सत्र १३
ओशोको आत्मकथाः स्वर्णिम बालापन

प्रेमले जरा सशक्त बनाउँछ, स्वतन्त्रताले पखेटा दिन्छ

ल, यो तौलियालाई हटाऊ ! आशु मलाई माफ गर किनभने अब मैले आफ्नो काम शुरु गर्नु छ । तिमी बुझ्न सक्छ्यौ, एउटा छातिमा दुई कमिज एकसाथ राख्दा बिचरो छातीलाई कति गाह्रो हुँदो हो ! खासगरी छाति पछाडि लुकेको विचरो हृदयका लागि ! हृदयले राजनीतिज्ञजस्तो व्यवहार गर्न सक्तैन । यो राजनीतिक छैन । यो त बच्चाजस्तो सरल छ ।

म जिससलाई बिर्सन सक्तिनँ । म उनलाई संसारका कुनै पनि ईसाईभन्दा बढी सम्झन्छु । जिसस भन्छन्, ‘भाग्यमानी ती मानिस हुन्, जो साना बच्चाजस्ता छन् किनभने तिनकै हो प्रभुको राज्य ।’

यहाँ जे कुरा स्मरणयोग्य र सबैभन्दा बढी महत्त्वपूर्ण छ, त्यो हो– ‘किनभने’ । जिससको वाक्यांशमध्ये ‘भाग्यमानी’बाट शुरु हुन्छ र ‘प्रभुको राज्य’मा सकिन्छ । तीमध्ये यही एउटा वक्तव्य अनौठो छ । किनभने बाँकी सबै वक्तव्यले भन्छन्, ‘भाग्यमानी ती हुन्, जो विनम्र छन्, दीनहीन छन् किनभने उनीहरू नै प्रभुको राज्यका उत्तराधिकारी हुन्छन् ।’ ती वक्तव्य तर्कपूर्ण छन् र तिनले भविष्यका लागि वचन दिएका छन्–– भविष्य, जसको कुनै अस्तित्व हुँदैन । यही एउटा मात्र वक्तव्यले भन्छ, ‘… किनभने प्रभुको राज्य तिनको हो ।’ यसमा न त कुनै भविष्य छ, न तर्क छ, न त कुनै लोभको वचन दिइएको छ । तथ्यको शुद्ध वाक्य छ । अथवा, यसो भनौँ, तथ्यको सिधा सरल भनाइ छ ।

म यो वक्तव्यबाट सधैँ प्रभावित छु, ज्यादै हैरान हुन्छु यो वाक्य पढ्दा । मलाई विश्वास नै लाग्दैन कि कुनै तीस वर्षसम्म एउटै वक्तव्यमा लगातार र पटक पटक कोही हैरान हुनसक्छ ! अँ, तीस वर्षसम्म यो वक्तव्य निरन्तर मेरो हृदयलाई आनन्दले कम्पित गरिरहेको छः ‘किनभने प्रभुको राज्य उनैको हो ।’ कति तर्कहीन छ र पनि कति साँचो छ !

आशु ! मैले तिमीलाई तौलिया हटाउनका लागि भन्नुप-यो किनभने दुई वटा काम एकसाथ हुन सक्तैन खासगरी एउटा हृदयमाथि ! र, जहिलेदेखि म तिमीलाई जान्दछु, त्यो बेलादेखि तिमी मेराप्रति यति नै असल छ्यौ । जब म कहिलेदेखि तिमीलाई जान्दछु भनेर सम्झने प्रयास गर्छु, यस्तो लाग्छ, सदादेखि नै तिमीलाई जान्दो हुँ—म ठट्टा गरिरहेको छैन–– सत्य हो । जब म आशुका बारेमा सोच्छु, कहिले उसले मेरा घनिष्ठ मानिसहरूको संसारमा प्रवेश गरी भन्ने सम्झना नै आउँदैन । यस्तो लाग्छ, ऊ सदा मेरै छेउमा यसरी नै बसिरहेकी छ–– कहिले दाँतको नर्स भएर, कहिले यत्तिकै । अब ऊ देवराजका साथ सहसम्पादक बनेकी छ । यो त ज्यादै प्रगति भयो ! अब तिम्रामुनि दुई डाक्टर हुनसक्छन् । यो ठूलो कुरा हो, होइन त ? तिम्रा मुनिका दुई डाक्टरलाई कुस्ती गराउनू र त्यसलाई हेरेर मजा लिनू ।

अब म कथामा आउँछु । कथाभन्दा पहिले सानो प्रस्तावना सधैँ राम्रो हुन्छ । जतिसम्म हुनसक्छ त्यति नै असंगत र बेतुकको किनभने मजस्तो मानिसको त यही नै सही परिचय हो । कहिलेकाहीँ म आफैँमाथि हाँस्छु । कुनै कारणले होइन किनभने जब कुनै कारण भयो भने हाँसो रोकिन्छ । बिना कारण नै कोही हाँस्न सक्छ । हाँसोको बुझाइसँग कुनै सम्बन्ध छैन । त्यसैले कहिलेकाहीँ म आफ्नो बुझाइ र अबुझपनालाई नियालेर हेर्छु–– बुझ, यी दुवै एउटै कुराको दुई वटा पाटो हो–– र फेरि निकै हाँस्छु । अँ, यसलाई कसैले पनि सुन्न सक्तैन, त्यो शारीरिक होइन, नत्र त देवराज र देवगीतले आफ्नो यन्त्रबाट पत्ता लगाइहाल्थे । उनीहरू यसलाई जान्दैनन् । यो त सब यन्त्रका सीमाभन्दा टाढाको कुरा हो । म जे भनिरहेको छु, पहिले त्यसको शब्दलाई बुझ । त्यसपछि शायद तिमीहरू शब्दहीनलाई पनि बुझ्न सकौला । तिमीहरू सबैबाट मेरो यही आशा छ, यही मेरो स्वप्न पनि हो ।

