दिल्लीबाट मेरा मित्रहरू आएका थिए । उनीहरूलाई काठमाडौंका विभिन्न स्थलहरू देखाउनुपर्ने भयो ।  यसो हुँदा उनीहरूलाई सबैभन्दा पहिले भगवान् पशुपतिनाथको दर्शन गराउन लगें । तत्पश्चात् गुह्येश्वरी, चारुमति स्तूप, बौद्धनाथ आदि धार्मिक स्थलहरू घुमाएपछि उनीहरूलाई लिएर न्युरोड पुगें । न्युरोडको परिभ्रमणपछि घुम्दै संकटा मन्दिर पनि पुगियो । भगवतीको दर्शन गरेर तल ओर्लेपछि  एकजना साथीले भने- ‘उपाध्याय यार, कतै एकछिन यसो बसेर चिया खाऊँ, गफ पनि चिया खाँदै गरौं । धेरै हिँडियो । एक छिन विश्राम पनि हुन्छ ।’

‘हुन्छ’ भन्दै एउटा रेस्टुराँतिर लागें । उनले फेरि भने-‘हैन, बाहिर बसेर खुल्ला हावामा चिया खाएको बेग्लै मज्जा हुन्छ । एकातिर मन्दिरको पृष्ठभूमि, अर्कोतिर यहाँको शीतल हावाको आनन्द उठाउँदै र यताउतिका रमाइला दृश्य पनि हेर्दै चिया पिएको आनन्द बिरलै अनुभव गर्न पाइन्छ । कसो ?’

‘हुन्छ’ भन्दै उनको भावनाको कदर गर्न यसो नजर घुमाएँ । देखें-मन्दिरको एउटा किनारामा एउटा चियाको पसल । सोधें- ‘यहाँ ठीक होला ?’

उनले यताउति हेरे र भन्न थाले – ‘गज्जब । सामुन्ने मन्दिर, वरिपरि परेवाहरूको बथान, तिनलाई धपाउँदै रमाइरहेका केटाकेटीहरू, ओहोरदोहार गर्ने मानिसहरूको चहलपहल, तीर्थयात्रीहरूको आवागमन, पसलहरूको लाम र साइकिलमा फलफूल बेच्नेहरू । यस्तो सम्मिश्रण हामी दिल्लीमा काँ हेर्न पाउँछौं । यतै बसेर चिया खाऊँ । मलाई त काठमान्डु साह्रै मन पर्‍यो यार ।’

उनले यति भनेपछि हामी त्यतै लाग्यौं । साहुनीलाई तीन कप चियाको निम्ति भन्यौं । साहुनीले तपेशमा भएकै पत्तीमा पानी थप्न लाग्दा भनें – ‘साहुनी, हामीलाई यस्तो चिया चाहिन्न । तपाईँले यो पानी कुनै भाँडामा खनाएर नयाँ पानी र पत्तीको चिया दिनुभो भने खाने, नत्र दुःख नगर्नोस् ।’

‘ल कुन ठूलो कुरा भो र बुआ, बस्नोस् न । तपाईंले भन्नुभा सरह नै चिया पकाउँछु ?’

हामी बस्यौं । साथीले सोधे – ‘यो बुआ किन भनेको यार ?’

हिन्दीभाषी मित्र के बुझ्थे बुआको अर्थ । उता त बुआ फुपूका लागि भन्ने गरिन्छ । यसर्थ उनलाई यसको अर्थ बताउँदै भनें- साहुनीले सम्मान दिनका लागि बुआ भनेकी । नेपालीमा बुआ भनेको पिताजी हो । मेरो फुलेका केश देखेर उनले मान दिँदै यसो भनेकी हुन् ।’

उनी हाँस्न थाले । उता साहुनी मैले भनेअनुसार चिया पकाउन  थालिन् । पानीका साथै चिनी, दूध र पत्ती हालिन् । म हेरिरहें । चिया उम्लेपछि मैले भनें- ‘ल भयो साहुनी, अब चिया धेरै नउमाल्नोस् । छानेर दिई हाल्नोस् ।’

‘एकछिन उम्लोस् बुआ, नत्र दूधको गन्ध आउँछ । चिया पनि स्वादिलो हुँदैन ।’

‘होइन साहुनी, धेरै नउमाल्नोस् । मलाई दूधको बासना र स्वाद दुवै मिठो लाग्छ । धेरै पाकेको चियाले फाइदा पनि गर्दैन । यसो हुँदा अब नउमाल्नोस् । झिकी हाल्नोस् ।’

‘हुन्छ । तर बुआ धेरै गाहकी त दूधको वासना मन पराउँदैनन् । उनीहरूलाई कडा चिया चाहिन्छ ।’

‘हो साहुनी, सबै जनाको आ-आफ्नो स्वाद हुन्छ । मलाई भने दूधको स्वाद र वासना दुवै मन पर्छ । घरमा त म दूध र चियाको झोल कपमा छुट्टाछुट्टै खनाएर खान्छु ।’

‘ए हो’ भन्दै साहुनीले कागजको कपमा चिया अगाडि ल्याइन ।

चियाको चुस्को लिँदै मैले साहुनीको भावनाको कदर गर्न भनें- ‘साहुनी, चिया मैले खोजेजस्तै स्वादिलो भो । चियाको पत्ती राम्रो रहेछ । दूध पनि गाईको हो क्यार ।’

‘हो’ भन्दै साहुनी मुसुक्क हाँसिन् ।

साहुनीको सरलता राम्रो लाग्यो । पैसा तिरेर निस्के पछि साथीले भने – ‘उपाध्याय यार, मलाई यहाँको सामाजिक व्यवस्था साह्रै राम्रो लाग्यो । चियाको पसल होस् कि मासुको, किराना पसल होस् कि डेरी, जहाँ पनि पसलका सञ्चालक आइमाईहरूलाई नै देख्दछु । फेरि कति राम्रा, कति हँसिला र कति फरासिला । बसेर कुरा गरिराखूँ जस्तो लाग्ने ।’