![](https://sahityapost.com/wp-content/uploads/2023/02/WhatsApp-Image-2023-01-27-at-11.02.31-PM.jpeg)
नेपाली साहित्यमा गोविन्द गिरी प्रेरणाको नाममात्र पनि उहाँको परिचय हो । नेपालको मकवानपुर, टेक्कर भन्सारीमा जन्म भएका प्रेरणाको स्थायी बसोबास नेपालमा भए तापनि हाल अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्च सहरमा बस्दै आउनुभएको छ । कथा, उपन्यास, कविता, यात्रासंस्मरण, निबन्ध, समालोचन, हास्यव्यङ्ग्यका क्षेत्रहरूमा गरी उहाँले दर्जनौँ कृतिहरू दिएर नेपाली साहित्यको भण्डारलाई अझै समृद्ध पार्नुभएको छ ।
प्रस्तुत छ, गोविन्द गिरी प्रेरणासँग साहित्यपोस्टका लागि विश्वराज अधिकारीले गरेको कुराकानीको सम्पादित अंश;
अचेल के गर्दै हुनुहुन्छ? कुनै कृति लेखनमा लाग्नुभएको छ कि?
लेखन त मेरो नियमित रूपले चलिरहने प्रक्रिया यो । म केही न केही लेखिरहेको हुन्छु । अहिले म चैत मसान्तभित्र तयार हुने गरी लामो कथाको दोस्रो सङ्ग्रहका लागि कथाहरूको लेखन र परिमार्जन लगायतका काम गरिरहेको छु । अन्य फुटकर लेखन त चलि नै रहेको छ ।
![](https://sahityapost.com/wp-content/uploads/2020/05/Govinda-giri-prerana.jpg)
गोविन्द गिरी प्रेरणा (अमेरिका)
नेपालमा लेखक धेरै पाठक कम भएको हो?
लेखक बढेका हुन् अवश्य तर पाठक पनि बढेका छन् । लेखक बढेका भन्दा पनि पुस्तक छाप्न सहज भएकाले त्यस्तो देखिएको हो कि भन्ने पनि लाग्छ मलाई । पहिला हामीले लेख्न सुरु गर्दा फुटकर विभिन्न पत्रपत्रिकामा प्रकाशित गर्थ्यौँ र त्यसरी प्रकाशन गर्दा स्तर नपुगे प्रकाशित नहुने त्रास हुन्थ्यो । आजकाल पत्रिकाहरू पनि खासै छैनन्, कसैले नछापिदेला भन्ने डर पनि छैन । लेखकको लगानीमा आफ्नो नाममा पुस्तक प्रकाशित गरिदिने प्रकाशकहरूको बृद्धिले लेखक बढेको देखिएको हो तर पाठक निश्चित रूपले बढेका छन्, यसमा कुनै शङ्का छैन ।
विषयवस्तुको गहन अध्ययन कम तर केवल रहर लागेर लेख्नेहरूको सङ्ख्या बढ्दो छ रे नेपालमा । त्यस्तो हो?
मैले भनिहालेँ नि, कसैले अस्वीकार गर्ला भन्ने डर भएन । कसैले नछापे आफ्नै फेसबुकमा छाप्न सहज छ, त्यसमा पनि लाइक, कमेन्ट आइहाल्छ । नेपालमा मात्र होइन, नेपाली जगत्मै यो आम कुरा भएको छ । गहन अध्ययन गर्ने जुनसुकै युगमा पनि कमै हुन्छन् । रहर लागेर लेख्ने, प्रकाशन गर्नेहरूलाई समयले बढारिदिन्छ ।
नेपालमा नयाँ पुस्ताका साहित्यकारहरूले पुराना पुस्ताका साहित्यकारहरूबाट कमै उत्प्रेरण एवं हौसला पाएका छन् । यो भनाइ तपाईँलाई सही हो जस्तो लाग्छ ?
खै, यो कुरा त कसरी भनूँ मैले । नयाँ पुस्ताले अघिल्लो पुस्ताका रचना पढ्ने र आफ्नो लेखनको विधाअनुसार, त्यस विधामा केकस्ता लेखिएका छन् जानकारी राख्नु नै प्रेरणा र हौसला हो भन्ने लाग्छ । मैले त त्यसरी नै साहित्यमा बामे सरेको हुँ । उत्प्रेरणा दिने मात्र कुरा होइन; लिने, ग्रहण गर्ने कुरा पनि हो नि । कोही लिन तयार छैनन् भने दिनुको के अर्थ रहन्छ र !
