खराबीको शुरूवात
मूलः जुआन रल्फो
अनुवादः गोविन्द गिरी प्रेरणा
धेरै खराब दिन आएको छ । यहाँ हाम्रो स्थितिहरू प्रतिदिन बिग्रँदै गइरहेका छन् ।
बितेको हप्ता हाम्री हजुरआमाको देहान्त भयो । उहाँको मृत्युको पीडाले हामीलाई पीरी नै रहेथ्यो । शनिवार हामीले उहाँको अन्त्येष्टि गरेपछि वर्षाको प्रकोप शुरु भयो । बुवा साह्रै दुःखी हुनुहुन्थ्यो। हाम्रो हिउँदे अन्नबाली भर्खर काटिएका थिए, भित्र्याइएको थिएन र भयङ्कर आँधीसहित मूसलधारे वर्षा भयो । हामीले चार दाना पनि भित्र्याउन पाएनौं । हाम्रै आँखाअगाडि हिउँदभरिको सम्पूर्ण मेहनतको फल क्षणभरमै स्वाहा भयो।
मेरी बाह्र वर्षकी बहिनी टाचाको गाई हिजो नदीले बगायो । बुवाले उसको जन्मदिनमा त्यो गाई नामसारी गरिदिनु भएको थियो ।
नदीमा तीन रातदेखि पानी बढिरह्यो । आखिर किनारहरू भत्काएर विनाश पार्न थाल्यो । खेतबारी, अन्न बाढीले नष्ट पा-यो। नदी किनारका झुप्राहरू र कच्ची घरहरु सबै बगायो । मान्छेले जेनतेन ज्यान बचाएर भागे ।
मेरी बहिनी र मैले पनि पहाडको अग्लो ढिस्कोबाट यी दृष्य हेरिरह्यौं। नदी यति ठूलो स्वरले गडगडाइरहेथ्यो कि संगैको मान्छेसंगको कुराकानी समेत सुन्न मुस्किल पर्थ्यो। केवल ओठ खुलेको र बन्द भएको जस्तो मात्र लाग्थ्यो । उहीं नै हामीलाई एउटा मानिसले बुवाले टाचालाई दिनुभएको गाई बगाएको खबर सुनायो। गाईको एउटा कान रातो र अर्को चाहिँ सेतो थियो । गाई साह्रै सुन्दर थियो । त्यसलाई हामीले प्यारो गरेर ‘रावेल’ भन्ने गर्थ्यौं ।
रावेल त्यति मूर्ख त थिइन ! शायद निद्राको सुरमा हिंडेर आफ्नो मृत्यु निम्त्याई कि ! थाहा छैन । हरेक दिन गोठमा गएर उसको पिठ्यूँमा नथप्थपाउन्जेल ऊ आँखै खोल्दिनथी। दिनभरि आँखा चिम्लेर लामो लामो सास फेर्दै उग्राइरहन्थी, जस्तो अरु गाईहरू गर्ने गर्छन् । निद्रामै ऊ नदीमा पुगी होली । पानी कम्मरभन्दा माथि चढिसकेपछि हडबडाउँदै आँखा खोली होली र हत्पताउँदै पाइला चाली होली र डुबी होली । डुब्ने बेलामा कराई होली- ठूलो स्वरले बाँ…. बाँ….गरी होली । भगवान् जानोस्, ऊ कति चिच्याई !
गाई डुबेको देख्ने परिचितसँग हामीले सोध्यौं, “गाईसँग बाछो पनि बगायो कि ?”
उसले भन्यो, “उसलाई यति मात्र सम्झना छ, रातो र सेतो कान भएकी एउटी गाई चाहिँ बगाएको देख्यो, अरु केही पनि देखन । ऊ आगो बाल्ने दाउरा खोज्न व्यस्त थियो ।
अब हामीलाई थाहा छैन, नदीले बाछो पनि गाईसँगै बगायो कि जिउँदै छ । भगवान् जानून् । भगवान्ले नै त्यसको रक्षा गरुन् ।
अब टाचाको गाई बगाइसकेपछि घरमा त्यो गरेर, सङ्कट फेरि आउन सक्छ, जुन पहिले पनि आइसकेको थियो । बुवाले रगत पसीना एक गरेर एउटा गाई किन्नु भएको थियो । त्यतिबेला रावेल सानै थिई। त्यसलाई पालन पोषण गरेर, ठूलो बनाएर टाचालाई दिइएको थियो । यसकारण कि उसको नाउँमा पनि केही सम्पत्ति होस् र ठूली भएर आफ्नी दिदीहरू झैं रण्डी नबनोस् । हो रण्डी !
