‘बिरजुकी आमा, नाच हेर्न नजाने भयौ कि क्या हो ?’

बिरजुकी आमा सखरखण्ड उसिनिसकेर बसिरहेकी थिइन् आफ्नो आँगनमा मुरमुरिँदै । सात वर्षको छोरो बिरजु सखरखण्डको सट्टा चड्कन पाएर आँगनमा लडीबुडी खेल्दै जीउ धुलाम्मे पार्दै थियो। चम्पियाको टाउकामा पनि भूत चढिराखेको थियो र त दिउँसै साहुनीको पसलमा गुड र छुवा किन्न गएकी बत्ती बाल्ने बेला भइसक्दासम्म पनि फर्केकी थिइन् ।… ‘फर्केर त आओस्, जानेकी छु’… उता बागड बाखोको जीउभरि कुकुरझिँगाहरू भन्किरहेका थिए । यसबाट हैरान भई बागड यताउति उफ्रिंदै थियो । बिरजुकी आमाले रिस बागडमाथि पोख्ने निहुँ पाइसकेकी थिइन् । घरपछाडिको बारीमा खुर्सानीका बोट ! बागडबाहेक कसैले खाजा खान पाएको थिएन । बागडलाई हिर्काउन उनले ढुङ्गा उजाएकी मात्र के थिइन् छिमेकमा बस्ने मखनी फुआका सम्बोधन कानमा परे- ‘बिरजुकी आमा, नाच हेर्न नजाने भयौ कि क्या हो ?’

“बिरजुकी आमाका अगाडि वा पछाडि तीन तेह्रका भए पो फुआ !”

तातो रिसले भरिएका कुराले फुआको मुटु च्वास्स घोच्यो । उता बिरजुकी आमाले हातको ढुङ्गा पनि आँगनमा हुत्याइदिइन् । बिचरो बागडलाई कुकुरझिँगाले सताउँदै थिए । हा.हा.. हर्र.. हर्र !

माटोमा लडीबुडी खेलिरहेको बिरजुले त्यसै अवस्थामा बागडलाई एक लौरो हिर्कायो । बिरजुकी आमालाई बिरजुमाथिको भूत त्यसै लौरोले भगाइदिने इच्छा भयो तर निमको बोटमुन्तिर उभिइरहेका पँधेर्नीहरूका खित्का सुनेर उनी टक्क अडिन् । … “तेरा बा’ले फुर्काएर मैमत्त बनाएका छन् तँलाई, पर्खी तँ । बडो निमुखामाथि हात चलाउँदो रैछ !”

भरिएका घैला बोक्दै निमको बोट भएर गुज्रिरहेका पँधेर्नीहरूलाई बिरजुकी आमाका बेफ्वाँकका कुरा मखनी फुआले कुप्रिंदै सुनाउन थालिन्, “अलिक हेर त, त्यो बिरजुकी आमालाई । चार मन पाट (सनपाट) वाट दुईचार पैसा यसो के आम्दानी भयो, भुइँमा खुट्टा छैन । तिमीहरू नै भन त । आठ दिनअघि मात्रै उसले गाउँका गल्ली गल्लीमा घुम्दै भनेकी होइन-बिरजुका बाले भनेका छन् यसपालि बयलगाडामा बसालेर बलरामपुरको नाच देखाउन लैजानेछु भनेर । आफ्नो घरमा गोरु छँदै छन्, माग्दा हजारौं गाडाहरू पाइन्छन् । त्यसो हुँदा मैले यसो सोधिहालें । नाच हेर्न जानेहरू सजिसजाउ भइरहेकाले मैले भनी हालें । मेरो थुतुनो पनि किन सकसकाउन पुगेको होला । सुन्छौ बिरजुकी आमाले भनेका कुरा ?”

मखनी फुआले आफ्नो थोते मुख लेप्याउँदै भन्न थालिन्- “आ, बिरजुकी आमाको अगाडि पछाडि तीन-तेहका भए पो फुआ ।”

कसैसित नडराउने र टोलका सबै बझुवी सासूहरूको मुकाबिला गरिसकेकी जङ्गीकी बुहारी बिरजुकी आमासँग किन डराउँदथी र ? यसो हुँदा मुख फोरेरै भन्न थाली, “फुआ..आ ! सर्भे सित्तलमिन्टी (सर्भे सेटलमेन्ट) का हाकिमको बासामा फूलछाप किनार भएको साडी लाएर तिमी पनि भ्यान्टाको उपहार लिएर पुगेकी भए तिमीले पनि आफ्ना नाउँमा दुईतीन बिघा जमीनको पर्चा पाउने थियौ । तिम्रो घरमा पनि आज पाटका दश मन गाँठहरू हुन्थे, एक जोर गोरु हुन्थे । अनि त अगाडि-पछाडि सैकडौँ मानिस !”

