गत जुन २४ तारेखको राती दिनभरिको थकानले भर्खर ओछ्यानमा पल्टेर आराम मात्रै के गर्दै थिएँ, अकस्मात् बा रहनुभएन भन्ने खबर आयो। मलाई लाग्यो, अब पृथ्वी र आकाश पनि बाँकी रहेन। बा हुनुहुन्न भन्ने कुराले त्यसै त्यसै अत्यास लागेर आयो। कता कता अँध्यारो भुमरीमा एक्लै परेजस्तो लाग्यो। दिमागमा बचपनदेखिका बासँगका यादहरू व्यस्त हाइवेमा कुदेका गाडीजस्तै कुद्न थाले। अहिले मलाई यो विशाल सहरमा जीवन जिउनलाई हरेक दिन गर्नुपर्ने सङ्घर्ष भन्दा पनि बा हुनुहुन्न भन्ने कुराले मनमा डेरा जमाइरहेको छ।
जीवनका ९४ औँ वसन्त पार गरिसकेका बा पोहोर सालदेखि नै अलिक कमजोर र शिथिल हुनुहुन्थ्यो। पहाडी स्वच्छ हावामा यति लामो जीवन बिताउनुभएका बाको जीवनका विविध पाटाहरू छन्। उहाँको नाममा दश वटा किताब लेखे पनि यादहरू सकिँदैनन्। बा कै कारणले मेरो जीवनले पूर्णता पायो र बा हुनुहुन्छ भन्ने बित्तिकै कसैले चलखेल गर्न र हैकम जमाउन पनि पाएका थिएनन्। तर अहिले बा हुनुहुन्न भन्ने कुराले त्यसै अत्यास लागेको छ। प्रातः स्मरणीय बालाई आज बिहान उठेर चिया पकाउने बेलासम्म लगातार स्मरण गरिरहेँ र अरू सबै कुरा छोडेर चियासँग मात्रै जोडेर हेरेँ।
मेरा बा खासै पानी पिउनु हुन्न थ्यो तर चिया पिउनुहुन्थ्यो। चियाको पनि आफ्नै समय तालिका थियो र घटिबढी पनि नभई उहाँ आफैँले निर्धारण गरेको मात्रामा पिउनुहुन्थ्यो।
जब भाले बासेर बिहानीपख हुन्थ्यो, अनि बाले गाई-भैँसीको घाँस-गोबर गरिसकेर पूजापाठ नित्यकर्म गर्नुहुन्थ्याे, त्यसपछि ठुलो कित्लीमा चियापत्ति हालेर पानी बसाउनुहुन्थ्यो । अघिल्लो दिन गाग्रीमा राखेको पानी बासी हुन्छ भन्नुहुन्थ्यो र एकाबिहानै तामाको गाग्री माझेर कुवाबाट नयाँ पानी ल्याउने चलन थियो।
गायत्री मन्त्रको मौन जपसँगै उता अगेनामा दाउराको मन्द मन्द आँचमा बिस्तारै चिया उम्लन थालेपछि बास्ना सबैको नाकमा पुग्थ्यो। बाले गायत्री मन्त्र जपिसके पछिको मन्त्र पढ्दै सबैका लागि काँसका डबका पखालेर ठिक्क पार्न थाल्नुहुन्थ्यो। जुन पायो त्यै भाँडामा पनि खान हुन्न भन्नुहुन्थ्यो।
चिया भन्नाले कुनै पनि हर्बल वा मसला मिसाइएको होइन, ब्यागको केमिकल युक्त पनि होइन। मुना पत्तीको नटुक्रिएको असली चियापत्ती पानीमा भकभकी उम्लेपछि अर्को भाँडोमा छानेर गाई भैँसीको तातो शुद्ध दूध मिसाउनुहुन्थ्यो। चियाको बास्ना आएपछि बिहानीको मिठो निद्रामा लठ्ठ परेका आँखा मिच्दै सबै जहानपरिवार अगेनाको वरिपरि भेला भइसकेका हुन्थे। ओछ्यानमा कसैले कसैलाई चिया/ नास्ता वा खाना पुर्याउने चलन हाम्रो घरमा थिएन।
