पाँच सय पचहत्तर वर्ष पहिले ढुङ्गाबाट जन्मिएको माचु पिचु एउटा यस्तो रहस्यमयी शहर हो, जसलाई पृथ्वीले सयौं वर्षसम्म आफ्नै अंकमालमा चुपचाप लुकाएर राखेको थियो । आज विश्वका नयाँ सात आश्चर्यमध्ये एकमा सूचीकृत यो नगरसँग संवाद गर्न अनि इतिहास, प्रकृति र आत्माको संगम खोज्न म एकल यात्रामा निस्किएको थिएँ ।
पेरुको ‘ओलन्तायटाम्बो’ रेल्वे स्टेसनमा ल्याएर भ्यान चालकले ‘यहाँ पर्खनु’ भनेर छोडिदिए । त्यहाँबाट आगुआस क्यालिएन्तेस हुँदै ‘माचु पिचु’ जाने रेल छुट्न सात मिनेट मात्र बाँकी थियो । उनले कहाँबाट कसरी रेल चढ्ने कुरा बताएनन् । चारैतिर आँखा दौडाएँ- न कतै रेल देखिन्छ, न रेलको लिक नै । मनभरि त्रासको बादल मडारिन थाल्यो- कहीँ रेल छुट्ने त होइन ?
हातमा ‘पेरु रेल’ को टिकट लिएर एउटा सानो छाप्रोभित्र पस्दा अस्तव्यस्त भीडभाडको सामना गर्नु पर्यो । हल्ला-खल्लाबीच कोही कफीको चुस्की लिइरहेका थिए भने कोही चुरोटको धुवाँ उडाइरहेका थिए । लाग्यो- यिनीहरू पनि मजस्तै माचु पिचु जाने यात्रु हुनुपर्छ । मनले भन्यो, ‘उनीहरू जता जान्छन्, म पनि पछिपछि लाग्छु । ट्रेन छुट्लाजस्तो त देखिँदैन ।’
त्यो छाप्रोमा आउने-जाने दुईवटा द्वार थिए- एउटा पार्किङ लटबाट छिर्ने र अर्को सडक तर्फबाट । दुवै गौँडामा केही स्थानीय व्यक्तिहरू आफ्ना रङ्गीचङ्गी सामानहरू बेच्दै थिए । हातले बुनेका एल्पाका (दक्षिण अमेरिकी उचाइमा पाइने लामो रौं भएको जनावर) ऊनका टोपी, रङ्गीन पञ्जा अनि ‘माचु पिचु’ लेखिएको थैली मानिसहरू रुचिपूर्वक हेरिरहेका थिए । एउटी अधबैँसे महिलाले गाढा रङको चाङबाट एउटा टोपी झिक्दै भनिन्, ‘सेन्योर- टेन डलर !’ बिहानको सिरेटोले कान र टाउकोलाई गिज्याइरहेको थियो । ऊनको टोपी किनेर लगाइहालेँ ।

ओलन्तायटाम्बो
एकैछिनमा मान्छेहरू सगबगाउन थाले । पहिलेदेखि नै बजिरहेको एन्डियन म्युजिकको ध्वनि अचानक तिखारियो र सबैजना त्यो छाप्रोबाट सडकतर्फ बग्न थाले ।
हामी सबै लाखे नाच गर्दै इन्द्रजात्रामा गएजस्तै गरी पेरु रेल चढ्न लागेका रहेछौँ । प्लेटफर्मको एक छेउबाट रंगीन झण्डाहरू फहराउँदै, कपालमा फूलको माला र टाउकोमा मुकुट लगाएका युवायुवतीहरू ढोलको तालमा उफ्रिँदै अगाडि बढ्न थाले । केटीहरूको पहिरनमा चम्किला धागाहरू टल्किरहेका थिए, केटाहरूको घुँघरुको झन्झनाहटसँगै खुट्टाको चालबाट धुलो उडिरहेको थियो ।
