मूल: अमरकान्त
अनुवाद: प्रकाशप्रसाद उपाध्याय
सिद्धेश्वरीले दिउँसोको भान्सा तयार पारेपछि चुलो निभाइन् र दुवै घुँडाका बीच शिर राख्दै तल भुइँमा हिँडिरहेका कमिलाहरूको बथानलाई हेर्न थालिन् । एकाएक उनलाई धेरै बेरदेखि लागेको प्यासको सम्झना भएर आयो । हतारिएर उनी उठिन् र लोटाले गाग्रोबाट पानी झिक्दै घटघट पिउन थालिन् । पानी मात्रै खाँदा पेटमा कतै शूल उठेको अनुभव भयो र ‘हरे राम’ भन्दै उनी त्यहीँ ढलिन् ।
लगभग आधा घण्टासम्म त्यसैगरी पल्टेपछि उनलाई बल्ल प्राण फर्केर आएको अनुभव भयो । उठेर बसिन् र आँखा मिच्दै यताउति हेर्न थालिन् । अनि उनको नजर त्यो जर्जर खटियामाथि पर्यो, जसमाथि उनको पाँच वर्षको छोरो प्रमोद सुतिरहेको थियो । नाङ्गै सुतेकाले उसका घाँटी र छातीका हाडहरू टड्कारै देखिन्थे । उसका हात प्राण नभएको बासी ककडीसरह लाग्दै थिए । मुख खुल्ला रहेकाले त्यसको वरिपरि झिंगाहरू भन्किरहेका थिए ।
उनी उठिन् र बालखको मुखलाई आफ्नो एउटा पुरानो र मैलो चोलोले ढाक्दै केही बेर नियालिरहिन् । अनि झ्यालबाट गल्लीतर्फ हेर्न लागिन् । बाह्र बजिसकेको थियो । घाम चर्को भएकाले गल्लीमा हिँडडुल गर्ने मानिसहरू तौलिया वा गम्छाले शिरलाई ढाक्दै वा छाताको छायाँ पार्दै फटाफट हिँडिरहेका थिए ।
उनी दशपन्ध्र मिनेटजति त्यसैगरी उभिइरहिन् । अनि उनको अनुहारमा व्यग्रताको भाव पनि उत्पन्न हुन थाल्यो । बाहिर आकाश र चर्को घामको रापलाई चिन्ताको भावका साथ हेर्न थालिन् । केही बेरपछि शिरलाई ढोकाबाट बाहिर निकालेर टाढा टाढासम्म गल्लीमा नजर पुऱ्याउने कोशिश गर्दा उनलाई जेठो छोरो रामचन्द्र सुस्तरी आइरहेको अनुभव भयो ।
उनले हतारिँदै एक लोटा पानी ओसराको चौकी मुन्तिर राखिदिइन् र भान्साघरमा गएर खाने ठाउँलाई चाँडचाँडै लिप्न थालिन् । त्यहाँ पिर्का ओछ्याएर टाउको यसो घुमाएकी मात्र थिइन् कि रामचन्द्र घरभित्र छिरे ।
रामचन्द्र आएर चौकीमाथि डङ्ग्रङ लडे र निर्जीव प्राणीसरह त्यहीँ पल्टिइराखे । उनको अनुहार रातो देखिंदै थियो । केश खजमजिएका थिए र फाटेको पुरानो जुत्तामाथि धुलोका पत्र जम्मा भएका देखिन्थे ।
सिद्धेश्वरीलाई पहिले त छोरानजिक जाने साहस भएन र त्यहीँबाट उनले भयाक्रान्त मृगिणीसरह छोरालाई व्यग्रतापूर्वक हेरिराखिन् । तर दश मिनेट बित्दा पनि जब रामचन्द्र उठेनन् अनि उनी आत्तिइन् । नजिक पुगेर डाकिन्- “बड्कु, बड्कु ।”
तर छोराले जबाफ नफर्काउँदा उनी डराइन् र उनका नाकसामु हात लगिन् । सास राम्ररी चलिरहेको थियो । अनि निधारमाथि हात राखिन् । ज्वरो थिएन । हातको स्पर्श चाल पाएर रामचन्द्रले आँखा खोले । आमालाई उभिएको देख्दा उठेर बस्न थाले । जुत्ता फुकाले र चौकीमुन्तिर राखिएको लोटाको पानीले हातमुख धोएर आएपछि चौकीमाथि फेरि थचक्क बसे ।
सिद्धेश्वरीले डराई डराई सोधिन्- “खाना तयार छ, यहीँ ल्याऊँ कि ?”
