मनमा अनेकौं सपनाको भारी थियो । साथमा कलम, कापी र किताब अनि लत्ता कपडाले भरिएको झोलाको भारी पनि थियो । त्यो भारी त झन् मेरो ढाडमा गढेरै बसेको थियो । जीवनमा पहिलो पटक तराई झर्ने सुर कसेर घरबाट हिंडेको थिएँ । बाटोमा मामा घर थियो । करीब डेढ घण्टाको पहाडको बाटो हिंडेर त्यहाँ आइपुग्दा म लखतरान् गलिसकेको थिएँ । सपनासँगै रहरको उत्सव मनमा फैलिॅंदो थियो । त्यसैले होला शायद शरीर गलेर हत्तु भए पनि मन भने खास गलेको थिएन ।

जब म हिंड्दै मामा घरमा आइपुगें । हजुरबा सिकिस्त बिरामी परेर छटपटिंदै हुनुहुन्थ्यो । पहाडको ठाउँमा फाल्गुण महिनाको चर्को तर रापिलो घाम ताप्दै उहाँ घरअगाडि आँगनमा गुन्द्रीमाथि लडिरहनु भएको थियो । उहाँलाइ कुन रोगले गाल्दै लगेको हो ? मेरो ज्ञान वा ध्यानले त्यति कुरा बुझ्न सक्दैनथ्यो । तर उहाँको हालत हेर्दा म अलि धेरै नै झस्किएको थिएँ ।  “ओहो अब कतै केही अनिष्ट हुने संकेत त होइन यो  ?” मैले यही प्रश्न आफूलाई सोधेको थिएँ ।

यसैबीच हजुरबाले अलि मलिन मुहार बनाउँदै पुलुक्क मतिर हेर्नुभयो । अनि रुन्चे स्वरमा भन्नुभयो, “अब हाम्रो भेट फेरि हुने छैन हेर बाबु ! शायद म छिटै मर्छु होला  ।”

यही कुरा उहाँको मुखबाट फुत्कियो । तर म यी शब्द सुनेर छाँगाबाट खसे झैं भएँ । दिउँसोको मध्याह्नमा म फेरि त्यही झोला बोकेर सरासर हिंड्दै  ओरालो लागिहालें । तराई तर्फको गन्तव्यमा आफ्नो बाटो तताउँदै गएँ । नयाँ ठाउँको यात्रासँगै जोश र जाँगर बोकेर हिंड्दै थिएँ । मनमा पनि मिलन र विछोडको दोहोरी त चलिरहेकै थियो ।

जन्मेहुर्केको गाउँ छोडेर तराईघर पुग्दा संवादको माध्यम भनेकै चिठी पत्र थियो । वेलाबखत चिठी पठाउने । आफन्त वा साथी भाइबाट आएका चिठि पढेर रमाउने चलन राम्रैसँग फस्टिंदै थियो । सन्चोविसन्चो वा जन्म मृत्युको कुनै खबर पाउन पनि महिनौं दिन कुर्नुपर्ने बाध्यता हाम्रो सामु थियो । आजको जस्तो एक मिनेट मै संसारको जुनसुकै कुनाको खबर पनि पाउन सक्ने कुरा कल्पनामासम्म पनि थिएन ।  बेलाबखत घर अगाडिको बाटो हुँदै हुलाकीदाइ सरर साइकलमा यात्रा गर्थे । दुईचार वटा चिठी हातमा थमाइदिन्थे र खुरुखुरु आफ्नो बाटो लाग्थे । म चिठी खोलेर पढ्थें र पहाडको हालखबर राम्रोसँग बुझ्थें ।

करीब पाँच महिना पछि अर्थात २०५२ साल श्रावण शुरू तिरको कुरा हो ।  मध्याह्नको टन्टलापुर गर्मीमा खेतको काम सकाएर म घरमा आएको थिएँ । वर्षायाममा धान रोपाइॅंको चटारोले भ्याईनभ्याई थियो । यसै मेसोमा बाटोमा हुलाकि दाइ उनको खिया लागेको  साइकल चढेर हुइॅंकिदै आइपुगे । घर अगाडि टक्क रोकिए । अनि उनले आफ्नो पुरानो बान्कीको झोला खोल्दै एउटा चिठी सर्लक्क निकालेर मेरो हातमा थमाइदिए । र उनले आफ्नो रुमालले निधारको पसिना पुच्दै भने ।

“ल लिनुस् यी चिठ्ठी !” म हत्त न पत्त चिसो हात पुछ्दै चिठ्ठी खोलें अनि सरर पढ्दै गएँ । सेतो कागजमा रातो मसीले कोरिएका अक्षर देख्दा नै मैले कुरा बुझिसकेको थिएँ । “पक्कै अब राम्रो खबर छैन यस चिठ्ठीमा ।” मानिसहरू मरेको वेला रातो मसिले चिठ्ठी लेखेर पठाउने चलन थियो । तर यस खालको चिठ्ठी मैले जीवन मै पहिलो पटक पाएको थिएँ ।