मलगायत सबै यात्रुहरू त्यसमै मिसियौँ । मेरा गोडा म्युजिकको तालसँगै लच्किँदै थिए भने हात मोबाइलमा फोटो र भिडियो खिच्न व्यस्त थिए । बल्ल बुझेँ, ड्राइभरले केही नभनी अलपत्रे पाराले किन छोडिदिएका रहेछन् भनेर । यहाँ बाटो बिराउने र रेल छुट्ने गुन्जायस नै रहेनछ । लाग्यो जब जीवनले दिशा देखाउँदैन, त्यो बेला लयमा बग्न सिक्नुपर्ने रहेछ ।
त्यो जुलूस स्वागत मात्र होइन, संस्कारको एक पुनरावृत्ति बनिरहेको थियो ।
जुलूस रेलको अगाडितिर आइपुग्दा यात्रुहरू आ-आफ्नो डिब्बा खोज्न व्यस्त भए । अंग्रेजीमा ‘ई’ लेखेको रेलको ढोका खुल्यो र म भित्र गएर आफ्नो सिटमा बसेँ । बाहिरको त्यो धुन र रमझम भित्रसम्मै गुन्जिरहेको थियो । शरीर संगीतसँग एकाकार भएको थियो । संसारका सबै पहाडी धुनहरूमा कता–कता एउटै आत्माको स्पन्दन झल्किन्छ जस्तो लाग्छ मलाई । ती एन्डियन बाँसुरीका स्वरहरू सुन्दा म अकस्मात् नेपाली पहाडी लोकगीतमा पुगेँ ।
रेल त धेरै चढियो, तर आजको जस्तो हर्षले हृदय भरिने अनुभव कहिल्यै आएको थिएन । ममात्र हैन हाम्रो रेलका सबैको अनुहारमा खुशीको लहर छाएको थियो । संगीत, नाच र उल्लासको वातावरणले मान्छेको उमङ्गको छाल कसरी उठाउन सक्छ भन्ने ज्वलन्त उदाहरण देखियो ।
माचु पिचु जाने करीब दुई घण्टाको त्यो ट्रेन यात्रा संसारकै सबैभन्दा रमणीय छोटो ट्रेन यात्रामध्ये एक रहेछ । रेलको दुवैतर्फ र छतमा समेत ठूला-ठूला सीसा जडान गरेको हुनाले नदी, पहाड र आकाशको सुन्दर दृष्यपान गर्न सकिने रहेछ ।

पेरु रेल, ओलन्तायटाम्बो
मेरो लागि माचु पिचुको झल्को नदेख्दै यो यात्रा विशेष भइसकेको थियो ।
माचु पिचु जान सडक मार्ग छैन । सडक नहुनुका कारणहरूमा भू-प्राकृतिक कठिनाइबाहेक प्राकृतिक वातावरण जोगाउन, सांस्कृतिक सम्पदाको संरक्षण गर्न र दिगो तथा नियन्त्रणमा आधारित पर्यटन व्यवस्थालाई कायम राख्न रहेछ ।
सडक नभएका कारण माचु पिचु पुग्ने यात्रामा एक किसिमको तीर्थभावना र साहसिकता जोगिएको छ । पर्यटकहरूले या त मनोरम दृश्यले भरिएको रेल यात्रा गर्नुपर्छ वा इन्का ट्रेल हुँदै पैदल हिँड्नुपर्छ- जसले माचु पिचु पुग्ने अनुभवलाई अझ रोमाञ्चक र रहस्यमय बनाउँछ ।
उरुबाम्बा नदीको किनार र पवित्र उपत्यका (Sacred Valley) हुँदै रेल समयमै छुट्यो । दृश्यहरू स्लाइड शोझैं एकपछि अर्को गर्दै फेरिँदै थिए- कहिले पहाडको काखबाट बगेको नदी, कहिले टाढाबाट देखिने हिउँले ढाकिएका हिमाली टुप्पाहरू त कहिले भित्तामा टाँसिएका फाट्टफुट्ट गाउँघरहरू ।
