हाम्रा केटाहरूको एउटा दस्ता थियो धोका पाउनेहरुको । समय त अरिजित, पिट सिगर, जस्टिन बिबर, जेम्स ब्लन्टहरूको प्रेमिल गीतको लय र तालमा हायलकायल भएर रल्लिने थियो । तर हरेक हावाको झोँकासितै मायामा धोका पाउँदा भने केटाहरूको गीत हुन्थ्यो – ‘मुटु जलिरहेछ’ ।

संसारमा सबैभन्दा शङ्का मायामा नै हुन्छ । त्यही भएर होला मेरो कोठामा बस्ने साथी आफ्नो प्रेमीकालाई फकाउन र सम्झाउनमा नै तल्लीन हुन्थ्यो । खै थाहा छैन उनीहरू प्रेम चाहिँ कति बेला गर्थे । आफ्नी प्रेयसीलाई बुझाउन असमर्थ बनेको ऊ मेरा सामु आउँथ्यो र गाउँथ्यो – ‘हजार आँखा हेर्ने मेरी मायालुलाई’ ।

दुःख-सुख मायामा घामछाया जस्तै हो । यद्यपि माया गर्नेहरू प्रस्ट हुन साह्रै पर्छ । जति नै कष्ट, सास्ती, चोट पाए पनि माया गर्नेलाई त्यो पनि त माया हो । घरीघरी म पढिरहेको बेला खुसुक्क फोनमा पल्लो कोठातिर गएर साथी आफ्नो प्रेमीकालाई भनिरहेको हुन्थ्यो- ‘जति चोट दिन्छौ देऊ मायालु’ ।

चिया पिउन बेलुकी निस्किएको बेला कोही बेला यस्ता साथीहरू पनि भेटिन्थे जसले आफ्ना सपनाहरूको कुरा गर्थे । थकथकिन्थे । छटपटिन्थे । छुटेका, आफूबाट टुटेका मायाका कुरा गर्दा अनुहार निन्याउरो बनाउँथे र गीत गुनगुनाउँथे- ‘हजार सपनाहरूको माया लागेर आउँछ’ ।
म उनीहरूलाई कवि श्रवन मुकारुङको एउटा गीतको हरफ सुनाएर थमथमाउथेँ- ‘जहाँ पुगे पनि सुख छैन सपना देख्ने मान्छेलाई ।’ तर उनीहरू झनै छटपटाउँथे ।

भक्तराज आचार्य

हर्षोल्लासमा अरूका गीत गाए पनि सपना टुट्दा, साथ छुट्दा, धोका पाउँदा र आफ्नाहरू गुमाउँदा आफ्नै भाषाको भाका अलाप्ने गायकको नै गीत गाउने रहेछ मानिसले । त्यही भएर होला आफ्नै भाषा-भाकाका भक्तराज हुन्थे केटाहरूको प्लेलिस्टमा । भक्तराजको भक्त थिए मेरा साथीहरू र भक्तराजले नै राज गरेका थिए मेरा साथीहरूमाथि । जति जति उनीहरूको मायामा छाती दुख्थ्यो कोठामा गितार लिएर उनै भक्तराजको गीत गुनिरहन्थे म उनीहरूको सार लागेर राति दश बाह्र बजेसम्म रस लिएर सुनिरहन्थेँ ।

हामीलाई ती दिनहरूमा भक्तराज आचार्य भनेर नाम पनि थाहा थिएन तर उनको गीत हामीलाई राम्ररी थाहा थियो । जुन गीतहरूले हाम्रो मायापिरती र जीवनकै आरोह-अवरोहमा साथ दियो, दिई नै रहनेछ । प्रेमिकाले यसो घुर्की लगाएर तीन-चार घण्टा बोलिदिएन भने केटाहरू उदास भएर कोठामा गितार समाएर गाउन थालिहाल्थे ‘मुटु जलिरहेछ’ । हरेक तीन-चार घण्टामा जलिरहने केटाहरूको मुटु साँच्चै जलेको भए मेरा साथीहरू आज नानीको बाउ हुन पाउने थिएनन् ।

