
एउटा घर छ, समुद्र छेउको यो परित्यक्त घरमा मानिसहरू नबसेको वर्षौं भइसकेको छ । त्यो घर छिर्दा तपाईंको मनमा के कस्ता कुराहरू उठ्छन्, ती भावना समेटेर लेखिएको पुस्तक आइल्यान्ड्स अफ अबान्डनमेन्टः लाइफ इन द पोस्ट ह्युमन ल्यान्डस्केप र यसकी लेखिका काल फ्लिनलाई योङ राइटर अफ दि इयर पुरस्कार प्रदान गरिएको छ ।
युवा र सिर्जनशील लेखक खोज्ने पुरस्कार द सन्डे टाइम्स/चार्लोटी एटकिन योङ राइटर अफ दि इयर पुरस्कार गएको शुक्रबार काल फ्लिनलाई प्रदान गरिएको हो ।
यो पुरस्कारले नयाँ पुस्ताका प्रतिभाशाली लेखक पहिचान गर्ने पुरस्कारका रूपमा चिनिन्छ । यसअघि स्याली रूनी, जेडी स्मिथ, सिमोन आर्मिटेजजस्ता प्रतिभाशाली लेखकले यो पुरस्कार हात पारिसकेका छन् । अब यो सूचीमा काल फ्लिन थपिएकी छन् ।
पुस्तकले नखोजिएका, नदेखिएका, नलेखिएका ठाउँका बारेमा जीवन्त चमत्कारिक प्रस्तुति दिएको भन्दै निर्णायकहरूले लेखिका काल र उनको पुस्तकको प्रशंसा गरेका छन् ।
उनी संसारका अनौठा ठाउँ घुमेकी छन् । फोहोरको थुप्रो, चिहानघारी, परित्यक्त घरहरू, भुताहा घरहरू उनको रोजाईका घुम्ने ठाउँ हुन् ।
पुस्तक निर्णायक समितिकी तेहमिना अमिनले उनको लेखाइमा ओरिजनालिटी भएको बताइन् । लेखिकाले पुस्तकमा नयाँपन र बौद्धिकता पस्किएको उनको धारणा छ ।
१० हजार पाउन्ड पुरस्कारसँगै लेखिकाले लन्डन लाइब्रेरीको दुई वर्षे सदस्यता सित्तैमा पाउने छिन् । यस्तै वारविक विश्वविद्यालयमा १० साताको अध्ययन सुविधा पाउने छिन् ।
उनले यसअघि आफ्नै पुर्खाहरूको धज्जी उडाउँदै थिकर द्यान वाटर नामक संस्मरणसमेत बजारमा ल्याएकी थिइन् । अस्ट्रेलिया पुगेका उनका पुर्खाहरूमध्ये एक जनाले कसरी त्यहाँका आदिवासीको हत्या गरे भन्ने विषयमा लेखिएको उनको पहिलो संस्मरण पुस्तक बेली गिफोर्ड पुरस्कार तथा वेनराइट पुरस्कारका लागि नामाङ्कनसमेत पाएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

