
इजरायलमा जन्मिएका ४५ वर्षीय युवाल नोह हरारीले अक्सफोर्ड विश्वविद्यालयबाट इतिहासमा पिएचडी गरेका हुन् । उनी सबैभन्दा बढी चर्चित उनका बेस्ट सेलर पुस्तकहरू सेपियन्सः अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड, होमो डियसः अ ब्रिस हिस्ट्री अफ टुमरो तथा २१ लेसन्स फर ट्वेन्टी फस्ट सेन्चुरीका कारण छन् ।
गएको वर्ष सेपियन्स पुस्तकमा आधारित सेपियन्सः अ ग्राफिक हिस्ट्रीको दोस्रो भाग द पिलर्स अफ सिभिलाइजेन्स बजारमा आउँदैछ ।
इजरायलको राजधानी तेल अभिभमा आफ्ना समलैंगिक पतिका साथ बसिरहेका उनी जेरूसलेमस्थित हिब्रु विश्वविद्यालयमा इतिहास पढाउँछन् ।
सबैभन्दा खुसी तपाईं कुन बेला हुनुहुन्छ ?
अहिले । म १० वर्ष या २० वर्ष हुँदाका बेला भन्दा मैले मेरा अपेक्षा तथा वास्तविकतालाई व्यवस्थापन गर्न सिकेँ ।
तपाईंलाई लाग्ने सबैभन्दा ठूलो डर के हो ?
हामीले महसुस गर्नुभन्दा अगाडि नै हाम्रो मानव जाति नष्ट हुनेछ भन्ने सोच्दा ।
बच्चा बेलामा सबैभन्दा तीक्ष्ण याद आउने कुरा ?
पहिलो लेबनान युद्ध र फकल्यान्ड युद्ध । त्यत्र बेला म ६ वर्षको थिएँ । टेलिभिजनमा डुब्दै गरेका बेलायती जल पोत सम्झन्छु । त्यो दृश्यले ममा गहिरो प्रभाव छाडेको छ ।
तपाईंको आफ्नो कुन कुरालाई मन पराउनु हुन्न ?
मलाई त मेरा प्रत्येक व्यवहारका सकारात्मक तथा नकारात्मक सम्भावनाका रूपमा हेर्छु । चाहे राम्रा व्यवहार हुन् वा नराम्रा, तिनलाई मैले पाठ सिक्ने कुँजीका रूपमा पाउँछु । उदाहरणका लागि, रिस र न्याय एउटै सिक्काका दुई पाटा हुन् । जब तपाईं न्याय पाउनुहुन्न अनि रिसाउनु हुन्छ ।
तपाईंको सबैभन्दा मन पर्ने सम्पत्ति ?
मेरो शरीर ।
तपाईंले कुनै सुपर पावर पाउनु हुने भए ?
म वस्तुहरू जस्ता छन्, जे छन्, तिनलाई तिनैको स्वरूपमा हेर्न सक्ने हुन्थेँ ।
तपाईंलाई आफ्नो के मन पर्दैन ?
मेरो थोपडा ! म जहिले पनि मुस्कुराउन खोज्छु, सक्दिनँ । जहिले पनि तस्बिरमा केही हुप्प परेजस्तो देखिन्छु ।
तपाईंलाई आफ्नो मन नपर्ने बानी ?
म मेरा वरिपरिका मानिसहरूलाई उनीहरूको कृपाका बदलामा पर्याप्त धन्यवाद दिन सक्दिनँ । बानी नै त्यस्तो छ । म त्यसलाई सित्तैको सुविधा ठानिदिन्छु । उनीहरूले मेरो कृतज्ञता बुझिहाल्छन् नि जस्तो ठान्छु तर त्यस्तो हुँदैन ।
कुन किताब नपढेकामा तपाईंलाई लज्जाबोध हुन्छ ?