हाम्रो डिब्बामा एक युवक र एक युवती चिया, कफी र खाजा बेचिरहेका थिए । मैले एक कप कफी किनेर खाएँ । यात्रुहरू आ-आफ्नै किसिमले रमाइरहेका थिए- कोही खानपिन गरेर, कोही दृश्य हेरेर त कोही मौन बसेर ।
एकजना सहयात्रुले खोलापारि मान्छे हिँडेको देखेँ भनिन् । मैले आँखा घुमाएँ तर देखिनँ । तिनीहरू हिँडेर जाने पदयात्री हुनुपर्छ । यदाकदा तल खोलामा त्रिशूली नदीमा जस्तै र्याफ्टिङ गर्नेहरू पनि देखिए ।
गीत घन्किरहेको थियो । एकैछिनमा हाम्रो डिब्बाको अगाडिबाट एकजना युवती रातो स्कर्ट हल्लाउँदै, नाच्दै अघि बढिन् भने पछाडीबाटो एक युवक पनि नाच्दै डब्बाको बीचतिर आए । उनीहरूको चालमा इन्काहरूको झलक थियो । कुनै पुराना देवीदेवताहरू फेरि आजको दिनमा अवतरित भएको झझल्को दिने गरी नाचिरहेको थियो त्यो जोडी । अचम्म लाग्यो, केही बेर अघिसम्म चिया बेच्दै हिँडेको त्यो जोडी अब मञ्चको कलाकारजस्तै अघि उभिएका थिए ।
बाहिरका डाँडाहरू झ्यालसँगै दौडिरहेका थिए, अनि भित्र यात्रुहरूको हृदय संगीत र नाचको पखेटामा उडिरहेको थियो ।
दुई घण्टा कहिले बित्यो पत्तै भएन । यात्रा यति मोहक थियो । आगुआस क्यालिएन्तेसको प्लेटफर्ममा उत्रिएपछि गाइड ‘भिक्टर’ले स्वागत गरे । हाम्रो ग्रुपमा ट्राभल एजेन्सीमार्फत सँगै टिकट किनेका अरू पाँच जना पनि थपिए । भिक्टरले हतारहतार बस स्टपतिर लग्दा बाटोमा मान्छेहरूको र गिफ्ट बेच्ने पसलेहरूको हूलमूल थियो ।
आगुआस क्यालिएन्तेस एउटा प्राकृतिक सौन्दर्यले परिपूर्ण शहर रहेछ । अग्ला बादली हिमाल, चिसो र आद्र मौसम, सल्फरयुक्त तातोपानी, उरुबाम्बा नदी तथा मधुर हरियाली राष्ट्रिय वातावरणसँगै यहाँको सांस्कृतिक स्वर पनि जीवित रहेछ । यो ठाउँ माचु पिचुको प्रवेशद्वार मात्र होइन- गर्भमा एक सुन्दर प्राकृतिक आश्रय पनि रहेछ ।

आगुआस क्यालिएन्तेस
भिक्टर खै किन हो निकै हतारिएका थिए । ‘वी आर रनिङ लेट’ भन्दै बस स्टपमा पुगेपछि लामो लाइन मिचेर हामी ६ जनालाई बस चढाउन खोजे । झगडा गरेर भए पनि पालो मिचेर हामीलाई बस चढाइछाडे ।
यहाँबाट अर्को २० मिनेटको बस यात्राले माचु पिचुको द्वारसम्म पुर्याउँदो रहेछ । एउटा सानो बस हामीलाई त्रिभुवन राजमार्ग हुँदै दामन गएजस्तै घुमाउरो बाटोबाट उकालो चढाइरहेको थियो । ‘बाइरोडको बाटोमा धुलो उडाउँदै’ भन्ने गीत बजेको भए कति मजा आउँथ्यो होला जस्तो लाग्यो ।
