
फुच्चे नकच्चरो
मिशाले सपना देख्यो-उसको हजुरबा रीसले चूर हुँदै उसैतर्फ लप्की-धप्की आइरहेका थिए र उनी हातमा लिइराखेको एउटा लामो घोचो पनि हल्लाउँदै थिए जुन बगैँचामा उम्रिरहेको चेरीको हाँगो काटेर बनाइएको थियो ।
“लौ, यता आइज ए, मिखाइलो फोमिच ! “-हजुरबा जंगिदै थिए। “तैले आज राम्रै सँग चडकन च्यूरा खान पाउने भइस् ! ”
“किन र, जीबा ? ” -मिशाले डराउँदै सोध्यो ।
किन हुन्थ्यो अब ? तैँले कुखुराको खोरमा ओथ्रा बसेको कुखुरीको गुँडबाट सबै फूल सुटक्क चोरेर जाँते पिङ खेलेको पनि भुसुक्कै बिसिंसकिस् कि ! ..”
“जीबा ! ”-मिशाले डर मान्दै विरोध जनायो, यस पालि त म जाँते पिङ राखेको ठाउँमै पनि गया थिइनँ ! ”
तर हजुरबा आफ्नो दाह्री मुसार्दै थिए। अनि भुइँमा जोडले गौडा बजार्दै चुरिएर उनले भने-
“यता आइज , लुच्चा ! लौ, चाँडो फुकाल आफ्नो जाँगे !”
मिशा सपनामै उधुमसंग चिच्यायो र तत्कालै झसंग ब्युझि पनि हाल्यो । उसको मुटुको धुकधुकी बढिरहेको थियो, मानौं उसका तिघ्रामा घोचाको चुटाइले सुम्लो नै उठेको होस् ! उसले एउटै मात्र आँखा अलिकति उघार्यो र वरिपरि चियाएर हेर्यो। कोठा झकमक्क उज्यालो थियो। झ्यालबाहिर बिहानको न्यानो प्रकाश छरिइरहेको थियो। ढोका बाहिरबाट गुनगुनको; आवाज पनि आइरहेको थियो। मिशाले आफ्नो टाउको यसो उच्याल्यो। उसले आफ्नी आमाको गुनगुन, खित्का र् तीखो स्वर मिसिएको एक तमासको कर्कश आवाज सुन्यो। हजुरबा चाहिँ खोक्दै थिए बाहिर पीढीमा। त्यहाँ अर्को एक जनाको अपरिचित आवाज पनि सुनिन्थ्यो जो बडबडाइरहेको थियो -“ बु-बु-बु ! ”
मिशाले आँखा मिच्दै निद्रा भगायो। यत्तिकैमा बाहिरको ढोका खुल्यो र दैलो ढ्याम्म बन्द भयो। हजुरबा हस्याङ-फस्याङ गर्दै र उफ्रँदै कोठाभित्र पसे। उनको नाकको डाँडी
माथिको चश्मा पनि फुत्रुक-फुत्रुक तलमाथि गरिरहेको थियो । शुरूमा त मिशाले भजन मण्डलीको साथमा पादरी गरायो होला भन्ने सोच्यो, किनभने जहिले पनि इस्टरको पर्वमा पादरी आउँदा हजुरबा यसरी नै हडबडाएका देखिन्थे, तर हजुरबाको पछि लागेर कोठामा पसेको मान्छे भने छाँटकाँटले अवश्य नै पादरी थिएन। त्यहाँ त एक जना चिन्दै नचिनेको मान्छे पो कोठामा भित्रिएको थियो। उसले सिपाहीको ठूलो कालो वर्दी लगाइराखेको थियो र टाउकोमा चाहिँ रिबनको फुर्का लत्तिएको, थ्याच्च परेको एउटा घेरावाल टोपी थियो। आमा चाहिँ उसको गलामा अँगालो हालेर झुण्डिरहेकी थिइन् र कानै खाने स्वरमा चिच्याउँदै थिइन् ।
कोठाको मध्य भागमा पुगेपछि त्यस पराई मान्छेले आमाको बाहुपाशबाट आफूलाई मुक्त गर्यो र कडकिदै सोध्यो –
“खै कहाँ छ नि मेरो सन्तान ?”
मिशा डरले थर्हरी भयो र ओढ्ने सिरकभित्र उसले लुसुक्क आफ्नो टाउको लुकायो।
” मिन्युश्का (मिशा नामको स्नेहवाचक रूप – अनु०।) ! ” -आमाले डाँकिन् । “ किन तँ अहिलेसम्म सुतेकै छस् हँ बा ? तेरा बा पनि लडाईबाट फकर आइसके हेर त !”