जङ्गीकी बुहारी बझुवी छे । रेलवे स्टेसनछेउको बस्तीकी केटी हो । गौना गरिआएको तीन महिना मात्रै भएको छ । कुर्मी टोलका सबै आइमाईहरूलाई उसको स्वभाव थाहा छ । उसको ससुरा जङ्गी दागी चोर छ । सिडकिलासी छ । उसको खसम रङ्गी टोलको नामुद लठैत छ । यसो हुँदा सबैतिर सिङ तेर्स्याउँदै हिँडडुल गरिराख्दछे जङ्गीकी बुहारी ।

जङ्गीकी बुहारीका कुरा गुलेलीबाट फुत्केको मट्याङ्ग्रासरह बिरजुकी आमाको आँगनमा बज्यो । बिरजुकी आमासित त्यसको मुखभरिको जबाफ तयार थियो तर ‘फोहोरमा ढुङ्गा किन फाल्नु’ भन्दै आफूलाई सम्झाई बसिन् ।

जिभ्रोको थुक निल्दै बिरजुकी आमाले छोरी चम्पियालाई कराउँदै डाकी- “कता छेस् ऐई चम्पिया मोरी पर्खी, आज तेरो चुल्ठो बटारेर चुलोमा होमिनँ भने ! दिनप्रतिदिन तँ गतिछाडा हुँदै गइराखेकी छेस् । गाउँमा त अब ठेठर बैसकोपका गीत गाउने पसुरिया बुहारीहरूको बास हुन थालेको छ । कतै बसेर ‘बाजे न मुरलिया’ सिक्दै छेस् कि क्या हो ? ऊ चम्पिया… चम्पिया…या…या… या…।”

जङ्गीकी बुहारीका कानमा बिरजुकी आमाका कुरा के परेका थिए-घैंटो बोक्दै, कम्मर लच्काउँदै भन्न थाली “हिंड् दिदिया, हिंड् । यो महल्लामा लालपानको बेगम बस्दछिन् । थाहा छैन, दिनरात नै बिजुलीका बत्ती झलमल्ल बलिरहन्छन् ।”

झलमल्ल बिजुली बत्तीको कुरा सुनेर सबै आइमाईहरू एकाएक गलल्ल हाँस्न थाले । फुआको मुखबाट एउटा वाक्य निस्क्यो “राकसनीकी बज्यै ।”

टर्च बत्तीको तेजिलो प्रकाश पर्दा आँखा तिरमिरिएसरह बिरजुकी आमाका आँखा यी कुराहरूबाट तिरमिरिन थाले । भक… भक… बिजुली बत्ती ! तीन वर्षअघिको सर्भे कैम्पपछि गाउँका केही डाढे आइमाईहरूले एउटा कथा गढेर एक कान दुई कान फैलाएका थिए कि चम्पियाकी आमाको आँगनमा नाल ठोकिएको जुत्ताको छाप घोडाका टापसरह… ।… डाढ़े हो डाढ गरिराख । ईर्ष्याको आगोमा जलिराख ! … चम्पियाकी आमाको आँगनमा चाँदीजस्तै टल्कने सनपाटलाई सुकिराखेको देखेर आरिस गर्नेजति सबै आइमाईहरू खलियानमा सोनोली धानका बोझहरूको रास देखेर पनि पोलिएका भन्टासरह चाउरिएर बस ।

माटोका भाँडोबाट चुहिरहेको छुवा र गुड चाट्दै चम्पिया घरभित्र पसेकी मात्रै थिई कि आमाको चड्कन पाएर कराई, “मलाई किन चुट्छयौ मैयाँ, साहुनीले सौदा दिन अबेर गरी त के गरूँ ? उँ..उँ…उँ…।”

“साहुनीले सौदा दिन अबेर गरी कि छोरी ! एउटी साहुनीकै पसलमा मोती बर्सिन्छ जस्तो गरी त्यहाँ बडो जमेर बसिराख्दिरैछे । भन् मोरी, घाँटी बटारेर मर्काइदिऊँ ? फेरि कहिल्यै ‘बाजे न मुरलिया’ भन्ने गीत सुनें भने थाहा पाउलिस् ! बडो टेसनका छोरीहरूसित टाँसिएर गीत सिक्दी रैछे ।”

बोल्न छाडेपछि आफ्नो आवाज जङ्गीको झुप्रोसम्म राम्ररी सुन्ने गरी पुग्यो होला भन्ने लख बिरजुकी आमाले काट्न थालिन् ।

बिरजु पुरानो घटनालाई बिर्सेर उभियो र धुलो झार्दै घैंटाबाट चुहिरहेको गुड लोभिंदै हेरिरह्यो । … दिदीसँग ऊ पनि पसल गएको भए दिदीले अवश्य पनि गुड चाट्न दिन्थी । तर सखरखण्डको लोभमा बस्यो र माग्दा सखरखण्डको सट्टा…

“ऐ माई, एक औंला गुड देऊ न ।” हात अगाडि सार्दै बिरजु भन्न थाल्यो- “एक रत्ती जत्ति ।”

“एक रत्ती किन ? घैंटो नै घरपछाडिको बाँसघारीमा मिल्काइदिन्छु, अनि त्यहीँ गएर चाट्दै बसेस् । बन्दैन अब गुलियो रोटीसोटी । गुलियो रोटी खानुपर्छ !”… बिरजुकी आमाले उसिनेको सखरखण्ड चम्पियाका सामुन्ने राख्दै भन्न थालिन्- “ल बसेर ताछ यी सबै । नत्र अहिले…।”

दश वर्षकी चम्पियाले बुझेकी छे, सखरखण्ड ताछ्दै गर्दा आमाले कम से कम दशबाह्रपल्ट ससाना खोट देखाउँदै जगल्ट्याउने र गाली गर्ने गर्छिन् भन्ने कुरा । … “यो खुट्टा फिँजाएर के बसेकी नकच्चरी !”… चम्पियालाई आमाको रिस र गालीका बारेमा राम्ररी थाहा छ ।

बिरजुले यति बेला आमालाई रिझाउने सुरले भन्यो- “ऐई माई, म पनि बसेर सखरखण्ड ताछें ?”