![](https://sahityapost.com/wp-content/uploads/2021/07/bishwa-raj-adhikari.jpg)
विश्वराज अधिकारी
तपाईँ नेपालमा हुँदा नै एक चर्चित र स्थापित साहित्यकार हुनुहुन्थ्यो । अमेरिका आएपछि त्यो चर्चा नपाएर आफू अमेरिकी भीडमा हराएजस्तो तपाईँलाई लाग्छ?
मलाई त त्यस्तो लाग्दैन । म सँगसँगै लेख्नेहरू कति थाकिसकेको देख्छु, कतिले आक्कलझुक्कल मात्र लेख्ने गरेको देख्छु तर म त नेपाल होस् कि अमेरिका जमेर लेखेको लेख्यै छु । प्रकाशित पनि भ इनै राखेका छन् । आमनेसामने भेट नहुनु अलग कुरा हो, लेखनको हिसाबले त म झन् उर्वर, निरन्तर र प्रतिबद्ध नै छु । यो मेरो कुरा भयो । देख्नेले कसरी देखेका छन्, कसरी मूल्याङ्कन भइरहेको छ, त्यो खोज्ने चाहिँ मेरो काम होइन ।
तपाईँ जस्तो ठुलो ख्याति, परिचय र चर्चा आर्जन गरेको साहित्यकारले नेपालमा नै बसेर, नेपाली साहित्य विकास गर्नुपर्ने थियो । तपाईँलाई त्यस्तो लाग्छ ?
कुनै लेखक कुनै ठाउँविशेषमै बस्नुपर्छ, देशको चारकिल्लामा बाँधिएरै रहनुपर्छ भन्ने लाग्दैन । लेख्नु ठुलो कुरा हो । भाषासाहित्यमा नरन्तरता दिनु ठुलो कुरा हो । कहाँ बस्यो ? किन बस्यो ? यी बेकारका कुरा हुन् । म अमेरिकामा बसेर पनि नेपाली भाषासाहित्य लेखिरहेछु, नेपाली भाषासाहित्यको पूजा, अर्चना गरिरहेकै छु । यही नै मूल कुरा हैन र !
मनले कल्पना गरेका कुराहरू लेख्न रुचाउनुहुन्छ वा विशेष किसिमका सामाजिक मुद्दा लेख्न रुचाउनुहुन्छ?
म साहित्यलाई कुनै मुद्दा, विचार, राजनीति वा खास जाति वा वर्गको भारी बोक्ने भरिया बनाउन चाहन्न । साहित्य सबैभन्दा पहिले साहित्य हुनुपऱ्यो, त्यसपछि त्यसले समाज वा मानवीय समस्यालाई कसरी आत्मसात् गर्छ, त्यो महत्त्वपूर्ण हुन्छ ।
तपाईँलाई मन परेको विधा कुन हो?
साहित्यलाई विधागत रूपमा छुट्याएर मन पराउने वा मन नपराउने कुरामा म सहमत छैनँ तर पढ्नका लागि समय परिस्थितिअनुसार विभिन्न मुडमा विभिन्न विधा खोजिन्छ, त्यो अलग कुरा हो । लेख्न त म प्रायः सबैजसो विधामा कलम चलाउँदै आएको छु ।
नेपालको वर्तमान साहित्यको स्तर कुन स्थितिमा छ?
नेपाली साहित्य आजको दिनमा आजकै स्तर र स्थितिमा छ । सबै विधामा लेखन प्रकाशन भैरहेको छ तर कालजयी रचना वा पुस्तक कुन होला, त्यो समयको कसीमा राखेपछि पचास-सय वर्षमा देखिने कुरा हो । मलाई लाग्छ, नेपाली साहित्य सारसौँदो स्थितिमा छ ।
कथा, उपन्यास, कविता, यात्रसंस्मरण, निबन्ध, समालोचना गरी अनेक क्षेत्रमा दर्जनौँ पुस्तकहरू लेखिसक्नुभएको छ । आफ्नै कृतिहरूमध्ये तपाईँलाई मन परेको कृति कुन हो?
निबन्धमा “पाउलीवुलु”, उपन्यासमा “उत्खनन”, कथामा “गन्तव्य गणबहाल”, नियात्रामा “फेरो” मलाई मन पर्छन् । यो आजको कुरा हो । भोलि यी नामहरू बदलिन सक्छन् । किनभने म लेखि नै रहेको छु, मेरो लेखन निरन्तर भइरहेकाले यो परिवर्तन हुने पूरापूर सम्भावना छ ।
कथा, उपन्यास, कविता, यात्रासंस्मरण, निबन्ध, समालोचना गरी अनेक क्षेत्रमा हातमा हाल्नुभएको छ । कुनै एउटा क्षेत्रमा आफूले केही खास गर्न सक्छु भन्ने विश्वास नभएर त होइन?