मिशाले आँखा झिमिक्क पनि गर्ने, पाउँदा नपाउँदै त्यस सिपाहीले उसलाई ओछ्यानबाट तान्यो र माथितिर झण्डै छतसम्म नै हुत्त्याइदियो। अनि तल खस्न लाग्दा नलाग्दै दुबै हातले टक्क समात्यो र आफ्नो छातीमा जोडले कक्रक्क च्याप्यो। उसको झूसे जुँगाले भने मिशाको ओंठ, गाला र आँखामा अपठ्यारोसंग घोचिरहेको थियो। उसको खैरो जुँगा भिजेको थियो र नुनिलो-नुनिलो लागिरहेको थियो। मिशा फूत्कन चाहन्थ्यो, तर फुत्कनु भने मुश्किल मात्न होइन, असम्भव थियो।
“कत्रो लाठे बोल्शेभिक( सन् १६०३ मा रसियाली, सामाजिक-प्रजातन्त्ववादी मजदूर पार्टीको द्वितीय महाधिवेशनमा पार्टीभित्र फूट आएपछि लेनिनको समर्थन गर्ने क्रान्तिकारी गुटले पार्टीका केन्द्रीय अंगहरूको चुनावमा बहुमत प्राप्त गरेको हुँदा “बोल्शेभिक ” अर्थात् “बहुमतवाला ”” भनिन थाल्यो । – अनु) हुर्कदै रहेछ ए मेरो घरमा त ! ..छिटै नै तँ त आफ्नो बाबुभन्दा अग्लो होलास् जस्तो छ ए गाँठे…। हा-हा-हा ! ..”-बाबु चाहिं गर्जिरहेका थिए।
उनी मिशासंग खेल्दै थिए – कहिले हातमा लिन्थे र एउटा सानो दूधे बच्चालाई जस्तै वल्टाइ-पल्टाइ गर्दथे भने कहिले दलिन नै छोला-छोला गरी माथि हुत्त्याइदिन्थे र फेरि दुबै हात पसारेर टप्प टिप्दथे ।
निकै बेरसम्म मिशाले यो सबै चूपचाप सह्यो । तर आखिरमा उसले हजुरबाको पाराले आँखीभौं एक्कै ठाउँमा समेट्यो र कठोर अनुहार बनाउँदै बाबुको जुँगा तान्दै भन्यो –
“छाड्नुस् भन्या, बा।”
“अहँ, म छोड्दिन तँलाई ! ”
“छाड्नुस् क्या ! म अब हुर्किसकें-! तपाईं भने फुच्चे बच्चोलाई जस्तै मलाई खेलाउँदै हुनु हुन्छ।”
बाबुले मिशालाई बल्ल आफ्नो काखमा बसाले र मुस्कुराउँदै सोधे-
“कति वर्षको भइस् त हँ, लाठे ?”
“आठ वर्ष लागें ! “-कर्के नजरले हेर्दै मिशा गुनगुनायो !
“याद छ तँलाई, छोरा? परार साल मैले तेरो निम्ति जहांज बनाएको ? याद छ, कसरी हामीले पोखरीमा जहाज छोडेका थियौं ? ”
“सम्झें , सम्झेँ ।”-मिशा हर्षले करायो र अन्कनाउँदै उसले बाबुको गलामा अँगालो हाल्यो ।
अनि बल्ल रमाइलो शुरू भयो। मिशालाई बाबुले आफ्नो काँधमा चढाए र कोठामा चक्कर लगाउन थाले । कहिले उनी अचानक उफ्रन्थे त कहिले साँच्चीकै घोडा जस्तै हिनहिनाउँथे । मिशा हर्षले गदगद भइरहेको थियो र उसलाई सास फेर्ने समेत मुश्किल परिरहेको थियो। आमा चाहिँ मात्र उसको बाहुला तानेर कराइरहेकी थिइन् –
“मिशा , जा आगनमा गएर खेल् ! .. जा, भन्या ! सुन्दैनस् ?….”
