लोरेन्जो टोन्डो
डा. क्रिस्टिना केटनियो सिसिलीको अस्पतालमा काम गर्छिन् । उनको डेस्कमा १८० सेमि लामो मानव कंकाल केही समययता त्यसै पसारिएको छ । शरीरका प्रायः अंगहरु आफ्ना ठाउँमा ठीकै छन्, मात्र यो कंकालको अनुहार र हात भने सद्दे देखिँदैनन् । यहाँ भने उनले यसलाई निकै प्रेमले सजाएर राखेकी छन् ।
सन् २०१५ अप्रिल १८ का दिन एक हजार मानिसहरु बोकेको एउटा जहाज दुर्घटनाग्रस्त हुँदा त्यहाँका अधिकांशको मृत्यु भएको थियो । सिसिलीको जल सैन्य टुकडीले ३ जुलाईको दिन सोही जहाजमा डुबेकामध्ये पहिलो फेला पारेको अस्थिपञ्जर यही थियो ।
सो जहाजमा इरिट्रिया, सेनेगल, मौरिटानिया, नाइजेयिरया, आइभरी कोस्ट, सियरा लियोन, माली, गाम्बिया र सोमालियाबाट चढेका हतोभागी र स्वप्नशील मानिसहरु थिए । उनीहरु आफ्नो सपनाको ठाउँ युरोप छिर्ने संघर्षमा थिए । जम्मा ३० जनालाई थेग्ने माछा मार्ने सानो जहाजमा आफ्नो क्षमताभन्दा कता हो कता बढी मानिसहरु यसमा हालिएका थिए । त्यो दुर्भाग्यपूर्ण रातमा जहाज डुब्दा जम्मा २८ मानिस मात्र बाँच्न सफल भए ।
मरेकाहरुको कंकाल समुद्रको ४०० मिटरमुनि फेला परे । डा. क्रिस्टिनाको डेस्कमा रहेको कंकाल कुनै बालकको थियो । यो बालकसहित अन्य केहीलाई भने इटालेली सामुद्रिक उद्धार परियोजनाका सदस्यहरुले फेला पारेका थिए । फेला पारिँदा ती बालकको जिउमा कालो ज्याकेट, पातलो सर्ट र जिन्समा थिए । उनको शरीरका टुक्राहरु एउटा प्लास्टिकको ब्यागमा राखिएको थियो । त्यो शरीर, जो कसैको सन्तान थियो, जसको केही नाम पनि थियो होला, ऊ भने यहाँ पिएम ३९०००१३ नम्बरको शरीरका रुपमा चिनिएको थियो ।
यो नम्बर अझै पनि नामविहीन छ र यस्ता सयौँ नामविहीन अन्य हतोभागीहरुकै सूचीमा छ । यो समुद्रमा डुबेकाहरुको तथ्यांक कतै पनि दर्ज गरिएको छैन । यो क्षेत्रका कुनै पनि सरकारले यहाँ मानिस मरे भनी मान्दैन । इटालेली सरकारले मृतकहरुको एउटा चिहानघारी चाहिँ बनाएको छ, जसमा मृतकहरुबारे कुनै जानकारी छैन ।
सन् २०१३ यता मिलान विश्वविद्यालयका फरेन्सिक प्याथोलजीका प्राध्यापक डा. क्रिस्टिना केटनियोले ती प्रत्येक बालबालिका, युवती, महिला, पुरुष सबै मृतकको नाम खोजेर चिहानमा बिना नाउँ समाधिस्थ गरिएकाहरुलाई नाउँ दिने अथक् प्रयास गरिरहेकी छन् ।
सम्भवतः यो उनको असम्भव अभियानै हो यो तर पनि उनले हार भने मानेकी छैनन् ।
‘केही छिनलाई मानौँ, तपाईंहरु चढ्नु भएको जहाज अर्को कुनै महादेशमा दुर्घटनाग्रस्त भयो,’ आफ्नो अभियानबारे प्रकाश पार्दै केटनियो भन्छिन्, ‘सबैको ज्यान गयो, तिनको शरीर फेला पर्यो र तिनलाई बिना नाउँ नै गाडियो, तपाईंलाई कस्तो लाग्छ ? तपाईंले नाउँ बिना नै गाड्न दिनुहुन्छ ? यदि त्यसो गर्न तपाईंको हृदयले मान्दैन भने ती हतोभागीहरुको समाधिस्थ चाहिँ किन बिना नाउँ गर्नुहुन्छ ?’
