केही दिन यता ९२ वर्षे यी हजुरबा गोर्डन म्याकुलोकको चर्चा निकै बढेको छ । यिनले अमान्डा गोरम्यान र रूपी कौरजस्ता पछिल्ला छिमलका कविका बेस्ट सेलरलाई समेत उछिनेपछि उनको चर्चा हुन थालेको हो ।

जीवनभर कविता लेखे पनि कहिल्यै छपाउन ध्यान नदिएका यी बूढाको कविता मोह देखेपछि उनकी नातिनीले इन्स्टाग्राममा पोस्ट गरिदिने गरेकी थिइन् । गएको मार्च २४ मा उनले गोर्डनका १०१ कविताहरूको संग्रह अमाजन डटकममा बिक्रीका लागि राखेकी थिइन् । हेर्दाहेर्दा संग्रह बेस्ट सेलर बन्न पुग्यो । यसरी आफैँ प्रकाशक भएर निकालिएको पुस्तक बेस्ट सेलर भएर अन्यलाई उछिन्नु दुर्लभ नै मानिन्छ ।

प्रेम, रोमान्स, सम्बन्ध, धर्म, प्रार्थना, जीवनको अर्थ, मृत्यु तथा भगवानसँगको सम्बन्धजस्ता अनेकन् विषयमा उनले कविता लेखेका छन् । यो कविता बेस्ट सेलरमा पर्नेबित्तिकै अमाजनको बेलायती संस्करणमा यो १४ औँ नम्बरमा परेको थियो भने अमेरिकी अमाजनमा उत्कृष्ट ८ बिक्री भएका पुस्तक सूचीमा परेको थियो । किताबले हजारभन्दा बढी फाइभ स्टार प्राप्त गर्न सफल भएको छ ।

हुन त निस्कनेबित्तिकै कवितालाई पाठकहरूले रूचाए पनि गोर्डनकी नातिनी जेसिका केचीले उनको ट्वीटर अकाउन्टका फलोअरहरूलाई किताबबारे केही लेखेर आफ्ना वृद्ध हजुरबालाई खुसी बनाइदिन गएको अप्रिलमा आग्रह गरेकी थिइन् ।

उनको त्यो ट्विट यति भाइरल भयो कि लगभग तीन लाख लाइक पाएको थियो । उनले लेखेकी थिइन्, “हजुरबाको यो कविता संग्रहलाई हामीले एउटा घरेलु प्रोजेक्टका रूपमा लिएका थियौँ । केही सयले मन पराए र एक सय प्रति मात्र बिक्री भए हामीले ठूलो सफलताका रूपमा हेरेका थियौँ । तर बूढा भाग्यमानी निस्किए । बेस्ट सेलर मात्र भएन, संसारभरका पाठकहरूले अहिले उहाँलाई पढिरहेका छन् ।”

उनले आफ्ना हजुरबालाई सानो खुसी दिन खोजेकी थिइन् तर बेस्ट सेलरको यति ठूलो अचम्मको पोको बनेर आइदियो कि जेसिकाले आफ्ना ट्वीटरका फलोअरहरूलाई धन्यवादसमेत दिएकी छन् । एउटी नातिनीका रूपमा हजुरबा प्रतिको दायित्व थोरै भए पनि पूरा गर्न सकेकामा आफूलाई भाग्यमानी ठानेको उनले प्रतिक्रिया दिएकी छन् ।

किताबको बिक्री हुँदै जाँदा यतिबेला आफ्ना बाको दमक निकै बढेको उनका छोरा विलियमले बताएका छन् । “मेरा बाले जीवनभर कविता लेखे तर कसैले छाप्न मानेको थिएन,” विलियमले गार्डियनसँग भने, “यति धेरै अस्वीकार बाले झेले कि जीवनको अन्तिम दिनहरूमा उनको खुसीका लागि हामीले यी कविता आफैँ छापिदिने निर्णय गरेका थियौँ ।”

छोरा विलियम भन्छन्, “बाले जीवनका विविध आयामबारे लेख्नु भएको थियो । मलाई उहाँका कवितामाथि विश्वास थियो । किनभने लेखाइमा इमान्दारिता देखिन्थ्यो । जुन इमान्दारिताले मलाई छोएको थियो, शायद अरूलाई पनि छोला भनेर किताब प्रकाशन गरेका थियौँ ।”

नातिनी जेसिका भन्छिन्, “मेरा हजुरबा निकै वृद्ध हुनुहुन्छ र हिँडडुलमा कठिनाइ छ । तर उहाँले जीवनको अन्तिम क्षणतिर आइपुग्दा कल्पनै नगरेको सपना पूरा भएकोमा भरपूर मजा लिइरहनु भएको छ ।”

“जीवनभर लेख्ने प्रयास गरिरहेकाहरूलाई उहाँ एउटा प्रेरणा हुनुहुन्छ,“ अमाजनको युरोपेली किताब शाखाकी निर्देशक सिमोन जोन्सन भन्छिन्, “सफलता भन्ने कुरा अनुमान गर्न ज्यादै कठिन चिज हो । यो उमेरमा गोर्डनको सफलताले निरन्तर प्रयास गर्न सबैलाई प्रेरित गरेको छ ।“

यो उमेरमा यस्तो सफलता नयाँ कुरा भने होइन । ९९ वर्षको उमेरमा जापानी कवि तोयो सिबाताले सन् २००९ मा यसरी नै आफैँ प्रकाशन गरेको कविता संग्रह ‘डन्ट लस हर्ट’ १५ लाख ८० हजार प्रति बिक्री भएर कीर्तिमान कायम गरेको थियो । जापानमा कुनै कविताकृति १० हजार प्रति बिक्री हुनु बेस्ट सेलर मानिन्छ ।

उनले ९२ वर्षको उमेरबाट लेख्न थालेकी थिइन् । ४२ वटा कवितालाई उनले संग्रह गरी प्रकाशन गरेकी थिइन् ।

जापानी शास्त्रीय नृत्यमा पारंगत तोयोको ६५ वर्षको उमेरमा ढाडमा समस्या आएपछि उनका छोराले नृत्यभन्दा बढी लेखनमा जोड दिएका थिए र कविता लेख्नु राम्रो भएको भन्दै हौस्याएका थिए । ९० वर्षको उमेरमा उनका पतिको निधनपछि भने उनले कविता लेखनलाई आफ्नो पीडा भुलाउने माध्यम बनाएकी थिइन् ।

पुस्तक प्रकाशनपछि अर्को संग्रहको तयारी थाल्दै गर्दा १०१ वर्षको उमेरमा उत्तरी टोक्योको उत्सुनोमियामा उनको निधन भएको थियो ।