हेर्नुस्, मैले आफ्नो लेखनको सुरुवाती समयमा व्यापक रूपले सबै विधामा अध्ययन गरेँ । त्यसले मलाई विधागत ज्ञान भयो । त्यो ज्ञानले गर्दा मैले लेख्ने कुनै पनि विषय कुन विधामा ठिक हुन्छ, मेरो मस्तिष्कले आफैँ छुट्याउँछ र म लेख्छु । मेरो विनम्र विचारमा म धेरै विधामा लेख्छु भन्दैमा लेख्न सकिँदैन, लेखे पनि उम्दा लेख्नु कष्टसाध्य कुरा हो ।
तपाईँले लेख्नुभएको बहुचर्चित उपन्यास ‘लिभिङ टुगेदर’ अनलाइनमा समेत पनि खरिद गर्न सकिन्छ । यो उपन्यासको नामकरण किन अङ्ग्रेजीमा गर्नुभएको हो?
“लिभिङ टुगेदर” लाई नेपाली नामकरण गर्दा राम्रो देखिएन र “लिभिङ टुगेदर” नबुझ्ने भन्ने कुरा पनि नभएकाले राखेको हुँ । पाठकले बुझे, त्यति भए पुगिहाल्यो नि ।
लिभिङ टुगेदरमा के कुरा विशेष किसिमले देखाउन खोज्नुभएको छ?
यो मैले भन्ने कुरा हो जस्तो लाग्दैन । मैले भन्ने कुरा त सिङ्गो उपन्यासमै भनेको छु नि । त्योभन्दा बढी भन्न आवश्यक छैन तर काठमाडौँमा “लिभिङ टुगेदर” फेसनका रूपमा मौलाएको देखेर मलाई यो विषयमा लेख्न इच्छा भयो र लेखेँ । पाठकहरूले पनि मन पराइदिए । ६ महिनामै दोस्रो संस्करण छापियो ।
नेपालमा स्थापित साहित्यकारहरूले कमै मात्र नोवदित साहित्यकारहरूको कृति पढ्ने चलन छ । यो भनाइ सही हो ?
अरूले के गर्छन् म जान्दिनँ तर म भने पाएसम्म, भ्याएसम्म नयाँ पुराना सबैको पढ्न कोसिस गर्छु, उपलब्ध भएसम्म । साहित्यमा कलम चलाउने प्रतिबद्ध लेखकको नाताले हाल के लेखिइरहेको छ, त्यो जान्न पनि पढ्न जरुरी छ भन्ने मेरो मान्यता छ ।
हालै तपाईँले पढ्नुभएका नेपाली पुस्तकहरू कुन-कुन हुन् ?
प्रभा बरालको “फिलिङ्गो”, नीलम कार्की निहारीकाको “द्रौपदी अवशेष”, कृष्ण मुरारी ढुङ्गेलको “होहाहोला”, बाह्रखरीको “उत्कृष्ट कथा २०७८” लव गाउँलेको “अस्ट्रेलिया ब्लुज” हालै पढेको हुँ । म पढ्ने लेखक हुँ । पढिरहेको हुन्छु ।
‘मेरो पढिदेऊ, तिम्रो पढ्दै गरौँला’ यस्ता भन्नेहरू हामीकहाँ धेरै छन् रे, हो?
यो पनि मलाई थाहा भएन । अरूले मेरा कृति पढून्, नपढून् त्यो उनीहरूको रुचि र इच्छाको कुरा हो । मेरो हकमा कसैले मेरा कृति पढे पनि नपढे पनि, कोही लेखकहरूलाई मैले व्यक्तिगत रूपमा चिने पनि नचिने पनि, म ती लेखहरूको कृति पढिरहेको हुन्छु ।
साहित्य किन लेखिन्छ?
अरूले किन लेख्छन् म जान्दिनँ । उनीहरूका तर्क र कारण आआफ्नै होला तर मैले सुरुमा लहडले, रहरले लेखेँ, पछि लेख्ने बानी पऱ्यो, लेखन मेरो जीवनको अविभाज्य अङ्ग भैदियो । अनि त म लेखिरहेको छु । खासमा म नलेखी बस्नै सक्दिनँ । कि म पढ्छु, कि लेख्छु ।
साहित्यमा कृतिकारको कल्पना एवं भावनाहरू आउने हो कि समाजलाई सही दिशामा डोऱ्याउने सन्देशहरू आउनुपर्ने हो ?
