२०७९ सालको फागुन १४ गते बिहानीपख सधैँ झैँ ५ः३० बजे ब्युँझदा आफ्नो ओछ्यान तथा वरिपरिको वातावरण अनौठो लाग्यो । काठमाडौंमा झैँ न चराहरुको चिरबिर सुनिन्छ, न भुस्याहा कुकुरहरुका ती कर्कश भुकाइहरुको आवाज आउँछ । केही क्षणमै आफू दुबई स्थित एक होटलमा रहेको सम्झना आएपछि ओछ्यानबाट उठेँ । ढिलो सुताइका कारण आँखा अनिदा रहेको अनुभव भइरहेको थियो । छेउमा रश्मि गहिरो निद्रामा थिइन् । यसरी विहान ढिलोसम्म निद्राले साथ दिने हो भने त निद्रा पनि पुग्ने थियो । यस्तै कहिलेकाँही आफ्नो छिटो उठ्ने बानीका कारण पछुतो लाग्दो रहेछ अनि सँगैको साथी मस्त निद्रामा देख्दा डाहा पनि लाग्ने रहेछ ।

कोठामा रहेको पानी तताउने भाँडोमा पानी उमालेर कालो कफी खाएपछि अलि स्फूर्ति आयो र नित्यकर्म सकेर ६ः१५मा बाहिर निस्केँ । बाटोमा मानिसहरु हिँडेका देखिएनन् । गाडीहरु पनि पातलै गुडेका देखिन्थे । केही चिया पसलहरु बाहेक अन्य पसलहरु पुरै बन्द थिए । घाम लागेको भएपनि वातावरण शीतल थियो । झण्डै दुई किलोमिटर जति हिँडेर सात बजे होटल आइपुग्दा पनि सहयात्रीको निद्रा खुलेको थिएन ।

आजको कार्यक्रममा आँखा डुलाउँदा हामी ब्रेकफास्ट खाएर ९ बजे होटलबाट निस्कनुपर्ने देखिएपछि भ्रमण दलका सबै सदस्यहरुलाई तयार रहन जानकारी दिएँ । हामी बिहान ८ बजे ब्रेकफास्टका लागि होटलको रेस्टोरेन्टमा पुग्यौँ । जुस, फलफुल, पाउरोटी, जाम, बटर र मह इच्छाअनुसार लिन सकिने व्यवस्था थियो । त्यस बाहेक, पुरी, तरकारी, अण्डा, आलु फ्राई लगायत खाद्य पदार्थ रुचिअनुसार खाएपछि हामी निस्कन तयार भयौँ ।

आजको रुटिनअनुसार आधा दिनसम्म दुबई शहर घुमाउने कार्यक्रम रहेछ । ठीक ९ बजे गाडी होटल अगाडि आइपुग्यो । हामी सबै दुबई शहरतर्फ लाग्यौँ । पहिलो गन्तव्यका रुपमा हामीले दुबईको पुरानो र ऐतिहासिक क्षेत्रको अवलोकन गर्यौं । सातौं शताब्दीमा माछा मार्ने कार्य तथा समुद्री मोती खोजी गरी चीन तथा भारतीय उपनिवेशसम्म व्यवसायिक गतिविधि सञ्चालन गर्ने स्थानका रुपमा पहिचान गरिएको दुबईको उक्त क्षेत्रमा ई.सं १७८७ मा निर्माण गरिएको किल्लाको पुरानो संरचनालाई व्यवस्थित रुपमा संरक्षण गरिएको रहेछ । त्यो किल्ला र त्यस वरपरका संरचना नै दुबई शहरमा निर्माण भएको सबैभन्दा पुरानो संरचना रहेछ ।

अहिले यो स्थान पर्यटनका लागि एक प्रमुख गन्तव्यका रुपमा विकसित गरिएको रहेछ । हामी त्यहाँ पुग्दा विदेशी पर्यटकहरुको ठूलै भीडभाड थियो । दुबईको अहिलेको राम्रो मौसमी अवस्थाका कारण पनि पर्यटकहरुको चहलपहल निकै देखिन्थ्यो । यो देख्दा नेपालमा कोरोना महामारीका कारण पर्यटकहरुको आगमन अहिले न्यून भएको हो भन्ने बहस निराधार रहेछ जस्तो लाग्यो । झण्डै एक घण्टा समय व्यतित गरी हामी पुनः अर्को गन्तव्यतर्फ लाग्यौँ ।

दुबईका शेखको एउटा दरबार हाम्रो अर्को गन्तव्य रहेछ । उक्त स्थानमा गाडीबाट नै अवलोकन गर्नुपर्ने रहेछ । त्यहाँको मुख्य विशेषता भनेको चाहिँ १८ वटा अरबी घोडाहरुका सुनौला प्रतिमाहरु रहेछन् । वरिपरि खजूरका अग्ला वृक्षहरु, बिचमा हरियो चउर र त्यो चउरमा ठडिएका एकै आकारका तर विभिन्न मुद्रामा रहेका अरबी घोडाका सुनौला प्रतिमाहरु साँच्चै नै दर्शनीय लाग्यो ।