पढ्दै जाँदा चिठ्ठीमा लेखिएको थियो । “हजुर बा श्रावण महिनाको फलानो दिन स्वर्गबास् हुनुभयो । भाइ तिमी जसरी हुन्छ छिटो यता आउने काम गर्नू ।” यो अशुभ खबर सुनेर मेरो शरीरमा करेन्टको झट्का लागेझैं भयो । मैले केही समय कुनै कुरा सोच्न पनि सकिनँ । यद्यपी ढिलै भए पनि एक जना छिमेकीको सहाराले उक्त खबर आमाको कानसम्म पुर्याउन सफल भएँ । किनकि यस प्रकारको खबर सुनाउने हिम्मत मसँग थिएन । हजुरबाको निधनको खबरले आमालाइ ठूलो चोट लागेको कुरा मैले बुझ्दै गएँ । दुखद घटना घटेपछि सम्हालिनुको विकल्प मानिससँग नहुने रहेछ ।

मर्दापर्दा आफन्तहरूले फर्केर हेर्ने  “हामी पनि सँगै छौं है !” यही भनेर दुःखमा ढाडस दिने हाम्रो पुरानै चलन हो । पहाड छोडेको झोंकमा फर्केर फेरि भेटघाटकै लागि जाने रहर मनमा थियो । हजुरबाको निधनले भेटको लागि एउटा साइत नै जुराइ दिए झैं भयो । तर “को सँग र कसरी जाने ?” यो प्रश्न भने  मुख्य थियो । संयोग नै यस्तो पर्यो कि एक जना छिमेकी पहाडतिर जाने तरखरमा रहेछन् । अन्ततः हामी सहयात्री नै भयौं । जाने दिन एका बिहानै घरबाट निस्किएर हामी दुवै जना कपिलबस्तुको गोरुसिंगे सम्म बसमा पुग्यौं । त्यहाँदेखि गुल्मी सम्म पैदल यात्रा गर्यौं । अरू उपाय पनि हामीसँग थिएन । हिंडेरै पनि तीन दिनमा आफ्नो मामा घरमा पुग्न सफल भएँ । वर्षाको समय अनि कठिन बाटो र खोलानालाको कुनै पर्वाह नगरी । यद्यपि लामो बाटो हिंड्दा खुट्टामा ठूलाठूला फोका उठेको कुरा मेरो स्मरणमा अझै ताजा रहेको छ । जुन यात्रा सानो उमेरमा मैले गरेको एक कठिन कर्म थियो ।

जब म मामा घरमा पुगें असी वर्ष पुगेकी हजुरआमा सेतै कपाल फुलेकी हुनुहुन्थ्यो । उहाँको पहिरन् पनि सेतै थियो । जेठा मामा र हजुरआमा दुवै जनाले चलन र संस्कार अनुसार दुःख भोग्नु भएको थियो । देखेर नमीठो झड्का लाग्यो । तर जति दुःख लागे पनि हजुरबा सदैको लागि संसार छोडेर जानुभएको थियो । जुन आँगनमा बसेर छ महिना पहिले मेरै अगाडि “म अब मर्छु” भन्नुहुन्थ्यो । आखिर सत्य हामीले स्वीकार्नै पर्यो ।

दुईचार दिनको छोटो भेटघाट सकेर मन खिन्न पार्दै म पुनः तराई घरतर्फ फर्किएँ । हजुरबासँगै बस्दाका ती रमाइला पलहरू मनमा धमाधम् आइरहेकै थिए । तर सबै कुरा नियतिले हामीबाट सधैंको लागि खोसिसकेको थियो ।

यद्यपि त्यो दुखद समयमा पनि गाउँघर र आफन्तजनसँगको भेटघाट तथा आफू हुर्केबढेको माटोसँगको स्पर्शले मनमा हल्का रमाइलो अनुभूति भएको थियो ।
वर्षहरू बित्दै गए पनि सम्झनाहरू ताजा नै थिए । चौरासी वसन्त पूरा नहुँदै हजुरबा संसार छोडेर जानु भए पनि हजुरआमाको विधिवत् चौरासी पूजा गर्न पायौं । उक्त अवसरमा आफू त्यही आँगनमा पुगेर सरिक हुन पाएँ । यस्तो पुनित कर्ममा उपस्थित हुन पाउनु मेरो लागि अहोभाग्य नै थियो ।
आफूलाई असाध्यै माया गर्ने हजुरआमा टाढा भए पनि माया त नजिकै थियो । तर उहाँसँगको त्यही भेट अन्तिम हुन पुग्यो । करीब सतासी वसन्त पार गरेपछि उहाँ पनि भौतिक रूपमा यो संसारमा रहनु भएन । उमेर पुग्दा एक दिन जानै पर्ने संसारिक यथार्थ हो, तर यो कुरा कसैको मनले सजिलै स्वीकार गर्दैन । कोही प्रियजनको बिछोड वा महाप्रस्थान सधैं अप्रिय झड्का नै हुन्छ, जसलाई सहनुको विकल्प हुँदैन ।

