खण्ड- ३

परिच्छेद- १

राजकुमार भासिली गम्भीरतापूर्वक सोचविचार गरेर आफ्नो योजना बनाउने खालको मानिस थिएन । आफ्नो फाइदाका लागि कसैलाई दु:ख दिने त उसले कल्पना पनि गर्दैनथ्यो । यस संसारको ऊ यस्तो उच्च विचारवान्‌ मानिस थियो, जो सधैँ सफलताको शिखरमा रहन्थ्यो र सफलताको शिखरमा रहनुमा नै उसको बानी बसिसकेको थियो । परिस्थिति र आफ्नो मान्छेहरूको निकटताको परिणामअनुसार उसका आगामी योजना र परियोजनाहरू निर्माण हुने गर्थे । यस्ता योजनाहरू उसको मस्तिष्कमा एउटा वा दुइटा होइन दर्जनौँ हुन्थे । उसका कुनै योजना भर्खर जन्म लिन लागेका हुन्थे, कुनै सफलताको प्राप्तितिर पुगेका हुन्थे र कुनै भने भत्किन पनि लागेका हुन्थे । उदाहरणका लागि उसले आफूले आफूसँग कहिल्यै भनेन : “यो मान्छे प्रभावशाली छ अत: मैले उसको विश्वास जितेर ऊसँग मित्रता गाँस्नु पर्छ र ऊमार्फत्‌ मैले यति फाइदा उठाउनु पर्छ ।” न उसले यस्तो भन्यो : “पियेरे अब धेरै धनी भइसकेको छ । अत: मैले उसलाई फकाएर मेरी छोरीसँग विवाह गराउनु पर्छ र मलाई अत्यन्त आवश्यक परेको चालिस हजार रुबल उसँग सापट लिनु पर्छ ।” तर जब उसको कुनै प्रभावशाली व्यक्तिसँग चिनापर्ची हुन्थ्यो, उसको अन्तर्मनले उसलाई तुरुन्त यस्तो भन्थ्यो यो मानिस एकदम काम लाग्ने मानिस हो, राजकुमार भासिली उक्त मानिससँग घनिष्ठता बढाउँथ्यो र कुनै किसिमको तयारीविना नै आफ्नो सहज ज्ञानको प्रयोग गरेर ऊ त्यस मानिसको विश्वासपात्र हुन्थ्यो, त्यस मानिसको चाकरी-चाप्लुसी गर्थ्यो, त्यो मानिसको अति घनिष्ठ पात्र भएर प्रस्तुत हुन्थ्यो र अन्त्यमा आफ्ना आवश्यकताहरू उसको अगाडि पेश गर्थ्यो ।

मास्कोमा पियेरे उसकै संसर्गमा थियो र राजकुमार भासिलीले उसलाई राजदरबारको निजी सचिवालयमा एउटा अफिसरको पदमा नियुक्ति दिलाइ दियो, जुन पद त्यस बखत राज्य सल्लाहकार बराबर मानिन्थ्यो । पियेरेलाई उसले आफैसँग पिटर्स बर्ग जाने र उसकै घरमा बस्ने भनेर कर गर्न लाग्यो । राजकुमार भासिली देख्दाखेरि नजानिदो किसिमले तर अन्तर्मनमा यस्तो हुनै पर्छ भन्ने पूरा विश्वासका साथ आफ्नी छोरीको विवाह पियेरेसँग गरिदिने विषयमा प्रयत्नरत थियो । यदि उसलै पहिलेदेखि नै गम्भीरतापूर्वक विचार गरेर आफ्ना योजना बनाएको भए आफूभन्दा तल्ला र आफूभन्दा माथिल्ला वर्गका सबै मानिसहरूसँग उसको व्यवहारमा यस्तो स्वाभाविकता, सरलता र सामाजिक शिष्टाचारिता हुने थिएन । आफूभन्दा धेरै प्रभावशाली र धनी मानिसहरूप्रति ऊ निरन्तर रूपमा आकर्षित भइरहन्थ्यो र त्यस्ता व्यक्तिहरूलाई सकेजति प्रयोग गर्ने उसमा एक प्रकारको विलक्षण खूबी थियो ।