यसो गर्नु भनेको मानिस–मानिसबीच गरिएको विभेद हो भन्ने उनको भनाइ छ । आफू इतर जातिको मानिस मर्नु, कुकुरसरह हो अनि आफ्नो जातिको मानिस मर्नु चाहिँ रगत उम्लने भन्ने पनि कहीँ हुन्छ ? सबैको मृत्युको उत्तिकै मूल्य हुँदैन ? सबै जनाको मृत्युले उही किसिमको सम्मान पाउनु पर्दैन र ? उनको प्रशन छ ।
यस्तो प्रश्न पहिलो पटक उठाउने व्यक्ति चाहिँ मोरिस टिडबल बिन्ज थिए । त्यो बेला उनी अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)का फेरेन्सिक विभाग प्रमुख थिए । मोरिसलाई त्यो बेला डा. केटनियोले साथ दिएकी थिइन् र केही लाशको पहिचान गर्न र ती नामविहीन लाशलाई नाउँ दिलाउन भूमिका खेलेकी थिइन् ।
सन् २०१३ फेब्रुअरीमा बिज्न मिलान यात्रामा थिए । उनले डा. केटनियोलाई फोन गरे र खाना खाने निम्तो दिए । यो खान्की भेटमा उनले भनेका थिए, ‘सिरिया र इरिट्रियाका कतिपय मानिसहरुले उनीहरुका दाजुभाइ तथा छोराछोरी हराएको बताइरहेका छन् । यो दुर्घटनामा पक्कै परेको हुनसक्ने तिनको आशंका छ र उनीहरु लाश पाए हुन्थ्यो भन्ने चाहना गरिरहेका छन् । तिम्रो देशले त्यसको डाटा राखेका होलान् । मलाई तिनको पहिचान दिलाएर लाश फर्काउन मन छ ।’
तर इटालीले ती कसैको नाउँको डाटा राखेको थिएन । राखोस् पनि कसरी ? समुद्रमा जहाज डुबेको थियो । तिनका बारेमा परिचय खुल्ने प्रायः कागजपत्र पनि फेला परेका थिएनन् ।
ह्वारह्वारी मेडिटेरियन समुद्रबाट शरणार्थीहरु आउने र जहाज डुब्ने घटना हुन थालेपछि इटालीले लेबनानसँग एउटा सम्झौता गर्यो । यो सम्झौता संसारमै पहिलो भएको थियो, जसमा लेबनानी शरणार्थीहरुको पहिचान गरिने र सम्भव भएसम्म शव फिर्ता गर्नेमा दुवै मुलुक प्रतिबद्ध थिए ।
यो त प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने मुलुकहरु तर कतिपय मुलुकलाई त आफ्ना जनता यसरी भागिरहेका छन् भन्ने थाहा पनि पाइरहेका छैनन् । कतिलाई थाहा भए पनि नभएजस्तो गरिरहेका छन् तर दुर्घटनामा एउटा अज्ञात मृत्यु वरण गरिरहेका छन् । तिनको भाग्यमा गतिलो समाधि पनि थिएन । तर ती देशका आफन्तहरु भने नातेदारको लाश भए पनि आशा गरिरहेका थिए ।
लाश त फेला पर्ला तर तिनलाई कसको आफन्त भनी चिनाउने त ? समय क्रममा त्यस्तो मेसिन पनि बनिसकेको थियो, जसले लाशको उमेर पत्ता लाग्थ्यो । त्यसको डिएनए परिक्षण गर्दा आफन्त पनि पत्ता लाग्थे । डा. केटनियोले आशाको किरण देखिन् ।
यसबीच सन् २०१३ अक्टोबर ३ का दिन ३६८ मानिसहरुको लाश ल्याम्पेडुसा द्विपमा फेला पर्यो । सयौँ आफन्त तिनका बारे व्यग्रतापूर्वक जानकारी खोजिरहेका थिए । डा. केटनियोका लागि अब लाशलाई चिन्ने, तिनको परिक्षण गर्ने तथा तिनका आफन्तलाई जिम्मा लगाउने अपूर्व अवसर हात लाग्यो ।
