सम्पूर्ण विश्व–ब्रह्माण्ड वा सृष्टिलाई बनाउने, बिगार्ने र तिनको नियन्त्रण तथा शासन गर्ने मानिएका परम् पुरुष वा परमात्माका रूपमा पुजिने सर्वप्रधान सत्तालाई नेपाली बृहत् शब्दकोशले ईश्वर भनेको छ (पोखरेल र अन्य, २०५२; १३०–१३१) । हाम्रो हिन्दूहरूको परम्परामा राजा, राजकुमार एवम् शासकहरूलाई पनि ईश्वरकै रूप मानिएको छ । संस्कृत–हिन्दी कोशका अनुसार शक्तिसम्पन्न, योग्य, समर्थ, मालिक भनेर ईश्वरलाई चिनाइएको छ (आप्टे, सन २००७; १८०) । ईश्वरलाई देवताका पर्यायवाचीका रूपमा लिएको पाइन्छ । वैदिक ग्रन्थहरूमा भेटेसम्मका प्रमाणहरू जुटाएर ईश्वरको अस्तित्वलाई स्वीकार गरिएको छ । वैदिक काल पछिका हाम्रा अधिकांश धार्मिक ग्रन्थहरूमा पनि ईश्वरको अस्तित्वलाई स्वीकार गरिएको पाइन्छ ।

हाम्रो नेपाली समाज धार्मिक अन्धविश्वास र रूढिले ग्रस्त समाज हो । हाम्रो समाजमा विभिन्न किसिमका भ्रमहरू छन् । आज हामीले सुन्ने गरेका स्वस्थानी व्रतकथा, सत्यनारायणका पूजा, दुनाटपरीमा चामल राखी पिण्ड लडाएर पितृका नाममा गरिने श्राद्धे, तेह्र दिने काजकिरिया, अनावश्यक रूपमा मन्दिर निर्माणका लागि छुट्याइएका बजेटहरू, ढुङ्गामा प्राण–प्रतिष्ठा आदि यी सब भ्रम हुन्; पछौटे चिन्तनका द्योतक हुन् । विशेष गरी हिन्दू महिलाहरूमा लेखपढको अवसर कम भएका कारण उनीहरूमा चेतनाको कमी छ, उनीहरूको यही कमजोरीबाट फाइदा उठाएर पण्डित–पुरोहितहरू महिलाहरूको दिमागमा अनावश्यक भ्रम सिर्जना गराउन सफल भएका छन् । आज हामीले हेर्‍यौं भने महिलाहरू शिवजीको ढुङ्गाको लिङ्ग पूजा गर्न मन्दिरतिर धाएका देख्छौं । कुनै पनि मन्दिरमा पुरुषको भन्दा महिलाको पंक्ति नै बढी मात्रामा देख्छौं ।

आजको भौतिकवादी अर्थात् वैज्ञानिक चेतनाको यस युगसम्म आइपुग्दा पनि हाम्रो समाज माथि उल्लेख गरिएका अनेकन्  भ्रमहरूबाट पूर्ण रूपमा मुक्त हुन सकेको छैन । यहाँका अधिकांश मानिसहरू काल्पनिक स्वर्ग र नर्कमा विश्वास गर्दछन् । हामीले अहिले पनि अस्तित्वमै नरहेका ईश्वरको महिमागान गरेका छौँ, ईश्वरको प्राप्तिका लागि भजन–कीर्तन गाइरहेका छौँ र ईश्वरकै नाममा समय र सम्पत्तिको खर्च गरिरहेका छौँ । यो पक्ष समय सान्दर्भिक छैन । हामीले समयको गतिलाई पक्रन सकिरहेका छैनौं । यसो हुनाको कारण हाम्रोमा पछौटे वा यथास्थितिवादी चिन्तन हाबी हुनु हो ।

सौन्दर्यशास्त्री किरण भन्छन्, “वस्तुअनुसार चेतना बन्दछ । सामाजिक सत्ताअनुसार सामाजिक चेतनाको निर्माण हुन्छ । साथै, चेतनाले वस्तु र सामाजिक चेतनाले सामाजिक सत्तालाई पनि प्रभावित तुल्याउने काम गर्दछ” (किरण, २०६५; १२६) ।

यसबाट के स्पष्ट हुन्छ भने हुँदै नभएका ईश्वर र ईश्वरीय सत्ताको निर्माण हामीले नै गरेका हौँ ।

यो संसार ईश्वरले बनाएका र उनैले चलाएका हुन् भनेर उल्लेख गरिएका वेदका शब्दहरू नै ईश्वरको अस्तित्व छ भन्ने कुराको प्रमाण हो भनेर धार्मिक तथा ईश्वरवादीहरू आफ्ना तर्क अगाडि सार्दछन् । यस सन्दर्भमा सौन्दर्यशास्त्री निनु चपागाईंका अनुसार धर्मले बुद्धिको मात्र होइन, इन्द्रियज्ञान र तर्कपद्धतिको पनि निषेध गर्दछ । यसले प्रत्यक्ष ज्ञान तथा अनुभव, बुद्धि र प्रयोगलाई आधार मान्ने विज्ञानको होइन, अन्धविश्वास र पूर्ण समर्पणको माग आफ्ना अनुयायीसित गर्छ (चापागाईं, २०६७; ६७) । यसबाट पनि धार्मिकहरूले भन्ने गरेको ईश्वरका अस्तित्वका बारेमा शङ्का गर्ने प्रशस्त ठाउँहरू छन् ।