अप्रत्यासित रूपमा काउन्ट बेजुकोभ धनाढ्य पुरुष भएको हुँदा केही समय पहिलेसम्म नितान्त एकलकाटे र मस्तराम जिन्दगी व्यतित गरिरहेको पियेरे आफ्ना मानिसहरूद्वारा घेरिएर यति व्यस्त रहन्थ्यो कि राती बिछ्यौनामा पल्टेपछि मात्र उसले आफूलाई समय दिन सक्थ्यो उसले अनेक प्रकारका कागजपत्रहरूमा सहिछाप गर्नु पर्थ्यो र सरकारी अडडाहरूमा पनि जानु पर्ने हुन्थ्यो । यस्तो किन गर्नु परिरहेछ भन्ने कुरा स्पष्ट रूपमा उसलाई नै थाहा थिएन । उसले ठूल्ठूला कारिन्दाहरूसँग सोधपुछ गर्नु पर्ने हुन्थ्यो । मास्को नजिकको आफ्नो जमिन्दारी र जायजेथा निरीक्षण गर्नु पर्थ्यो । र अधिकाधिक मातिसहरूसँग भेट गर्नु पर्ने हुन्थ्यो, जुन मानिसहरूले केही समय अघिसम्म उसको अस्तित्वलाई पनि स्वीकार गर्दैनथे । अहिले भने उनीहरू उसले दर्शन भेट मात्र दिएन भने पनि अत्यन्त दुःख मान्थे र आफूहरूलाई अपराधबोध गर्थे । व्यापारी वर्ग, नाताकुटुम्ब र चिनेजानेका पूर्वपरिचितहरू सबै समान रूपले असल लाग्थे- यस युवा नवउत्तराधिकारीलाई माया गर्दै र सबैले उसमा विद्यमान उच्च गुणहरूको विनाहिचकिचाहट र खुला दिलले स्वस्ति गाउँथे । उसले यस्ता शब्दावलिहरू सधैँ सुनिरहन्थ्यो- “तपाईंका असाधारण दया र ममताका कारण” “तपाईंसमान असल र महान पुरुष को होला हे काउन्ट,” “तपाईंको हृदय सागर समान विशाल छ” “तपाईंको बुद्धि र विवेकको तुलना गर्नु कसैको बसमा छैन” इत्यादि-इत्यादि । प्रशंसाका पुलहरू यति धेरै बाँधिन थालेका थिए कि पियेरे स्वयस्‌लाई पनि आफ्नो विशाल हृदय र असाधारण सुझबुझप्रति विश्वास लाग्न थाल्यो । विशेषतः उसलाई यस विषयमा यसकारण विश्वास जाग्न थाल्यो कि आफ्नो अन्तर्आत्माभित्र ऊ आफूलाई वास्तवमा यस्तै नै भएको ठान्थ्यो अर्थात्‌ ऊ दयावान र बुद्धिमान्‌ नै थियो । ती मानिसहरू पनि, जो पहिले उसको इर्ष्या र डाहा गर्थे र सोझो भाषामा भन्नु पर्दा, जसले ऊसँग शत्रुताको व्यवहार गर्थे – अहिले ऊसँग असल व्यवहार गर्न कुनै कसर बाँकी राख्दैनथे या भनौँ उसलाई अत्यन्त आदर, सम्मान र माया गर्थे । लामो कम्मर, खेलौना पुतलीको जस्तो पछाडिपट्टि टाँसिएको केशगुच्छा भएकी र उसलाई देखिनसहने अत्यन्त रिसाही सबभन्दा जेठी राजकुमारी पनि काउन्ट बेजुकोभको अन्त्येष्टि क्रिया सकिएपछि पियेरेको कोठामा आई । निहुरमुन्टो लगाउँदै आँखा फुकाए लज्जा र पश्चातापग्रस्त राजकुमारीले उनीहरूबीच विगतमा भएको मिथ्याँबोधप्रति आफूलाई अत्यन्त आत्मग्लानि भइरेछ भनी । उसले यो पनि भनी – काउन्टको मृत्युपश्चात्‌ उसको अब यसघरसँग केही पनि माग्ने अधिकार त छैन तर उसले यति बिघ्न माया गरेको र आफ्नो जीवनमा यति धेरै त्याग र तपस्या गरेर आजसम्म बास बसेको यस घरमा केही हप्ता बस्न पाउने अनुमतिका लागि निवेदन गर्छु । यिनी शब्दहरू मुखबाट निकाल्दा ऊ नरोई बस्न सकिन । मूर्तिवत्‌ उभिएकी राजकुमारीको बदलिएको अवस्था देखेर द्रवीभूत भएको पियेरेले उसको हात आफ्नो हातमा लियो र क्षमा माग्यो तर केका लगि क्षमा माग्ने भन्ने विषयमा उसलाई केही थाहा थिएन । जेठी राजकुमारीले त्यसै दिनदेखि पियेरेको लागि एउटा धर्के गलबन्दी बुन्न लागी । पियेरेप्रति उसका सम्पूर्ण पूर्वधारणाहरूले पूर्ण रूपमा कोल्टे फेरे ।

“प्रिय पियेरे, यो राजकुमारीका लागि यति त गरिदिनै पर्यो । जे भए पनि उसले दिवङ्गत आत्माको ज्यादै ठूलो सेवा-सुशरुषा गरेकी हो र त्यस क्रममा धेरै दु:खकष्ट पति सहेकी हो,” राजकुमार भासिलीले जेठी राजकुमारीका पक्षमा कुनै लिखतमा हस्ताक्षर गर्न दिदै पियेरेलाई भन्यो ।

राजकुमार भासिली यो निष्कर्षमा पुगेको थियो कि यो हाडको सानो टुक्रा अर्थात्‌ पच्चीस हजार रुबल यस असहाय राजकुमारीलाई यसकारण दिनै पर्छ ताकि उसले पछि गएर अन्य भित्री सम्पत्तिमा कुनै किसिमको दखल गर्ने अवसर नपाओस्‌ । र उसको मुखमा सधैँका लागि बुजो लागोस्‌ । पियेरेले दानपत्रमा हस्ताक्षर गर्यो । त्यसपछि राजकुमारीको पियेरेप्रतिको व्यवहार झन्‌ सुमधुर र करुणामय भएर आयो । उसका बहिनीहरू पनि उप्रति झन्‌ मायालु भएर आए । जेठी र माहिलीभन्दा पनि कान्छी राजकुमारी पियेरेप्रति आसक्त भएर आई, जो असाधारण सुन्दरी थिई । उही कान्छी राजकुमारी जसको ओंठमा कोठी थियो र पियेरेका सामु पर्दा, जसले आफ्नो मन्द मुस्कान र कटाक्षले उसलाई घायल तुल्याई दिन्थी । –

पियेरेलाई सबै मानिसहरूले आफूलाई प्रेम गरेको एकदमै स्वाभाविक लाग्थ्यो । कसैले उसलाई माया वा सराहना गरेन भने उसलाई एकदमै अस्वाभाविक र खिन्न लाग्थ्यो । र उसलाई आफ्ना वरिपरिका मानिसहरूको इमान्दारीता र निष्कपटताप्रति पूर्ण विश्वास थियो । यसबाहेक ऊसँग आफूले आफैलाई सोधेर हेर्ने पनि थिएन तर यी मान्छेहरू के साँच्चै नै झप्रति इमान्दार र निष्कपट थिए त ? फुर्सत्‌ भन्ने कुरा त उसलाई हुँदै-हुँदैनथ्यो, त्यसैले ऊ आफूलाई हल्काहल्का तथा सुखद प्रकारको नशा लागिरहेजस्तो अनुभव गर्थ्यो । उसलाई यस्तो अनुभूति हुन्थ्यो मानौँ ऊ कुनै महत्त्वपूर्ण तथा असामान्य गतिविधिको केन्द्रबिन्दु हो । ऊबाट कसैद्वारा जहिले पनि केही कुराको, केही फलको अपेक्षा गरिएको हुन्छ । तसर्थ उसले यस्ता आशा र आकाङ्क्षाहरूको परिपूर्ति गरिदिएत भने उसलाई ठूलो अपशोच लाग्ने छ र धेरै मानिसहरू सँग चिढिने छन्‌ । तर उसले सबैका इच्छा र आकाङ्क्षाहरू पूरा गरिदियो भने सबैलाई सन्तोष हुनेछ र सबैथोक ठीक हुनेछ । अत: उसले आफूबाट अपेक्षित सदै कुराको परिपूर्ति त गरिदिन्थ्यो तर पनि

