
“यी लेऊ, तिमीलाई कोसेली ।” खेमराजले हात अगाडि बढाउँदा उसको हातमा आइफोन-१६ को नयाँ बट्टा जगमगाइरहेको थियो ।
“आब्बुइ, आइफोन !” सीताले सुखद आश्चर्यका साथ हातमा आइफोन लिइन् र ओल्टाइपल्टाइ गर्न थालिन् र भनिन्,” “मलाई त यस्तो कोसेली आउला भन्ने आशै थिएन ।”
“ल, के कुरा गरेकी तिमीले ? विदेश जाँदा कहिले तिमीलाई रित्तो हात राखेको छु र ?”
“त्यो त हो । तर यति महँगो गिफ्ट !”
“सालीको लागि ल्याइने गिफ्टको पनि कतै मोल हेरिन्छ त !” अलिकति जिस्किने मूडमा आयो खेमराज । साली-भेनाको उमेर जति भए पनि नाता भने युवा नै हुन्छ ।
“यो विदेश भ्रमण त चिट्ठा परेको हो, मलाई । चिट्ठा परेको पैसाको के लोभ गर्नु ?” खेमराजले गफ दियो ।
वास्तवमा यो मौका त संयोगले मात्र आएको थियो । पुरानो सरकार रहेको भए ऊ टोलीमा पर्ने नै थिएन । अर्कै पार्टीको कर्मचारी जान्थ्यो भत्ता खान । नेपालमा अहिले सत्ता परिवर्तनको असर खरिदारको कुर्सीसम्म आइपुग्छ । अवसर कुन कर्मचारीले पाउने भन्ने कुराको निर्क्यौल उसको पार्टीसँग सम्बन्धित छ । फेरि अनेक तिकडम र जालझेल । भन्नु उसो हैन, किनमेल पनि चल्छ । जागीर वास्तवमा ठेक्कापट्टा भएको छ अहिले ।
खेमराजले गफ हाँके पनि यो महँगै कोसेली थियो । खेमराज विदेश जाँदा सबै भत्ता र सुविधाको रकमको डलर साटेर जान्थ्यो र उतै बसेका छोराछोरीलाई दिएर आउँथ्यो । यसरी जाँदा कोसेली त ल्याइदिन्थ्यो तर दश-बीस डलर जाने सजावटका सामग्री वा सौन्दर्य प्रसाधन मात्र । यो पटक त उल्कै गरेको थियो ।
“त्यो त हो भिनाजु । तर मैले दिदीसँग कुरा गर्दा भिनाजुलाई किनमेल गर्ने फुर्सद नै हुँदैन भन्नुहुन्थ्यो । त्यसैले मात्र ।” सीतालाई भिनाजुको चित्त दुखेको जस्तो लाग्यो ।
“त्यो त हो नि ! ठूलाबडाहरूसँग हुने भ्रमणमा त्यति फुर्सद नै हुँदैन । विदेशमा उनीहरूलाई एक्लै पारेर कतै जान मिल्दैन । कति वेला कुन जरूरी काम पर्छ थाहा हुँदैन । कार्यक्रमहरू पनि व्यस्त नै राखेर बनाइएको हुन्छ । उनीहरूको आसेपासे किनमेल र घूमघामका लागि बरालिंदा आफू भने उनीहरूको वरिपरि घुमिरहनुपर्छ ।” खेमराजले सही थाप्यो ।
“तिमीले समाचारमा पनि सुन्यौ होला त ! विदेशमा रहेका नेपालीले त्यहाँ हुने एउटा कार्यक्रममा विरोध प्रदर्शन गर्ने हल्ला चल्यो । यसैकारण कार्यक्रम रद्द भयो । अचानक यसरी कार्यक्रम रद्द हुँदा उहाँहरूलाई पनि फुर्सद भयो । हामीले पनि केही समय फुर्सद पायौं, किनमेल गर्न पनि पाइयो । तिमीलाई आइफोन त्यसरी जुरेको हो ।” खेमराजले विदेश भ्रमणको एक टुक्रा कथा सुनायो ।
खेमराजले सालीसँग यो बेलीबिस्तार लगाए पनि कुरो अलि फरक थियो । नेताहरू विदेशमा रहँदा उनीहरूसँग भेट्न उद्योगपति र व्यापारीका प्रतिनिधिहरू सलबलाइरहेका हुन्छन् । यो पटक पनि सिङ्गापुरबाट एकजनाले खेमराजलाई तारन्तार फोन गरेर समय मिलाइदिन भनेका थिए । कार्यक्रम रद्द भएको कारण केही समय खाली रहेको जानकारी तिनलाई खेमराजले नै गराएका थिए र भेटघाटको तारतम्य पनि मिलाइदिएका थिए । त्यसै बापत ती प्रतिनिधिले खेमराजलाई यो आइफोन दिएका थिए । घरमा सबैले पहिलादेखि नै आइफोन चलाइरहेका हुनाले यो चैं उसकी साली सीताको हातमा पुगेको थियो ।
तर यो कुरा त किन कसैलाई भनिरहनु पर्यो र ?
“आइफोन राम्रो भए पनि यसको कथा त झूर रहेछ त, भिनाजु ! देशकै बेइज्जत भएछ ।”
“पहिले अवसरको खोजीमा विदेश पुगेका र विदेशमा धेरै प्रगति गरेका नेपालीहरू धेरै थिए । अचेल नेपालमा दुःख पाएर विदेश गएका र उता पनि हन्डर पाएका नेपालीहरूको संख्या बढिरहेको छ । देशको चाल पनि त ठीक छैन नि ! दुःख पाउनेले आक्रोश पोख्छ नै । यो त्यही भएको हो । तिमी धेरै भावुक नबन । मोबाइल चलाऊ, टिकटक बनाऊ । यस्ता घटनाबाट जसको निधार खुम्चनु पर्ने हो, उनीहरूको निधार खुम्चिंदैन । हामी साना मान्छे गम्भीर भएर के गर्नु ? नेपाल बगिरहेको गङ्गा हो, सबैले हात चोबलेर पाप पखालिरहेका छन् । तिमी पनि टाउको नदुखाऊ ।”
“थ्याङ्क्यु भिनाजु ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

