जिन्दगीमा दुइ बिहे गरे, जर्ज अर्वेलले एलिन र सोनियासँग तर उनको मनमा भने बिहेअघि नै मनमा सजाएका दुइ युवतीले जीवनभर आकर्षित गरिरहे । कतिसम्म भने बिहेपछि पनि अर्वेलले ती दुइ युवतीलाइ चिठ्ठीहरू लेखिरहे ।

जब अर्वेल चर्चित उपन्यासकार भए, ती दुइ युवतीका लागि यी खास व्यक्ति बन्न पुगे । तिनलाइ दुःख, सुख र अनेक अवसरमा अनेकन् चिठ्ठी लेखिरहे । यसको सुइँको कसैले पाएन ।

पछिल्लो समय भने अर्वेलका छोरा रिचर्ड ब्लेयरले ती दुइ जना महिलाबाट भेला पारिएका आफ्ना बाले उनीहरूलाइ लेखका चिठ्ठीहरूको संकलन युनिभर्सिटी कलेज अफ लन्डनलाइ बेचेका छन् ।

‘मलाइ था छ, मेरा बाले ती दुइ महिलालाइ निकै माया गर्थे, हुरूक्क हुन्थे तर यो कुरा मेरा लागि धेरै अघि र सपनाजस्ता कुरा हुन् । त्यसैले उहाँको यो रोमान्स अहिलेको नजरबाट हेर्न मिल्दैन वा उहाँले मेरी आमालाइ छलेर रोमान्स गरे भनेर चित्त दुखाउन मिल्दैन । उहाँको त्यो रोमान्सले उहाँलाइ फाइदा नै गर्यो होला,’ ब्लेयरले द अब्जर्भर अखबारलाइ प्रतिक्रिया दिँदै भनेका छन्, ‘ती दुइ महिलाभन्दा मेरा बाले ब्रेन्डालाइ अझ बढी मन पराएको देखिन्छ, एलिनोयरलाइ चाहिँ अलि कम । तर माया चैँ खुब गर्दारहेछन् ।

जर्ज अर्वेलले पछि बिहे बन्धनमा बाँधिन रूचाएका थिएनन् । स्वयं ब्लेयरकी आमा सोनियासँग पनि उनी खुला बिहे (ओपन म्यारिज)का लागि प्रस्ताव राखेका थिए तर उनले मानिनन् । त्यसो गर्नु भनेको हावामा महल बनाउनु हो, हानिकारक हुनसक्छ भनेर सम्झाएपछि उनी टिकेको उनका छोरा ब्लेयरले खुलासा गरेका छन् ।

‘यो जुन चिठ्ठीहरू फेला परेका छन्, ती त कुनै जीवनीकारका लागि सुनका धुलो फेला पारेसरह हो । यसलाइ निफननाफन गरेर कडा आगोमा उमाल्ने हो भने नम्बरी जीवनी बन्ने पक्का छ,’ लेखक तथा अर्वेलविज्ञ जेडी टेलरले भने, ‘यी चिठ्ठीले स्त्रीहरूसँगको अर्वेलको सम्बन्धको खुलासा मात्र गर्दैन, जीवनको अन्तिम समयसम्म पनि कसरी उनले ती दुइलाइ भुल्न सकेनन् भन्ने पनि देखाउँछ ।’

यी चिठ्ठी हाललाइ सर्वसाधारणका लागि हेर्न बन्देज लगाइएको छ । सन् २०२३ पछि मात्र यो सबैका लागि खुला हुनेछ । त्यसअघि जीवनीकारका लागि मात्र यी चिठ्ठी हेर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

‘अर्वेलका चिठ्ठीमा गाउँले जीवनका बारेमा र त्यहाँका गोरेटाहरू खुब हिँडेको चर्चा छ । र, ती युवतीसँग उनले धेरै समय त्यहाँको ताजा प्रेम र हावा महसुस गरेको प्रस्ट छ । सफोक र बर्नह्याम बिचेजका ती ओहोरदोहोर पक्कै निकै प्रेमिल हुनुपर्छ,’ टेलरले भने ।

सन् १९३० को दशकमा अर्वेल आफ्ना आमाबुवासँग यहीँ बस्थे । ब्रेन्डा स्थानीय स्कुलमा खेलकुदकी शिक्षिका थिइन् । त्यस्तै एलिनोरका पिता स्थानीय दन्तचिकित्सक थिए ।

उनी गाउँबाट जब लन्डन आए, उनले पहिलो काम पुस्तक पसलमा गरे । त्यहाँ छरिएका किताबहरू मिलाउँदै र पढ्दै उनले आफ्ना दुइ प्रियतमाहरूलाइ चिठ्ठी लेखेको देखिन्छ । एउटा चिठ्ठी लेख्दै गर्दा उनले ‘किप द एक्पिडिस्ट्रा फ्लाइङ’ उपन्यास लेख्दै गरेको जानकारी दिएका छन् ।

एलिनोरसँग बिताएका क्षणहरू पत्रमा जसरी उल्लेख गरेका छन्, त्यो अनुभवलाइ अर्वेलले ‘१९८४’ उपन्यासमा हुबहु उतारेका छन् । उनको उपन्यासको मूल पात्र विन्स्टन र जुलियाले उसैगरी गाउँका गल्ली, जङ्गली बाटो प्रयोग गरेका छन् ।

सन् २०१८ मा पहिलो पटक यस्तो पत्र लामो समयसम्म अर्वेलले दुइ प्रेमिकालाइ लेखेको खुलासा भएको थियो । यसलाइ एउटा उत्सवको रूपमा मनाइनुपर्छ भन्दै एलिनोर र ब्रेन्डाको परिवारले कसैलाइ जिम्मा दिन खोजेका थिए । यस्तोमा युनिभर्सिटी कलेज लन्डनले राम्रै दाममा यो पत्रहरू किनेको आँकलन गरिएको छ ।

अर्वेलले एलिन ओसगनेसीसँग पहिलो बिहे गरेका थिए तर बिहेको केही वर्षदेखि नै यी दुइबीच मिल्ती हुन छाडेको थियो । यसका बारेमा पनि उनले आफ्ना दुइ प्रेमिकालाइ चिठ्ठीमा लेखेको देखिन्छ । एक ठाउँमा उनले लेखेका छन्, ‘दुःखको कुरा… हामीले एकअर्कालाइ राम्रोसँग प्रेम गर्न जानेनौँ अथवा सकेनौँ । बरू बिहे नगरेका भए हामी दुवै सुखी हुन सक्थ्यौँ । हाम्रो मिल्ती जमेन भने म तिमीसित बिहे होस् भन्ने चाहन्छु । कतै तिमीले पो नचाहौली कि ?’

अशक्त बिरामी भएर अस्पताल भर्ती भएका बेला पनि उनले चिठ्ठी लेख्न बिर्सिएनन् । यी चिठ्ठीले अर्वेलका माछा मार्ने, स्केटिङ गर्ने लगायत अन्य रूचिका बारेमा पनि खुलासा गरेको छ ।

(द अब्जर्भरको आजको अङ्कबाट साभार)