बा भन्नुहुन्थ्यो – ओछ्यान सुतेर नखानु, हिँड्दै नखानु, बासी खाना नखानु वा पकाएको दुई घण्टा भन्दा अघि नै खाना खाइसक्नु। बोल्दै नखानु, हतारमा नचपाई नखानु, उभिएर कपाल नकोर्नु, कपाल झर्यो भने टिपेर सुरक्षित ठाउँमा फाल्नु, नुहाएर तेल हालेर कपाल सपक्क पारेर बाट्नु, झ्याम्लो पारेर नछोड्नु, जुल्फी नपाल्नु। कपडा नफेर्ने र बिहानै ननुहाउने फोहोरी, मन खिन्न भएको, रिसाहा, ननुहाएको, नङ, कपाल नकाटेको व्यक्तिले छोएको खानुहुन्न। नछुने हुँदा नबार्ने, सुत्केरी हुँदा र मर्दा जुठो नबार्ने, चोरी डकैती गरेर, ढाँटेर , झुक्क्याएर वा खराब कर्म गरेर आर्जित सम्पत्ति भएकाहरूसँग गएर पनि कहिल्यै नखानु भनेर शास्त्रमा लेखेको बताउनुहुन्थ्यो। मासु र बिस्टा दुवै खाने कुकुरले कथंकताचित पानी छोइहाल्यो भने तुरुन्तै घोप्टाएर गाग्रो सफा गरी नयाँ ल्याउन भन्नुहुन्थ्यो। खाना खाने बेलामा लुगा खोलेर सफा कछाड लगाई पवित्र भई पलेटी कसेर अन्नदेवतालाई नमन गरी वलिवैश्यदेव र अग्न्यार्पणादि गरी वरिपरि जल छरेर पञ्चग्रास ग्रहण गरी बल्ल खान शुरु गर्नुहुन्थ्यो।
सकेसम्म माछा मासु नखानु खानै पर्ने भए, कतै कतै शास्त्रमा मृगको सिकार गरेको उल्लेख गरेको पाइएकोले, मृगलाई कुनै पनि दुःख नदिई मारेर खानु भन्नुहुन्थ्यो। सायद घरायसी बाख्रा र भेडाहरू यही मृग वर्गमा पर्ने हुनाले नेपालको पूर्वतिरका मांसाहारी हिन्दुहरूमा चाडबाडमा खसी बाख्राको मासु खुब प्रचलनमा थियो।
बिहान कथंकदाचित नब्युँझेर चिया खान छुट्यो भने त्यो दिनको लागि छुट्यो, एकै चोटि अर्को दिन बिहान अगेनाको डिलमा पुगेर बसेपछि मात्रै हो। उठ्ने बित्तिकै लघुशङ्का र दिर्घशङ्का पनि नगरी एक लोटा पानीले मुख धोएर चियाको पातबाट बिहानीपख भुइँमा तप्प तप्प शीत झरेझैँ चिउँडोबाट पानी चुहाउँदै अगेनाको डिलमा बसेपछि बाले एक कचौरा चिया हातमा थमाई दिनुहुन्थ्यो। त्यो चिया सुरुप्प सुरुप्प पार्दाको मज्जा त भनी नसक्नु कै हुन्थ्यो। बासँग चिया सँगै बाँड्ने कति दुःख सुखका कुराहरू हुन्थे होला तर कहिल्यै पनि हामीलाई सुनाउनुभएन र सायद हामी पनि सुन्न तयार थिएनौँ होला।
त्यो बेलामा हिजो आज जस्तो चियाका होटेलहरू थिएनन्। घरमा पालेका खसी बाख्रा बेचेर होस् वा उब्जाएको अन्न बेचेर होस् बा ले भारतको बिजनबारीबाट चिया किनेर ल्याउनुहुन्थ्यो। त्यति बेला नेपालका बजारहरूसँग सम्बन्ध पनि थिएन। नुन, मट्टितेल लगायतका सम्पूर्ण सामानहरू भारतबाटै किनेर ल्याउने चलन थियो। चिनीको पनि चलन त्यति बेला थिएन।
बाले कहिलेदेखि चिया खान थाल्नुभयो मलाई थाहा छैन। तर भन्नुहुन्थ्यो , “चिया भएन भने टाउको दुख्छ।”
मलाई पनि चियाको लत सानैदेखि नै लागेको हो। बरु भात खान नपाए पनि वास्ता हुन्न थ्याे, बिहानको चिया नभई नहुने । हाम्रो गाउँघरमा काखेबच्चाहरुलाई पनि बोली नफुट्दै चम्चाले चिया नै खुवाइन्छ। मैले हातले कचौरा समात्न सक्ने भएदेखि नै चिया पिएको याद छ।
बा भन्नुहुन्थ्यो, “चिया नै त हो खाए हुन्छ।”
उता आमा भन्नुहुन्थ्यो, “छोरी मान्छेले चिया खाने लत लगाउनुहुन्न है। पछि चिया नै नखाने घरमा बिहे भयो भने के गर्छेस् ?”
