अर्नेस्ट हेमिङ्वेमाथि लेखिएको जीवनी

सन् १९६४ मा लान्सेस्टर भन्ने व्यक्ति अचानक चर्चामा आए ।

उनको थर हेमिङ्वे नभएको भए, कसैले चासो लिँदैनथे होला तर उनी थिए, अर्नेस्ट हेमिङ्वेको कान्छो भाइ । त्यसैले सबैको ध्यान आकृष्ट भयो ।

उनले जमैकाको समुद्र छेउमा एउटा कृत्रिम टापु बनाएका थिए । २४० फुटको पानीमा तैरिने टापुलाई उनले नयाँ मुलुक घोषणा गरे । अमेरिकी संविधानअनुसार बहुमतले यस्तो गर्न पाइन्छ । नयाँ मुलुक बनाउन उनले स्टिल, आइरन, बाँस लगायतका कच्चा पदार्थ प्रयोग गरे ।

लान्सेस्टरले एक दिन कुरै कुरामा पत्नी डोरिसलाई भने, ‘समुद्रको किनारामा कुनै प्राचीन समयमा एउटा गज्जबको देश हुने गर्थ्यो । त्यसलाई एटलान्टिस भनिन्थ्यो । भनिन्छ, त्यो देश समुद्रमा डुब्नुअघि भयङ्कर सम्पन्न थियो रे !’

पत्नी डोरिस र दुई छोरीका साथ लान्सेस्टर

डोरिसले भनिन्, ‘हामी यसको नाउँ न्यु एटलान्टिस राखौँ ।’

लान्सेस्टर सहमत भए । नियमअनुसार टापु मुलुक न्यु एटलान्टिसले चुनाव गरायो । पत्नी डोरिस र आफ्नो दुई मतले लान्सेस्टर राष्ट्रपति बने ।

पछि उनले मुलुकमा मुद्रा आवश्यक पर्ने भन्दै मुद्राको नाउँ स्क्रुपल राखे । यतिले मात्र नभएर डोरिसले मुलुकको झण्डा डिजाइन गरिन् । लान्सेस्टरले हुलाक टिकट डिजाइन गरे । अमेरिकी कानुनअनुसार, स्थानीय सरकारले आफैँ हुलाक टिकट बनाएर त्यसलाई मुद्रा वा सो सरह प्रयोग गर्न पाउँछ । सोही कानुनलाई सदुपयोग गरेर लान्सेस्टर र डोरिसले हुलाक टिकट पनि बनाए ।

अनि, त्यो मुलुकमा लान्सेस्टर र डोरिसले आनन्दपूर्वक दुई वर्षसम्म राज्य गरे । दुई जनाको संख्या भएको मुलुकमा पैसा र खाना छउञ्जेल आनन्दले बस्नु स्वाभाविकै हो ।

न्यु एटलान्टिस गणतन्त्र कहाँ छ भनी देखाउँदै लान्सेस्टर । छेउमा उनले सन् १९६४ मा आफैँले जारी गरेको ५० सेन्टको हुलाक टिकट ।

यसको दुई वर्षपछि त्यहाँ भयङ्कर चक्रवात आयो । र, लान्सेस्टर र डोरिसको मुलुक तहसनहस पारिदियो ।

अर्नेस्ट हेमिङ्वेको कान्छो भाइको मुलुक तबाह भयो । लेख्न रूचि पनि राख्ने लान्सेस्टर ज्यादै चर्चित लेखक नभए पनि ठिकैका लेखकका रूपमा केहीले चिन्छन् । उनले पहिलो पटक सन् १९५३ मा एउटा उपन्यास लेखेका थियो‑ द साउन्ड अफ द ट्रम्पेट । फ्रान्स र जर्मनीमा दोस्रो विश्वयुद्धताका भिड्न जाँदाको अनुभव सो उपन्यासमा उकेरिएको छ । त्यो उपन्यासको खासै चर्चा नभए पनि उनले थप पाँच वटा पुस्तक लेखे ।

उनका उपन्यास आयाराम गयाराम भए । तर सबैभन्दा चर्चित भने आफ्ना दाइ अर्नेस्टमाथि उनले लेखेको जीवनी बन्न पुग्यो । सन् १९६१ मा प्रकाशित ‘माई ब्रदर, अर्नेस्ट हेमिङ्वे’ किताब निकै चल्यो । किताब यति चल्यो कि उनी र डोरिसको आर्थिक गति उच्च पारिदियो ।

त्यसपछि नै लान्सेस्टरलाई नयाँ मुलुक बनाउन झ्वाँक चलेको थियो ।

सन् १९८२ मा उनले पनि आफ्नै दाइ अर्नेस्टले जस्तो कन्चटमा गोली हानी आत्महत्या गरेका थिए ।