Chovar Blues Mobile Size

स्याली रूनी

अपेक्षा गरेजस्तै उपन्यासकार स्याली रूनीको नयाँ उपन्यास ब्युटिफुल वर्ल्ड ह्वेयर आर यु बेस्टसेलर बन्न पुगेको छ ।

गएको साता मात्र बजारमा हार्ड कभरमा मात्र निकालिएको सो उपन्यास तीन दिनभित्रै वर्षकै बढी बिक्री हुने उपन्यासमा दरिएको वाटरस्टोन कम्पनीका सञ्चालक जेम्स डुअन्टले जानकारी दिए ।

त्यसो त उपन्यासलाई अपेक्षाकृत रूपमा राम्रै मान्नेहरूले यस पटक भने उनको उपन्यासमा कम सेक्स सिन भएकामा राहतको सास फेरेका छन् । यसअघिको नर्मल पिपल उपन्यासमा यति धेरै सेक्सको वर्णन थियो कि स्वयं लेखिकाले नै नयाँ उपन्यासमा कम यौनिक दृश्य लेख्नुपर्ला भनेर सोचेकी थिइन् ।

तर यसमा पनि भरपूर यौनका दृश्यहरू उनले लेख्नु पर्यो किनभने विषयवस्तु नै यौन, वातावरणीय समस्या तथा वर्तमान समस्याका युवा झमेलामाथि नै छन् ।

खासमा उनले यौनिकताका सत्यतथ्यमाथि लेखेको हुनाले उनको नर्मल पिपल उपन्यासलाई रूचाइएको थियो । त्यसमाथि नेटफ्लिक्सले सिरिज नै बनाइदिएपछि उपन्यासको चर्चा मात्र होइन, स्वयं लेखिकाको चर्चा पनि चुलिएको थियो ।

त्यसै पनि सुन्दरी लेखिकाको उपमा पाएकी स्याली रूनी पहिलो उपन्यासबाटै हिट हुने भाग्यमानी लेखिकामा पर्छिन् ।

आयरल्यान्डकी ३० वर्षीया यी लेखिकाले नयाँ उपन्यासमा सेक्सका दृश्य कम गर्न आफ्ना सम्पादकहरूलाई आग्रह गरेकी भए पनि उनीहरूले ती दृश्य उचित भएको र यसमा आत्तिनुपर्ने कुरा केही नभएको प्रतिक्रिया दिएका थिए ।

उपन्यासमा एलिस नामक पुरस्कार विजेता उपन्यासकार र कुनै साहित्य पत्रिकामा सम्पादनको काम गर्ने उनकी केटी साथी एलिन मुख्य पात्र रहेको यो उपन्यास यति चाँडै हिट होला भन्ने उनको अपेक्षा पनि थियो ।

त्यसो त २०१७ मा उनको कन्भरसेसन विद फ्रेन्ड्स निस्कनेबित्तिकै हिट भएको थियो । दोस्रो उपन्यासले पनि सोचेभन्दा बढी सफल भएपछि यो तेस्रोमा यत्तिको सफलता हात पर्नु पनि स्वाभाविक नै थियो ।

यो उपन्यासमाथि प्रकाशकको अपेक्षा कति छ भन्ने कुरा त, संसारका सबैजसो प्रख्यात दैनिक पत्रिकामा यसको सकारात्मक समीक्षा आएबाट नै प्रस्ट हुन्छ ।