रामचन्द्रले सोधे- “बाबाले खाइसक्नुभो ?”
सिद्धेश्वरीले भान्साघरतिर जाँदै गर्दा जबाफ दिइन्- “आउँदै हुनुहोला ।”
रामचन्द्र पिर्कामाथि बसे । उमेर एक्काइस वर्षजति होला । लामा, दुब्ला पातला, गोरो वर्ण, ठूलाठूला आँखा । चाउरिएको ओठ । एउटा स्थानीय अखबारमा प्रुफरिडरको काम सिक्दै थिए । पोहोर मात्रै इन्टर पास गरेका ।
सिद्धेश्वरीले खानेकुराको थाल ल्याएर उनीसामु राखिन् र बसेर पङ्खा हम्कन थालिन् । रामचन्द्रले खाने सामग्रीलाई दार्शनिक दृष्टिले हेरे । जम्मा दुईओटा रोटी, कचौराभरि दालको पातलो झोल र चनाको भुटुवा ।
रामचन्द्रले रोटीको पहिलो टुक्रा चपाउँदै सोधे- “मोहन कता छ नि ? बाहिर साह्रै चर्को घाम छ ।”
मोहन सिद्धेश्वरीको माहिलो छोरो हो । अठार वर्षको छ । र यो वर्ष हाइस्कुलको जाँच प्राइभेट रूपमा दिने तयारी गर्दै छ । तर कता गएको हो, स्वयम् सिद्धेश्वरीलाई थाहा छैन । तर रामचन्द्रलाई ढाँट्न खोज्दै भन्छिन, “कुनै साथीकाँ’ पढ्न भनी गएको होला । आउँदै होला । तेज दिमाग भएको केटो छ । चौबिसै घण्टा पद्मपट्टि नै ध्यान हुन्छ । जति बेला पनि त्यही कुरा गरिराख्छ ।”
रामचन्द्रले केही बोलेनन् । रोटीको अर्को टुक्रा मुखमा राख्दै एक गिलास पानी खाए र रोटी चपाउन थाले । सानसाना टुक्रा पार्दै रोटी चपाई चपाई बिस्तारै खाइरहेका थिए ।
‘सिद्धेश्वरी मनमा एउटा डर र त्रास राख्दै छोरालाई एकटकले हेर्दै थिइन् । केही बेर मौन बसेपछि डराई डराई सोधिन्- “त्यता केही भयो के ?”
रामचन्द्रले आफ्ना ठूल्ठूला भावहीन आँखाले आमालाई हेरे र शिर निहुऱ्याउँदै रुखो स्वरमा भने- “समय आएपछि सबै ठीक हुनेछ ।”
सिद्धेश्वरी चूप लागिन् । बाहिर सूर्यदेवले आगो बर्साउँदै थिए । माथि आकाशमा घुमिरहेको बादलको एउटा टुक्राले सानो आँगनमा छायाँ पार्दै थियो । बाहिर गल्लीबाट गुज्रिरहेको एक्काको आवाज सुनिँदै थियो ‘खट-खट-खट’ र यता खटियामा सुतिरहेको छोराको सासबाट घरघरको आवाज निस्किरहेको थियो ।
रामचन्द्रले मौनता भङ्ग गर्दै सोधे, “प्रमोदले खाइसक्यो ?”