मलाई लज्जाबोध हुँदैन । मेरो विचारमा कुनै पनि त्यस्तो पढ्नैपर्ने किताब हुँदैन ।
तपाईंको जीवनको सबैभन्दा महान् प्रेम के हो ? को हो ?
मेरा पति इत्जिक । इजरायलको सानो शहरबाट हामी आए पनि डेटिङ एपमा नभेट्दासम्म हामीले एकअर्कालाई देखेकै रहेनछौँ । २० वर्षअघिदेखिको त्यो चिनजानलाई हामीले क्यानडाको टोरन्टोमा सन् २०१० मा विवाहमा परिणत गर्यौं ।
जीवनमा सबैभन्दा खराब काम के गर्नुभयो ?
म १६ वर्षको छँदा, गर्मीको छुट्टीमा मैले एउटा फ्याक्ट्रीमा काम गरेँ । म जति खराब इतिहासकार छु, त्योभन्दा खराब कारखानाको मजदुर रहेछु !
अहिलेसम्मकै सबैभन्दा ठूलो दुःख के रहँदै आएको छ ?
मैले जीवनलाई अझै थाहा पाउन सकेको छैन । म युवावस्थाको छँदा एउटा बिन्दुमा जीवन बुझ्ने कोही फेला पार्नेछु भन्ने सोचेको थिएँ । र, यतिबेला म ४५ वर्षको भइसक्दा पनि जीवन बुझ्ने कोही फेला पारूँला भन्नेमा शङ्का लागिरहेको छ ।
तपाईंले आफ्नो विगतलाई सम्पादन गर्न सक्नुहुन्थ्यो भने के गर्नुहुन्थ्यो होला ?
म १६ या १७ वर्षको उमेर सम्पादन गर्थें, जुन बेलामा म साह्रै दुविधाको अवस्थामा थिएँ । तर २१ चाहिँ गर्दिन थिएँ । मैले प्रेम फेला पारेँ ।
पछिल्लो पटक तपाईं कहिले रूनु भयो ? किन रूनु भयो ?
केही वर्षअघि मैले पालेको कुकुर मर्दा म नमज्जाले रोएँ । हामी ग्रिसमा बिदा बनाउन गएका थियौँ । यता घरमा मेरो कुकुरको रेखदेख गर्न एउटा साथी थिइन् । उनले हामीलाई कुकुरलाई सर्पले टोकेको जानकारी दिइन् । हामी हतारिँदै घर फर्कियौँ तर अन्तिम अवस्थामा हेर्न पाएनौँ । हामी पुग्नुभन्दा केही घण्टा अघि नै उसको मृत्यु भइसकेको थियो ।
तपाईंले पछिल्लो समय आफ्नो सोच कुन महत्त्वपूर्ण चिजका बारेमा परिवर्तन गर्नुभयो ?
यही वर्ष र कोभिडका बारेमा । संसारका ठूला समस्याका बारेमा हामी संसारभरिका सबै जना एकजुट हुनुपर्छ भन्ने लागेको थियो । यो समस्या समाधान गर्न सबै एक जुट होलान्, समस्या सोचेभन्दा चाँडो समाधान होला भन्ने लागेको थियो तर एक जुट भएको पाइएन । सबैले आफ्ना दुःख मात्र ठूलो ठाने । यो बेला मलाई लाग्यो, संसारलाई कुनै पनि कुरामा एकजुट गराउनु सम्भवतः असम्भव छ ।
मृत्युको निकट अनुभव पाउनु भएको छ ?
म १३ वर्षको छँदा सन् १९९१ मा खाडी युद्ध भइरहेको थियो । एउटा इराकी मिसाइल हाम्रो घर छेउमा पड्कियो । यसपछिको भागदौडमा एउटा गाडीले झन्डै मलाई किचेर दौडिएको ! म बालबाल बाँचेको छु ।
तपाईंले थाहा पाउनु भएको एउटा रहस्य बताउनुस् त ?
संसार चलाउने जति पनि मानिसहरू छन्, तिनले संसार बुझेका छैनन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