बाटैभरि टेक्टोनिक शक्तिहरूले बनाएका भव्य ग्रेनाइटका चुचुरा र डाँडाहरू देखिए । ठाउँठाउँमा कुहिरो वन (Cloud Forest), सुनाखरी फूलहरू, काई र नाङ्गा ढुङ्गाहरू देखिए ।
बस माचु पिचुको प्रमुख द्वार वा चेक पोइन्टमा गएर रोकियो । भीडलाई नियन्त्रण गर्न धेरै वटा सर्किटहरू रहेछन् । हामीले ‘सर्किट एक’ को टिकट लिएका थियौँ । अब हिँडेर घुम्नुपर्ने थियो । गोरेटो बाटो हुँदै हामी उकालो लाग्यौं ।

चेक पोइन्ट, माचु पिचु
उकालोमा एकछिन रोकेर भिक्टरले इतिहास बताउन थाले । मेरो लागि यो रोकाइ सास बिसाउनको लागि पनि जरूरी थियो, उकालो नचढेको धेरै भइसकेको थियो ।
उनी भन्दै थिए, ‘इन्का साम्राज्य दक्षिण अमेरिका महाद्वीपको सबैभन्दा शक्तिशाली र व्यापक साम्राज्य थियो, जसको उदय १३औं शताब्दीको उत्तरार्धमा पेरुको कुस्कोबाट भयो । कुशल प्रशासन, उत्कृष्ट सडक सञ्जाल, कृषि प्रणाली र धार्मिक एकताको माध्यमबाट इन्काहरूले छोटो समयमै अहिलेको पेरु, इक्वेडर, बोलिभिया, चिली, अर्जेन्टिना र कोलम्बियासम्म आफ्नो प्रभाव फैलाए । तथापि, सन् १५३२ मा स्पेनका फ्रान्सिस्को पिजारोले आफ्ना हतियारले सुसज्जित सैन्य बलसहित इन्का सम्राट अताहुआल्पालाई बन्दी बनाएपछि साम्राज्यको पतन शुरू भयो । रोग, आन्तरिक गृहयुद्ध र विदेशी हस्तक्षेपले गर्दा केही वर्षमै यो सभ्यता विघटन भई स्पेनी उपनिवेशमा रूपान्तरण भयो ।’
हामी फेरि उकालोलाई पछ्याउन थाल्यौं । माचु पिचु झल्याकझुलुक मात्र देखिन्थ्यो त्यो बाटोबाट । कतिबेला देख्न पाइन्छ भनेर आतुर थिएँ म तर त्यो घुमाउरो बाटो डाँडाको अर्को पाखोतिर लाग्यो । त्यहाँ हामीले भेट्यौं ‘इन्का ट्रेल’ ।
फेरि रोकिने बेला भएको थियो, भिक्टरले बोकेको पुस्तक देखाउँदै इन्का ट्रेलको बारेमा बताउन थाले । ‘इन्का ट्रेल (Inca Trail) पेरुको सबैभन्दा प्रसिद्ध पदयात्रा मार्ग हो, जुन प्राचीन इन्का सभ्यताका पत्थर मार्ग हुँदै अग्ला डाँडा, घना जंगल, कुहिरोले ढाकिएका एन्डियन पहाड र प्राचीन भग्नावशेष पार गर्दै अन्ततः माचु पिचु पुग्छ । करीब ४२ किलोमिटर लामो छ यो ।’
कसले बनाएको र कहिले बनेको हो यो ट्रेल भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘यो ट्रेल इन्काहरूले पन्ध्रौं शताब्दीमा बनाएको भन्ने विश्वास गरिन्छ । इन्काहरूको लिखित भाषा थिएन तसर्थ यकिन गरेर भन्न सकिन्न कहिले बनिसक्यो भनेर ।’

