हामीलाई बाल्यकालमा सुनाइएका क्षति पुर्याउने कथाकहानीलाई आफ्नो दिमागबाट निकाल्न नसकौँला तर हामी यसरी हरेक पिँढीले सुनाउने त्यस्ता क्षति पुर्याउने कथा सुनाउने अभियानलाई रोक्न भने सक्छौँ ।
हामी बालबालिकालाई इतिहासबाट जोगाउन सक्दैनौँ । युक्रेनमा लाखौँ परिवारहरूले भ्यालिमिर पुटिनको युद्धमा आफ्नो घर गुमाए । दिल्लीमा यसपालाको रेकर्डतोड गर्मीका बेला घरैमा बालबालिकाहरू बसे । उनीहरूले पढ्ने खेल्ने अवसर पाएनन् । खाद्यान्नको मूल्य संसारभर नै उच्च हुन थालेको छ । यही कारण संसारभरिका गरिब बालबालिकाहरू भोकै सुत्न बाध्य छन् । त्यसैले निश्चय पनि आउँदो पिँढीले यी ठूला प्रश्नहरूका बारेमा गम्भीर भएर सोच्नै पर्छः युद्ध किन भइरहेको छ ? प्रकृतिमा हाम्रो ठाउँ कहाँ छ ? पैसा के हो र यो यति धेरै महत्त्वपूर्ण किन छ ?
प्रायः बालबालिकाहरू यी प्रश्नहरूलाई वयस्कहरूको तुलनामा बढी गम्भीरतापूर्वक लिन्छन् । जुन कुरालाई वयस्कहरूले त्यति धेरै महत्त्व दिँदैनन्, उनीहरू ती कुरा उठाइरहेका हुन्छन् । जब कोही बालबालिका हाम्रा प्रत्येक जवाफमा किन भनेर सोध्छन्, यस्तो बेलामा तिनका अभिभावकले पक्कै पनि दिक्क मान्छन् । जुन कुरालाई वयस्कहरू धेरै पहिले सोच्नै छाडिसकेका हुन्छन्, प्रायः बालबालिकाहरू ती कुराको गहिराईमा पुग्ने प्रयास गरिरहेका हुन्छन् ।
झूटा ऐतिहासिक आख्यानहरूबाट बालबालिकालाई हामी जोगाउन सक्दैनौँ । बालबालिकाले निकै कम उमेरमा नै मिथक र झूटा जानकारीहरू पढेका हुन्छन् । उनीहरूलाई हालैको ताजा घटनाका बारेमा भन्दा बरू मानवताको आधारभूत कथानकका बारेमा बढी मनगढन्त कुरा सुनाइएका हुन्छन् । हामी को हौँ, कहाँबाट आयौँ, हामी यहाँ कसरी आइपुग्यौँ भन्नेबारे ठोस र वास्तविक कुराहरू बालबालिकालाई पढाइँदैन ।
उदाहरणका रूपमा, मेरो देश इजरायलमा स्कुले शिक्षामा नियान्डरथलका बारेमा जान्नु पहिले वा फ्रान्समा रहेको लसकक्स गुफा वा इन्डोनेसियाको सुलावेसी गुफामा पुरापाषाणकालका चित्रहरूका बारेमा जान्नु भन्दा पहिले बाइबलको गार्डन अफ इडनका बारेमा पढ्ने गर्छन् । उनीहरूलाई कसरी नोआको नाउका कारण संसार जोगियो भन्ने कथा पढ्छन् । त्यसका सुन्दर रंगीन चित्रकथामा रमाउँछन् ।
नियान्डरथलका कथा वा गुफाका चित्रहरूको वास्तविकताले भन्दा नोआको कथाले बालबालिकालाई बढी आकर्षित गर्छ तर त्यसले उनीहरूलाई हानि नै पुर्याउँछ ।
बाइबलको कथा ‘जेनेसिस’मा रहेको ‘संसारलाई डुबाऊ र त्यसलाई अधीनमा लिऊ’ भन्नेदेखि औद्योगिक क्रान्ति र अहिलेको पारिस्थितिक संकटसम्म एउटा सिधा रेखा खिँच्न सकिन्छ । प्रभावको यस्तो एउटा अर्को सिधा रेखा रूसका बालबालिकाले पढिरहेको ऐतिहासिक आख्यानहरूदेखि लिएर युक्रेनमा पुटिनले गरेको आक्रमण र त्यसको परिणामस्वरूप उत्पन्न खाद्यान्नको वैश्विक संकटसम्म तान्न सकिन्छ ।
यदि हामीले बालबालिकाहरूलाई मिथकहरूकै भरमा छाडिदिने हो भने पछिको जीवनमा ती धारणाहरू उनीहरूको दिमागबाट निकाल्न निकै गाह्रो हुन्छ । हामीले बालबालिकाहरूलाई ठूला मुद्दामा कट्टर आस्थाहरूको साटो वास्तविकता र साक्ष्यहरूमा आधारित वैज्ञानिक र जिम्मेवारीपूर्वक खुलेर कुराकानी गर्नुपर्छ । मिथकले बनाएको धारणालाई पछि जतिसुकै मिहिनेत गरे पनि हामीले निकाल्न सक्दैनौँ । मैले बालबालिकाहरूका लागि संसारको इतिहास लेख्दाका बेला यस्ता कयौँ समस्याहरू स्वयंले भोगेँ ।