त्यसबाट प्राप्त हुनुपर्ने मीठो प्रतिफल भने भविष्यको गर्भमा थियो ।

सुरुका दिनदेखि नै राजकुमार भासिलीले अरू कसैले भन्दा बढी पियेरेको सम्पूर्ण कारोबार र पियेरे स्वयमूलाई पनि आफ्नो मुठ्ठीमा लियो । यथार्थमा काउन्ट बेजुकोभको मृत्युपछि उसले पियेरेलाई आफ्नो नियन्त्रणबाट बाहिर जान दिएकै थिएन । राजकुमार भासिली कार्यबोझले लादिएको, थकित र अत्यन्त चिन्तितजस्तो देखिन्थ्यो । तर यति हुँदाहुँदै पनि उसले यो असहाय नवयुवकप्रति उत्पन्न सहानुभूतिका कारण र उसलाई, जो अहिले यति ठूलो सम्पत्तिको स्वामी भएको थियो र जो आफ्नो प्रिय साथीको छोरो पनि थियो, उसको अनिश्चित भाग्य र बदमास मानिसहरूको इच्छाको सिकार हुनबाट बचाउ गर्ने उत्तरदायित्व महसुस भएका कारण पनि यथास्थितिमा छोड्न सक्तैनथ्यो ।

काउन्ट बेजुकोभको मृत्युपश्चात्‌ केही दिन मास्कोमा रहँदा उसले पियेरेलाई कि आफूसँग बोलाउँथ्यो कि ऊ स्वयस्‌ पियेरेकहाँ जान्थ्यो र थकित तथा आश्वासनयुक्त भाषामा उसलाई के गर्नु पर्छ र के गर्नु पर्दैन वा हुँदैन भनेर सम्झाउने गर्थ्यो । प्रत्येक शब्द र प्रत्येक वाम्यांशमा उसले भन्ने गर्थ्यो- मेरो टाउको माथि आइपरेको कार्यबोझका कारण म कति बेफुर्सदी छु, त्यो तिमीलाई मैले भनिरहनु पर्ने कुरा होइन तथापि तिमीलाई यस्तो असहाय अवस्थामा छोडेर जान मेरो मनले मान्दैन । तिम्रो अवस्थाप्रति मलाई ठूलो चिन्ता छ र तिमीलाई यो पनि थाहा हुन पर्छ कि.मैले तिम्रो अगाडि जुन प्रस्ताव प्रस्तुत गर्छु तिम्रो लागि त्योभन्दा अर्को विकल्प छँदै छैन ।”

“हेर प्रिय मित्र, भोलिका दिन हामीहरू छुट्टिने बेला भइसक्ने छ,” राजकुमार

भासिलीले आफ्ना दुवै आँखा छोपेर र आफ्ना हातका औँलाहरूले पियेरेका कुहिना स्पर्श गर्दै एक दिन यस्तो तीर हार्यो कि उसले जे भनिरहेको थियो, त्यस विषयमा मानौँ उनीहरूबीच पहिले नै सम्झौता भइसकेको थियो र त्यस विषयमा अर्को निर्णय हुन सक्ने सम्भावता नै थिएन ।

भोलि हामीहरू यहाँबाट प्रस्थान गर्दैछौँ र म तिमीलाई पनि आफ्नो बग्गीमा लिएर जाँदै छु । मलाई खुसी लागेको छ । हाम्रा यहाँका महत्त्वपूर्ण काम-कार्वाहीहरू सबै समाप्त र सम्पन्न भइसकेका छन्‌ । हुन त म यहाँबाट पहिले नै गइसक्नु पर्ने थियो । मलाई चान्सलरको एउटा महत्त्वपूर्ण पत्र प्राप्त हुन आएको छ । मैले उनीसँग तिम्रा बारेमा एउटा निवेदन प्रस्तुत गरेको थिएँ । तिमीलाई राजनयिक निकायको एउटा ठूलै पदमा नियुक्त गरिएको छ र त्यसका साथै राजदरबारमा पनि तिमीलाई उच्च स्थान दिइएको छ । अब तिम्रो लागि कूटनीतिक वृत्तमा ढोका खुलेको छ ।”

विश्वासका साथ यी शब्दहरू उद्गार गरिएका भए तापनि आफ्नो भविष्यको जीवनयात्रा बारेमा निकै बेर सोचविचार गरेपछि पियेरेले केही अस्वीकृतिजनक सुझाव प्रस्तुत गर्ने प्रयास गर्यो । तर राजकुमार भासिलीले आफ्ना स्नेहपूर्ण तथा प्रभावशाली गाहहरू नटै रपक्रा कुरा काट्ने सम्भावनाहरूलाई प्राय: समाप्त गर्ने सामर्थ्य राख्थ्यौ

र त्यस्तो अवस्था आइपरेका अन्तिम बखतमा प्रयोग गर्ने गर्थ्यो, प्रयोग गरेर पियेरेको मुखमा बुजो लगाइ दियो ।