सिद्धेश्वरीले प्रमोदतर्फ हेर्दै उदास स्वरमा भनिन्- “अँ, खाइसक्यो ।”
“रोएको त थिएन ?”
सिद्धेश्वरीले फेरि झुटो बोल्दै भनिन्, “अहँ, आज त पटक्कै रोएन । साहै ज्ञानी छ । भन्थ्यो दाजुनिर जान्छु । यस्तो छोरो…।”
यसअगाडि केही बोल्न सकिनन् । घाँटीमा केही अड्केकोजस्तो लाग्यो । हिजो प्रमोदले रेबडी खान हठ गरेको थियो र डेढ घण्टासम्म रोएपछि मात्रै सुतेको थियो ।
रामचन्द्रले आश्चर्यभावका साथ आमापट्टि हेरे र फेरि शिर निहुऱ्याउँदै छिटोछिटो खान थाले ।
थालमा एउटा मात्रै रोटी शेष रहेको देख्दा सिद्धेश्वरीले उठ्न खोज्दै सोधिन्- “एउटा रोटी अरू ल्याऊँ ?”
रामचन्द्रले हात हल्लाई ‘पर्दैन’ भन्ने सङ्केत गर्दै भने- “अहँ, चाहिन्न । मेरो पेट पहिले नै भरिसकेको छ । मलाई त यो पनि बढी हुन्छ कि जस्तो लाग्दै छ । अब भयो । एकदम पर्दैन ।”
सिद्धेश्वरीले जिद्दी गर्दै भनिन्- “ल, आधा त लेऊ ।”
रामचन्द्र रिसाए । “कोचेर खुवाएर बिरामी पार्ने सुर छ कि कसो ? तपाईंहरू केही बुझ्नुहुन्न । खाली आफ्नै कुरामा अड्डी लिने गर्नुहुन्छ । भोक भएको भए मागिहाल्थें नि ।”
सिद्धेश्वरीले बसेको बसै गरिन् । रामचन्द्रले थालमा उब्रेको रोटी त्यसै छाड्दै लोटातर्फ हेरे र भने- “आमा, पानी दिनोस् त ।”
सिद्धेश्वरी लोटा लिएर पानी झिक्न गइन् । रामचन्द्रले कचौरालाई औंलाले बजाए र हात थालमाथि राख्दै रोटीको उब्रेको टुक्रालाई एकछिन नियाली बसे। अनि बिस्तारै हातले उठाएर यताउति हेर्दै रोटीको त्यो टुक्रालाई मुखभित्र यसरी हाले मानौँ त्यो रोटी नभई पानको खिल्ली होस् ।
माहिलो छोरा मोहनले आउनेबित्तिकै हातखुट्टा धोयो र खानका निम्ति पिर्कामा बस्यो । ऊ अलि श्याम वर्णको थियो र उसका आँखा अलिक साना थिए । अनुहारमा बिफरको दाग थियो । ऊ पनि दाजुसरह नै दुब्लो पातलो थियो तर लामो थिएन । आफ्नो उमेरअनुसार ऊ अलिक गम्भीर र उदास स्वभावको देखिन्थ्यो ।
सिद्धेश्वरीले उसका सामुन्ने थाल राख्दै सोधिन्- “यतिका बेर कता थियौ बेटा ? दाजु पिर मानेर सोध्दै थिए ।”
मोहनले रोटीको एउटा ठुलो गाँस निल्न खोज्दै अस्वाभाविक धोत्रे स्वरमा भन्यो- “कतै गएको थिइनँ । यतैतिर थिएँ ।”
सिद्धेश्वरी त्यहीं बसेर पङ्खा हम्किँदै यो किसिमले बोल्न थालिन् मानौँ सपनामा बरबराइरहेकी हुन् । बडकु तिम्रो निकै तारिफ गर्दै थियो । भन्दै थियो- “मोहनको दिमाग साहै तेज छ । चौबिसै घण्टा उसलाई पढ्ने ध्याउन्न मात्र हुन्छ ।”