“पर्दैन ! एउटा ताछिनसक्दै तीनोटा पेटमा हाल्छस् । जा बरु गएर सिद्धकी दुलहीसित कराही मागेर ल्या, एक घण्टाका लागि लगेकी, फर्काउने नामै छैन । जा गइहाल् ।“

नियास्रिँदै आँगनबाट निस्कँदै गर्दा बिरजुका आँखा सखरखण्डमाथि परे । चम्पियाले आफ्ना फिँजिएका केशराशिभित्रबाट आमातर्फ हेरी र आमाको नजर नपर्ने गरी एउटा सखरखण्ड बिरजुतर्फ फाली । ट्याप्प समातेर बिरजुले कुलेलम ठोक्यो ।

“सुर्जे भगवान् अस्ताउने बेला भइसक्यो । साँझको बत्ती बाल्ने बेला हुन थाल्यो । तर अहिलेसम्म गाडाको व्यवस्था…।”

चम्पियाले कुरा बीचमा काट्‌दै भनी, “मैयाँ, कोइरी टोलमा कसैले गाडा दिएन अरे । बप्पाले भनेका छन्- ‘मैयाँलाई भनेस्, सबै थोक ठीक पारेर राख्न । मलदहिया टोलका मियाँजानको गाडा लिन जाँदै छु ।’”

यो कुरा सुन्नासाथ बिरजुकी आमाको मन खिन्न भयो । छाताको कमानी एक्कासि घोडाबाट फुस्केकोजस्तो अनुभव गरिन् उनले । कोइरी टोलमा त कसैले माग्दा गाडा दिएन भने अब मियाँजीको भर परेर के पार लाग्छ ? जब आफ्नै गाउँबस्तीका मानिसहरूले पत्याएनन् भने मलदहिया टोलका मियाँजीको के भरोसा ? न तीनमा न तेह्नमा । अब सखरखण्ड ताछेर के काम ? राखी दे चम्पिया ढाकेर । बडो बयलगाडीमा बसालेर नाच देखाउन लैजाने भन्ने भएको ।… चलिस् बुढी बयलगाडीमा ! देख्लिस् नाच पेटभरि । … हिँडेर जानेहरू थकाइ मारी पुराना भइसके होलान् । तँचाहिँ…।

बिरजु सानो कराही शिरमा घोप्ट्याउँदै पस्यो, “यी हेर दिदी मेरो मलेटरी टोप । यसमाथि दश लट्ठी हिर्काए पनि केही हुन्न ।”

चम्पिया केही नबोली बसिराखी । मुसुक्क हाँसी पनि । बिरजुलाई यो लख काट्न बेर लागेन कि मैयाँको रिसको पारा अझै झरेको छैन ।

छाप्रोभित्रबाट बागडलाई बाहिर निकाल्दै बिरजुकी आमा बरबराउन थालिन्- “पर्खी, भोलि नै ‘तँ राक्षसलाई पंचकौडी कसाईलाई बुझाइनँ भने । हरेक थोकमा मुख हाल्दो रै’छ बजिया । चम्पिया बाँधिदे यो राक्षसलाई । यसको गर्दनको घण्टी पनि झिकिदे । जति बेला पनि… झर्को लागिसक्यो सुन्दा सुन्दा ।”

‘टुनटुन’ शब्द सुन्नासाथ बिरजुलाई सडकमा गुडिरहेका बयलगाडाहरूको सम्झना भएर आयो । बबुआन टोलका गाडाहरू भर्खर नाच हुने ठाउँतर्फ दगुरिरहेका थिए । ‘गोरुहरूका गर्दनमा झुन्डिएका घण्टहरू बजिरहेको मैले आफैले सुनेको… तैंले पनि…।”

“चुप लाग् । धेरै बकबक नगर ।” बागडका घाँटीबाट घण्टी झिक्दै चम्पिया कराई ।

“चम्पिया खन्याइदे पानी चुलोमा । बाबु आयो भने आफ्नो उडनजहाजमा बसेर नाच हेर्न जान भन्दिनू । मलाई नाच हेर्ने सोख छैन । मलाई कसैले नउठाउनू। बुझ्यौ ? मेरो टाउको दुखिरा’छ ।”

झुपडीको ओसरामा बसिरहेको बिरजुले फुसफुसाउँदै सोध्यो- “दिदी, के नाचमा उडनजहाज पनि उडेको हेर्न पाइने छ ?”

एउटा झुत्रे ओढनी ओढ्दै चम्पियाले बिरजुलाई आफूनजिक आएर बस्न सान गरी बिचरोले व्यर्थमै चुटाइ पाउला भन्ठानेर ।

बिरजुले दिदीको दश ठाउँमा टालिएको झुत्रे ओढनीभित्र छिर्दै एक चिम्टी काट्यो । जाडोको मौसममा यसरी ओढनीभित्र घुसिएर चिम्टी काट्न जानिसकेको थियो उसले । चम्पियाको काननजिक मुख लग्दै सोध्यो- “उसो भए दिदी, हामी नाच हेर्न जान नपाउने भयौं ? गाउँमा एउटा मुसोसम्म छैन । सबै गए । हामीचाहिँ…।”

चम्पियालाई पनि कुनै उपाय सुझिरहेको थिएन । के बताओस् । ताराहरू उदाउन थालिसकेका थिए । बाबुको अत्तोपत्तो छैन । मैयाँ एक महिना पहिलेदेखि नै भन्ने गर्थिन्, “बलरामपुरको नाच हेर्न जाँदा गुलियो रोटी पकाएर लानुपर्छ । चम्पिया तैंले छिटको साडी लाएस् । बिरजुले प्यान्ट लाउनेछ । अनि बयलगाडा चढेर…।”