मैले जब बालबालिकाहरूका लागि इतिहास लेख्न थालेँ, मैले के सिकेँ भने बालबालिकाहरूका लागि ठूला मुद्दामा कुरा गर्न निकै कठिन काम हो । वास्तवमा यो निकै संवेदनशील काम हो । केही विषय निकै रमाइला पनि छन्, जस्तो कि पाषाणयुगका शिकारी संग्रहकर्ताहरूको त्यो दैनिक जीवनका बारेमा खोजीनिधि गर्नु, जब मािनसहरू जंगलमा बस्थे र बालबालिकाहरूलाई रूखमा चढ्न, जनावरहरू खोज्न र आगो बाल्न सिकाउँदै दिन बिताउँथे । तर अन्य विषय निकै चुनौतीपूर्ण हुन्छन् । उदाहरणका लागि जब हामी सेपियन्स र नियान्डरथलहरू एकअर्कासँग भेट भए, त्यो बेला के भयो होला ? जब कुनै बच्चाकी आमा सेपियन्स र बाउ नियन्डरथल थियो भने त्यो बच्चोको जीवन कस्तो थियो होला । यो चर्चाले नश्लवाद, युद्ध, सामूहिक जनसंहार र प्रजातिहरूको लुप्त हुनुजस्ता कयौँ विषयतर्फ लैजाने गर्छ ।
इतिहासका ती अँधेरा पक्षका बारेमा कुरा गर्न निकै जरूरी छ तर ती सबै कुरा सुनेर बालबालिका आतंकित नहोऊन्, त्यो चाहिँ कसरी सुनिश्चित गर्ने ? यसको एउटा मार्गदर्शक सिद्धान्त त के हुन्छ भने हामी आतंकको स्पष्ट वर्णनहरूका लागि त्यतिञ्जेलसम्म प्रतीक्षा गर्नुपर्छ जबसम्म श्रोताले त्यसलाई पचाउन सक्ने जति परिपक्व हुँदैनन् । बरू त्यसको साटो विपत्ति र अन्यायहरूका चर्चा गर्दा राम्रो हुन्छ र परिवर्तनका वाहकका बारेमा बढी जोड दिइनुपर्छ ।
स्थिति जतिसुकै भयवाह किन नहोस्, मानिसहरू अहिलेको भन्दा राम्रो अवस्थाका लागि परिवर्तन ल्याउन जोड दिन्छन् । यो इच्छित चिन्तन होइन बरू इतिहासको सार हो ।
संसार सधैँ यस्तै हो, आज जे जस्ता समस्या थिए, हिजो पनि छँदैथिए र यही नै मानिसले आफूलाई अघि बढाउने अवस्था हो भन्ने लाग्नु स्वाभाविक हो । परिवर्तन असम्भव छ भन्ने लाग्न पनि सक्छ हामीलाई । हामीले परिवर्तन गर्न सक्दैनौँ र देखिएका समस्या समाधान गर्न हामी अक्षम छौँ भन्ने पनि लाग्न सक्छ । यस्तोमा प्रकृतिलाई सहनु र त्यसैमा अभ्यस्त हुनु पर्छ भन्ने लाग्न सक्छ । हामीले आफैँलाई सान्त्वना दिन मात्र यस्तो भन्छौँ । इतिहास अध्ययन गर्दा थाहा हुन्छ, वास्तवमा मान्छे सधैँ समस्यामा अभ्यस्त रहन जन्मेको होइन । समयअनुसार समस्यालाई जितेर, त्यसको समाधान खोजेर अहिलेसम्म आइपुगेको हो । मान्छेकै प्रयासस्वरूप संसार बदलिएको छ । अहिलेको संसार यस्तो यस कारणले छ कि मान्छेले परिवर्तनका लागि जोड दिए । हुन त यो कुनै सजिलो काम पनि होइन । परिवर्तन ल्याउनु चानचुने कुरा होइन, हुँदै होइन । तर परिवर्तन ल्याउन मानिसले पटक पटक नयाँ नयाँ प्रयास गरेको छ ।
