 
			
			
			
			
			
			तैँ तैँ,
नेपाल बाहिर जन्मेर नेपाली भाषा साहित्यमा कलम चलाउने व्यक्ति भन्नेबित्तिकै यो मन त्यसैत्यसै फुरुङ्ग भइदिन्छ । देशको सीमा पार गरेर कताकता पुगेर सीमाहीन भइदिन्छ । तैँ तैँ बर्मेली हुन् भन्ने थाहा पाएपछि तपाईंका लेख नछुटाई पढ्न थालेँ । तपाईँको ‘ओइ काठमाडौँ !’ शीर्षकमा लेख प्रकाशित भएपछि तपाईंले पाएको दुःख, कष्ट र हैरानीले एकछिन त दुखी बनायो । तपाईंको जन्मभूमिमा स्वतन्त्रताको लागि लडिरहेका ती आमा बाबा र दाजुभाइ अनि दिदीबहिनीको संघर्षलाई एकछिन सम्झिनुस् त ! तपाईंलाई आफ्नो संघर्ष निकै होचो पाउनुहुनेछ ।
तपाईंले सञ्जीव उप्रेती, सुबिन भट्टराई, कुमार नगरकोटी र अरू पनि ‘स्टार’ हरूसँगको अन्तरङ्ग कुराकानी र तपाईंले महसूस गर्नुभएको अनुभूति लेख्नुभयो । ती साँच्चै पठनीय छन् र अवश्य पनि वाहवाही पाउनु नै भयो होला ! एका दुई भेट र केही कृति पढेकै भरमा कसैको जिन्दगीको साङ्गोपाङ्गो अध्ययन त गर्न सकिँदैन नै तथापि चर्चामा रहेका व्यक्तिहरू जो यसरी चर्चित हुनुअघि के कस्तो दुःखद अवस्थाबाट गुज्रेका थिए ! सफलताको सगरमाथा सायदै कमैले मात्रै एकै पटकमा आरोहण गरेका होलान् ! ‘अप्रिय पिताजी’ जस्तै भावनाको अतल गहिराइमा पुगेर रचिएका आलेख जस्तै अरू सांस्कृतिक पक्षको खोलीबासुली गरेको लेख पढ्न मन छ । अझ पाठलाई त तपाईंले भुँइमान्छेको कथा जसले जिन्दगीभर इमानदारीताका साथ परिश्रम र मेहनत मात्रै गरेको छ र पनि सफलता मरिचीका जस्तो भइरहेछ; जसले आफ्ना सामान्य आधारभूत मानवीय आवश्यकता पूरा गर्ने सपना साँच्दासाँच्दै इहलीला सकेको छ; जसले शिर ओताउने छानो बनाउने सपना देख्दादेख्दै पलायन हुनुपरेको छ; जसले आफ्नै आँखाअगाडि सन्तानको मृत्यु देखेका छन् त्यस्ता मान्छेको कहानी लेखिदिए हुन्थ्यो भनेर पर्खेर बसेका छन् । तपाईंको लेखनीको अर्ग्यानिक र विशिष्ट स्वाद र शैलीका कारण धेरै पाठकले तपाईंको सिर्जना पढ्छन् र धेरैले पढ्नु भनेको तपाईंको लागि र साहित्यको लागि पनि त सुखद कुरा हो ।
तैँ तैँ, हामीलाई तपाईंको देशको बारेमा पढ्न मन छ जुन कुरा गुगल वा विकिपिडिया र इन्टरनेटमा सायदै भेटियोस् । बर्माको सैनिक नेतृत्वले कसरी कलिला मुनाहरूलाई बाल सैनिक बनाउँछ र संसारको सर्वोत्तम शासनपद्धति भनेकै सैनिक शासन हो भन्ने बीउ बाल मस्तिष्कमा रोपिदिन्छ ! त्यो बुझ्न मन छ । स्वदेश पुगेर आमाको काखमा लुटुपुटु गर्न हतारिएकी तर पुगेपछि फेरि फर्किन पाइन्छ पाइँदैन भन्ने कौतुहलता बोकेकी एउटी चेलीको मानसिक अवस्था पढ्न मन छ । धर्मलाई कसरी हतियार बनाइन्छ र त्यसले दिने घाउ कस्तो स्वाद अनि कत्तिको पीडादायी हुन्छ बुझ्न मन छ । त्यहाँका महिलाले घाँटीमा किन त्यस्तो चुराजस्तो गहना लगाउँछन् ? घाँटी लामो बनाएर सुन्दर देखिनैका लागि मात्रै हो कि त्यसको गूढ रहस्य पनि छ ? लुङ्गी लगाउनुको कारण सहजताको लागि मात्रै हो कि त्यसका अरू पनि आफ्नै कारण छन् ? तपाईं जन्मेको देशले आफ्नो नाम र राजधानी किन फेरेको हो ? ब्रिटिश साम्राज्यका अवशेष मेटाउने मात्रै हो कि बर्मा वा ब्रह्मदेशबाट किन तर्सेको हो त्यहाँको शासकवर्ग ?
युवाहरूको देश भनिने त्यहाँका युवाहरू किन विवाह सम्बन्धप्रति त्यति उत्सुक देखिँदैनन् ? समाज आदिम साम्यवादी समयको जस्तो फुक्काफाल भएर प्राकृतिक मनोहारितातिर फर्किन खोजेको हो कि हुनेवाला सहयात्रीप्रतिको अविश्वास वा अरू नै कारण हो ? गौतम बुद्धलाई महान् गुरु मान्ने गोल्डेन प्यागोडाको देशका अधिकांश जनलाई याद छ कि छैन ? उनी लुम्बिनीमा जन्मेका हुन् भनेर ! हुन त तपाईं विश्वले चिनेकी आङ साङ सुकीको बारेमा बताउन सक्नुहुन्छ होला ! तर हामीलाई तपाईंले घरपरिवार र पाठशालामा बिताएको बालापन, मावली र सानीमा, ठूलीआमाको घरमा हुर्किँदै गएको यात्रानुभूति, त्यता मनाइने रमाइला चाडपर्वहरू, पानीमा खेलिने खेल, फुटबल जस्तै खुट्टाले खेलिन बल र माछा मार्ने तौरतरिकाबारे बुझ्न चाहन्छौँ । सुन्दर सपना देख्ने तर दत्तचित्त भएर कर्ममा नखटिने युवारोग त्यहाँ पनि उस्तै छ कि ! सीमान्तकृत समुदायको आवाज कत्तिको मुखरित भएको छ ? बौद्धिक वर्गको हालत यहाँ झैँ दयनीय छ कि !
तैँ तैँ, तपाईंले सम्भ्रान्त वर्गको मात्रै होइन भुँइमान्छेको कहानी पनि लेख्नू है !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
 
					 
				 १४ कार्तिक २०८२, शुक्रबार
  
				१४ कार्तिक २०८२, शुक्रबार				

 




 
																	 
																	 
																	 
																	 
																	