“प्रिय पियेरे ! मैले यो सबै आफ्नो आत्मसन्तोषको लागि गरेको हुँ । यसका लागि तिमीले मलार्इ धन्यवाद दिनु पर्दैन । आफूलाई धेरै माया गरियो भनेर आजसम्म कसैले पनि गुनासो गरेको छैन । अर्को कुरा तिमी आफ्नो निर्णय आफै गर्न पूर्ण रूपमा स्वतन्त्र छौ । इच्छा नलागेको खण्डमा भोलि नै यो काम छोडिदिए पनि हुन्छ । पिटर्स बर्ग पुगेपछि सब कुरा तिमीले आफ्नै आँखाले देख्न सक्छौ । साँच्चै भनौँ भने तिमी त यस्ता भयानक स्मृतिहरूको वातावरणबाट पहिले नै कतै टाढा जानुपर्ने थियो ।” राजकुमार भासिलीले लामो सास फेर्यो । “तिमी मेरो: छोरासमात लाग्छ प्यारा ! बुझ्यौ मेरो अर्दली तिम्रो बग्गीमा जान सक्छ ।”

“अहो ! मैले त बिर्सेको रै’छु,” उसले थप्यो । तिमीलाई थाहा छ ! तिम्रो बुबा र मेरा बीचमा केही हिसाबकिताब मिलाउनु पर्ने थियो । व्याजानको जिमीदारीबाट मैले केही रकम प्राप्त गरेको छु – त्यो रकम हाल मसँग नै रहने छ । तिमीलाई अहिले त्यसको आवश्यकता पनि छैन । लेनदेनसम्बन्धी हिसाबकिताब हामीले पछि मिलाउँदै गरौँला ।”

राजकुमार भासिलीले च्याजानको जिमीदारीबाट प्राप्त केही रकम भनेर जुन रकमको उल्लेख गरेको थियो – वास्तवमा त्यो रकम हजारौँ रुबल थियो, जो उसले
पियेरेका किसानहरूबाट असुल गरेर आफैसँग राखेको थियो ।

मास्कोमा जस्तै पिटर्सबर्गमा पनि पियेरेले आफूलाई माया र ममता प्रकट गर्ने मानिसहरूको वातावरण र भीडमा पायो । राजकुमार भासिलीले उसलाई जुन जागिर अर्को शब्दमा पद भनौँ, (किनभने उसले केही पनि गर्दैनथ्यो) दिलाएको थियो, उसले अस्वीकार गर्न सकेन । र परिचित मानिसहरूकहाँ र निम्तापत्रहरू आउने ठाउँमा जात तथा सङ्घ सभाहरूमा जानआउन पर्ने हुँदा उसले यति धेरै दौडधूप गर्नुपर्ने हुन्थ्यो कि उसले मास्कोमा भन्दा पनि ज्यादा सम्भ्रम र व्यग्रता अनुभव गर्यो र निकट भविष्यमा नै कुनै प्रकारको सुख-सौभाग्य प्राप्त हुने भावना उसका मनमा लगातार जाग्रत भइरह्यो । तर त्यो सम्भावना भने अहिलेसम्म वास्तविकतामा परिणत: भइसकेको थिएन ।

पियेरेका पहिलेका अविवाहित साथीहरूमध्ये धेरैजसो अहिले पिटर्सबर्गमा थिएनन्‌ । गार्डसेनामा भर्ती भएकाहरू मोर्चामा गइसकेका थिए । दोलोखोभ घटुवा भएर सिपाहीमा झरेको थियो । अनातोल कुनै प्रान्तीय नगरको सेनामा थियो । राजकुमार आन्द्रेइ विदेशमा थियो त्यसैले पियेरेले अहिले आफूले चाहेजस्तो तरिकाले रातहरू बिताउने अवसर पाएन । त्यत्ति मात्र होइन उसले पहिलेजस्तो आफ्ना मिल्ने साथीहरूसँग बसेर यसो आफ्ना मतका बोझ हल्का गर्ने अवसर पनि पाएको थिएन । उसले आफ्ना सम्पूर्ण दिनचर्या भोजभतेरमा गएर, बालनृत्यमा भाग लिएर र खास गरेर राजकुमार भासिलीकहाँ बसेर उसकी मोटी पतेनतीका साचै उसकी सुन्दरी छोरी हेलेदसँग बगेर बिताउने अवसर पनि पाएन ।

अरूहरूको जस्तै अन्ता पाभ्लोभ्ना सेरेरको पनि पियेरेप्रति राख्ने गरेको धारणामा पूर्ण परिवर्तन भएको थियो, जो अहिलेको परिवर्तित समाजमा स्पष्ट रूपमा झल्केको देख्न सकिन्थ्यो ।

अन्ना पाभ्लोभ्नाको उपस्थितिमा जहिले पनि पियेरेलाई सधैँभरि यस्तो अनुभव हुन्थ्यो कि ऊ एउटा अशिष्ट मान्छे हो र उसका कुराकानी गर्ने शैली पनि यस्तै फोहोरी ढङ्गका हुन्छन्‌ । उसले बोल्न पर्ने कुरा बोल्दैनथ्यो । उसका दिमागमा राम्रै कुराहरू स्फूर्त हुन लागे पनि बोल्ने बखतमा उसका सबै कुरा मूर्खतापूर्ण प्रतीत हुन्थे । तर यसका विपरीत उसलाई हिप्पोलाइतका तुच्छभन्दा तुच्छ कुराहरू भने धेरै प्रिय, रमाइला र मीठा लाग्थे । तर अहिले भने पियेरेले जे बोले पनि हृदयहारी र प्रमोदक लाग्थे । यद्यपिअन्ना पाभ्लोभ्नाले मुखै खोलेर यस्ता कुरा गरेकी होइन तथापि पियेरेको अन्तर्मनले अन्ना पाभ्लोभ्नाले यस्तै सोचिरहेझैँ मान्थ्यो र उसको नम्र स्वभावलाई ध्यानमा राखेर उसले खुलेर बोल्न नसकेकी मात्र हो ।

सन्‌ १८०५-०६ को जाडो मौसमको सुरुतिर पियेरेका हातमा अन्ना पाभ्लोभ्नाको सधैँजस्तो गुलादी रङ्गको कागजमा लेखिएको एउटा निमन्त्रणापत्र प्राप्त भयो, जसमा थप कुरा लेखिएको थियो – “तिमीसँग यहाँ सुन्दरी हेलेन पनि हुनेछिन्‌, जसलाई भेटेर तिम्रा आँखा कहिल्यै अघाउने छैनन्‌, तिमी मन्त्रमुग्ध हुनेछौ ।”