अनि, बाबुलाई नै कर गर्दै भन्न थालिन् –
“फोमा आकीमिच, छोडिदेओ त्यसलाई ? कृपया छोडिदेओ…। त्यसले त मलाई तिम्रो अनुहारै हेर्न दिने छैन, लौ न प्यारा ! ठ्याम्मै दुई वर्ष भो तिम्रो मुख नदेखेको ! तिमी भने यसैसंग खेल्दै छौ! ”
बाबुले मिशालाई तल…भुइँमा राखिदिए ।
“जा बाबु! एक छिन साथी-भाइहरूसंग खेल्। पछि तँलाई त्यो चीज पनि झिकिदिउँला जुन मैले तेरो निम्ति ल्याएको छु।”
मिशा कोठाबाट बाहिरियो र दैलो ढ्याप्प लगाइदियो । एक सुर त उसले ढोकैनेर कान थापेर भित्रको कुराकानी सुन्ने विचार गरेको थियो, तर उसको बाबु फर्केको खबर गाउँमा कसैले पनि थाहा पाइसकेको छैन होला भन्ने सोच्यो र आगन पार गर्दै करेसो बारीमा उम्रिरहेको आलुका बोटहरू कुल्चदैँ तल पोखरीतर्फ लम्कियो।
केही बेर उसले जमिरहेको पोखरीको दुगन्धयुक्त पानीमा डुबुल्की लगायो, अनि किनाराको बालुवामाथि लमतन्न पल्टियो र आखिरमा एक पल्ट फेरि पोखरीमा डुबुल्की मार्यो । त्यसपछि एउटा गोडाले मात्रै भुइँमा टेकेर ढलपल गर्दै उसले जाँगे लगायो। उ घरतिर फर्कनै मात्न के आँटेको हुँदो हो, पादरीको छोरो भित्या टुप्लुक्क उसको , बगलनेर आइपुग्यो ।
“नजाऊ, मिशा ! एक ताली फेरि डुबुल्की मारौं। अनि हामीकहाँ नै खेल्न जाऔँला। आमाले तिमीलाई हाम्रो घर आउनमा रोक लगाउनु हुने छैन।”
मिशाले खस्नै आँटेको जाँगे देब्रे हातले माथितिर सार्यो, काँधमा जाँगेको लोतो मिलायो ।
“म तिमीसंग खेल्न चाहन्न ।”-उसले भन्यो। “तिम्रो कान सापै गन्हाउँछ… ।”
“यो त कमलपित्तको कृपा हो। ”- भित्याले (हाडछाला मात्र भएको कुमबाट बुनौटे गन्जी तान्दै भन्यो। अनि ईर्ष्याले देब्रे आँखा अलि चिम्सो पार्दै थप्यो- “तँ मठ्याहा होस् ! तेरी आमाले तँलाई गन्हाउने नालीमा जन्माएकी हुन् ! ”
“के तैले देखेको थिस् र?”
“नदेखे पनि सुनेको छु। हाम्री भान्सेनीले मेरी आमालाई बताएको थिई।”
मिशा गोडाको बुढीऔँलाले बालुवा कोट्याउँदै थियो । उसले भित्यालाई माथिदेखि तलसम्म निहार्दै भन्यो –
“तेरी आमा फटाही हो। जे भए पनि मेरा बा लडाइँमा जानु भा’थ्यो। तर तेरो बा त रगतचुसाहा हो जो अरूको रोटी हजम गर्छ! ”
“त ठिमाहा होस् ? “- ओंठ लेब्ब्राउँदै पादरीको छोरोले चर्को, स्वरमा ,भन्यो ।
मिशाले भुइँबाट एउटा बडेमाको चिल्लो रोडा टप्प टिप्यो तर पादरीको छोरोले रसाएका आँखाबाट आँसु झर्नै नदिई एउटा मीठो, मुस्कान छोड्दै भन्यो-
रीस नझिक्, मिशा ! झगडा गर्नाले के फाइदा ! चाहन्छस् भने तँलाई आफ्नो तरबार नै दिउँला ! बुझिस्, त्यो मैले फलामको बनाएको छु।”
मिशाका आँखा खुशीले टल्किए। उसले चिल्लो रोडा एक छिन हातमा खेलायो र एकातिर मिल्काइदियो, तर आफ्नो बाबुको सम्झना आएकोले उसले गर्वपुर्वक घोषणा गर्यो-
“मेरा बाले लडाइँबाट ल्याइदिया तरवार तेरो भन्दा निक्कै राम्रो ! ”
“पत्याएँ अब ? ”-भित्याले शंका झिक्तै लेघ्रो तान्यो ।
“नपत्याए के त ! .. ल्याइदिनु भो त मलाई नै ल्याइदिनु भो, तँलाई होइन क्या रे…। एउटा राम्रो बन्द्रुक पनि छ….। ”
“उहु ! धनी भइस् हैन त ! ”-डाहा गर्दै भित्या बड्बडायो।
“बासित एउटा गजबको टोपी पनि छ। त्यसमा रिबनको फुर्का लागेको छ ! सुनौला अक्षरले लेखेको पनि छ त्यसमा तिम्रा, किताबहरूमा जस्तै ! ”
भित्याले यसको राम्रो जवाफ सोच्नमा लामो समय लगाउँनु पर्यो। उसको निधार खुम्चिएको देखियो र उ बिस्तारै भुँडीको सेतो छाला कन्याउन पुग्यो ।
“मेरा बा अब छिटै नै बिशप बन्दै हुनु हुन्छ। तेरो बाबु भने गोठालोको गोठालै ! कसो, हैन त ?..”
मिशा त्यहाँ उभिएर बात मार्ने थाकिसकेको थियो। उ फनक्क फर्कियो र करेसो बारीतिर लम्कियो ।
“मिशा, ए मिशा, सुन त! म केही भन्छु तँलाई। ”-पादरीको छोरोले पछिल्तिरबाट कराउँदै भन्यो।
“भन् न त !”
“आइज मनेर ! ”
मिशा फर्कर आयो र संशकित हुँदै कर्के नजर लगाउँदै भन्यो-
“लौ भन् के भन्ने हो ? ”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२८ जेष्ठ २०८३, बिहीबार 









