२७ वर्षीया एलिस ओसम्यानले लेखेको हर्टस्टपर नामक ग्राफिक उपन्यासले बजारमा आएको ६ महिनाभित्रै एलिसलाई साढे ६ करोड डलर कमाएर दिएको छ ।
यति छोटो अवधिमा यति धेरै कमाउने लेखिकामध्ये उनी पनि परेकी छन् । खासगरी यो विधामा त उनी दोस्री नायिका बन्न पुगेकी छन् ।
उनलाई द ग्रुफेलो उपन्यासकी लेखिका जुलिया डोनाल्डसनको उपन्यास जब नेटफ्लिक्समा आउन थाल्यो, ग्रुफेलो उपन्यासले मात्र वर्षभरिमा डेढ करोड डलर बराबरको व्यापार गरेको थियो । त्यसैले एलिसले वर्षभरिमा कमाईको यो कीर्तिमानलाई जारी राखिन् भने जुलियालाई जित्ने सम्भावना रहेको पुस्तक व्यापार हेर्ने नेल्सन बुकस्क्यान डाटाले जनाएको छ ।
त्यसो त डोनाल्डसनको ग्रुफेलो पहिले पनि बजारमा आउँदा निकै राम्रो व्यापार गरेको थियो । अहिले नेटफ्लिक्स शृंखलाका कारण उनको व्यापार बढेको हो । पहिले पनि उत्तिकै रूचाइएको सो उपन्यासले हालसम्म २०० मिलियन पाउन्डको व्यापार गरिसकेको छ । यसलाई जित्ने एउटै मात्र जेके रोलिङको ह्यारी पोटर शृंखला रहेको द टाइम्स पत्रिकाले जनाएको छ ।
एलिसको हर्ट स्टपर गएको अप्रिल महिनामा नेटफ्लिक्समा रिलिज भएको थियो । यो शृंखला अहिले संसारका ५४ देशमा उत्कृष्ट १० शृंखलाका रूपमा सूचीमा परेको छ ।
हर्टस्टपर यति साह्रो रूचाइएपछि लेखिकाले यसको कथानक किशोरी छँदा नै दिमागमा खेल्ने गरेको बताएकी छन् । एलिसले पहिलो उपन्यास सोलिटेयर स्कुल पढ्दा नै लेखिसकेकी थिइन् ।
किशोर किशोरीले कहिले पनि आफूलाई सानो महसुस नगर्ने र सोही अनुभवका साथ पुस्तक लेख्ने गरेको बताइन् । त्यही कुरा पाठकले रूचाएको हुनसक्ने उनको धारणा छ ।
सन् २०१४ ताका उनी १९ वर्षकी छँदा नै कलेज पढ्दै गर्दा दुई वटा पुस्तक लेख्ने जिम्मेवारी प्रकाशकले दिइसकेका थिए । किशोरी लेखिकाले त्यो बेला नै १ लाख पाउन्ड रकम पाउनु कीर्तिमानी कुरा थियो ।
दुई वर्षपछि उनले हर्टस्टोपरलाई श्यामश्वेत वेबकमिकका रूपमा विकसित गरेकी थिइन् । पछि सोही कमिकलाई स्वयं प्रकाशक भएर छाप्नका लागि क्राउडफन्डिङ गरेकी थिइन् । उनको लक्ष्य जम्मा दुई घण्टामा नै पूरा भएको थियो । प्रथम संस्करण पूरै बिक्री भएपछि ह्याचेट पब्लिसिङ कम्पनी र नेटफ्लिक्सले उनको वेबकमिकलाई प्रकाशन तथा शृंखला बनाउनेबारे कुरा थालेका थिए ।
सन् २०२२ पुस्तक प्रकाशनका दृष्टिमा बेलायतमा यस पटक राम्रो व्यापार भएको बुकस्क्यानले जनाएको छ । ६ महिनाको व्यापार मात्र ७६७ मिलियन पाउन्डको व्यापार भएको छ । जसमध्ये बालबालिकाका पुस्तकहरूको बिक्री १८७ पाउन्डको भएको छ । खबरअनुसार, बालबालिकाको पुस्तक यति धेरै रकमको यसै पटक बिक्री भएको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।