जब म ठुली भएँ अनि बाले कहिलेकाहीँ दिउँसो आगो बालेर चिया पका भन्नुहुन्थ्यो। तर म त्यति बेला चिया बनाउन जान्दिन थे। मान्छेहरूसँगको सम्बन्ध जस्तै चिया पनि मैले पकाउँदा कहिले निक्कै गाढा हुन्थ्यो त कहिले अलिक फिक्का रङको हुन्थ्यो। बालाई न त गाढा न त फिक्का ठिक्कको रङ मन पर्थ्यो। मैले धेरै नै अभ्यास गरे पनि बालाई मन पर्ने खालको चिया बनाउन जानिनँ र अहिले पनि आउँदैन।
चिया र मान्छेहरू सँगका सम्बन्धहरू पनि मलाई उस्तै लाग्छन्, कोही मसलेदार गुलिया हुन्छन्, कोही टर्रा लाग्छन्, कोही मान्छेहरू जीवनमा हिउँद मात्रै चलेका चिया जस्तै फिक्का र चिसा लाग्छन् त कोही भने बालाई मन पर्ने खालको चिया जस्ता ठिक्कका हुन्छन्। ती ठिक्कका मानिसहरूसँग भने कहिलेकाहीँ यसो दुःख सुख साट्न सकिन्छ भन्ने मेरो ठम्याइ हो। केही मान्छेहरूसँग भने गफको मिठासमा चियाको स्वाद नै फिका लागेर आउँछ। तर तिनीहरूसँग व्यवहार गर्नु पर्यो भने निक्कै मुस्किल हुन्छ।
नानीदेखि नै चिया पिउने बानी लागे पनि मैले चियाका बोट भने २०५० सालमा कलेज पढ्न झापा जाने क्रममा इलाममा देखेकी हुँ। चिया उत्पादनको राजधानी रहेछ इलाम र मलाई लाग्यो यिनै मिलेका ससाना हरिया बुट्यानहरूको मुना र पात उम्लिएको पानीमा हालेर पिउँदा मजाको स्वाद आउने रहेछ। अर्थोडक्स के हो मैले कहिल्यै बुझिन।
२०५० सालमा झापामा भद्रपुर स्थित मेची कलेज पढ्न जाँदा मेरो चियासँगको सम्बन्ध पनि क्रमशः छुट्यो र मेरा बचपनका सबै साथीहरूसँग पनि सम्बन्ध छुट्यो। बालाई जुन दिन पिँडीमा एक्लै छोडियो, त्यसपछि जिन्दगीले पनि धेरै ठक्कर र हण्डर खान थाल्यो।
कलेज जाँदा आउँदा चन्द्रगढीमा स-साना सिसाका ग्लासमा दूध चिया छानेर बेचेको देख्थेँ म। चियासँगै समोसा, पकौडा , जेरी र बुनियामा पनि झिँगा भन्किरहेको देख्थे म। तर त्यति बेला होटेलमा गएर मैले कहिल्यै चिया किनिन। चिया किन्ने पैसाले त बरु म पिरो चटपटे नै खान्छु नि भन्ठान्थेँ। टिनएजमा शरीरले गुलियो चिया भन्दा पिरो अमिलो नै माग्थ्यो। झापामा पनि घरमा बिहान एक कप चिया पिउन त पिइन्थ्यो तर बाले बनाएर दिएको जस्तो मीठो स्वाद भने पटक्कै थिएन। एक त त्यो झापा भन्ने सम्म ठाउँको कल्के पानी नै रक्सी जस्तो गनाउने अनि एकतमासको रातो माटो घोलिएको धमिलो लाग्ने। त्यसमा चिया हालेर उमाल्दा त झनै कलममा भर्ने मसी जस्तो कालो हुने।