यी कुराहरूको सम्झनाले चम्पियाका आँखा रसाएर आए । उसले तित्रीको बोटमा बस्ने जिनबाबालाई सम्झँदै भाकल गर्न थाली, “हे जिनबाबा, मेरो बाबुलाई चाँडै गाडा लिएर आउन लगाइदेऊ । म आफ्नो भ्यान्टाबारीमा फल्ने पहिलो भन्टा तिमीलाई चढाउनेछु ।”

उता झुपडीभित्र गुन्द्रीमा पल्टेकी बिरजुकी आमालाई पनि के निद्रा लाग्थ्यो । समय गुन्द्रीमा ओर्कंदैफर्कंदैमा बितिरहेको थियो । “कसैले पनि कुनै कुरोको मनसुबा गर्नु हुँदोरहेनछ । भगवान्ले यतिका दिनदेखिको मनसुबा भताभुङ्ग पारिदिए । मैले भगवानसित सोध्नुपरेको छ- कुन भुलका लागि सजाय दिराखेका छौ भोलेबाबा तिमीले ? मैले जानेसम्म त कुनै देवतापितृको पूजामा चुक गरेकी छैन । सर्भेका दिनहरूमा जेजति भाकल गरेकी थिएँ- महावीरजीलाई रोट चढाउन बाँकी रहेको वाचाबाहेक अरू केही त छाडेकी छैन । एउटा भुलका लागि माफ गर महावीर बाबा । भाकल दोब्बर गरी पूरा गर्ने छु । बिरजुकी आमाको इज्जत राखिदेऊ महावीर बाबा !”

झलझली बत्ती… जङ्गीकी बुहारीका कुराहरूबाट बिरजुकी आमाको मुटु च्वास्स च्वास्स घोचिरहेको छ । चोरीचकारी गर्नेकी छोरीबुहारीले आरिस नगरे के गरुन् त । यसो पाँच बिघा जग्गा के जोरेका थिए बिरजुका बाले, गाउँभरिका डाढेहरूका आँखामा काँढा बिझाउन थाले । खेतमा पाटका बिरुवाहरू पलाएको देख्दा पनि यी डाढेहरूका छाती फाट्न थाल्छन् । खेतमा माटोका डल्लाहरू फोर्दै पाट रोपेको त कसैले देख्दैनन्, देख्छन् त हलहल पलाइरहेका बोटहरू । सबैको कुदृष्टि पर्दछ यिनमा । यत्तिका मानिसहरूका कुदृष्टि कसरी सहुन् यी निमुखा बोटबिरुवाहरूले पनि । यसैले पन्ध्र मन पाटको ठाउँमा यसपालि दश मन पाट मात्र जोखियो रब्बी भगतको धरमकाँटामा ।…

“यसमा आरिस गर्नुपर्ने कुरा के हो बरा ! … बिरजुका बाले त पहिले नै कुर्मा टोलका एक एकजनालाई सम्झाउँदै भनेकै त थिए-हेर, सर्भेको बेला आउँदै छ । लट्ठी बलियो पार्यो भने दुईचारबिघा जग्गा हासिल गर्न सक्छौ । नत्र जिन्दगीभरि मजदुरी गरी बस्नुपर्ने छ । तर त्यति बेला त कोही पनि सर्भेको बाबुसाहेबका अगाडि नमस्ते गर्नसम्म पनि पुगेन । … बिरजुका बाले कम हप्कीदप्की सहनुपर्यो । बाबुसाहेब सर्कसको बाघसरह गर्जिंदै कहिले यता त कहिले उता ओहोरदोहोर गरिराख्थे । उनको छोराले त झुपडीमा आगो लगाइदिने धम्कीसमेत दिएर गएको थियो ।

…अन्त्यमा बाबुसाहेबले आफ्नो कान्छो छोरालाई पठाएका थिए । उसले ‘सानिमा’ भनी डाक्यो र भन्यो, “यो जमिन, सानिमा, बाबाले मेरो नाउँमा किन्नुभा’ थियो । मेरो पढाइलेखाइ यसैको उब्जनीबाट चल्छ ।…आदि आदि ।“

त्यति सानो केटाले पनि कति कुरा जानेको । आखिर जमिनदारको छोरा न हो…।

“चम्पिया, बिरजु सुत्यो कि क्या हो ? यता आइज बिरजु, भित्र आइज । तँ पनि आइज चम्पिया । … एकपल्ट आओस् त बुढो आज ।”…

बिरजुलाई अँगालो मार्दै चम्पिया भित्र पसी ।

“टुकी निभाइदे ।… बा’ले डाके भने एकदमै नबोल्नू । मान्द्रो पनि झारिदे ।”

“भलाद्मी अरे । अनुहार त हेर यो भलाद्मीको ! … बिरजुकी आमाको ओट नपाएको भए पाउँथ्यो जग्गा । सधैं आएर खप्परमा हात राखी भन्ने गर्थ्यो- चाहिन्न मलाई जग्गासग्गा, बुझिस् बिरजुकी आमा… जग्गाको टन्टामा पर्नुभन्दा त मजदुरी नै राम्रो… मजदुरी नै उत्तम बुझिस् ! …तर बिरजुकी आमाको जबाफबाट चुप्प लागेर बस्थ्यो । जब मन नै थिर छैन भने छाडिदेऊ जग्गा… के गर्छौ जग्गा जोईको कुरामा लागेर !… समाल्यो भने जग्गा जोर आफ्नो, नत्र पराईको ।”…