गीतहरू भन्दा भजन धेरै गाएका भजन शिरोमणि भक्तराजका हामीले उस्तो कुनै भजन सुनेनौँ । मन भजन सुन्ने होइन  उही प्रेम र पिडाका गीत बुन्ने खालको थियो । उमेरले दिएको उन्माद हाम्रो त्यस्तै गीत चुन्ने खालको थियो । अहिले सम्झिँदा बिहानै बाबाले होम थिएटरमा बजाएका केही नेपाली भजनहरू भक्तराज आचार्यको थिएछ ।

साथीहरूसित बस्दा सुनेको भक्तराज आचार्यको गीतहरू पछिल्ला दिनहरूमा म युट्युबबाट सुनिरहन्थे, रहन्छु । २०२० मा भूपेन्द्र खड्काले लिएको भक्तराजको भिडियो अन्तर्वार्ता हेरेँ । उनको आवाज नबुझिने थियो । आवाज बुझाउन छेवैमा छोरा सत्यराज बसेका थिए । उनी बोलिरहँदा अन्तर्वार्ता हेरिरहेको मेरो मन भक्कानिन खोज्थ्यो । जुन भक्तराजको आवाजले माया प्रेम गर्नेहरूलाई यति मिठास दिएर बुझाउँथ्यो आज उनै भक्तराज नबुझिने भएका थिए ।

त्यसअघि मलाई थाहै थिएन उनी वर्षौंअघि दुर्घटनामा परे । पछि  क्यान्सर रोग लाग्यो अनि जिब्रो काटिएर अरूहरूसित नबुझिने भइसकेका रहेछन् भनेर । सुरसम्राट् उपाधिले चिनिने भक्तराज तीस वर्षभन्दा धेर बेसुर भएर बसे, बाँचे । कवि स्वप्निल स्मृति स्ट्याटस लेख्छन्- ‘भक्तराज आचार्य त्यो दुर्घटनामा नपरेको भए ! नेपाली सङ्गीत कहाँ पुगेको हुन्थ्यो होला !’ स्मृतिलाई लागेको सन्ताप सत्य छ । अब यो बिस्मात विलिखित भयो ।

त्यसपछि मैले कहिल्यै उनको भिडियोहरू हेर्ने साहस गरिनँ । गीतका अडियोमा नै उनी तिखा, चखिला भएर गुन्जिरहे । हिजो अचानक  भक्तराज आचार्य बितेको खबर हावाहुरीले उडाई ल्याएको निष्प्राण पत्करहरू जसरी फेसबुकभरि छरियो । नमिठो, नरमाइलो लाग्यो । जे जे लाग्यो केही राम्रो लागेन । एक्कासि उनका गीतहरू आए । गुनगुनाए । त्यही गीतहरूले फेरि विगतका दिनहरू वर्तमानमा भुनभुनाए ।

नारायण गोपाल, भक्तराज आचार्य, प्रेम ध्वज प्रधान, रामकृष्ण ढकाल, गुलाम अली, किशोर कुमार, मोहमद रफी जस्ता गायकका सेन्टीमेन्टल गीतहरू नसुन्ने नयाँ पुस्ताका जेन्टलहरू भोलिको दिनमा जन्म्यो भने उनीहरूको मनोभावनामा कुनै विश्वास नराखे हुन्छ । माया कहिले पुरानो हुँदैन । सधैँ  नयाँ नयाँ हुँदै जान्छ । उस्तै मायापिरतीका गीतहरू पनि कहिल्यै पुराना हुँदैन रहेछन् । त्यसैले होला आजका हामी नयाँहरूलाई भक्तराजका गीतहरू कहिल्यै पुरानो लागेन । भोलीका नयाँहरूलाई पनि कहिल्यै पुरानो लाग्ने छैन ।

यताको अम्बर उदाएकै दिनमा उता भक्तराज अस्ताए । यता गजल गायक पङ्कज उदास बितेकै दिन उता भक्तराज बिलाए । दैवले यो कस्तो संयोग मिलाए ! सायद राम्रा गाउनेहरू मिलेर होला ! ‘मुटु जलिरहेछ’ भन्ने भक्तराज अन्तिममा आर्यघाटमा आफै जले । हजार सपनाहरूको सपना छोडेर टाढा भए  ।थाहा छैन उनी अब खरानीको धुलो धुवाँसित कताकता गए । जतै गए पनि लाखौँ श्रोताहरूमा भक्तराजका गीतहरू  सधैँ सधैँ आइरहन्छ, छाइरहन्छ ।

दार्जिलिङ, भारत