यति भन्दै उनले माहिलोलाई यो किसिमसँग हेरिन् मानौँ उनले कुनै कुरो चोरेर बसेकी हुन् ।
मोहनले आफ्नी आमातर्फ हेर्दै हल्का हाँसो हाँस्यो र रोटी चपाउनपट्टि लाग्यो । पस्किएका दुईओटा रोटीमध्ये एउटा रोटी, कचौराको तीन चौथाइ दाल र तरकारी लगभग खाइसकेको थियो । सिद्धेश्वरी बुझ्न सकिरहेकी थिइनन् कि उनी अब के गरुन् । यी दुवै छोराहरूबाट उनलाई असाध्यै डर लाग्दथ्यो । अकस्मात् उनका आँखा टलपलाएर आए। उनी अर्कोपट्टि हेर्न थालिन् ।
केही बेरपछि छोरातिर हेर्दा उसले आफ्नो खाना लगभग सिध्याइसकेको थियो ।
सिद्धेश्वरीले झस्कँदै भनिन्- “एउटा अर्को रोटी ल्याउँछु ?”
मोहनले भान्साघरपट्टि रहस्यमय तरिकाले हेर्यो र सुस्त स्वरमा भन्यो- “चाहिँदैन ।”
सिद्धेश्वरीले कर गर्दै भनिन्- “लेऊ न बेटा, एउटा त ही । तिम्रो दाजुले पनि एउटा मात्रै खायो ।”
मोहनले आफ्नी आमालाई ध्यानपूर्वक हेर्यो । फेरि सुस्तरी यसप्रकार भन्न थाल्यो जसप्रकार कुनै शिक्षकले आफ्ना विद्यार्थीलाई सम्झाउँदै भन्दछन् । “पर्दैन मैयाँ । एक त भोक छैन, अर्कोतिर तिमीले रोटी यस्तो पकाएकी छौ कि खान सकिंदैन । कस्तो न कस्तो स्वादको । तैपनि तिमी चाहन्छौ भने यो कचौरामा अलिकति दाल थपिदेऊ । दाल मिठो छ ।”
सिद्धेश्वरी केही बोल्न सकिनन् । उनले कचौरामा दाल थपिदिइन् ।
मोहन कचौराको दाल पिउँदै थियो कि मुन्सी चन्द्रिकाप्रसाद जुत्ता घिसार्दै भित्र पसे र रामको नाउँ जप्दै चौकीमाथि बसे । सिद्धेश्वरीले शिरमाथिको साडीको सप्कोलाई केही तल तानिन् र मोहन एक सासमै दाल पिएर हातमा लोटा लिएर तेज गतिका साथ हात धुन निस्क्यो ।
दुई रोटी, कचौराभरि दाल र चनाको भुटुवा तरकारी । मुन्सी चन्द्रिकाप्रसाद पिर्कामा पलेंटी कसेर रोटीको एक एक गाँस बिस्तारै चपाउँदै यसरी खाइरहेका थिए जसरी कुनै बुढी गाई पागुर गर्दै बसेकी छे । उमेरले पैतालिस वर्षका भए पनि उनी पचास पचपन्नका देखिन्थे । शरीरको छाला लत्रिन थालेको थियो, तालु खुइलेको शिर ऐनाझैँ टल्किरहेको थियो । खुइलिएर मैलो देखिएको धोतीमाथिको गन्जीमा प्वालैप्वाल देखिन्थे ।
मुन्सीजीले कचौरालाई उठाउँदै एक घुट्को दाल घुटुक्क निले र सोधे- “बड्कु देखिँदैन नि !”