प्रत्येक लाशको पोस्टमार्टम गरियो । शरीरका भित्री अंग तथा बाहिरी तन्तु (टिस्यु) परिक्षण गरियो । हाड र दाँतको विश्लेषण गरियो अनि डिएनएका नमुना निकालियो । यसले एउटा कामलाग्दो तथ्यांक तयार भयो । कतिसम्म भने कसैका दाँतको अवस्था कस्तो थियो, शरीरमा ट्याटु थियो, थिएन, कुनै रोग लागेको थियो कि थिएन भन्नेजस्ता जानकारीले अब लाशका बारेमा पर्याप्त कुरा बताइरहेको थियो । कसैले कुनै लाश खोजे र रोग लागेको थियो भने मात्र पनि त्यो लाशले नाम पाउने सम्भावना बढी थियो । ट्याटु खोपिएको लाश खोज्दै कोही आए, त्यो ट्याटुका कारण लाशले नाम पाउने देखिँदै थियो ।
त्यसमाथि आफन्तले दिने फोटोहरुले लाशको पहिचान अझ सहज हुने देखियो ।
‘सिद्धान्ततः यो ज्यादै सरल थियो,’ डा. केटनियो भन्छिन्, ‘पोस्टमोर्टम डाटा र एन्टेमोर्टेम डाटालाई एक ठाउँमा राख्दा लाशको पहिचान हुन्छ भन्न सजिलो छ तर तीमध्ये कुनै एक तत्त्व बीचमा फेला परेन भने एकरत्ति अघि बढ्न सकिन्न । अझ शरणार्थी बन्न निस्केकाहरुको त झन् ती तथ्यतथ्यांक एकै ठाउँमा फेला पार्न झन् कठिन हुन्छ ।’
सन् २०१३ अक्टोबर ३ को एक वर्षपछि रोमको आन्तरिक मन्त्रालयको पहिलो तल्लामा डा. केटनियो र उनको टोलीले शरणार्थीकोहरुको पहिलो आफन्त फेला पारे । ल्याम्पेडुसा द्विपमा डुबेर ज्यान गएका एक जनाका आफन्त आएर कंकाल बुझेपछिका केही महिनामा ८० जना परिवार आए । तीमध्ये ४० परिवारले आफन्त चिनेर तिनको सतगत् सम्भव भयो ।
तर डा. केटनियो भने अझै दुःखी छन् किनभने डुबेका असंख्या मानिसको तुलनामा पहिचान भएका मानिसको संख्या समुद्रमा एक थोपा बराबर मात्र हुन् । तापनि डा. केटनियोले सन्तोष मान्ने ठाउँ चाहिँ छ । भन्छिन्, ‘सन्तोषको कुरा, केही मानिसले तिनका दाजुभाइ फिर्ता पाएका छन्, तिनको पहिचान भएको छ, तिनीहरु बेनाम समुद्रमा डुबेनन् कम्तीमा ! लाशको पहिचान हुनु भनेको मृतकको आत्मसम्मान फर्काउने प्रश्न मात्र होइन, बाँचेकाहरुको स्वास्थ्यको कुरा पनि हो । उनीहरु जुन शोकले दुःखी, अवशादग्रस्त र रोगी भएका थिए, कम्तीमा त्यही अब रहने छैनन् ।’
जुन परिवारले आफन्तको लाश वा सास पाउँदैनन्, तिनीहरु ‘एम्बिगुअस लस’बाट पीडित हुन्छन् । त्यो पीडाले मनोवैज्ञानिक चुनौतीहरु थपिदिन्छ जीवनमा । अवशादग्रस्त बन्दै उनीहरु रक्सीको शरणमा पुग्छन् । जब परिवारमा एउटा रक्सीको लत थपिन्छ, अवशादले घेर्छ, त्यसले पूरै परिवारलाई अवशादमा घिसार्छ र त्यसको घनत्वले समाजलाई पनि तान्छ ।
डा. केटनियोको कार्यालयमा खोतल्ने हो भने मृतकका ससाना कुराहरु पनि अझै सुरक्षित राखिएका छन् । तीमध्ये केहीको डायरी छ, कसैको लकेट, कसैको ब्रासलेट, तस्बिर, खुद्रा पैसा, फुटबल टोलीको नाम तथा तिनको जानकारी वा तस्बिर, कतिको चाहिँ रिपोर्ट कार्डहरु छन् । ती सबैलाई लाश नम्बरका साथ वर्गीकरण गरी राखिएको छ ।