पछि काठमाडौँ आएपछि भने साथीभाइको सङ्गतमा फेरि चिनी र दूध हालेको बाक्लो चिया खान थालियो। भर्खरै खाएको भए पनि “ल त भनिहाल्नु भो, ठिकै छ नि” भनेर अर्को कप पिउने गरिन्थ्यो। सायद दूध र चिनी हालेको चियाले नै हुनुपर्छ ग्यास्ट्रिक बिग्रेर अल्सर भएपछि ओखती मुलो नै गर्नुपर्यो। तर बाले पकाएको चियाले भने कहिल्यै ग्यास्ट्रिक भएन ।
काठमाडौँमा त अल्छी लाग्दा पनि चिया, जाँगर चल्दा पनि चिया, पाहुना आउँदा पनि चिया, तलतल लाग्दा पनि चिया। धन्न नेवार घरबेटीले चाहिँ बिहानै पनि चिया खानुभो को सट्टा चिउरा खानुभो ? भनेर सोध्थे। बालाई एक्लै पिँडीमा छोडेर आफ्नै पौरखमा केही गरौँ न त भन्ने बेलामा दिनमा १० /१२ कप सम्म चिया पिउने बानी नै परिसकेको थियो। पत्रकारितामा लागेर सिर्जनशील आइडियाहरूका बारेमा मस्तिष्क मन्थन गर्दा त झनै कडा चियाको कप अगाडी हुन्थ्यो।
बा भन्नुहुन्थ्यो, “ पहिलो पटक भकभक उम्लिएको चिया पिउनुमा जति मज्जा हुन्छ । दोस्रो पटक तताएर पिउँदा स्वादै हुँदैन र मान्छेहरूसँग पनि एक पटक सम्बन्ध चिसो भइसकेपछि फेरि सम्बन्धमा मिठास नै आउँदैन।”
बा को यो चिया र मान्छेहरूसँगको सम्बन्धको फर्मुला मैले जीवनमा धेरै हदसम्म लागु गर्न खोजे पनि। एक पटक सम्बन्धमा अलिकति चिसो पसेपछि ती व्यक्तिसँग म प्राय: पछि नै हटेँ। तर तीनै मान्छेहरू कता कता बाट जीवनमा ठोक्किन आइपुग्ने, मनले नचाहे पनि बोलिदिन्छु।
बाले चिया गफमा भन्नुहुन्थ्यो, “ मन, बचन र कर्मले कसैलाई हानी नोक्सानी नपुर्याउनू।”
चियाको लतसँगै मेरो पेटको समस्या बढ्दै गएपछि मैले चिया छोड्नु पर्ने नै भयो। मैले बिस्तारै पूर्ण रूपमा दूध चिया छोडेँ। तर चिया छोडे पनि अहिलेसम्म मैले बिहानै उठ्ने बित्तिकै सम्झने भनेको – बाले आज चिया पकाएर खानु भयो कि भएन होला ?