त्यसपश्चात हामी दुबईको समुद्री तटतर्फ लाग्यौँ । अधिकांश भाग समुद्री किनारमा रहेको दुबईको यो समुद्री तटलाई लामेर जुमेरिया बीच भनिँदो रहेछ । दुबईका सुन्दर समुद्री तटहरुमध्ये एक मानिने यो समुद्री तटमा रमाउने, घामले सेकिने र फोटो खिच्ने पर्यटकहरुको घुइँचो देखिन्थ्यो । आउँदै जाँदै गर्ने समुद्री छाल, अनन्त देखिने नीलो समुद्र र थोरैले पूर्ण नग्न भन्न नमिल्ने गरी लगौंटी सम्म बेरेका युवा युवतीहरु बालुवामा पल्टिएर घाममा सेकिँदै तथा छालहरुसँग रमाउँदै गरेको देख्दा त्यहाँ घण्टौंसम्म बस्दा पनि नअघाइने वातावरणलाई केही फोटाहरुमा सीमित गर्दै हामी त्यहाँबाट निस्कियौँ । हाम्रो प्रतिक्षा गरिरहेका पाकिस्तानको पेशावरबाट कामकै सिलसिलामा दुबई आएका सवारी चालकले अर्को गन्तव्यतर्फ गाडी हुँइक्याए ।

आधुनिक शहरका रुपमा परिचित दुबईमा पुराना हस्तकलाका गतिविधिहरुको सङ्ग्रह रहेको हस्तकला म्यूजियम हाम्रो अर्को गन्तव्य रह्यो । यहाँ सङ्कलन गरिएका परापूर्व कालका हस्तकला सामग्रीहरु तथा अझै पनि जीवन्त राखिएका हस्तकला गतिविधिहरु अवलोकन गर्दा दुबई हस्तकलाको क्षेत्रमा पनि सम्वृद्ध रहेको अनुमान लगाउन सकिने रहेछ ।

आजको दुबई शहर भ्रमणमा हाम्रो अन्तिम गन्तव्यका रुपमा हालै मात्र खुला गरिएको द म्यूजियम अफ द फ्यूचर रह्यो । यस म्यूजियमको भित्र प्रवेश गर्न एक महिना अघि नै टिकट काटिसक्नुपर्ने रहेछ । हामीले प्रवेश गर्न त सकेनौं तर त्यहाँको बाहिरी भागसम्म हेर्ने मौका चाहिँ पाइयो । आधुनिक प्रविधिको प्रयोग गरी अण्डाकार तीन तले भवनको संरचना विश्वकै लागि आश्चर्यजनक इन्जिनियरिङको नमूना मानिन्छ । भित्र प्रवेश गर्न नपाए पनि यसबारे केही जानकारी भने लिने मौका पाइयो । यस म्यूजियममा खासगरी भविष्यमा हुन सक्ने वैज्ञानिक खोजको अनुभव गर्न पाइने रहेछ । पृथ्वीबाट ६०० किमीको दूरीमा रहेको अन्तरिक्षको अनुभवदेखि भविष्यमा मानव स्वास्थ्यमा हुँदै गरेका अनुसन्धानका सम्बधमा पनि जानकारीहरु प्राप्त हुनेरहेछ यस म्यूजियममा । यस क्षेत्रमा केहीबेरको घुमघाम पछि हामी दिनको करीब १ः३० बजे होटलमा आइपुग्यौँ ।

चिया र सामान्य खाजा खाएर केही बेर आराम गरेपछि हामी ४ः०० बजे दुबई मल र बुर्ज खलिफा भ्रमणका लागि प्रस्थान गर्यौं । दुबई मल विश्वकै सबैभन्दा ठूलो सपिङ मलका रुपमा परिचित रहेछ भने बुर्ज खलिफा विश्वकै अग्लो भवनका रुपमा चिनिन्छ ।  वास्तवमा दुबईका हालका शासकलाई हरेक आधुनिक संरचना विश्वकै ठूलो बनाउने लहड रहेछ जसले गर्दा यस्ता संरचनाहरु प्रत्येक वर्ष थपिँदा रहेछन् । दुबई मल भित्र प्रवेश गर्दा पार्किङ क्षेत्र हुँदै प्रवेश गर्नुपर्ने रहेछ । लगभग ३० हजार गाडी एकैपटक पार्क गर्न सकिने पार्किङ क्षेत्र देख्दा आश्चर्यको अनुभव भयो । विश्वका सबै ब्राण्डहरुको उपस्थिति रहेको यस दुबई मलमा आगन्तुकहरुको पनि बाक्लै भीडभाड देख्न सकिन्थ्यो ।