कुनै एउटा ईश्वर विशेषको प्रयासले यति ठूलो सृष्टि कसरी सम्भव भयो ? चक्रको सहारा लिएर टारहरूमा बस्ने कुमाल दाजुभाइहरूले माटाको गाग्रो वा घैँटो बनाउँछन्, घैँटोलगायत माटाका भाँडाकुँडा बनाउनका लागि चक्र नभई हुँदैन । यतिको विशाल संसार निर्माणका लागि ईश्वरले त्यस्ता कुन साधन वा उपकरणको प्रयोग गरे ? उनले ती साधन तथा उपकरणहरू कहाँ थन्क्याएका छन् ? ती चक्र तथा साधनहरू किन भेटिएका छैनन् ? ती साधनका अवशेषहरू कहाँ छन् ? संसार बनाउन प्रयोग गरिएका प्रामाणिक साधन तथा उपकरणहरू कतै पनि फेला परेका छैनन् ।

वेदमा उल्लेख गरिएका शब्दहरूलाई नै ईश्वरको अस्तित्व रहेको कुराको प्रमाण मान्न सकिँदैन किनभने वेदले नै यस संसारको वास्तविक कारण चेतन सत्तालाई नमानेर अचेतनलाई मानेको छ । यो संसार, यी जीवजन्तु र र सिङ्गो यस भौतिक जगत्कै निर्माण र विकास कसरी भयो भन्ने कुरा आधुनिक विज्ञानले प्रमाणित गरिसकेको छ । यस जगत्मा भएका जति सबै प्राणी क्रमिक विकासका उपज हुन्, ईश्वरले बनाएका होइनन् भन्ने यथार्थलाई वैज्ञानिक चाल्र्स डार्विनले सप्रमाण पुष्टि गरिसकेका छन् । डार्विनले आफ्नो पुस्तक जीव उत्पत्तिका सम्बन्धमा लामो समयसम्म खोज–अनुसन्धान गरी घेरै तथ्यहरूलाई सप्रमाण उल्लेख गरेका छन् ।

समाजका केही टाठाबाठा ब्राह्मणहरूले पुरेत बनेर सर्वसाधारणहरूमा भ्रमको खेती गर्दै हुँदै नभएका ईश्वरको अस्तित्वका बारेमा धार्मिक अन्धविश्वास फिँजाइरहेका छन् । हामीभित्र अज्ञानता, अशिक्षा र अचेतना व्याप्त छ । हाम्रो अज्ञानताका कारण पुरोहितहरूले हामीबाट फाइदा उठाइरहेका छन् । यस्ता भ्रमहरूको सिर्जना गर्ने काम पुरोहितहरूबाट नै बढी मात्रामा भएको छ । जुन मानिसमा आत्मविश्वासको कमी हुन्छ त्यस्ता मानिसहरू नै बढी मात्रामा ईश्वरीय सत्ताको वकालत गर्छन् र पूजापाठमा बढी समय बिताउँछन् । त्यस्ता मानिससँग भौतिक जगतका यथार्थसँग सम्बन्धित नयाँनौला कुरा सोच्ने सिर्जनशील पक्ष पनि कम हुन्छ, तिनीहरू त रूढिकै पछाडि लाग्छन् । अर्कातिर हामी भित्रको कमजोर आत्मबलले पनि यसलाई मलजल पुर्‍याइरहेको छ । यद्यपि भौतिक यथार्थमा बाँचेका हामी चेतना भएका मानिसहरू ईश्वरको अस्तित्व छैन भन्ने कुरामा विश्वस्त हुनुपर्छ ।

प्रमाणद्वारा सिद्ध गर्न नसकिने वस्तु जसलाई प्रत्यक्ष देख्न पनि सकिँदैन भने त्यसको अस्तित्व कहाँ रहन्छ ? हालका दिनहरूमा दर्शनका सम्बन्धमा कलम चलाइरहेका लेखक रामराज रेग्मीका अनुसार चार्वाक दर्शनले शब्द र अनुमानलाई ज्ञानको स्रोत मान्दैन, केवल प्रत्यक्ष प्रमाणलाई मात्र मान्दछ (रेग्मी, २०६४; १४) । अनुमानका आधारमा ईश्वरको अस्तित्वलाई स्वीकार गर्ने हो भने पनि अनुमानका लागि कुनै वस्तु वा सङ्केतको आवश्यकता पर्दछ ।

यसै गरी भारतीय दर्शनशास्त्री चन्द्रधर शर्माले पनि चार्वाक दर्शनकै सन्दर्भमा अनुमान स्वयंमा प्रमाण नहुने कुरा बताएका छन् (शर्मा, सन २००४; २६) । जस्तै, कुनै जङ्गलमा धुवाँ देखेपछि त्यहाँ आगो छ भन्ने अनुमान गर्न सकिन्छ तर ईश्वरको अस्तित्वको अनुमानका लागि धुवाँ जस्तै वस्तु वा सङ्केत कुन चिजलाई मान्ने ? धूलामा मानिसका पाइतालाका छाप अथवा डोब देखिएपछि त्यहाँ मानिस हिंडेको थियो भनेर अनुमान गर्न सकिन्छ तर ईश्वर थिए अथवा छन् भन्ने कुराका लागि त्यस्ता अनुमान वा सङ्केत केही पाउन सकिएको छैन । अस्तित्वमै नआएका र नभएका जुन न अनुमान गर्न सकिन्छ न त प्रमाणद्वारा नै सिद्ध गर्न सकिन्छ त्यसलाई पनि छन् भनेर मान्ने वा पुज्ने काम गर्नु जीवनसापेक्ष हुँदैन । यो त ठुलाबडाहरूबाट तेर्स्याइएको तगारो हो; यो सरासर भ्रम हो । आफूलाई टाठाबाठा भन्न रुचाउनेहरूले फिँजाएको यस भ्रमबाट हामी मुक्त हुनुपर्छ र समाजलाई पनि यस किसिमको भ्रमबाट मुक्ति दिलाउनुपर्छ ।