बिरजुका बालाई रिस उठ्न बेर लाग्दैन । उठेपछि बढेको बढेई हुन्छ । … बिरजुकी आमाको भाग्यमै खोट छ र पो यस्तो गोबरगणेश पोइ फेला पर्यो । कुन सुख र मोज दिएको छ र उसले ! कोलको गोरुसरह दिनरात खट्दै उमेर बिताउनुपरेको छ यसकाँ । कहिल्यै एक पैसाको जुल्फी किनेर दिएको होस् खसमले ! … पाटको पैसा पनि भगतकाँबाट लिएर गोरुहाट पुग्यो र बिरजुकी आमाको लम्बरी नोट हेर्ने रहर पनि पूरा हुन पाएन । गोरु किनेर ल्यायो । त्यसै दिनदेखि बिरजुकी आमाले गाउँमा ढोल ठटाउन थाली यसपालि त बिरजुकी आमा बयलगाडामा बसेर नाच हेर्न जानेछे भन्दै । … अर्काको गाडाको भरमा नाच देखाउन लैजाने अरे !

अन्त्यमा उसलाई आफैंमाथि झोक उठ्न थाल्यो । ऊ पनि त कम छैन । जिभ्रोमा आगो लागोस् । बयलगाडामा बसेर नाच हेर्न जाने कुरो कुन कुसाइतमा मुखबाट फुत्कन पुग्यो । भगवान्लाई नै थाहा होला । तर आज पनि त बिहानदेखि मध्याह्नसम्म कुनै न कुनै निहुँमा अठारपल्ट बयलगाडामा बसेर नाच हेर्न जाने कुरा भनिराखी । … ल अब हेर बुढी नाच । गुन्द्री ओढेर बडो दोसल्लाको सपना हेर्ने भएकी ? भोलि बिहान पानी भर्न जाँदा डाढे पधेर्नीहरूले खुब खिल्ली उडाउलान् । पेट मिचीमिची हाँस्लान् । किनभने सबै डाढ गर्छन् ऊसित । भगवान् दाढीजार पनि …। दुईओटा बच्चाकी आमा भएर पनि जसकी तस छे। उसको खसम पनि उसको कब्जामा छ । कपालमा नरिवलको तेल हाल्छे । आफ्ना नाउँमा जग्गा पनि छ । छ अरू कसैसित एक धुर जग्गा पनि यो गाउँमा ? अनि डाढ नगरे के गरुन् त् ? तीन विधा जग्गामा अगहनी धानको बाली छ । तर मानिसको डाहे आँखाबाट जोगिए पो । बिरजकी आमाको बरबराइ बाहिर गोरुहरूका घण्टीको आवाज कानमा पर्दा रोकियो । तीनैजनाका कान ठाडा भए । कान थापेर सुनिबसे ।

“के आफ्नै गोरुहरूका गर्दनका घण्टी हुन् त चम्पिया ?” चम्पिया र बिरजु दुवैले एकैसाथ “हुँउँ” भने ।

“चुप लाग बजिया हो ।… तर गाडा पनि छ क्यार । घरघर आवाज पनि आउँदै छ”, बिरजुकी आमाले फुसफुसाउँदै भनी ।

“हुँउँ” । दुवैले फेरि हुँकार गर्दै जबाफ फर्काए ।

“चुप लागेर बस ! गाडा होइन क्यार ! सुटुक्क टाटमा प्वाल पारेर हेरेर आ’त चम्पी ! तर बिस्तारै गएर चियाएस् नि ।”

चम्पिया बिरालो चालले हिँड्दै गई र टाटको प्वालबाट चियाएर आउँदै भनी, “हो मैयाँ, गाडा नै हो ।”

बिरजु हतपताउँदै के उठेको थियो आमाले हात तान्दै सुत्न लगाइन्- “नकरा बजिया ।” चम्पिया हत्तपत्त आफ्नो झुत्रे ओढनीभित्र घुस्रिई ।

बाहिरबाट बयलगाडा तयार भएको आवाज आयो । बिरजुका बाबुले गोरुलाई हप्काउँदै भन्न थाले, “ल अब घर आइपुग्यौ । बडो हतार थियो नि घर आइपुग्न ।”

बिरजुकी आमाले आफ्नो बुढाको स्वर चिनेर टिप्पणी गरिन्- “मलदहिया टोलमा बुढाले हो न हो गाँजा धुतेर आयो र पो स्वर यत्तिको चर्को छ ।“

“चम्पिया, बाहिर आइज । गोरुहरूलाई घाँस दे ।” बाबु बाहिरबाट कराउँदै भन्न थाले ।

कुनै आवाज नसुनिँदा आँगनमा आएर हेर्छन् त न बत्ती छ, न चुलोमा आगो, सबैतिर चकमन्न । “मलाई आउन अबेर भा’कामा हतारिएर पैदल नै हिँडे कि कसो ?”

घाँटी खसखसाएर आयो । खोकी रोक्न खोजे, तर सकेनन् । पाँच मिनेटसम्म रोकिराखे ।

“बिरजु । ए छोरा बिरजमोहन ! आमा रिसाएर सुती कि क्या हो ? अहिले अबेर भा’छैन । मानिसहरू गइराखेकै छन्” छोरालाई फकाउन मायालु स्वरमा भन्न थाले ।
बिरजुकी आमालाई एकपल्ट त भन्न मन लाग्यो- “नाचगान केही हेर्नु, सुन्नु छैन । फर्काइदेऊ गाडा ।”

“चम्पिया, किन नउठेकी ? ल धानको यो पञ्चशीष पनि राखिदे ।” धानका बालाहरूको एउटा झुप्पा राख्दै बाबु कराए, “अँ, टुकी पनि लेर आ ।”

बिरजुकी आमा उठेर ओसरामा आइन् । “यो अँध्यारोमा गाडा ल्याउनको के काम ? अब त नाच पनि सकिने बेला भो होला ?”