सम्झन्छु, हाम्रो घरमा चियाले पारिवारिक सम्बन्धको सेतुको काम गरेको थियो। त्यसरी बिहानै बाले चिया नपकाउने भैदिएको भए बा सँगको सम्बन्ध कस्तो हुन्थ्यो होला ? एका बिहानै बाले ती काँसका कचौरामा पस्केको चियाको प्रत्येक कपले सम्बन्धमा गाढापन थपेको थियो। त्यो चिया एउटा पेय पदार्थ मात्रै होइन रहेछ, यो भावना रहेछ, संस्कृति रहेछ, सम्बन्ध रहेछ र दैनिकीको सुरुवात सँगै एउटा आनन्दको क्षण रहेछ अनि मानसिक स्थिरता रहेछ।
पोहोर साल बालाई भेट्न जाँदा मलाई खासै चियाको तलतल चाहिँ थिएन । तर दिमागमा ती दिनको स्मृतिको तलतल भने ताजै थियो । मैले सकेसम्म बिहानै उठ्ने र अगेनाको डिलमा बसेर चिया पर्खने निधो गरेँ। चिया भन्दा पनि बाको माया अनि सामीप्यताले दिने खुसी संसारको कुनै चिजले पनि दिन सक्दैन । नभन्दै बा ले उस्तै गरी पुरानै शैलीमा बाफको एउटा मुस्लो उडाउँदै फेरि कचौरामा चिया दिनुभयो र भन्नुभयो, “ चियाको स्वाद उहिलेको जस्तो छैन।”
कचौराबाट उडेको बाफ नाकबाट फोक्सोसम्म पुग्दा मैले पनि महसुस गरेँ कि पहिलेको जस्तो बास्नादार स्वाद छैन। किन रहेछ त भनेर मैले खोजी गर्दै गएँ, चियाको त्यो पुरानो प्रजाति पनि मासिएछ र नयाँ बोटहरूबाट उत्पादन हुने राम्रो चिया युरोप र अमेरिकाका बजारमा पुग्ने रहेछ। गुणस्तरहीन चिया यता बेचिने रहेछ। बा अब चिया भन्दा कफी मीठो हुन्छ, कफी पिउनपर्छ भनेर बालाई भनेपछि राजी हुनुभयो। बालाई जीवनको अन्तिम वर्षमा चिया भन्दा कफी मीठो लाग्न थालेको थियो। तर अब बा स्वर्गवासी हुनुभयो। अब हाम्रो घरमा अब फेरि त्यस्तो चिया गफ गर्ने दिन पनि गए।
तर अचेल गाउँ गाउँमा टन्नै चिया पसलहरू खुलेछन् । प्राय: लोग्नेमान्छेहरू दूध, अम्लिसो, अदुवा, अलैँची बेच्ने लगायतका विभिन्न निहुँ गरेर उतै पसलमा गाड लागेर चिया पिउँदै गफ चुट्न थालेपछि भात खानलाई घर आउन पनि बिर्सँदा रहेछन्। छोराछोरी लाई स्कुल पठाउने र घरधन्दाको चटारो स्वास्नी मानिसलाई हुने रहेछ। पैसै नभए पनि उधारोमा चिया खाएर गफ चुट्ने पनि टन्नै रहेछन्। अनि आफू कति सफल र असल अभिभावक हुँ भन्ने कुरा बिर्सेर छोराछोरीमाथि औला ठड्याएर सफलता खोज्दा रहेछन्।
मेरो ग्यास्ट्रिक बिग्रेर अल्सर हुने कारण पनि चिया मात्रै नभएर अरू नै रहेछ। हेलिको ब्याक्टेरिया नामक जीवाणु निर्मूल पार्ने औषधी मेडिकल साइन्समा छैन। संसारको आधा जनसङ्ख्या यो जीवाणुले ग्रस्त छ। एन्टिबायोटिकको सफलता ३७ प्रतिशत मात्रै छ। कडा औषधीले बरु मान्छे नै मर्ला तर त्यो जब्बर ब्याक्टेरिया र भाइरस नै नमर्ने।
अमेरिकाका डाक्टर मलाई सबैभन्दा गरिब लाग्छन्। सस्ता र टिलिक्क परेका चाइनिज फर्निचर अनि बोल्न सिपालु कर्मचारीहरू राखेर इन्सुरेन्स हुन्जेल सम्म यो र त्यो परीक्षण गर्नुपर्छ भन्छन् , अन्तिममा लाइफस्टाइल र खानपिन परिवर्तन गर भन्छन्। त्यो कुरा त मैले उहिल्यै मेरा बाबाटै सिकेकै हुँ। त्यसैले म अचेल फेरि बाले बिहानै उमालेर दिने हरियो चिया पत्ति उमालेर पिउने गरेकी छु। हेलिको ब्याक्टेरियाको घरेलु औषधी मा ग्रिन टी पनि पर्दो रहेछ।
मैले अहिले फेरि एकाबिहानै चिया पिएर दिनको सुरुवात गर्ने गरेकी छु।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।