
फिलिप्पा ग्रेगोरी
बेलायती इतिहासमा महिलाको योगदान हेर्न टम हल्यान्डका इतिहास ठेली हेर्नु पर्दैन । न त डोमिनिक स्यान्डब्रूकलाई नै पढिरहनु आवश्यक छ । खासमा महिलाको योगदान बुझ्नका लागि हरेक व्यक्तिले आफ्नी हजुरआमाका कुरा सुन्ने र तिनका डायरी हेरे पुग्ने इतिहासकार फिलिप्पा ग्रेगोरीले बताएकी छन् ।
नर्मल विमेनः मेकिङ हिस्ट्री फर ९०० इयर्स तथा द विमेन अफ द कजिन्स वार जस्ता प्रख्यात इतिहासकी लेखिका तथा दुई दर्जन ऐतिहासिक उपन्यासकी लेखिका ग्रगोरीले साहित्य महोत्सव हे फेस्टिभलमा बोल्दै भनिन्, ‘तपाईंले आफ्नी हजुरआमाले विश्वयुद्धमा के भोगिन्, तपाईंकी आमाले अवसादका वर्षहरु के कसरी झेलिन्, कसरी अहिलेसम्म बाँच्न सफल भइन्, ती कथा नै वास्तवमा इतिहास हो ।’
उनले थपिन्, ‘ती अनुभव, तिनका कथाहरु प्रधानमन्त्री विन्स्टन चर्चिलले युद्धका बेला के गरे भन्ने कथाभन्दा रोचक हुन्छन् । त्यसैले हजुरआमालाई सोध्नुस्, उहाँले लेख्नु भएका डायरी उठाउनुस् र पढ्न थाल्नुस् । ती अनुभव, ती डायरी इतिहासको नजरमा सबैभन्दा महत्वपूर्ण कच्चा माल हुन् ।’
उनले आफूले लेखेका अनेकन् उपन्यास र इतिहासका पुस्तक भन्दा नर्मल विमेनः ९०० इयर्स अफ मेकिङ हिस्ट्र किताबमाथि गर्व लाग्ने बताइन् । उनले प्रायः बेलायती ट्यूडर शासनकालमाथि लेख्ने गरेकी छन् ।
नर्मल विमेनमा त्यस्ता महिलाका बारेमा खोजी गरिएको छ, जसका बारेमा मुख्यधाराका इतिहासकारहरुले कुनै भाउ दिएका थिएनन् । सो पुस्तकमा उनले कम जानिएका हाइवेविमेन, डाकू महिला, महिला सैनिक, अन्वेषक तथा आन्दोलनकारी महिलाहरुमाथि विस्तारमा चर्चा गरेकी छन् । त्यसमाथि निकै चर्चामा रहने हाइवेविमेनको सन्दर्भ निकै रोचक तरिकाले उठाएकी छन् ।
सन् १७ र १८ औं शताब्दीताका बेलायतमा त्यस्ता महिलालाई हाइवेविमेन भनी चिनिन्थ्यो, जसले पुरुषको भेष धरेर आफूलाई नचिन्ने तुल्याई हाइवेमा डकैती गर्ने गर्थे । त्यो बेलाका कुख्यात हाइवेविमेनहरुमा लेडी क्याथरिन फेरेर्स, मेरी फ्रिथ (मोल कटपर्स) र सुसान हिग्सले त्यो बेला निकै ठूलो चर्चा बटुलेका थिए ।
नर्मल विमेन लेख्न उनलाई १० वर्ष लागेको थियो । १० वर्षे मिहिनेतपछि उनले बेलायती इतिहासमा गुमनाम पारिएका महिलाका बारेमा प्रामाणिक रुपमा जानकारी ल्याउन सफल भएकी थिइन् ।
यो पुस्तकका बारेमा लेख्ने प्रेरणा उनले एउटा अनुसन्धानका क्रममा पाएकी थिइन् । उनले अनुसन्धानका क्रममा ७० मिटर लामो कालिगढी गरिएको युद्धको छवि फेला पारेकी थिइन् । सन् १०६६ मा प्रख्यात राजा विलियम अफ नर्मान्डीले आक्रमण गरेको घटनालाई अंकित गरिएको थियो । उक्त कालिगढीमा ६३२ पुरुष, २०० घोडा, ५५ कुकुर र ५०० अन्य जनावरसँगै चराहरु पनि अंकित गरिएका थिए । अरु त अरु, त्यहा ९३ वटा विभिन्न आकार र रङका लिंगहरु पनि अंकित थिए ।
त्यत्रो विशाल चित्रमा जम्मा पाँच जना महिलाहरु थिए । तिनलाई सेनाले धम्क्याइरहेका वा झाङ्गलझुङ्गल पारेका देखिन्थे ।
‘जब तपाईंले इतिहासमा कसैलाई पार्नु हुन्न वा तिनलाई ठाउँ दिनु हुन्न, त्यो बेला तिनको योगदान के थियो भन्ने बुझ्न निकै कठिन हुन्छ,’ इतिहासकार ग्रेगोरीको भनाइ छ ।
अर्की इतिहासकार बेटानी ह्युजको आकलनअनुसार ऐतिहासिक रेकर्डमा महिलाका बारे वा महिलाको योगदानका बारे जम्मा ०.५ प्रतिशत मात्र अंकित गरिएको छ । जबकि सधैंभरि महिलाको जनसंख्या कम्तीमा आधा हुने गरेको छ ।
यस्तो किन हुन्छ त ?
ग्रेगोरी भन्छिन्, ‘तपाईंलाई आश्चर्य लाग्ला, महिला इतिहासकार नभएका कारणले यस्तो हुन्छ । पुरुषहरुको नजरमा कहिल्यै पनि महिलाको योगदान पर्दैन । उनीहरुलाई महिलाका योगदान अन्यको तुलनामा कम नै लाग्छ ।’
उनले उदाहरणका रुपमा पछिल्लो समय लेख्दै गरेको र आउँदो महिना बजारमा आउन लागेको बोलिन ट्रेटर पुस्तकको उदाहरण दिइन् । उनी भन्छिन्, ‘जहिले पनि जेन बोलिनलाई एउटा अपराधी महिलाका रुपमा चित्रित गरिन्छ । उनी एन बोलिनकी भाउजू थिइन् । पछि उनले मृत्युदण्ड पनि पाइन् । एन र जेनबीचको दुश्मनीलाई लिएर जहिले पनि जेन खलनायिका बनाइने गरिन्छ । जबकि इतिहास खोतल्ने हो भने उनी खलनायिका होइनन् ।’
उनी खलनायिका हुनुको मुख्य कारण पुरुष इतिहासकारहरुले महिलाको कोणबाट सोच्न नसक्नु नै रहेको इतिहासकार ग्रेगोरीको भनाइ छ । त्यसका लागि उनले सारा पुरुष इतिहासकारका किताबलाई लात हानेर शुरुदेखि अनुसन्धान गरी यो पुस्तक तयार पारेको उनी बताउँछिन् । जब उनले शुरुदेखि अनुसन्धान थालिन्, उनी खलनायिका होइन, नायिका थिइन् भन्ने प्रमाणित हुन थालेपछि पुस्तक लेख्न थालेको उनी बताउँछिन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










