कामको चाप, चापमा कामको धाप । धैर्यमा धाप, धापमा धैर्यको साथ । जीवनधाम यौटा नियमित कर्म–कौशलको सिलसिला । अठोटको अनवरत यात्रा सबैको । यात्राको अविराम पाइला–पदचाप यायावरी मनहरूको । दुःखबाट पाठ अभावको, आवश्यकताको । कति निष्ठुर हृदय कतिपय ज्यानहरूको । कति कोमल मन र मुस्कान कोही कसैको ।
तथापि बुझेर पनि बुझ पचाउने कति बेसरम मनहरू मानिसहरूको । खुशीमा पनि दुःख दिनेहरू । दुःखमा झन् तनाव थपिदिनेहरू कति हो कति ! कसैको भरोसाले थेगिनसक्नु ममताका खातहरू । कसैको ईर्ष्याले खिइँदै गइरहेका तजमनहरू । कैयौँ स्वार्थका संलापहरू मानिसका । कैयौँ संवादका सुन्दर आवरणले सजिसजाउ संरचनाहरू ।
कहाँ छैन र विश्वासको मत ? कहाँ सिद्धिएको छ र मानवीय संवेदनाको स्वरूप ? यदाकदा मान्छेका मनमा संशय विद्यमान छ । आफ्नै छिमेकीको हैरानीले तड्पिएको ज्यान सबुतका लागि हाजिर छ । आफ्नै परिवारमा पनि कलहको बीउ झाँगिएको छ । कसले देख्दैन र शङ्काको विम्ब ? कहाँ छैन र आशङ्काको आधिपत्य ?
कुनै रात अनायासै जर्याकजुरुक उठेर म चुपचाप एकान्तमा घोत्लिन्छु । कसैले थाहा पाउलान् भनी चाल मारेर विचारको बिर्को खोलेर हेर्छु । मैले खोजेको के हो ? आफैँलाई सोध्छु र सोधेको जवाफ पाएर मख्ख पर्दै मनको मझेरीभित्र पसेर धमाधम खोज्नथाल्छु ।
किन कहिले अविराम पाइला–पदचापले फड्को मार्नथाल्छ ? कहिले किन अविराम पाइलाले विश्राम लिन्छ ? थाहा छैन जीवन–नियतिको कुरा ! आखिर हामी सबैका पाइलाहरू कदापि पनि थाक्नुहुँदैन । हिंड्दा थाकेर लखतरान भएँ भनी गति छाड्नुहुँदैन । सकेको प्रयत्न र प्रयास गरिरहनुपर्छ ।
कहिले एकान्तको एक्लोपनमा पनि भीडामभीडको माहौलले हैरान बनाउँछ । कहिले भीडको भीडमा पनि नितान्त एक्लो बनाउँछ । कहिले ढुङ्गा खोज्दा देउतै मिलेझैं सहयोग, सद्भाव, शुभेच्छा सबै मिल्छ । कहिले ढुङ्गा खोजिमर्दा देउताको कुरा छाडौं जाबो यौटा ढुङ्गै पाउन मुश्किल हुन्छ ।
मानिसले खोजेको चीज, सोचेको कुरा र चाहेको इच्छा पूरा हुन हम्मेहम्मे नै हुन्छ । तर अनवरत चासो र अविराम खोजले सफलता नजिकिन सक्छ । जसरी कि अविराम पाइला–पदचापले गन्तव्यमा पुर्याइछाड्छ । पाइतो नसारी, हिँड्ने चेष्टा नगरी, पुग्ने जमर्कोमा बिर्को लगाएर बस्दा कहाँ पुग्नु शिखर ? कहाँ पुग्नु लक्ष्यको नजिक ?
त्यसैले चाहनाको भोक मेटाउन शोक बिर्सिदिनुपर्छ । ठेस लाग्ला, घाउचोटले हैरान पार्ला, हायलकायल भएर थला परिएला भन्ने सोच्नथाले घरको कोठा, ओछ्यानबाटै अन्त ननिस्किए हुन्छ । कोठाकै परिवेश त्यही नै संसार हुन्छ ।
वास्तवमा मानिसको हैसियत जतिसुकै ठूलो होस् तर उसको हविगतले उचित्रको चरित्र चरितार्थ गरिदिंदो रहेछ । कुनै सानो मान्छेको पनि विशाल र महान् विचार । कुनै ठूलाठालू भन्नु मात्रै तिनैको बुद्धिको दैलामा बीरेआग्लै लाग्दोरहेछ ।
आखिर मानिस भन्नु चिनेर पनि अपरिचित सधैँ । एक प्रकारले कस्तो कठोर कटु सत्यको नाम रहेछ । अपजसी जात रहेछ । अर्काको चोट नदेख्ने तर खोतलखातल पारेर खोट देखाउन सक्ने बेइमानी आदत रहेछ । बुझेर पनि बुझ पचाउन सक्ने । थाहा पाएर पनि थाहै नपाएको बहाना गर्न जान्ने ।
सामान्यतया अबौद्धिक र मूर्खलाई पनि चित्त नबुझ्ने कुरा नकारात्मक प्रतिक्रियाको भेलबाढी नै बगाइदिने । आफूबाहेक अरू सबैलाई नराम्रो आँखाले देख्ने, बुझ्ने र हेर्ने समकालीन मानसिकता भएको छ । यसो भएपछि जतिसुकै राम्रो कामले पनि जश नपाउँदोरहेछ । दृष्टिकोण नै अपजशी भएपछि असल काम र कुराको अर्थ पनि समाप्तै भएको ठानिंदोरहेछ ।