यो वाक्य पढेपछि पियेरेलाई यस्तो लाग्यो कि कर हेलेनका बीचमा एक प्रकारको सम्बन्धसूत्र स्थापित भइसकेको छ, जो अरूहरूले पनि अड्कल काटिरहेका छन् यो सोचेर पियेरे आफूसँग आफै तर्सियो – उसले सोच्यो कि उसलाई एक प्रकारको मनोरञ्न पनि प्राप्त भएझैँ अनुभव भइरहेको थियो, जसले उसलाई बिछुट्टै आनन्द र अदृश्य खुसी पनि प्रदान गरिरहेको थियो ।

अन्ना पाभ्लोभ्नाकोमा हुन लागेको भोज पहिले पहिले हुने भोजजस्तै थियो । तर थियो कि यस पटक नयाँ आकर्षणका रूपमा उसले मोर्टमार्टको ठाउँमा एक कूटनीतिक व्यक्तिलाई आमन्त्रित गरेकी थिई, जो केही समयअगि मात्र बर्लिनब थियो, जसले सम्राट्‌ अलेक्जेन्डरको पोद्सद्याम भ्रमणको पूर्ण विवरण ल्याएको थियो र, जसलाई यो पूर्ण जानकारी थियो कि कसरी त्यहाँ दुई महान्‌ मित्रहरूले मानवजातिको दुस्मनका विरुद्ध न्यायिक उद्देश्य रक्षा गर्नका लागि आपसमा अटुट रूपमा एकता कायम राख्ने प्रतिज्ञा गरेका थिए । अन्ना पाभ्लोभ्नाले पियेरेलाई स्वभावैले अँध्यारो मुख लगाएर स्वागत गरी । हुन सक्छ, उसको यो देखावटी विरक्ति काउन्ट बेजुकोभको मृत्युका कारण पियेरेमाथि पर्न गएको बजपातका कारण पर्दशन गरिएको होस्‌, (उपस्थित सबै आगन्तुकहरूले पनि यसै गरी पियेरेलाई उसको बाबुको असामयिक निधनबाट उमाथि पर्न गएको बजञ्जपात सहन गर्न सक्ने धैर्यता र क्षमताका लागि आशीर्वचन दिइरहेका थिए जसलार्इ वास्तावमा पियेरेले राम्ररी चिन्न पनि पाएको थिएन भने हुन्छ ।अत्ना पाभ्लोभ्नाले प्रकट गरेको यो विरक्ति त्यस्तै विरक्ति थियो, जस्तो विरक्त उसले उसको अत्यन्त आदरणीय सम्राज्ञी मारिया फेदोरोभ्नाका सम्बन्धमा चर्चा हुँदा प्रकट गर्ने गर्थी । पियेरेलाई भने उसको यो भावाभिव्यक्ति असाध्यै राम्रो लाग्यो । अन्ना पाभ्लोभ्नाल्न आफ्नो अभ्यस्त दक्षता प्रयोग गरेर पाहुनाहरूको विशेष रूपमा छुट्टाछुट्टै दल निर्माण गरी । ठूलो दलमा राजकुमार भासिली र अन्य जर्नेलहरू थिए, जसले उपरोक्त कूटनीतिक व्यक्तिसँग कुराकानी गरेर लाभ प्राप्त गरिरहेका थिए । दोस्रो दललाई चियापानको सामग्री भएको सानो टेबुलमा व्यवस्था गरिएको थियो । पियेरेले पहिलो दलमा सम्मिलित हुने इच्छा गर्यो । तर अन्ना पाभ्लोभ्नाले, जो युद्धक्षेत्रमा भएको सेनापतिको जस्तो उत्तेजित अवस्थामा थिई, जुन सेनापतिको दिमागमा (त्यस्तो अवस्थामा) हजारौँ किसिमका नयाँ-नयाँ बिचारधाराहरू खेलिरहेका हुन्छन्‌ र, जसमध्ये केही विचारधारा मात्र उसले कार्यान्वयन गर्न समर्थ हुन्छ, पियेरेलाई आफ्नोअगाडि देख्नेबित्तिकै उसको कोटको बाहुला समातेर उसलाई भनी :

“एकैछिन पर्ख, यो साँझ तिमीलाई मेरो मनभित्रका केही खास कुरा भन्ने विचार गरेकी छु ।” यति भन्दै उसले हेलेनतर्फ नजर फिराई र मुसुक्क मुस्कुराई ।

“मेरी प्यारी हेलेन, तिमीलाई अत्यन्त माया गर्ने फुपूमाथि दया गर । उसँग कृपापूर्वक मात्र दस मिनेट जति बसिदेऊ । त्यो यसकारणले कि तिमीलाई न्यास्रो लाग्ने अवसर नमिलोस्‌ । र अर्को कुरा यिनी हाम्रा अत्यन्त प्यारा काउन्ट पियेरे हुन्‌, जसले तिम्रो साथ दिन अस्वीकार गर्ने छैनन्‌ ।”

सुन्दरी हेलेन फुपू भए ठाउँतिर लागी तर अन्ना पाभ्लोभ्नाले भने केही महत्त्वपूर्ण, अनिवार्य र अन्तिम सूचना दिनुपर्ने जस्तो गरेर पियेरेलाई हात समातेर रोकी ।

