एक दशकअघि जब बेलायतमा ह्यारी पोटर शृंखला निस्केको थियो, त्यो बेला पहिलो प्रति हातमा परोस् र केही दिन कुर्नु नपरोस् भनेर बालबालिका पुस्तक पसलअगाडि पसल खुल्ने समय कुरेर बसेका थिए ।
त्यसरी लाइनमा लागेका बालबालिका यतिबेला युवा भइसकेका छन् । ती चाहिँ यस पटक ह्यारी पोटरका लागि होइन, अर्कै एउटा पुस्तकका लागि आउँदो साता लाइनमा लाग्ने सम्भावना बढेर गएको छ ।
स्याली रुनीको नयाँ उपन्यास ‘ब्युटीफुल वर्ल्ड, ह्वेयर आर यु’को प्रुफ हेरिएको प्रति नै चाहिँदोभन्दा बढी रकम तिरेर युवाहरुले किनेको समाचार भाइरल भएपछि सो पुस्तक किन्न किशोर किशोरीहरुको लाइन लाग्ने अपेक्षा पुस्तक पसलेहरुले गरेका छन् ।
खासमा स्याली रुनीप्रति चासो बढाउनुको मुख्य कारण चाहिँ अघिल्लो वर्ष उनको उपन्यास ‘नर्मल पिपुल’को टेलिभिजन शृंखला प्रसारण थियो । सो शृंखलालाई युवापुस्ताले निकै रुचाएका थिए । त्यसो त उपन्यास स्वयं पनि यति सुन्दर थियो कि लामै समयसम्म बेस्ट सेलर सूचीमा पर्न सफल भएको थियो ।
यो नयाँ उपन्यास निस्कनुअघि नै सुपरहिट हुने अपेक्षा धेरैको थियो । प्रकाशक स्वयंले पनि अघिल्ला उपन्यासको भन्दा यसको माग बिक्रेताबाट बढी आएका कारण पुस्तक किन्न खुद्रा बिक्रेताकहाँ लाइन लाग्ने अपेक्षा गरेका छन् । यस उपन्यासको प्रकाशक फेबर हो ।
यसअघि क्यानडेली उपन्यासकार मार्गरेट एटवुडको द ह्यान्डमेड्स टेलको दोस्रो भाग द टेस्टामेन्ट्स दुई वर्षअघि निस्कदा पनि निकै ठूलो हलचल मच्चिएको थियो । पाठकहरु लाइन लागेर पुस्तक किन्न बजारमा निस्केका थिए ।
पछि सो पुस्तकले पछि बर्नाडिन एभारिस्टोको ‘गर्ल, वुमन, अदर’ उपन्याससँगै बुकर पुरस्कार प्राप्त गरेको थियो ।
३० वर्षीया लेखिका स्याली रुनीको यो उपन्यासले ‘द टेस्टामेन्ट्स’कै जस्तो जादु चलाउने अपेक्षा प्रकाशक फेबरको अपेक्षा छ । बेलायतको ठूलो बिक्री पसले वाटरस्टोनका ५० पुस्तक पसलमा लामो लाइन लाग्ने अपेक्षाका साथ समयअगावै पुस्तक पसल खोल्ने व्यवस्था प्रकाशकले मिलाएका छन् ।
यो उपन्यासमा एलिस नामक महिलाको संघर्षको कथा लेखिएको छ । यसलाई स्याली रुनीले आफ्नै जीवनीमा आधारित भए पनि आत्मकथा नभएको प्रस्ट पारेकी छन् ।
यस्ता चर्चित र अपेक्षित पुस्तक बजारमा आउँदा सेलाएको पुस्तक व्यापार चम्कने अपेक्षा हास्टिङ बुक सपका चार्ली क्र्याबको धारणा छ । उनका २० वटा स्वतन्त्र पुस्तक पसल छन् । कोभिड १९ का कारण उनको पुस्तक पसलको व्यापार चौपट भएको छ ।
यो पुस्तकको चर्चा लम्बिएका खण्डमा आउँदो क्रिसमससम्म पाठकलाई पुस्तक पसलसम्म आकर्षित गरिएला कि भन्ने अपेक्षा उनको छ ।
वाटरस्टोन पुस्तक बिक्रेताले पनि रुनीको उपन्यास बजारमा आउनुलाई साहित्य बजारमा हलचल गराउने घटनाका रुपमा लिएको द बुकसेलर पत्रिकाले जनाएको छ ।
रुनीको नर्मल पिपुल उपन्यासलाई बिबिसीले टेलिफिल्मका रुपमा प्रसारण गरेपछि यसको लोकप्रियताले उनको पहिलो उपन्यास कन्भर्सेसन्स विद फ्रेन्ड्सलाई पनि ठूलो पर्दाको फिल्म बनाउनका लागि अधिकार किन्न तँछाडमछाड भइरहेको छ ।