सिद्धेश्वरीले एकतमासको अनुभव गरिन् । के हुन लागेको हो, केही बुझ्न सकिनन् । कुनै कीरोले टोकेकोजस्तो आभास भयो । पङ्खालाई अलि जोरले हम्कँदै भन्न थालिन्, “केही अघि मात्रै खाएर काममा निस्क्यो । भन्दै थियो- केही दिनभित्र जागिर पाइहाल्छु । जति बेला पनि ‘बाबुजी, बाबुजी’ गरिराख्छ र भन्ने गर्छ बाबुजी त देवतातुल्य हुनुहुन्छ ।”
मुन्सीजीको अनुहार उज्यालो भएर आयो । अनि लाज मानेकोजस्तो गरी सोधे, “के भन्थ्यो रे, बाबुजी देवतासमान हुनुहुन्छ ? बहुला छ ।”
सिद्धेश्वरीलाई नशा लागेको जस्तो भयो । विक्षिप्त रोगीसरह बरबराउन थालिन्- “बहुला होइन, अत्यन्त समझदार छ, उस जमानाको कुनै महात्मा हुनुपर्छ । मोहन त उसको निकै तारिफ गरिबस्छ । आज भन्दै थियो कि यो सहरमा दाजुको बडो इज्जत हुन्छ, पढ्ने लेख्नेहरूमाझ आदरभाव हुन्छ । बड्कु पनि भाइहरू भनेपछि हुरुक्क हुन्छ । दुनियाँमा उसले सबै थोक सहन सक्दछ तर प्रमोदलाई केही भएको ऊ सहन सक्दैन ।”
मुन्सीजी औंलामा टाँसिएको दाल चाट्न थाले । अगाडिपट्टि हेर्दै र हाँस्दै भन्न थाले, “बड्कुको दिमाग तेज छ, यद्यपि बालखमा साह्रै चञ्चल स्वभावको थियो । जति बेला पनि खेलकुदमै लागिरहने । तर मैले घोक्न दिएको पाठ भने कण्ठाग्र गर्दथ्यो । वास्तवमा तीनैजना छोराहरू निकै बुद्धिमान् छन् । प्रमोदलाई तिमी के कम ठान्दछौ ?” भन्दै उन्मुक्त हाँसो हाँस्न ‘थाले ।
डेढोटा रोटी खाइसकेपछि मुन्सीजी एउटा गाँससित भने जुध्दै थिए । चपाउन गाह्रो भएपछि एक गिलास पानी घुट्क्याए । अनि ख्वाकख्वाक खोक्न थाले ।
वातावरण एकक्षणका निम्ति निस्तब्ध भयो । टाढाबाट गहुँ पिँध्ने चक्कीबाट ‘पुकपुक’को आवाज आउँदै थियो । नजिकको निमको बोटमाथि बसेको ढुकुर ‘ढुकुरकुर ढुकुरकुर’ गर्दै कुर्लिरहेको थियो ।
सिद्धेश्वरी के कुरा गर्ने भन्ने सोचमा डुबेकी थिइन् । यद्यपि उनी सबै कुरा सोध्ने र राम्ररी जान्ने बुझ्ने चाहना राख्दथिन् । दुनियाँको हरेक मामिलामा खुलेर कुरा गर्न चाहन्थिन् । तर उनलाई साहस हुँदैनथ्यो । उनको मनभित्र कुन्नि कुन किसिमको एउटा डर पसेको थियो । यता मुन्सीजी पनि केही नबोली यसरी खाइरहेका थिए मानौं उनले दुई दिनदेखि मौनव्रत धारण गरेका छन् र आज साँझ परेपछि नै त्यो तोड्नेवाला छन् ।
सिद्धेश्वरीलाई असह्य भएजस्तो लाग्यो । भन्न थालिन्- “अब पानी पर्ने छाँट छैन ।”
मुन्सीजीले एकक्षण यताउति हेरे, अनि निर्विकार स्वरमा भने- “झिंगाहरू पनि धेरै भएका छन् ।”
सिद्धेश्वरीले जिज्ञासा प्रकट गर्दै सोधिन्- “फुपाजु बिरामी हुनुहुन्थ्यो, कुनै खबर आयो ?”