बुवाले भन्नु भए अनुसार हाम्रा दुई दिदीहरू हामी गरीव भएकै कारणले रण्डी भए । तिनीहरू खुशी थिएनन् ।
तिनीहरू जवान केटीहरू थिए । सानो कुरामा पनि तिनीहरू जिद्दी गर्थे र लोभले -याल चुहाउँथे । हामीसँग पैसा थिएन ताकि तिनीहरूको आवश्यकता पु-याउन सकियोस् । अनि ठूला भएपछि बदमासहरूको संगतमा परेर फँसे । तिनीहरूले खराब कुरा छिटै सिके। आधारातमा कसैले सिट्टी बजायो भने पनि साथीले बोलाएको सम्झन्थे र दिउँसभरि बेपत्ता हुन्थे । तिनीहरू अनेक बहाना बनाएर बाहिर निस्कन्थे । एकदुई पल्ट त लोग्ने मान्छेहरूसँग नदीको छेउमा नाङ्गै सुतिरहेका पनि देखिए।
अन्त्यमा खपिनसक्नु भएर बुवाले तिनीहरूलाई घरबाट निकाली दिनुभयो । तिनीहरू आयोटला शहरतिर गए अथवा अन्य कुनै शहरतिर थाहा भएन । तर यति चाहिँ जान्दछु, कि तिनीहरू रण्डी भैसकेका थिए।
यसैकारण बुवा मेरी सानी बहिनी टाचाको निम्ति सदैव चिन्तित रहनुहुन्छ । अरु छोरीहरू जस्तै रण्डी भएको उहाँ हेर्न चाहनुहुन्न । उहाँ चाहनुहुन्छ – टाचाले सम्मानपूर्ण जिन्दगी बिताओस् र कुनै भद्रसँग बिहा गरोस्।
यसकारण ठूली नहुन्जेल रावेल उसको धरौटी बराबर थियो । गाई भइसकेपछि उसले म धेरै गरीवकी छोरी हुँ भन्ने सोच्नै सक्दैनथी। तर अब त साफ मुस्किल प-यो । ऊ अब जे चिजको पनि लोभ गर्न सक्छे र जो कोही पनि उसलाई गाईको लोभ देखाएर आफ्नो बनाउन सक्छ ।
अब एउटा झिनो आशा बाँकी छ, बाछो जिउँदो होस् । हे भगवान्, उसले आफ्नी आमासँग नदीको बाढीमा जाने निर्णय नगरेको होस्। यदि ऊ पनि रावेलसँगै बगेको भए त टाचा रण्डी नभई छाड्ने छैन ।
मेरी आमा पनि आफ्नी कान्छी छोरी रण्डी भएको मन पराउनु हुन्न। आमा सधैं भनिरहनु हुन्छ, “भगवानले यस्ता छोरीहरू दिएर उनलाई किन यति ठूलो सजाय दिएका हुन् ! उनको खानदान, वंशमै अझैसम्म यस्ता आइमाई जन्मेको थाहा छैन । तिनीहरु सारा आफ्ना बाबुआमाको आज्ञा पालन गर्ने र भगवान्को डर मान्थे ।”
आमा सधैं सोच्नुहुन्छ – उनले त्यस्तो के गल्ती गरिन् र एकपछि अर्की रण्डी जन्मिरहे । तर उहाँलाई कुनै त्यस्तो गल्ती र कारण सम्झना छैन । जहिले पनि ती छोरीहरू सम्झनेबित्तिकै चिसो भएर भन्नुहुन्छ, “हे प्रभु, मेरी छोरीहरूलाई दया गर !”
बुवा चाहिँ भन्नुहुन्छ- तिनीहरुको बारेमा सोच्नु नै बेकार छ । तिनीहरू रण्डी भइसके । हामीसँग एउटी टाचा बाँकी हो, बस् उसकै हेरचाह र विचार गर्नुपर्छ । ऊ छिटोछिटो बढिरहेकी छ र उसका छाती पनि दिदीहरूका झैं पुष्ट हुँदै गइरहेछ। वास्तवमा खराबी यहींबाट शुरु हुन्छ ।
बुवा भन्नुहुन्छ – जो मान्छे टाचातिर आँखा लगाउँछ, यो छोरी पनि जवाफमा बढो कर्के नजरले उसतिर हेर्छे। हेरिराख, यो छोरी पनि कम छैन । अरूझैँ यो पनि रण्डी हुन्छे ।
यसैकारण अब टाचा मेरो बुवाको सामुन्ने चिन्ताको पहाड बराबर भएकी छ ।
यसैबेला जब टाचाले गाई मरेको खवर पाई, उ ह्वाँ ह्वाँ रुन थाली । ऊ मसँगै बसेर नदीतिर हेर्दै गाईको सम्झनामा हिकहिकाउँदै छे । उसका दुई आँखाबाट मैलो पानीको खहरे बगिरहेको छ र लाग्छ, उसका आँखा नदीका दुई मुहान हुन्।
म उसलाई थपथपाएर सम्झाउने बुझाउने कोशिश गर्दैछु। तर ऊ चुपलाग्ने नाउँ नै लिन्न । झन् झन् ठूलो स्वरले रुन लागिरहेकी छ । उसले हिकहिकाएको आवाज बाढी आएको नदीको छाल किनारमा ठोक्किएको जस्तो छ ।
अब ऊ काँपिरहेकी छ। बाढीको प्रकोप बढिरहेछ र पानीका छिटाहरू उसका अनुहारमा पनि परिरहेका छन् । जसै ऊ हिकहिकाउँछे, उसको स्यानो तर पुष्ट छाती तल माथि हुन्छ र उसको खराबीको सुरुवात हुन लागेको जस्तो लाग्छ ।
*



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