इन्का ट्रेल
अब हामी माचु पिचु अवलोकन गर्ने मुख्य स्थलतर्फ लाग्यौं । उकालो सकिएको थियो ।
केहीबेर हिँडेपछि माथिल्लो टेर्रेसहरूबाट (विशेष गरी गार्डहाउस वा सूर्यद्वार/इन्टि पुङ्कु नजिक) पोस्टकार्डमा देखिने क्लासिक दृश्य देखियो जसको पृष्ठभूमिमा नाटकीय ढङ्गले उभिएको थियो ह्वायना पिच्चु पर्वत ।

माचु पिचु
एकछिन अडिएर हेरिरहेँ । आफ्ना दु:ख पीडा सबै बिर्सिएर खुशी भएँ । अनि लाग्यो त्यो खुशीले मेरो शरीरमा अक्सिटोसिन, एन्डोरफिन र सेरोटिनिन जस्ता हर्मोनहरू उत्पादन गरेर मलाई स्वस्थ हुन सहयोग गर्यो होला । हुन सक्छ मेरो आयु अलिकति लम्बियो होला ।
भिक्टरले सूर्य मन्दिर, मुख्य चौतारी र राजकीय निवास इंगित गर्दै देखाए । त्यो भिरालोमा बनेका गराहरू एउटा अद्भूत इन्जिनियरिङ उपलब्धि भनेर मानिन्छ । मन्दिर क्षेत्र र शहरी भाग बनाउँदा ढुङ्गाका संरचनाहरू अत्यन्तै सटिक रूपमा मिलाइएका छन् । कसको बुद्धिले यसरी चट्टानलाई पनि कलाको रूप दिन सक्यो होला ? आफैँले आफैँलाई प्रश्न गरेँ ।
माचु पिचु सन् १४५० तिर इन्का सम्राट पचाकुतीको पालामा राजकीय विश्रामस्थल र धार्मिक स्थलको रूपमा निर्माण गरिएको थियो भन्ने विश्वास गरिन्छ । यो स्थान पवित्र हिमालहरू (अपु) र उरुबाम्बा नदीको बीचमा अवस्थित भएकाले आध्यात्मिक रूपमा महत्त्वपूर्ण मानिन्थ्यो ।
करीब १०० वर्षपछि सन् १५७२ तिर स्पेनी उपनिवेशवादीहरूले इन्का साम्राज्य कब्जा गरेपछि रोग, युद्ध र राजनीतिक अस्थिरताका कारण माचु पिचु परित्याग गरियो । इन्काहरू जङ्गलतिर भागे भन्ने गरिन्छ ।
यो स्थल दुर्गम पहाडको टाकुरोमा रहेकोले स्पेनीहरूले यसको अस्तित्व थाहा पाएनन्, जसले गर्दा माचु पिचु अन्य इन्का स्थलहरूझैँ लुटिन वा ध्वस्त हुनबाट जोगियो ।
सयौं वर्षसम्म त्यसलाई धर्तीले ढाकेर राख्यो, कम्बोडियाको ‘एन्कर वात’ जस्तै । केवल केही किसान र गोठालाहरूको कथा बनेर जङ्गलबीच सुतिरह्यो यो नगरी ।
सन् १९११ को जुलाई महिनामा अमेरिकी इतिहासकार र एल विश्वविद्यालयका प्रोफेसर हिराम बिङ्घाम आफ्नो खोज यात्रामा थिए । खासमा उनी इन्काहरूकै अर्कै हराएको शहर खोजिरहेका थिए । एकजना स्थानीय केटोको साथमा उनी त्यहाँ पुगे- जहाँ सधैं घामको किरण ढुङ्गाका संरचनाहरू झाडी वनजङ्गलले छोपिएका थिए, तर मानिस थिएनन् । अनि संसार फेरि अचम्ममा पर्यो- के इतिहासले साँच्चै यति सुन्दर शहर बिर्सन सक्छ ?