टुकीको उज्यालोमा धानका बालाहरूको सानो सुनौलो झुप्पा देख्दा बिरजुकी आमाको रिस सेलाएर गयो । … सुनौलो रङले उनको मनका सबै मयल मेटाइदियो ।

“नाच अहिले शुरू भा’ होइन होला । भर्खर बलरामपुरका बाबुको कम्पनीको गाडा मोहनपुर हाटिल बङ्गलाबाट हाकिमलाई लैजान भनी गएको छ । यो वर्षको यो आखिरी नाच हो । ल, यो पञ्चशीष टाटीमा यतै कतै घुसारिदे, आफ्नो खेतको हो ।”

“आफ्नो खेतको ? के पाकिसके धान ?” उल्लसित स्वरमा बिरजुकी आमाले सोधिन् ।

“छैन । दश दिनभित्र अगहन लाग्दालाग्दै यी बालाहरू निहुरिन थाल्नेछन् । मलहदिया टोल जाँदै गर्दा यी बालाहरूमाथि नजर पर्यो । तर पञ्चशीष भाँच्दै गर्दा भने मेरा औंलाहरू काँपिरहेका थिए ।”

बिरजुले धानको एउटा बालाबाट एउटा गेडा टिपेर मुखमा यसो के हालेको थियो आमा कराइन्- “कस्तो लुच्चो रैछ यो ! यिनीहरूले गर्दा केही धरमकरम हुन पाउँदैन ।”

“के भो, किन हप्काएकी ?”

“देख्दैनौ, नवान्नभन्दा पहिले नै धानलाई जुठो पारेको ।”

“भैगो, केटाकेटीहरूका लागि सबै माफ हुन्छ । भगवान्‌का रूप मानिन्छन् यिनीहरू । विचार गरे, हाम्रो मुखमा पर्नुहुन्न ।”

यति सुनेपछि चम्पियाले पनि धानको बालाबाट दुई गेडा टिपेर मुखमा हाली, “कति गुलियो चामल मैयाँ !”

“र गम्किन्छ पनि । हैन दिदी ?” बिरजुले फेरि अर्को धानको गेडा मुखमा हाल्दै भन्यो ।

“रोटीसोटी पाकिसक्यो कि कसो ?” बिरजुका बाले मुसुक्क हाँस्दै सोधे, “छैन ! जाने कुनै लच्छिन नभएपछि के पकाउनु ?”

“ल, गज्जबका छौ तिमीहरू पनि । गोरु हुनेले गाडा नपाउने कुरै भएन । गाडावाललाई पनि त कुनै दिन गोरुको खाँचो पर्छ नि ! त्यति बेला कोयरी टोलवालालाई भन्न जानेको छु । ल चाँडचाँडै रोटी पकाइहाल ।”

“अबेर हुन्न ?”

“कस्तो कुरा गरेकी ? आँखा झिम्म गर्न नपाउँदा डोलाभरि रोटी पकाउनेलाई पाँचोटा रोटी पकाउन कति बेर लागिहाल्छ र ?”

अब बिरजुकी आमाको मुख उज्यालो भएर आयो । उनले छड्‌के नजरले बिरजुका बाबुतर्फ हेरिन् । उनले पनि आफूलाई निहारिरहेको पाइन् । त्यहाँ चम्पिया र बिरजु नभइदिएका भए उनले आफ्नो भावना हाँस्दै पोख्न बेर लाउने थिइनन् । चम्पिया र बिरजुले पनि एकअर्कालाई हेरे र खुसीले उफ्रिन थाले । मैयाँ व्यर्थमै रिसाइराखेकी थिइन् भनेर ।

“चम्पी, अलि बाहिर निस्केर मखनी फुआलाई डाक त !”

“फुआ, ऐई फुआ…आ.. आ.. आ ! सुन्यौ… मैयाँ डाक्दै छिन् ।”

फुआले जबाफ फर्काइनन् । बरु सुन्ने गरी फतफताउन थालिन्, “अब फुआको के काम पर्यो ? किन डाक्नुपर्या होला ? सिङ्गै टोलमा एउटी फुआ त छे अगाडि र पछाडि कोही नभएकी ।”

“ऐई फुआ !” बिरजुकी आमाले हाँस्दै भनिन्, “अघिको कुरामा रिसायौ कि क्या हो ? अगाडिपछाडि हुनेलाई पनि आएर हेर त । रात परेपछि गाडा लिएर आएका छन् । चाँडै आऊ फुआ, हेर म गुलियो रोटी पकाउन जान्दिनँ ।”

फुआ खोक्दै, खकार्दै आइन् र भन्न थालिन्- “यसैले बिहानैदेखि नाच हेर्न जाने हो भनी सोध्दै थियौ ? अगाडि नै भनेकी भए म आफ्ना सट्टा तिम्रै घरमा आएर चुलो सल्काउथें ।”

बिरजुकी आमाले फुआलाई चुलो देखाइन् र भन्न थालिन्- “घरमा एउटा बागड र केही भाँडाकुँडाबाहेक अन्नको एउटा गेडा पनि छैन फुआ । तिम्रा निम्ति रातभरि पुग्नेजति तमाखु राखिदिएकी छु । आफ्नो हुक्का त ल्याएकी छौ, हैन फुआ ?”