पछिल्ला क्रियाकलापहरू हेर्ला विरोध र समर्थनको पक्षबीच घमासान युद्ध भइरहेको छ । यसले हाम्रो गति र गन्तव्यलाई नै दोधारमा पार्दैछ । हाम्रा सोचविचार, विवेक र मानवीय पहिचानको पनि सङ्कट देखा नपर्ला भन्न सकिँदैन । अरूको प्रगतिमा बाधक होइन साधक हुन सक्नुपर्ने हो । अरूको उन्नतिको अवनति होइन बरु प्रशंसा र प्रेम गरी उत्साहको फूलमाला चढाउन सक्नुपर्ने हो ।
वर्षौंदेखि थाँती रहेको भाषिक विवादले बल्ल न्याय पाएको अवस्था छ । यही ऐनमौकामा त्यही भाषाको मिठासलाई लात हान्न सुहाउँदैन । बलात् निम्नस्तरको भाषा कत्ति पनि चित्त बुझ्दो लाग्दैन । भाषाकै बेइज्जत हुँदासम्म कसैलाई कुनै कारबाही केही पनि गरिंदैन । अनि तिनको मनोबल झनझन् बढिरहेको छ । दोष देखाउँदै, खोट औंल्याउँदै काइते भाषामा अरूलाई कायल पार्न खोज्नु ठूलो मूर्खता हो, महानता हुँदै होइन ।
एकले अर्कोलाई गाली गर्ने भाषाशैली हेर्दा यस्तो लाग्छ, अब हामी आफू-आफैँमा शत्रुता साँधेर अमिलो अचार छिमेकीहरूलाई चखाइरहेका छौं । जुन अचारले बिस्तारै सामाजिक न्यायको स्थानमा अन्यायलाई प्रश्रय दिइरहेको छ । अर्कालाई दोष देखाएर दम्भ साँध्ने प्रवृत्तिले अन्नतः हामीबीच फाटोको टाटो सिर्जना हुँदैछ । खासगरी सामाजिक सञ्जालको व्यापक दुरुपयोग भइरहेको छ ।
यद्यपि यसमा दण्डजरिवाना टाढाको कुरा भइरहेको छ । मनपरी लेख्ने र बोल्नेहरूको संख्या दिनदिनै थपिरहेको छ । हुँदाहुँदा अब त अनुहारै अर्को बनाएर बदनाम गराउन उद्धत प्रविधिको विकासले विनाश निम्त्याएको देख्ने सर्वसाधारण मात्रै हुन कि ! सरकारकै प्रमुखहरूको बेइज्जत गरिरहँदा समेत केवल टुलुटुलु हेरिरहन सक्ने कस्तो सरकार हो कुन्नि ?
यो सत्य हो कि, मान्छेले जति देख्ने चाहना राख्छ तर त्यो भन्दा धेरै देख्छ । जति हिंड्ने योजना बनाउँछ त्यो भन्दा अझ बढी हिंड्छ । हिंडेपछि नै देखिन्छ । देखेपछि नै देखेका दृश्यहरूले हिंडाउँदोरहेछ । तर जबसम्म संकुचित मानसिकताले अँगालिरहन्छ तबसम्म हाम्रा हार्दिकता र ममताका स्नेहीपनहरू धरापमा पर्ने रहेछन् । भड्खालोमा जाक्किएर शिर उठाउनै नसक्नेगरी सड्ने रहेछन् । अहिलेको गालीगलौजको भाषा पनि प्रगतिमा बाधक बनिरहेको छ ।
तथापि हामीले हिँड्नुको आवश्यकता र महत्व पनि बुझ्नुपर्ने रहेछ । अझ बढी महत्वको महत्व बुझ्न सक्नुपर्ने रहेछ । अनि आवश्यकताको आवश्यकता पनि बोध हुनुपर्ने रहेछ । हिँड्नुको अर्थ पुग्नुमा पूर्णविराम होइन । पूर्णविराम भन्नु अब सबै कामतमाम सकियो भनेर मस्तले घुर्न थाल्नु पनि होइन । आजको काम आज सकिन्छ । भोलि त फेरि अर्को काम बाकी नै रहन्छ ।
आखिर हामी पुग्नुपर्ने गन्तव्यको ठेगाना हामीलाई नै थाहा छैन । कठै हामी अथाह अनाथ पाइला चालिरहँदा रहेछौँ । यति हुँदाहुँदै पनि हामीमा जस्तो घमण्ड अरूमा पाउन सकिँदैन । हामी जस्तो जान्ने, बुझ्ने अरू कोही छँदै छैन ।
हामी केवल भ्रममा बाँचेका । अरूको प्रगतिमा ईर्ष्या र डाहले छटपटिएका ।
बालापनको ताते सराइदेखि हिंडिरहेका छौं तर हिंडाइ उमेरको उकालो चरणमा पनि हिंडिरहेकै छ । हिंडिरहेकै छ । यो हिंडाइको गति अविराम पाइला–पदचाप चलिरहेकै छ । यो गतिमा निस्क्रियता होइन सक्रियता चाहिन्छ । त्यसमा गाली होइन ताली चाहिन्छ । सत्कर्मको प्रशंसा गर्न हिच्किचाउनु हुँदैन । अनावश्यक लाञ्छना लगाउनेलाई भने कारबाहीको दायरामा ल्याउनैपर्छ ।
अविराम पाइला–पदचाप चलिरहेकै छ । यसरी नै चलिरहनु नै पर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।