गाउँलेहरूलाई पहिल्यै थाहा थियो, त्यो केटोले लगेर देखाइदियो । प्रोफेसर बिङ्घामले ‘न्याशनल जोग्राफिक जर्नल’ को सहयोगमा विश्वसामु पेश गरे । त्यो गाउँले र त्यो केटोले त परै जाओस् प्रोफेसरले समेत कल्पना गरेको भन्दा बढी महत्व संसारले उजागर गरिदियो ।
आज माचु पिचु फेरि उठेको छ, तर अहिले पर्यटन र संरक्षणको सेरोफेरोमा । पेरुको संस्कृति मन्त्रालयले यसको रेखदेख गर्छ; युनेस्कोले यसलाई विश्व सम्पदा बनाएको छ; र संसारभरका मानिसहरू यसलाई नयाँ सात आश्चर्य मान्छन् ।
सन् २००७ मा इन्टरनेटमार्फत गरिएको विश्वकै सबैभन्दा ठूलो जनमत संग्रहमा माचु पिचु ‘नयाँ सात आश्चर्य’ मध्ये एकको रूपमा चुनियो । आयोजकहरूका अनुसार यो ऐतिहासिक अभियानमा विश्वभरिका मानिसहरूले १० करोडभन्दा बढी मत दिएका थिए- जसले माचु पिचुलाई फेरि एकपटक विश्वको चमत्कारिक स्मारकको रूपमा चिनायो ।
साँच्चै, यो आश्चर्य नै हो- माचु पिचुको प्रत्येक ढुङ्गा नापजोख गरेर आत्मा हालिएजस्तो लाग्छ । ती ढुङ्गाहरूमा इन्का सभ्यताको गहिरो ज्ञान, धर्मको अनुशासन, प्रकृतिप्रतिको श्रद्धा र विज्ञानप्रतिको समझ मिसिएको छ । यहाँका ढुङ्गाहरू केवल वास्तुकलाका नमुना होइनन्- यी त शब्दहीन इतिहासका जीवित पाना हुन् । ढुङ्गाले लेखेको इतिहास हुन् ।
‘खुशी ?’ भिक्टरले नेपाली बोलेर सुनेर अचम्ममा परेँ । उनले प्रष्ट्याए, इन्काहरूको केचुवा’ भाषामा खुशी भनेको ‘ह्यापीनेस’ हो । नेपाली भाषामा ‘खुशी’ र केचुवा (Quechua) भाषामा ‘कुसी’ भन्ने शब्द दुवैको अर्थ एउटै हुनु अचम्मको कुरा हो । दुई फरक भूगोल, संस्कृति र भाषिक इतिहास भएका सभ्यतामा यस्तो ध्वनि र अर्थको समानता संयोग नै हो ।
धेरै तल, उरुबाम्बा नदी सर्पझैं बग्दछ, पवित्र उपत्यकाबाट घुम्दै माचु पिचु वरिपरि लपेटिँदै- एक प्राकृतिक खाल्डोसरह । मौसम खुलेको दिन थियो, मैले वरिपरि र पर-परसम्मका पहाडहरू देखें ।
ह्वायना पिच्चु पहाड बाहेक उरुबाम्बा नदीको ठिक पारिपट्टि रहेको पुतुकुसी र माचु पिचु पर्वत शृंखला देखेँ । दक्षिणतर्फ रहेको सल्कन्ताय पर्वत पनि देखियो- एक भव्य हिउँले ढाकिएको चुचुरो । माचु पिचुले गर्दा यो सुन्दर हिमाल छायामा परेको थियो, त्यता धेरैको आँखा परेका थिएनन् ।
भिक्टरले सूर्य मन्दिर देखाएर भने ‘यो मन्दिर अर्धवृत्ताकार ढुङ्गाबाट बनेको संरचना हो, चट्टान काटेर निर्माण गरिएको हो । यो मन्दिर खगोलशास्त्रीय रूपमा डिजाइन गरिएको छ, जहाँ विशेष दिनहरूमा सूर्यको किरण सिधा भित्र पस्ने गरी अर्थात् आकाशसँग मेल खाने ढंगले निर्माण गरिएको छ ।’
नेपाली र इन्का सभ्यताको धार्मिक चेतना फरक देखिए पनि सूर्यसँगको सम्बन्ध एउटै सूत्रमा गाँसिएको छ । इन्काहरूले सूर्य देवता ‘इन्टी’लाई जीवनको मूल स्रोत र ब्रह्माण्डसँगको समन्वयको प्रतीक माने । सूर्यकै नाममा उनीहरूले अन्न रोप्थे, राजालाई दैवी मान्यता दिन्थे र मन्दिरको ढुङ्गा सूर्यको किरणसँग मिलाउँथे । यता, नेपालमा सूर्यलाई वेददेखि छठसम्म, गायत्री मन्त्रदेखि दैनिक सूर्य नमस्कारसम्म, जीवन, स्वास्थ्य र आत्मज्ञानको प्रतीकका रूपमा पूजा गरिन्छ ।