मुन्सीजीले चनाका गेडालाई बडो उत्सुकताका साथ यसप्रकार हेरे मानौं त्यससित उनी केही प्रश्न सोध्न चाहन्छन् ।
अनि भने- “गङ्गाशरण बाबुकी छोरीको बिहे छिनिएछ । केटो एम.ए. पास रहेछ ।”
सिद्धेश्वरी चुप लागिन् । मुन्सीजीले पनि अगाडि केही कुरा गरेनन् । खाइसकेको भए पनि थालमा छरिएका गेडाहरूलाई बाँदरले बटुलेसरह बटुल्न थाले ।
सिद्धेश्वरीले भनिन्- “एउटा रोटी अरू ल्याउँछु । राम्ररी खानोस् । जेठोको कसम, भित्र भाँडोमा अरू पनि छन् ।”
मुन्सीजीले पत्नीपट्टि कुनै अपराधीसरह र भान्साघरतिर छड्के नजरले हेरे । अनि भन्न थाले, “भयो पर्दैन । पेट टन्न भएको छ । रोटी र गेडागुडीले मन तृप्त भएको छ । तिमीले व्यर्थमा कसम हाल्यौ । ल तिम्रो कसमको पालना गर्न लिंदै छु । गुड छ के ?”
हाँडीमा अलिकति गुड भएको कुरा सिद्धेश्वरीले बताइन् ।
मुन्सीजीले उत्साहपूर्वक भने– “ल, उसो भए अलिकति गुडको ठन्डा रस बनाऊ । त्यही पिउने छु । तिम्रो कसमको पालना पनि हुने छ र स्वाद पनि फेरिने छ । अनि पाचनतन्त्र पनि सही हुने छ । रोटी खाँदा खाँदा थाकियो ।” यति भन्दै अट्टहास गर्न थाले ।
मुन्सीजी हात धुन उठेपछि सिद्धेश्वरी उनको जुठो थाल लिएर भान्साघरभित्र पसिन् र खान बस्दै कसौंडीको दाल कचौरामा खन्याइन् । कचौरा आधा भरियो । कराहीमा अलिकति चना उब्रेको थियो । त्यसलाई आफूनजिक तानिन् । रोटी राखेको भाँडो पनि तानिन् । त्यसमा एउटा मात्रै रोटी थियो । मोटो, भद्दा र ठाउँ ठाउँमा डामिएको । त्यसलाई थालमा राख्न के थालेकी थिइन् कि एकाएक उनको नजर ओसरामा सुतिरहेको प्रमोदमाथि पर्यो । केही बेर उसतर्फ हेरिरहिन् र रोटीलाई दुई टुक्रा पारिन् । एउटा टुक्रा भाँडामै छुट्याइन् र अर्को टुक्रा आफ्नो थालमा राखिन् । अनि एक लोटा पानी झिकिन् । मुखमा एउटा गाँस हाल्न पाएकी थिइनन् कि आँखाबाट आँसुका बलिन्द्र धारा बग्न थाले ।
घरभरि झिंगाहरू भन्किरहेका थिए । आँगनमा झुन्ड्याइएको डोरीमा कैयौं ठाउँमा टालिएको एउटा मैलो धोती फैलिरहेको थियो । दुवै ठुला छोराहरू कता गए, पत्तो थिएन । बाहिर कोठामा मुन्सीजी मस्तसित कोल्टो फेर्दै सुतिरहेका थिए मानौँ डेढ महिनाअघि घर बहाल नियन्त्रण विभागको क्लर्कको जागिरबाट उनको पजनी भएको थिएन र बेलुकी कुनै कामको खोजीमा जानुपर्ने पनि छैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२८ जेष्ठ २०८३, बिहीबार 