हजुरबा र हजुरआमा बिते पनि लामो समय दुई मामाहरूको माया-ममता देख्न पायौं । भौतिक रूपमा टाढा भए पनि सम्झनामा नजिकै थियौं । जेठा मामा जीवन रहुन्जेल सधैं घरमै रहनु भयो, एक-दुई पटक मात्र मुग्लान पस्नुभएको थियो। कान्छा मामाको भने सधैं मुग्लानमै बसोबास थियो । सानै उमेरदेखि मुग्लान बसेका मामा कहिलेकाहीँ घर आउनु हुन्थ्यो। दुईतर्फी पारिवारिक जिम्मेवारी वहन गर्दै आफ्नो कर्तव्य सधैं पालना गर्नुभयो ।

सानो उमेरमा मामाघर आएको बेला भेटघाट हुँदा खुबै रमाइलो महसूस हुन्थ्यो । मामा दया, माया र करुणाको प्रतिरूप हुनुहुन्थ्यो । मृदुभाषी भएकाले बोलीमा मोहनी थियो । हामी उहाँका कुरा सुनेर लट्ठै पर्थ्यौं । सामान्य पढालेखा भए पनि कुशल वक्ता वा विद्वानझैं लाग्नु हुन्थ्यो—दुःखसुखमा सधैं साथ दिने एक सारथीझैं । कुनै विषयमा कुरा शुरू गर्दा मानिसहरू झुमेर सुन्थे र रमाइलो मान्थे ।

करीब दशकअघि, बहत्तर सालतिर, हाम्रो मीठो भेट भयो । दुवै मामा र आमा साथमा त्यही मामा घरको आँगनमा जुट्ने सौभाग्य पाएका थियौं । त्यो भेट स्मरणीय भएको थियो । तर दुःखद कुरा के भयो भने, करीब दुई वर्षमै कान्छा मामा हामीबीच रहनु भएन । क्यानाडामा बस्दै गर्दा उहाँको निधन भएको खबर सुन्दा मनमा गहिरो चोट परेको थियो  । विगतका यादगार क्षणहरूको सम्झनाले मन तरंगित भएको थियो । तर समयसँगै दुःखद कुरा बिर्सँदै जानुपर्ने बाध्यता पनि मानिससँग हुने रहेछ ।

कान्छा मामाको दुखद निधन भएको  करीब आठ वर्ष पुग्दै थियो । यही जुलाइ महिनाको मध्यतिर फेरि हामी माथि अर्को बज्रपात थपियो । कुल खानदानकै जेष्ठ सदस्य ८६ बर्षिय जेठा मामालाई हामीले सधैंका लागि गुमाउन पुग्यौं । तीन वर्ष पहिले चौरासीपूजा गरेको तस्वीर तथा भिडियोहरू पनि खूबै देख्न पाएको थिएँ । शरीर कमजोर हुँदै जानु पनि वृद्ध अवस्थामा सामान्य कुरा नै हो । तिनै तस्वीरहरू वेलाबखत परिवारका सदस्यहरूले फेसबूकमा साझा गरेका हुन्थे । म पनि घोत्लिएर सोच्ने गर्थें ।  “ ओ हो !  अब जेठा मामाको अवस्था त झन् झन् कमजोर हुँदै पो गएछ ।”

जुलाइ महिनाको बाह्र तारिक बिहानी पखको कुरा हो । बाहिर हल्का पानीको छिटा पर्दै थियो । कालो बादलले छोपेको आकाश अलि धुम्म परेर रिसाएको मानिस झैं देखिन्थ्यो । म आफ्नै घरको भित्रपट्टि बसेको थिएँ । फेसबूकको पेजमा हेर्दै गर्दा मैले फोटो सहित पोष्ट गरिएको एउटा स्टाटस् देख्न पुगें । त्यहाँ यही कुरा अलि लम्बाएर लेखिएको थियो ।

“आयो टप्प टिप्यो लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो  इन्द्रै बिन्ति गरून् झुकेर …।”