दुबई मलमा झण्डै दुई घण्टाको अन्त्यहीन घुमाइपछि हामी बुर्ज खलिफा चढ्ने स्थान तर्फ लाग्यौँ । एलिभेटरको सहायताले तेस्रो तलासम्म चढेपछि लिफ्ट रहेको स्थानमा पुगियो जहाँ ठुल्ठुला लिफ्टहरु रहेछन् । एउटा लिफ्टमा १५-१६ जनासम्मको क्षमता रहेछ । हामी पनि खाँदियौं लिफ्टभित्र । आश्चर्य, एक मिनेट मै हामी १२५ औं तलामा पुग्यौं र त्यहाँबाट दुबई शहरको सायंकालीन दृष्य हेर्ने अवसरलाई क्यामेरामा समेत समेट्न भ्यायौं । काठमाडौंको कुनै अग्लो डाँडाबाट लक्ष्मीपुजाको दिन देखिने झिलिमिली दृष्यको झझल्को आयो त्यहाँबाट दुबई शहर हेर्दा । दुबई सधैँ झिलिमिलि नै रहेछ ।

आश्चर्य छ खोला नाला नभएको मरुभूमिको देशमा कसरी विजुलीको उत्पादन हुन्छ होला ? तलबाट देखिने गगनचुम्बी भवनहरु बुर्ज खलिफाको १२५ औं तलाबाट हेर्दा फुच्चे झैँ लाग्दो रहेछ । चारैतिर सिसाले बारेर चौतर्फी नियाल्न सकिने बनाइएको रहेछ । झण्डै आधा घण्टा फन्फन्ती घुम्दा पनि मन भरिएन । तर सधैँ चुचुरो मै बस्न पनि त नसकिने रहेछ । एक न एक दिन त ओर्लनै पर्छ । यसलाई आत्मसात गर्दै हामी सोही लिफ्टको सहयोग लिई तल ओर्लियौं ।

विश्वभरी दुबई शहरको परिचय बनिसकेको बुर्ज खलिफा सन् २०१०को जनवरीदेखि सर्वसाधारणका लागि खुला गरिएको रहेछ । सन् २००४ को जनवरीबाट निर्माण शुरु गरिएको ८३० मिटर अग्लो भवन यो भवनको नामाकरण भने दुबईका पुराना शासन शेख खलिफाको नामबाट गरिएको रहेछ । दुबईका हालका शेखको स्वामित्वमा सञ्चालित निर्माण कम्पनी एमार डेभलपर्सले यहाँका अधिकांश भवनहरु निर्माण गरेको पाइयो । उक्त निर्माण कम्पनीले बुर्ज खलिफा पनि निर्माण गरेको रहेछ । एउटा प्रसङ्ग पनि यहाँ उल्लेख गर्न उपयुक्त लाग्यो ।

निर्माणको शुरुवातमा यस विशाल भवनको नाम बुर्ज दुबई राख्ने निणर्य गरिएको रहेछ । तर यस क्रममा निर्माण कम्पनी एमार डेभलपर्सलाई परेको आर्थिक समस्याका कारण यसको निर्माण नै रोकिने अवस्थामा पुगेपछि युएईका पूर्व शासक शेख खलिफाले यसको पूर्णताका लागि आर्थिक सङ्कटबाट उकासेको हुँदा यस भवनको नाम परिवर्तन गरी बुर्ज खलिफा राखिएको रहेछ । देशको विकासमा यहाँका शासकहरुले देखाएको यस्तो प्रतिबद्धताको केही अंश मात्र पनि नेपालका शासकहरुमा देख्न पाएको भए देशको मुहार फेर्न कति नै समय लाग्थ्यो होला र ?

यस स्थानको अर्को आकर्षण भनेको पानीको फोहोरा पनि रहेछ । विभिन्न रंग र आकारहरुमा विभिन्न संगीतका धुनमा पानीको फोहोराको नृत्य पनि हेर्न पाइयो दुबई मल बाहिर । उक्त पानीको फोहोराको नृत्य हेर्ने पर्यटकहरुको ठूलो घुइँचो हुँदोरहेछ । हामी पनि त्यही घुइँचोमा छिर्यौं र उक्त नृत्यको आनन्द लियौँ । आजको यो अन्तिम गन्तव्य अविस्मरणीय रह्यो, किनकि विश्वकै अग्लो भवनबाट हामीले विश्व नियालेका थियौँ ।

झण्डै नौ बजे हामीलाई लिन गाडी आइपुग्यो । गाडीमा बसेपछि पो थकाइ र भोकको सम्झना आयो । हामी होटल आइपुग्दा साढे नौ बजिसकेको थियो । थकान र भोकले चूर शरीरलाई केही खानपीन गराएर होटलको शयन कक्षमा पुर्याउँदा रातको एघार बज्यो । अघिल्लो दिनदेखि नै अनिदा रहेका आँखाहरुले भने अब बन्द हुने जानकारी गराई सकेका थिए । सहयात्री रश्मिको अवस्था पनि यो भन्दा फरक थिएन । आज दिनभरी भ्रमण गरिएका विभिन्न गन्तव्यहरुको आनन्दलाई सम्झँदै स्वप्न संसारमा लीन भयौँ – हामी दुवै ।