तमाखु पाएपछि फुआ एक रात त के, पाँच रातभरि पनि जाग्न सक्छिन् । फुआले अँध्यारोमा यसो छामछाम छुमछुम गर्दै तमाखुको अन्दाज गरिन् । “क्या दिल खोलेर तमाखु राखेकी छे बिरजुकी आमाले !” अर्कोतिर त्यो साहुनी ! भगवान्‌ले बचाउन् । अस्ति अफिमको गोलीजत्रो केराउको गेडाजति तमाखु हालेर गई गुलाब बाराको मेलामा र भन्न थाली- “बट्टाभरि तमाखु छ फुआ ।”
बिरजुकी आमा चुलो सल्काउन थालिन् । चम्पिया सखरखण्ड माड्दै त्यसको लड्डु बनाउन थाली र बिरजु शिरमाथि कराही घोप्ट्‌याउँदै आयो र भन्न थाल्यो, “ल हेर मेरो मलेटरी टोप । यसमाथि दश ल‌ट्ठी बजारे पनि केही हुन्न ।”

सबै जना गल्ल हाँसे । बिरजुकी आमा हाँस्दै भन्न थालिन् – “त्यहाँ तखतामाथि तीनचारोटा सखरखण्ड छन् चम्पिया । बिरजुलाई दे, बिचरो बेलुकीदेखि नै र्याल काढेर बसेको छ ।”

“बिचरो नभन मैयाँ, निक्कै छट्टु छ । तिमीलाई थाहा नै छैन, ओढनीभित्र हात चलेको कुरा ।” चम्पिया फुर्किंदै भन्न थाली ।

“हि… हि… हि…।”

टुटेका दुधेदाँतको बीचबाट बिरजुको स्वर निस्क्यो- “बिलैक मारटिन मा पाँचोटा सखरखण्ड खाएँ । हा… हा… हा…।”

सबै हाँस्न थाले । बिरजुकी आमाले फुआलाई रिझाउन खोज्दै भनिन्- “एक कनवाँ गुड छ फुआ, आधा हालिदिऊँ ?”

फुआले दङ्गदास हुँदै भनिन्- “सखरखण्ड आफैं त गुलियो हुन्छ बिरजुकी आमा ! त्यति किन हाल्नुपर्यो ?”

दुवै गोरुले घाँसदाना आदि खाएर एकअर्काका जीउ अघाउन्जेल चाटिसकुन्जेलसम्म बिरजुकी आमा सिँगारिएर तयार भई । चम्पियाले छिटको साडी लगाई र बिरजु बटन नभएको पैन्टलाई सनको डोरीबाट बाँध्न लगाउन बाबुनिर आयो । बिरजुकी आमा आँगनबाट बाहिर निस्कँदै गाउँतिर यताउति हेर्न थालिन् । “यतिका बेर भइसक्यो, पैदल हिँडेर जानेहरू के बसिराख्ये घरभित्र !”

पूर्णिमाको चन्द्रमा माथिसम्म पुगिसकेको थियो । बिरजुकी आमाले सिउँदोमा असली रुपियाँको मङ्गलटीका लगाइन् आज पहिलोपल्ट । बिरजुका बालाई के भा’ हो आज, गाडा नजोतेर मपट्टि नै एकटकले हेरिराख्या छन् मानौँ नाचको लालपान को…।

गाडामा बस्नेबित्तिकै बिरजुकी आमाका जीउमा एक किसिमको कुतकुती लाग्न थाल्यो । गाडाको बल्ला समाउँदै भन्न थालिन्- “गाडामा ठाउँ त प्रशस्त रै’छ । अलि दहिनेपट्टि भएर गाडा चलाऊ त बिरजुका बा ।”

गोरुहरू जब दगुर्न थाले र पहियाहरूबाट चुं चुं, चर चरको आवाज आउन थाल्यो अनि बिरजु पनि हौसिँदै भन्न थाल्यो, “बा ! गाडालाई उडनखटोलाजस्तै गरी उडाऊ न ।” गाडा जङ्गीको घरको पछाडि भएर गुड्न थाल्यो । बिरजुकी आमाले भनिन्- “जङ्गीसित सोध त, उसकी बुहारी नाच हेर्न गई कि गइन ?”

गाडी अडेपछि जङ्गीको झुपडीबाट कोही रोएको सुनियो । बिरजुका बाबुले सोधे, “ऐई जड्गी भाइ, यो कस्तो रुवाबासी हो ?”

जङ्गी घुर ताप्दै थियो । भन्न थाल्यो, “के सोध्छौ दाइ, रङ्‌गी बलरामपुर गएको, फर्केको छैन ऐलेसम्म । बुहारी नाच हेर्न जाओस् त कसरी जाओस् । उसको बाटो हेर्दाहेर्दै रात परिसक्यो, गाउँका सबै आइमाईहरू गइसके ।”

“ऐई टिसनवाली, किन रुन्छेस् बित्थामा ! आइज चाँडै लुगा फेरेर । सिङ्गै गाडा खाली छ । आइज चाँडै, बिचरी !” बिरजुकी आमाको मन पग्लेर आयो ।

छेउको छाप्रोबाट राधेकी छोरी सुनरी भन्न थाली- “काकी, गाडामा ठाउँ छ ? म पनि आऊँ ?”