मलाई कुनै साहित्यकारले समाजलाई नै डोऱ्याउने बाटो खन्छ भन्ने नै लाग्दैन । साहित्यकार बौद्धिक समुदायका मानिस हुन् । उनीहरूले बौद्धिकता पस्कने हो । समाजमा देखिएका सबै पक्षलाई साहित्यकारले उजागर गर्छन् । समाजले साहित्यको मर्म बुझेर गलत बाटो त्याग्यो भने त राम्रै हो । त्यसको सम्भावना कमै देख्छु । सन्देश भनेको मलाई फेसनजस्तो लागछ ।
सफल साहित्यकार हुन् अनुभव, अध्ययन वा भावनाको धनी हुनुपर्छ ?
साहित्यकाले जीवन र जगत्को यावत् कुरा जान्न जरुरी हुन्छ । उसमा अनुभव, अध्ययन त हुनैपर्छ । अनुभव र अध्ययनविना लेखन क्षेत्रमा केही गर्नै सकिन्न । त्यसका लागि भावना त झन् चाहियो नै । भावनाको धनी नभई लेखक हुने कल्पनै कहाँ गर्न सकिन्छ र !
‘जे लेख्यौ आचरण पनि त्यस्तै पाऱ्यो’ अर्थात् साहित्यकारहरू चरित्रको हिसाबले पनि इमानदार हुन् आवश्यक छ भन्नेहरू पनि छन् । उनीहरूको यो भनाइ सही हो ?
यो बडो उदेकलाग्दो कुरा छ । साहित्यकार आचरणहीन हुनुपर्छ भन्ने कुरा त कसरी भन्नु तर यति भनूँ साहित्यकार पनि समाजकै अन्य मानिसजस्तै मानिस भएकाले उसमा पनि मानिसमा हुने गुण अवगुण हुन्छन् नै तर ऊ सकेसम्म सज्जन, चरित्रवान् भएको राम्रो तर विचारणीय कुरा के छ भने साहित्यकारले जे लेखेको छ, त्यो मात्र शेष रहन्छ, उसका आनीबानी र यावत् कुरा उसको मृत्युपछि पखालपुखुल हुन्छ तर यसो भनेर साहित्यकार छाडा हुनुपर्छ भनेको चाहिँ होइन तर उसले भोगेर अनुभूत गरेर लेखेको कुरा उसको जीवनभन्दा महत्त्वपूर्ण हुन्छ ।
भारतमा ‘टमाटर का अचार कैसे बनाया जाए’ भन्ने पुस्तक पनि लाखौँको सङ्ख्यामा बिक्री हुन्छ । नेपालमा एक से एक गहन साहित्य (जस्तै मदनमणि दीक्षितकृत माधवी) एक लाख प्रति पनि बिक्री भएको अभिलेख छैन । त्यस्तो किन भएको होला ?
टमाटरको अचार खान मन पराउने सबैले साहित्य मन नपराउने भएर । साहित्य नपढेर पनि जीवन चल्छ । साहित्य नबुझेरे पनि दुनियाँ चल्छ । साहित्य खुबै बिक्री हुने टमाटरको अचारजस्तो हुँदै होइन नि । साहित्य भनेको सामान्य जनजीवन, सामान्य स्तर, सामान्य शिक्षा भन्दा माथिल्लो तहको कुरा हो । त्यसैले त्यस्तो भएको हो । साहित्य बिकाउ माल होइन, यो त समाजको टिकाउ गहना हो ।
तपाईँद्वारा लिखित एवं २०७२ सालमा प्रकाशित कथासङ्ग्रह “गन्तव्य गणबहाल” निकै चर्चामा थियो । केकति कारणले यो कथासङ्ग्रहले त्यस्तो चर्चा पायो ?
पाठक अध्येताले मन पराएर हो कि ? यो लामो कथाहरूको सङ्ग्रह हो, यसमा कथा त आफ्नै ठाउँमा छ, नेपाली कथा साहित्यका धुरन्धर विद्वान् डा. दयाराम श्रेष्ठको लामो कथासम्बन्धी महत्त्वपूर्ण भूमिका छ । यस किसिमको यो पहिलो भूमिका हो नेपाली साहित्यमा । त्यसैले पो कि ।
अन्त्यमा, केही थप भन्न चाहनुहुन्छ कि?
धेरै दिनपछि साहित्यको विषयमा यति गम्भीर कुराकानी गर्न पाइयो । यो कुराकानीले मलाई लेखनमा झन् प्रेरित गरेको महसुस गरेको छु । थप कुरा त अनन्त छन्, जीवन रहुन्जेल कुरा सकिन्नन् । आजका लागि जेजति कुरा गरियो, त्यो यथेष्ट छ । धन्यवाद ।
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)