“यो सुन्दरी, साँचो अर्थमा अद्भूत सुन्दरी छैन त ? हेलेन उसको अगाडिबाट यसो कतै लागेको मौका छोपेर ऊतर्फ इशारा गर्दै अन्ना पाभ्लोभ्नाले पियेरेलाई भनी । “लौ हेर, उसको हाउभाउ र सम्पूर्ण कटाक्ष, कति लोभाकर्षक देखिन्छे ! यस्तो उमेरकी केटी भएर पनि अत्यन्त व्यवहार कुशल र दक्ष आचरणकी धनी छ यो ! उसको व्यवहारमा लेस मात्र पनि कृत्रिमता छैन र ऊ मनकी पनि महानतम्‌ धनी छे । यस सुन्दरीको हुनेवाला लोग्ने कति भाग्यशाली पुरुष होला मलाई एक प्रकारको इर्ष्या जागेर आउँछ । यो सुन्दरीलाई आफ्नो पत्नी तुल्याउन सक्ने पुरुष त मलाई लाग्छ यस संसारको महान्‌ पुरुष सावित हुनेछ । के तिमीलाई मेरो कुरामा विश्वास लाग्दैन ? मेरो इच्छा तिम्रो आशय बुझ्ने मात्र हो यति भनेर अन्ना पाभ्लोभ्नाले पियेरेलाई जान दिई |

हेलेनको आचारविचार र व्यवहारसम्बन्धी कलाकौशलको बखान सुनेपछि पियेरेले पनि खुल्ला हृदयले आफ्नो सहमति जनायो । उसले हेलेनको बारेमा केही कल्पना गर्थ्यो भने हेलेनको सुन्दरताका विषयमा मात्र गर्थ्यो र उसको यो असाधारण क्षमता बारेमा नै हुन्थ्यो – ” हे सुन्दरी, तिमी यो उच्च समाजमा कसरी यति बिध्न, शान्त, मौन र कुनै स्वर्गीय देवीसमान भव्यमर्तिको प्रतिरूप भएर स्थापित हुन सकौली !”

बुढी फुपूले यी दुवै तन्नेरी र तरुनीको भव्य रूपमा स्वागत गरिन्‌ । तर उनी आफ्नो तर्फबाट हेलेनको प्रशंसा हिच्किचाएजस्तो देखिन्थिन्‌ । या भनौँ अन्ना पाभ्लोभ्नाका सामु खुलेर बोल्न उनलार्इ एक प्रकारको दहकस लागिरहेथ्यो । उनले आफ्नो भान्जीतिर यसरी हेरिन्‌ मानौं उनले यो सोधिरहेकी थिइन्‌ कि यी दुई प्राणीहरूबारे मैले के गरूँ ? यस्तै अवस्थामा उनीहरूबाट एकातिर पन्छिएर अन्ना पाभ्लोभ्नाले फेरि एक पटक पियेरेका कोटको बाहुला- समाउँदै भनी “मकहाँ हुँदा तिमीलार्इ कतै केही नरमाइलो त भएको छैन ? मलाई आशा र विश्वास छ तिमीले यस्तो कदापि भन्ने छैनौ, ” उसले हेलेनतर्फ नजर लगाई ।

सुन्दरी हेलेन मुसुक्क मुस्कुराई । उसको मुस्कुराहटको भाषाले यो बोलिरहेको थियो कि “उसलाई एक पटक देख्ने जो कोही पनि उसको रूप-लावण्यप्रति आकर्षित नभइरहन सक्तैसक्तैन । फुपूले खोकिन्‌ । खोक्दा निस्केको कफ निलिन्‌ र फ्रान्सेली भाषामा यो घोषणा गरिन्‌ कि हेलेनको उपस्थितिले उनलाई ज्यादै ठूलो आनन्द प्राप्त भइरहेछ । त्यसपछि उनले यिनै शब्दअनुरूप अनुहार लगाउँदै यो उद्गार व्यक्त गरिन्‌ हेलेनको उपस्थितिले उनलाई ज्यादै ठूलो आनन्द प्राप्त भइरहेछ । त्यसपछि फेरि उनले यिनै शब्द र भावको उद्गार व्यक्त गर्दै पियेरेलाई पनि अभिवादन गरिन्‌ । त्यो पट्यारलाग्दो र बिसौनीयुक्त वार्तालापको मध्यमा, हेलेनले पियेरेतर्फ मन्द मुस्कानसाथ यसरी हेरी, जसरी उसले अरूहरूलाई हेर्ने गर्थी । पियेरे पनि यो मुस्कानसँग अभ्यस्त भएको मान्छे थियो । अत: यस मुस्कानले उसलाई खास अर्थ राख्दैनथ्यो । सो उसले यो सुनियोजित मुस्कानप्रति खास ध्यान दिने चेष्टा गरेन । फुपूले पियेरेको बुबा काउन्ट बेजुकोभको नसदानीहरूको विषयमा गफ गर्दै थिइन्‌ र त्यस सिलसिलामा आफ्नो निजी तसदाती पनि उनीहरूलाई देखाइन्‌ । राजकुमारी हेलेनले उक्त नसदानीमा अङ्कित उनका श्रीमान्‌ अर्थात्‌ उसको फुपाजुको तस्वीर हेर्ने आग्रह गरी ।

“यो नसदानी चित्रकार भिनेसीले- नै बनाएको हुनुपर्छ,” पियेरेले प्रसिद्ध लघुचित्रकारको नाम उद्धरित गर्यो र उक्त नसदानीलाई हातमा लिने विचारले टेबुलतर्फ झुक्दै अर्को टेबुल-कुर्सीमा बसेका मान्छेहरू के कुरा गर्दैछन्‌ भनेर बुझ्ने अभिप्रायले त्यतातिर ध्यान दिदै भन्यो ।