गढेर हेर्दै र पढ्दै गर्दा मलाई थाहा लाग्यो कि जेठा मामा स्वर्गवास हुनु भएको रहेछ । यो कुराले मेरो मनमा नराम्ररी कसैले चिमोटेको झैं भयो । मसँग मानौँ शब्द नै हराएको थियो ! दुःखको यस घडीमा “के भनेर फोन गरूँ ? के भनेर बोलूँ र सहानुभूति प्रकट गरूँ ?” मानौँ मेरो गलामा कोही आएर अठ्याएको महसूस भयो । हुने कुरा जे भए पनि आफूलाई सम्हाल्नु नै मानिसको पहिलो कर्तव्य हो । यही सम्झेर मैले धैर्य गरेँ । करीब चार दिन बितिसकेपछि बल्ल मैले मेसेन्जरमार्फत छोटो शोकवक्तव्य पठाउन सकेँ—

“मेरा अति नै आदरणीय तथा ममतामयी जेठा मामा आज हामीबीच रहनुभएन भन्ने खबर सुन्दा म मर्माहत भएको छु । अब मामा केवल सम्झनामा मात्र सधैंभरि रहिरहनु हुनेछ । उहाँको बैकुण्ठमा वास होस् तथा आत्मालाई चिरशान्ति मिलोस् । भगवानसँग यही प्रार्थना गर्दै सपरिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस् । ऊँ शान्ति !”

यति शब्दले थोरै भए पनि राहत महसूस भयो । तर मामाको सम्झना मनबाट हराउने कुरा सम्भव थिएन । आज मामा बितेको करीब एक महिना बितिसकेको छ । विगतका दिनहरू अझै मेरो दिमागमा फन्फनी घुमिरहेका छन् ।

विकट गाउँ गुल्मीको अजमिरमा जन्मेर त्यही जीवन बिताएका मेरा मामा संघर्षका पर्यायवाची हुनुहुन्थ्यो । आफूले जीवनभर कृषि गरेर आफ्ना आधा दर्जन सन्तानको सुखको लागि सधैं डटेर लाग्नुहुन्थ्यो । इमान र निष्ठाको जीवन बिताउनु भयो । धर्मकर्म र भगवानप्रति उहाँको ठूलो भरोसा थियो । पूजा-पाठ गर्दै सधैं नित्यकर्ममा विश्वास राख्नुहुन्थ्यो । मामा पनि हजुरबाको बाटोमा हिँडेको आभास हुन्थ्यो । सबैले चिनेको एक पाको व्यक्तिको महाप्रस्थानले गाउँ-टोल नै सुनसान बनेको छ । मामाले हामीलाई टुहुरो पारेर जानुभएको छ, जुन क्षति अब कुनै कुराले पनि पूरा गर्न सक्दैन ।

जब म केही कुरा जान्ने र बुझ्ने हुँदै गएँ, मामा घर भनेको मेरो आफ्नै घर झैं लाग्थ्यो । म सधैं त्यहाँ पुगेर रमाउँदा आफूलाई धन्य ठान्दथेँ । मामाघर मेरो लागि संसारकै बहुमूल्य स्थान थियो । त्यहाँ पाइने माया-ममताको अनुभूति कुनै शब्दमा मात्र सीमित थिएन । समयसँगै भौतिक रूपमा टाढा भए पनि भावनामा सधैं नजिकै थियो—मेरो मामा घर…!

स्मृतिमा आएका यिनै कुरा लेख्न शुरू गर्दा फेरि ती दिनहरू फर्केर हेर्दा आज तीस वर्ष बितिसकेछ । यही अवधिमा मेरो मामाघरका प्रमुख चार खम्बा ढलिसके । मेरो भावनाको मन्दिरभित्र सजिएको मामाघर आज भत्किएर बेहाल छ । त्यो घर र आँगन अब सधैंको लागि सुनसान छ । घर त खडा छ, तर त्यो घर आज मामाविहीन छ ।

समय बिते पनि मामाघरमा रमाउँदाका ती पलहरू मेरो मानसपटलमा झलझली आइरहेकै छन् । मलाई मनदेखि माया गर्ने ती आफ्ना मानिसहरू भौतिक रूपमा एक-एक गरी अस्ताउँदै गएका छन् । मामाघरको तलतिर बग्ने छल्दी खोलामा उनीहरू समाहित भएका छन् । आज उनीहरूका याद भने छल्दी खोलामा बग्ने वर्षाको भेलझैं झन्-झन् उर्लेर आइरहेका छन् । अब ती पुराना दिनहरू केवल सम्झना मात्र बनेका छन् । त्यो माया, ममता र आत्मीयता—मैले अरू कतैबाट पाउने आशा गर्नु केवल मृगतृष्णा बराबर हुनेछ ।

क्यानाडा