यही कारणले इतिहास शक्तिशाली छ । यसको कथा प्रभावशाली छ । इतिहास नै संसार बदल्ने कुँजी हो । त्यसैले त कयौँ ठाउँमा सरकार पनि इतिहाससँग डराउने गर्छन् । नेताहरूले कहिल्यै पनि गणित वा भौतिकी पढ्न प्रतिबन्ध लगाउँदैनन् तर धेरै सरकारले खासगरी नवयुवाहरूलाई इतिहासका केही अंश पढ्न रोक लगाउँछन् । उनीहरू पुराना राजा महाराजाले गरेका शासन थिए, ती यतिबेला डढेर खरानी भए होला, तिनको चिहानमा नजाने कयौँ रूख जन्मिए होलान् तर तिनका गतिविधि र कथाले हाम्रो दिमागमा झन्झनाहट उत्पन्न गरिदिन्छन् । त्यही झन्झनाहटका कारण परिवर्तनका लागि युवाले जोड नदिऊन् भनेर सरकारले त्यस्ता खास कुरा पढ्नबाट रोक्छन् ।
आखिर ती राजा महाराजाहरू त धेरै वर्ष पहिले नै मरिसकेका थिए, तिनले देउताहरू, विभिन्न देशहरू, पैसा र प्रेमका बारेमा विभिन्न थरिका किस्साहरू रचना गरेका थिए र तिनलाई प्रचारप्रसार गरेका थिए । त्यही कुरालाई अहिले पनि अधिकांशले विश्वास गर्छन् र त्यसैलाई सत्य मानेर अघि बढिरहेका छन् । ती आख्यानबाट केही स्वतन्त्रता पाउनका लागि भिन्न किसिमका आचरण गर्नका लागि हामीले बुझ्न जरूरी छ, कस्ता कथा कसरी रचना गरिएका थिए र तिनलाई कसरी प्रचारप्रसार गरिएको थियो । हामीले यी कुरालाई सत्य र झूटोको कसीमा जाँचेनौँ भने र तिनलाई बालबालिकाहरूलाई कसरी यस्तो भयो, किन भयो, यो कसरी हुनसक्छ भनेर सोध्न सिकाएनौँ भने तिनको प्रतिभा मर्छ । बालबालिकाहरूले किन भनेर सोध्नु नै पुराना किस्साको जरो हल्लिनु हो ।
हामीले हाम्रा सन्तानलाई आफ्नो जिम्मेवारीको बोझ बोकाउनु हुन्न । बालबालिकाहरूसँग उनीहरूले हाम्रा योजना पूरा गरिदिऊन् भन्ने अपेक्षा गर्नुहुन्न । हामीले खोजेको समाधान बालबालिकाहरूले खोजिदिऊन् भन्ने अपेक्षा उनीहरूबाट गर्नुहुन्न । वयस्कहरूको नियमपुस्तिकाको सबैभन्दा पुरानो पाप नै हामीले हाम्रा कुरा बालबालिकाहरूबाट अपेक्षा गर्नु हो । बालबालिका ठूला मुद्दाका कुरा गर्दाका बेला हामीले बेलाबेलामा सोध्न जरूरी छ कि केटाकेटीले किन यस्तो सोधिरहेका छन् र हामीले किन इतर व्यवहार गरिरहेका छौँ ?
संसारका हरेक व्यक्ति आफ्नै किसिमको भारी बोकिरहेको हुन्छ । हामीले जब बालबालिकाहरूलाई वा नवयुवालाई इतिहास पढाइरहेका हुन्छौँ, कहिलेकाहीँ हाम्रा बोझ पनि उनीहरूको काँधमा त्यो बोझ थपिदिन्छौँ । हामी हाम्रा सन्तानले हाम्रा विश्वास, स्मृति, पहिचान र द्वन्द्वलाई पनि बोकेर अघि बढून् भन्ने चाहन्छौँ र कतिपय अवस्थामा ती पूरा जीवनभर बोकिरहेका हुन्छन् पनि ।
हामीमध्ये पनि कतिपय त्यही बोझ त बोकेर बहस गरिरहेका हुन्छौँ !
यस्तो गर्नु नाजायज होइन र ? इतिहास पढाउनु भनेको बालबालिकाहरूलाई कम्तीमा उनका केही डर, केही भ्रम र केही घृणाबाट मुक्त गर्नु हो । हामीले उनीहरूलाई भन्नुपर्छ, हेर नानी हो, यी कुरा देखिरहेका छौ ? यिनले मलाई वर्षौंदेखि चिन्तित बनाइरहेका छन् । तिमीहरू पनि यसरी त्यसमा नअल्झिनू, अघि बढ्नू ।
इतिहासमार्फत मानिसलाई बन्धनमा बाँध्नुको साटो तिनलाई मुक्त गर्ने साधन बन्नुपर्छ र बनाउनुपर्छ । यस्तो साधन बनोस् इतिहास, जसले पुराना द्वन्द्वलाई चिरस्थायी बनाउनुको साट नयाँ सामञ्जस्यहरू गढ्न सहयोग गरोस् । इतिहास पढ्नुको सार्थकता विगत सम्झनु होइन बरू त्यसबाट मुक्त हुनु हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