ऊ नासदानी राखीएको टेबुलतिर लाग्ने हिसाबले यसो उठ्न मात्र लागेको थियो फुपूले हेलेनको पीठ पछाडिबाट नसदानी बढाउँदै उसको हातमा थमाइ दिई । हेलेनले पनि यसो अगाडितिर झुकेर सजिलो गराइदिई र मुस्कुराउँदै पियेरेतर्फ नजर लगाई । सबै रात्रि भोजहरूमा जस्तै हेलेन त्यस समयमा चल्ती फेसनअनुसार शरीरको अग्रभाग र पृष्ठभाग धेरै देखिने गरी खोलिएको पोशाकमा सजिएकी थिई । उसको वक्षस्थल जो पियेरेलार्इ सेतो संगमरमरजस्तो लाग्थ्यो, पियेरेको यति नजिक थियो कि उसका कामाशत्त आँखाले उसको काँध र गर्धनको सजीव सौन्दर्यपान नगरिरहन सकेन र यिनी खजानाहरू उसको ओठको यति नजिक थिए कि चुम्न चाहेको भए उसले यसो टाउको झुकाए मात्र पुग्थ्यो । पियेरे उसको शरीरको ताप, अत्तरको सुगन्ध र ऊ चलफिर गर्दा निसृ:त हुने उसले लगाएको कञ्चुकको झन्‌झन्‌ र झम्‌झम्‌ आवाजले पूर्णरूपले रोमाञ्चित हुन्थ्यो । ऊ पोशाकले सहाएको हेलेनको सङ्गगमरमरीय सौन्दर्य मात्र होइन, सोही पोशाकभित्र लुकेको उसको सम्पूर्ण शरीरको अङ्गअङ्गको सौन्दर्य दृश्य हेरिरहेको थियो । र, एक पटक देखिसकेपछि उसले त्यसलाई फेरि अर्कोपटक त्यही किसिमले कुनै अन्य रूपमा हेर्न सक्तैनथ्यो – जस्तै हामीहरूले एक पटक देखेको मोहभ्रमलाई मोहभ्रम हो भनेर बुझेपछि पुन: दोहोर्याएर त्यसको अस्तित्वलाई स्वीकार गर्न सक्तैनौँ ।

“त्यसो भए तिमीले म यतिविध्न सुन्दरी छु भन्ने कुराको अड्कल गरेकै रहेनछौ ?” हेलेनले यस्तो भनिरहेझैँ लाग्थ्यो । “तिमीलाई यो पनि थाहा रहेन छ कि म एउटी अवला नारी हँ ? हो, म एउटी नारी हुँ- अर्काकी श्रीसम्पत्ति, जो-जसकी पनि हुन सक्छु- तिम्रै पनि हुन सक्छु,” उसको कटाक्षले यही भन्थ्यो । र त्यही क्षण पियेरेको मनमा यस्तो अनुभुति भयो- हुन सक्ने मात्र होइन, हेलेन उसकै अर्धाङ्गिनी हुनै पर्दछ र योभन्दा अरू केही हुनै सक्तैन ।

पियेरेलाई अहिले यस्तो लागिरहेछ कि ऊ हेलेनसँग विवाहमण्डपमा बाँधिएर उभिएको छ । यो विवाह-विधिविधान कतिबेलासम्म चल्ने हो र कहिले समाप्त हुने हो उसलाई थाहा छैन । यो जे भइरहेछ राम्रो हुने हो वा नराम्रो – त्यो पनि उसलाई थाहा छैन । (उसको मनमा यस्तो पनि लागिरहेछ कि यो काम कतै कुनै किसिमले नराम्रो हुने त होइन ?) तथापि ऊ दुढप्रतिज्ञ छ कि जे भइरहेछ राम्रै भइरहेछ र, यो काम नभई छोड्दै-छोडदैन ।

पियेरेले एक पटक तलतिर आँखा झुकायो त्यसपछि फेरि माथिमाथि उठायो फेरि झुकायो र फेरि माथि उठायो । पियेरेको कुनै वस्तुलाई हेर्ने यो क्रम यस्तो थियो कि यसको अर्थ उसले हेलेनलाई घरीघरी र छिनछिनमा हेर्न चाहिरहेको छ । यद्यपि यस प्रक्रियामा ऊ अभ्यस्त भइसकेको थियो । तर उसले यस्तो गर्न सकेन -जस्तै कुनै व्यक्ति कृहिरोमा घाँसलाई पनि रूख ठानेर हेरेको होस्‌ र हेदाहेर्दा घाँस रहेछ भनेर चिनेपछि फेरि रुख ठानेर हेर्न सक्तैन ।

हेलेन पियेरेको नजिकै थिई । उसले पियेरेमाथि एकाधिकार स्थापित गरिसकेकी थिई भने हुन्छ । तर उनीहरूको बीचमा पियेरेका इच्छाविरुद्धबाहेक हुन सक्ने अर्को कुनै किसिमको अड्को थाप्न सक्ने स्थितिमा पनि ऊ थिइन ।

“यो त राम्रै भयो । म तिमीलाई एकान्त कुनामा छोडेर जाँदैछु । म यो अनुभव गरिरहेकी छु कि तिमीलाई असाध्यै मजा भइरहेको हुनुपर्दछ,” अनायास अन्ना पाभ्लोभ्नाको मुखबाट यस्ता शब्दहरू निस्केको सुनियो ।

यता पियेरेले आत्तिँद र लाज मान्दै आफूले केही अपक्रिया गरेँ कि भन्ने उपशङ्काले यताउति नजर लगायो । उसलाई यस्तो लाग्यो कि आफू स्वयमूले बुकेजस्तै अरूहरूले पनि उसका वारेमा के भएको हो भनेर ऊ राम्ररी बुझेको हुनुपर्दछ ।

एकैछिन – पछि जब पाहुनाहरूको ठूलो भीडमा, आयो, अन्ना पाभ्लोभ्नाले उसलाई भनी : “म सुन्दै छु कि तिमी आफ्नो पिटर्सबर्गको घरको मरमत सम्भार गर्न र नयाँ बान्की दिन लागिरहेछौ !”