बाँसघारीको उसपारि लरेना खवासको घर छ । उसकी बुहारी पनि गएकी रहिनछ । ऊ गिलटका गरगहना लाएर मच्चिंदै आइरहेकी छे ।

“आओ, जान नपाएका जति सबै आए हुन्छ । तर चाँडै ।”… जङ्गीकी बुहारी, लरेनाकी दुलही र राधेकी छोरी सुनरी, तीनैजना गाडा नजिक आइपुगे । गोरुले पछाडिको खुट्टा हल्लायो । बिरजुका बाबुले गोरुलाई हप्काउँदै भने- “साले, लत्याएर लंगडी बनाउन खोज्छस् बुहारीलाई ।”

सबै जना गलल्ल हाँसे । बिरजुका बाबुले घुम्टो हाली निहुरिंदै निस्केका दुवैजना बुहारीहरूलाई तेर्सो नजरले हेरे । उनलाई आफ्नो खेतमा निहुरिरहेका धानका बालाहरूको सम्झना भएर आयो ।

जङ्गीकी बुहारीको गौना भएको तीन महिना मात्रै बितेको छ । गौनाको रातो साडीबाट तोरीको तेल र लठवा सिन्दूरको गन्ध निस्किरहेकै छ । यो गन्धले गर्दा बिरजुकी आमालाई आफ्नो गौनाको सम्झना भएर आयो । गाडा गुडिराख्दा उनले कपडाको पोको खोलिन् र त्यसबाट तीनोटा गुलियो रोटहरू निकाल्दै भनिन्- “ल खाओ, एकौटा । अगाडि पुगेपछि सिमराहाको सरकारी इनारबाट पानी तानेर खानू ।”

गाडा गाउँबाट बाहिर निस्केर धानखेत छेउको आफ्नो लिकैलिक गुडिरहेको थियो । कात्तिक महिनाको जुनेली रात खेतहरूबाट फुलेका धानका बालाहरूबाट बास्ना फैलिरहेको थियो । बाँसघारीका कतै कतै दुधीका लहराहरूमा लटरम्म फुलेका फूल हल्लिरहेका थिए । जङ्गीकी बुहारीले बिंडी सल्काएर बिरजुकी आमातर्फ बढाई । बिरजुकी आमाले एकाएक सम्झिन् चम्पिया, सुनरी, लरेनाकी दुलही र जङ्गीकी बुहारी- यी चारैजनाले मिलेर बाइस्कोपका गीत गाउने गरेका । आहा…।’

गाडा आफ्नो लिकमा गुडिरहेको थियो । चारैतिर गौनाको साडीको सरसर । बिरजुकी आमाको सिउँदोमा झुन्डिरहेको मँगटीका चन्द्रमाको किरणले गर्दा चम्किरहेको थियो ।

“ल अब एउटा बैस्कोपको गीत गा’त चम्पिया । नडरा …। बिर्सेका खण्डमा छेउमै बसेकी छे तेरी मास्टरनी ।”

दुवै बुहारीहरूले त होइन, तर चम्पिया र सुनरीले गला साफ गरे ।

बिरजुका बाबुले गोरुहरूलाई हाँक दिँदै भने, “ल दगुर भाइ हो ।… अलि तेज ।…ल चम्पिया गाउन थाल… नत्र म गोरुहरूलाई बिस्तारै बिस्तारै हिँड्न भन्नेछु ।”

जङ्गीकी बुहारीले चम्पियाको कानसित घुम्टो टाँस्दै केही भनी र चम्पियाले बिस्तारै गाउन थाली, “चन्दा की चाँदनी…।”

बिरजुलाई काखमा बसालेकी उसकी आमालाई पनि गीतमा स्वर मिलाउने इच्छा जागेर आयो । उनले जङ्गीकी बुहारीतर्फ हेरिन् । ऊ पनि मधुर स्वरमा गीत गुनगुनाइरहेकी थिई । कति प्यारी देखिंदै छे बुहारी ! गौनाको साडीबाट एक किसिमको बास्ना आइरहेको थियो । ठीकै त भनेकी हो उसले ! बिरजुकी आमा बेगम हुन्, लालपानको बेगम । यो कुनै नराम्रो कुरो त भएन । हो, उनी साँच्चै नै लालपानको बेगम हुन् ।

बिरजुकी आमाले दुवै आँखालाई आफ्नो नाकमाथि केन्द्रित गर्दै आफ्नो रूप नियाल्ने कोशिश गरिन् । रातो साडीको पारीमा झिलमिल गरिरहेका सितारा, मँगटीकामाथि चन्द्रमाको किरणले फैलाइरहेको आभा ।… बिरजुकी आमा मक्ख परिन् । उनलाई अब कुनै चाहना रहेन… तर आँखा भने लोलाउन थाले ।

(फणीश्वरनाथ ‘रेणु’ आधुनिक हिन्दी साहित्यकार हुन् । ग्रामीण बिहारको जीवन, लोकभाषा र आञ्चलिक संस्कृति उनका कृतिहरूको मुख्य आधार बने । ‘मैला आँचल’ लगायतका कृतिबाट उनले पिछडिएका वर्गको यथार्थचित्र अत्यन्त जीवन्त ढङ्गले प्रस्तुत गरे । आपत्कालको विरोधस्वरूप पद्मश्री फिर्ता दिने साहसिक कदमले उनी सचेत नागरिकको प्रतीक बने । उनी नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाका घनिष्ठ मित्र समेत थिए ।)

(अनुवादक प्रकाशप्रसाद उपाध्यायको ‘उत्कृष्ट हिन्दी कथाहरू’बाट)