उनको । शताब्दी पुरुष सत्यमोहन जोशीलाई जस्तै १०२ वर्ष सम्म पनि साहित्यमा सक्रिय रहने ऊर्जा ईश्वरले प्रदान गरोस् भन्ने कामना गर्दछु ।
(यो लेख अगमसिंह गिरी संस्थान सलुवा, पश्चिम मेदिनीपुर, भारतबाट प्रकाशित हुने परदेशी पत्रिकाको “नरबहादुर दाहाल अभिनन्दन विशेषाङ्क”बाट साभार गरिएको हो ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।