यो सही कुरा थियो । वास्तुविज्ञले यसो गर्न जरुरी भएको कुरा उसलाई भनेको थियो । तर पियेरेले केही कुरै नबुझी पिटर्सवर्गको त्यो विशाल भवनलाई नयाँ रूप र नयाँ बान्की दिदै थियो ।

विचार राम्रो हो तर तिमीले भासिलीको घर भने नछोड । राजकुमार भासिलीजस्ता असल साथी पाउनु भनेको ठूलो कुरो हो, उसले मुस्कुराउँदै राजकुमारतर्फ हेरेर भनी । “म पनि केही कुरा विचार गरेर बोल्छु र मैले पनि केही कुरा बुझेकी छु । होइन त? तिमी एक किसिमका अल्लारे बुद्धि भएको युवक हौ । तिमीलाई परेको बेलामा उचित सरसल्लाह दिने मानिस चाहिन्छ नै । म बुढीले भनेको कुरामा चित्त नदुखाक ।” ऊ चुप लागी, जसरी कि बुढी आइमाईहरू सबैजसो आफ्नो उमेरको तर्क अगि सारेपछि चुप लाग्ने गर्छन्‌ । “तिमीले हेलेनसँग विवाह गर्यौ भने त्यो छुट्टै कुरा हो,” उनीहरू दुवैलाई एउटै दृष्टिसूत्रमा बाँधेर उसले कुरा फेरि चालु राखी । पियेरैले हेलेनलाई हेरेन न त हेलेनले नै पियेरेलाई हेरी । तर ऊ पियेरेको एकदम नजिकै थिई । पियेरे केही फत्‌फतायो र उसको अनुहारमा एक प्रकारको लाली दौड्यो ।

घर पुगेपछि उसलाई धेरै रातीसम्म निद्रा परेन । आफ्नो विषयमा यो कस्तो खालको घट्ना घटन लागिरहेको छ भन्ने विषयमा उसले सोचिरह्यो। हो त नि, यो के हुन लागेको हो ? यो कि भयो? आ…….-केही पनि भएको छैन । उसले यति मात्र बुझेको थियो कि त्यो महिला, जसलाई उसले एउटी फुच्ची केटीको रूपमा हेरेको थियो र जसको रूपको बारेमा उसको अगाडि बखान गरिन्थ्यो हेलेन ज्यादै रूपवती छ भनेर, उसले विसुद्धी तालले भनिदिन्थ्यो, हो, ऊ रूपवती छ । सुन्दरी छ र, उसले यति बुझेको थियो कि उक्त सुन्दरी आफ्नी श्रीमती हुन सक्छे ।

“तर ऊ अधबेसी छे । म आफैँ भन्दैछु कि उ मूर्ख छे,” उसले सोच्यो । उसले मप्रति जगाएको उत्तेजित भावनाभित्र केही घिनलाग्दो वस्तु लुकेको छ- केही अनुचित तत्त्व प्रबेश गरिको छ । त्यो प्रेम होइन ।” मलाई भतिएको छ कि उसको दाइ अनातोलले उसलाई प्रेम गर्छ र त्यसै गरी उसले पनि आफ्नो दाइलाई प्रेम गर्छे । त्यही कारणले गर्दा एउटा ठूलो रडाको र एउटा कलङ्कित काण्ड मच्चियो र, त्यसैले गर्दा अनातोललार्इ यहाँबाट अन्त पठाइयो । हिप्पोलाइत उसको दाइ हो ………….. राजकुमार भासिली उसको बुबा हो, यो साह्रै नराम्रो कूरा, हो…….. ” उसले विचार गरिरहेको थियो ।

जब यस्तो विचार गरिरहेको थियो (उसको चिन्तन अझै पूरा भएको थिएन) उसले आफूले आफैलाई मुस्कुराइरहेको पायो । ऊ पूर्ण रूपमा सचेत थियो त्यसैले उसको मनमा विचारको पहिलो शृङ्खलाका साथसाथै अर्को शृङ्खलाको पनि जन्म भएको थियो र हेलेनलाई तुच्छ र मूल्यहीन महिला मानेको अवस्थामा कसरी ऊ आफ्नी श्रीमती हुन सक्छे भन्ने विषयमा पनि ऊ घोत्लिरहेथ्यो । उसले कसरी आफूलाई प्रेम गर्ली र कसरी भिन्न हुन सक्ली भन्ने विषय पनि त्यत्तिकै रूपमा गम्भीर थियो । यस्तो स्थितिमा उसको बारेमा उसले सोचेका र सुनेका सबै कुराहरू कसरी गलत हुन सक्छन्‌ । विचारको यस्तै दोसाँधमा उसले हेलेनलाई फेरि भासिलीको छोरीको रूपमा नभएर उसको सम्पूर्ण शरीर केवल खैरो रङको पोशाकले सजिएको पिण्डका रूपमा हेर्यो । “तर होइन, धत्तेरिका । मेरो दिमागमा यो कुरो किन पहिलेदेखि घुसेन ?” उसले फेरि आफूसँग आफैंले भन्यो – कि यो विवाह सम्भव हुन सक्तैन । उसलाई यस्तो लाग्यो कि यो विवाह एकदम घिनलाग्दो, अस्वाभाविक र लज्जास्पद हुनेछ । उसलाई हेलेनले प्रकट गरेका पहिलेका शब्दहरू र उसको हेराईको छाँट तथा ती मानिसहरूका शब्द र हेराईको छाँट याद भयो जसले उनीहरूलाई सँगसँगै देखेका थिए । उसले अन्ना पाभ्लोभ्नाका शब्द र हेराइको छाँट सम्झ्यो, जुन बखत उसले उसको पिटर्सबर्गको घरका बारेमा कुरा गरेकी थिर्इ । त्यस्तै उसले राजकुमार भासिली र अन्य व्यक्तिहरूद्वारा व्यक्त हजारौँ,त्यस्ता सङ्केतहरू सम्झ्यो । र यस्तो सोचेर ऊ एकदम आत्तियो – उसले कतै कुनै प्रकारको काम आफूले फत्ते गर्नु पर्ने जिम्मेवारी त लिएको छैन – जुन काम गर्नु योग्य छैन र जुन काम उसले गर्न हुँदै हुँदैन । तर फेरि सोही बखत, जब उसले एउटा मनले यस्तो निर्णयको अभिव्यत्ति दिइरहेको थियो भने उसको मनको अर्को कुनामा एउटी सुन्दरी महिलाको रूपमा हेलेनको बिम्ब प्रतिविम्बित भइरहेको थियो ।