गला अवरुद्ध पार्दै डा. केटनियो भन्छिन्, ‘जो जति किशोर किशोरी समुद्र तर्दै गर्दा डुबेर मरे, तिनका गोजीमा जे फेला परे, ती हाम्रा देशका किशोरकिशोरीका खल्तीमा पनि फेला पर्छन् । उनीहरुको दोष यति मात्र थियो, उनीहरु हाम्रातिर आउने चाहका कारण समुद्रमा डुबे ।’
सिसिलीको क्याटनिया अस्पतालमा सन् २०१५ को अप्रिलमा भएको डुंगा दुर्घटनाबाट परेकाहरुको ल्याइएको शवमध्ये एउटा किशोरको लुगामा कस्सिएर बाँधिएको एउटा गोजी थियो । त्यो गोजीमा एउटा कपडाले बेरिएको सानो मोबाइल र माटो थियो । ‘त्यो किशोरले आफू गाउँबाट निस्केपछि माटोको मायाका कारण गोजीमा हालेको रहेछ,’ डा. केटनियो भन्छिन्, ‘इरिट्रियाबासी जब दूर देश जान्छन्, देशको चिनो भनेर माटो बोक्छन् । यो उनीहरुको पुरानो परम्परा नै हो । उनीहरुलाई थाहा छ, भोलि कसलाई के थाहा, फर्कन पाइने हो कि होइन !’
सन् २०१६ जुनमा इटालेली अधिकारीहरुले अर्को एउटा कंकाल समूह फेला पारे । यो कंकाल निकाल्न इटालेली जलसेनालाई महिनौँ लागेको थियो । यस कार्यमा ९५ लाख युरो खर्च भएको थियो । यो कंकाल समूहमा उद्धारकर्मीहरुले ५ सय लाश फेला पारेको थियो । ३० हजार त उछिट्टिएका हाडहरु थिए । सयौँ टाउका बेग्लै फेला परेका थिए ।
ती कंकालमध्ये हालसम्म जम्मा ६ जनाको पहिचान भएको छ । दिनदिनै आफन्त खोज्नेहरुको धुइरो बढेको छ र डा. केटनियोको संस्थाले दिनदिनै बजेट अभाव बेहोरिरहनु परेको छ । इटालेली सरकार एक्लैले यो कार्य थेग्न सकिरहेको छैन र उनीहरुले युरोपेली संघको मुख ताकिरहेका छन् ।
गएको अप्रिल महिनामा युरोपेली संघको संसद्ले मृतकहरुको पहिचान तथा शरणार्थी बन्न चाहनेहरुको अधिकारबारे एउटा कानुन बनाउनेतर्फ चासो दिएको छ । यसपछि २०१५ मा डुंगा डुबेकाहरुको खोजीका लागि सहयोग गर्न भनी चार इटालेली विश्वविद्यालयका फरेन्सिक विभागले काँधमा काँध मिलाइरहेका छन् ।
थकाउने यस्तो कामले कहिलेकाहीँ डा. केटनियो भक्कानिन्छिन्, भन्छिन्, ‘कहिलेकाहीँ त यति थाकिन्छ कि दिक्क लाग्छ । त्यस्तो बेलामा म नजिकैको त्यो डुंगा हेर्न निस्कन्छु, जसमा त्यो बालकको ज्यान गएको थियो, जसले आफ्नो गोजीमा आप्mनो गाउँको माटो बोकेको थियो । उसैबाट प्रेरणा पाएर मैले पनि आफ्नो खल्तीमा एउटा गुलाबको पत्र बोक्ने गरेकी छु । म उताकी भएकी भए समुद्रको अर्को किनाराको त्यो हतोभागी किशोरको अवस्था मैले पनि भोग्नुपर्थ्यो नि ! युरोपको समृद्धिले त्यो किशोरको नाउँ छिनियो, सपना छिनियो ! उसको कथालाई नबिर्सिऊँ, बस् म यत्ति चाहन्छु ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।