चार्ली क्र्याबले आफ्नो पुस्तक पसलमा अब अर्का साहित्यकार एभारिस्टोको नयाँ पुस्तक मेनिफेस्टो अन नेभर गिभिङ अपले राम्रै पाठक आकर्षित गर्ने अपेक्षा गरेका छन् । सो उपन्यासको अनलाइन माग निकै ठूलो रहेको र यसले रुनीको उपन्यासलाई पनि उछिन्ने अपेक्षा गरेका छन् । एभारिस्टोको उपन्यास आउँदो अक्टोबर महिनामा बजारमा आउने बताइएको छ ।
ब्लकबस्टर उपन्यासहरू
ह्यारी पोटर
दुई दशकपछि पनि यो उपन्यासका सबै शृंखलाहरु उत्तिकै लोकप्रिय छन् । हरेक वर्ष प्रकाशक ब्लुम्सबरीले जेके रोलिङको यो उपन्यासको सफलतालाई विभिन्न कार्यक्रमका साथ मनाउने गरेको छ । कहिले विशेष किसिमका किट बनाएर त कहिले स्कुल तथा लाइब्रेरीका विशेष संस्करण निकालेर यो उपन्यासको सफलतालाई विशेष बनाउने गरेको छ । अहिलेसम्म ५०० मिलियन भन्दा बढी प्रति यो शृंखलाका पुस्तकहरु बिक्री भइसकेको छ । ह्यारी पोटर एन्ड द च्याम्बर अफ सेक्रेट उपन्यास मात्रै १९९८ मा प्रकाशन भएयता ७७ मिलियन प्रति बिक्री भइसकेको अनुमान छ ।
द ह्यान्डमेड्स टेल
क्यानडेली लेखिका मार्गरेट एटवुडको द टेस्टामेन्ट्स सन् २०१९ मा आएको थियो । ह्यान्डमेड्स टेलको दोस्रो भागका रुपमा बजारमा आएकाले पाठकहरु यो उपन्यास हात पार्न यति आतुर थिए कि पहिलो सातामा नै प्रकाशक भिन्टेजले १ लाख ३ हजार १ सय ७७ वटा हार्डकपी बिक्री गरेको थियो । सो वर्ष सबैभन्दा हिट भएको अर्को पुस्तकभन्दा यो दोब्बरले बिक्री भएको थियो ।
क्लारा एन्ड द सन
काजुओ इसिगुरोको नवीनतम उपन्यास क्लारा एन्ड द सन गएको मार्च महिनामा बजारमा आएको थियो । कोभिड १९ को चर्को बन्दाबन्दीका बीचमा यो उपन्यास सबैको चासोमा परेको थियो । त्यसमाथि सन् २०१७ मा उपन्यासकार इसिगुरोले साहित्यमा नोबेल पुरस्कार हात पारेयता त यो उपन्यासमाथि सबैको आँखा लागेको थियो ।
यो उपन्यास ननिस्कदै प्रकाशकले फिल्म बनाउन भनी अधिकार किनिसकेका थिए । यो उपन्यासलाई सोनी पिक्चर्सले प्रकाशक हार्पर कोलिन्ससँग मिलेर बनाउने भएको छ । साथै, उपन्यास २०२१ को बुकर पुरस्कारको लामो सूचीमा पनि परेकाले यसप्रति अन्यको चासो पनि ह्वात्तै बढाएको छ ।
मेनिफेस्टो अन नट गिभिङ अप
सन् २०१९ मा गर्ल, विमन, अदर उपन्यासमा मार्गरेट एटवुडको उपन्याससँगै प्रतिस्पर्धामा रहेर बुकर पुरस्कारको सहविजेता रहेकी उपन्यासकार बर्नार्डिन एभारिस्टोको नयाँ उपन्यास ‘मेनिफेस्टो अन नट गिभिङ अप’ पनि निस्कनेबित्तिकै बेस्टसेलर बन्ने अपेक्षा धेरैको छ । आउँदो अक्टोबर ७ मा बजारमा आउने यो उपन्यासको प्रि बुकिङले नै बेस्ट सेलर हुने देखाएको छ । प्रकाशक हेमिस ह्यामिल्टनले चार दिने विशेष कार्यक्रम आयोजना गरी पुस्तक बजारमा निस्केको खुसी मनाउने घोषणा गरिसकेका छन् ।
(द अब्जर्भर दैनिकको अगस्त २९, २०२१ अंकबाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।