भिक्टरले हतारिँदै भने, ‘पाँच मिनेट फोटो खिचेर फर्किनुपर्छ है । हामी इतिहासको केवल दर्शक होइनौं, संरक्षक पनि हौं । यहाँको नियम कडा छ, नियम पालना गरेन भने मेरो लाइसेन्स खारेज हुन सक्छ ।’

मलाई त्यहाँको चौरमा बसेर घण्टौं टहलिन मन लागेको थियो । तर त्यहाँको नियम निकै कडा रहेछ । आगन्तुकहरूको संख्या सीमित गर्नु, निर्धारित बाटोहरूमा मात्र हिँड्न निर्देशन दिनु, स्थानीय घाँसहरूको पुनःरोपण, माटोको कटान नियन्त्रण र वैज्ञानिक अनुगमन समावेश छन्- जसको उद्देश्य माचु पिचुको घाँस, माटो र यसको पवित्र चरित्रलाई भावी पुस्ताका लागि सुरक्षित राख्नु हो ।
हतारहतार फर्किएर आगुआस क्यालिएन्तेस आयौं । तर रेल छुट्न अझै तीन घण्टा बाँकी रहेछ । लन्च खाने योजना थियो । मुग्लिनमा गुरुजीले खाना खान बस रेस्टुरेन्टभित्रै छिराउने गरी रोकेजस्तै निकै लामो हिँडाएर ‘फुल हाउस’ भन्ने रेष्टुरेन्टमा लगे । लन्च खाएपछि उनीलगायत सबै बिदा भए ।
समय अझै बाँकी थियो । म भने एउटा कफी पसलमा गएर कफी पिउँदै ल्यापटप खोलेर व्यस्त भएँ ।
फर्किने टिकट लक्जरी रेल ‘हिराम बिङ्घाम’ मा थियो । प्रथम श्रेणीको टिकट भएकोले टेबलहरू सजिसजाउ थिए, कुर्सीहरू फराकिला । त्यो पुरै रेल ‘फर्स्ट क्लास’ रेल रहेछ ।
रेलले स्टेशन छोड्नासाथ हाम्रो डिब्बाका सबैलाई अर्को एउटा डिब्बामा लगे । त्यहाँ पेरुको सांस्कृतिक कार्यक्रमको साथै ‘ड्रिंक्स’ किनेर पिउने व्यवस्था रहेछ । क्वेना, चाराङ्गो, सिकु (प्यानपाइप्स) र बोंबो जस्ता पारम्परिक वाद्ययन्त्रहरूको धुनमा “एल कन्डोर पासा” भन्ने गीत घन्कियो । एकैछिनमा परम्परागत भेषभुषामा सजिएका एक युवा र एक युवती परम्परागत नृत्य गर्न थाले । उनीहरूले यात्रुहरूलाई पनि नचाए ।
आफ्नो सिटमा फर्किएपछि केहीबेरमै नास्ता आयो । सजिएको ट्रेमा सेवा, सुगन्ध र सौहार्द मिसिएको थियो । नास्ता सकिएपछि तिनै दुई केटा र केटी, जो पहिले चिया र नास्ताका साथ देखिएका थिए- अचानक बदलिएको रूपमा देखा परे । उनीहरू अब हाम्रो डिब्बाबीचको साँघुरो बाटोमा क्याटवाक गर्दै थिए, रङ्गीन पहिरनमा, आत्मविश्वासको मुस्कानसहित । अन्त्यमा थाहा भयो, ती पहिरनहरू केवल देखाउनका लागि होइन रहेछन्, किनबेचका लागि पनि रहेछन् ।
आगुआस क्यालिएन्तेस आइपुग्दा अँध्यारो भइसकेको थियो । तिनै ड्राइभर पर्खिरहेका रहेछन् । त्यो एक दिने माचु पिचु यात्राको अनुभव कुनै सामान्य पर्यटकीय भ्रमण मात्र थिएन; त्यो त माचु पिचुको ढुङ्गासँगको संवाद, इतिहाससँगको साक्षात्कार, र आफ्नै आत्मासँगको मौन संवाद थियो—तीर्थयात्रा भन्दा पनि अझ गहिरो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ पुष २०८२, बिहीबार 