तिमीहरूलाई चिन्ता भइरहेको होला किनभने आज म शुरु गर्दा ढिला गरिरहेको छु । तिमीहरू मलाई जान्दछौ, म तिमीहरूलाई जान्दछु । म जति सम्भव, उति बिस्तारै अघि बढ्नेछु । यसले तिमीहरूलाई खाली गर्न सहयोग गर्नेछ । र, मेरो सारा काम पनि यही हो– खाली गर्नु । तिमीहरूले यसलाई एम्पि्टइङ अनलिमिटेड भन्न सक्छौ ।

त्यो दिन मैले तिमीहरूलाई भनिरहेको थिएँ, मेरा हजुरबुवाको मृत्यु नै मृत्युसँग मेरो पहिलो साक्षात्कार थियो । अँ, साक्षात्कार अरु कुरामा पनि थियो । साक्षात्कार मात्र होइन, नत्र त म यसको वास्तविक अर्थ जान्नबाट चुक्ने थिएँ । मैले मृत्युलाई देखेँ, यसका अतिरिक्त अर्को केही जो मरिरहेको थिएन, शरीरमाथि तैरिरहेको थियो, जो शरीरबाट छुटिरहेको थियो… त्यो तत्त्व । यो साक्षात्कारले मेरो सम्पूर्ण जीवन–प्रवाहलाई दिशा दियो ।

यसले मलाई एउटा विशेष दियो अथवा यसो भनूँ, मैले एउटा यस्तो नयाँ आयाम दियो, जसलाई मैले पहिले जानेको थिइनँ ।

मैले अन्य मानिसको मृत्युका बारेमा सुनेको थिएँ तर सुनेको मात्र थिएँ, मैले देखेको थिइनँ । देखेको भए पनि मेरा लागि त्यो मृत्युको कुनै अर्थ थिएन । जबसम्म कोही आफ्नो प्रिय मर्दैनन्, त्यतिञ्जेलसम्म तिमीले सही अर्थमा मृत्युसँग साक्षात्कार गर्न सक्तैनौ ।

यी शब्दलाई रेखाङ्कित गरः ‘मृत्युसँगको साक्षात्कार केवल कुनै प्रियको मृत्युका बेलामा मात्र हुन्छ ।’

जब प्रेम तथा मृत्यु, दुवैले एकसाथ तिमीलाई घेर्छन्, अनि परिवर्तन हुन्छ । त्यो रुपान्तरण यति तीव्र हुन्छ कि नयाँ व्यक्ति जन्मिएको होस् । यसपछि तिमी पहिलेको जस्तो रहँदैनौ ।

तर मानिसहरू प्रेम गर्दैनन् र उनीहरू प्रेम नगर्ने भएकाले नै उनीहरूलाई मृत्युको अनुभव त्यस्तो हुँदैन, जस्तो अनुभव मलाई भयो । बिना प्रेमको मृत्युले तिमीलाई अस्तित्वको कुञ्जी दिँदैन । प्रेम छ भने उसले तिमीलाई जे छ, ती सबैको कुञ्जी दिन्छ ।

मृत्युसँगको मेरो पहिलो अनुभव कुनै सरल साक्षात्कार थिएन । त्यो कयौँ किसिमको जटिल थियो । जसलाई म प्रेम गर्थें, उहाँ मरिरहनु भएको थियो । उहाँलाई मैले आफ्ना पिताजस्तै जानेको थिएँ । उहाँले मेरो पालनपोषण गर्दा सारा स्वतन्त्रता दिनुभएको थियो । मेरा लागि कुनै आदेश थिएन, कुनै निषेध थिएन, कुनै दमन थिएन । उहाँले कहिले पनि मलाई ‘यस्तो नगर’ वा ‘यस्तो गर’ भन्नुभएन । उहाँको आन्तरिक सौन्दर्य बल्ल मैले बुझ्न थालेको छु । एउटा वृद्ध मानिसले कुनै बालकलाई यसो गर वा नगर, चुपचाप बस, यहाँ बस, केही नगर भनी नसम्झाउनु निकै गाह्रो कुरा हो । उहाँले किन केही नगरी चुपचाप बसेको भनेर पनि भन्नु भएन । उहाँले कहिले पनि मेरा कुनै कुरामा दखल दिनु भएन । मैले केही गलत गरेको थाहा पाउनुभयो भने बरू उहाँले आँखा बन्द गर्नुहुन्थ्यो र आफूलाई त्यस कुराबाट हटाउनुहुन्थ्यो ।

एक पटक मैले उहाँलाई सोधेँ, ‘हजुरबा, जब म तपाईं छेउ बस्छु, कहिलेकाहीँ तपाईं आफ्नो आँखा किन बन्द गर्नुहुन्छ ?’

उहाँले भन्नुभयो, ‘अहिले तिमीले यो कुरा बुझ्दैनौ । तर कुनै दिन शायद बुझ्नेछौ । तिमीले जे गरिरहेका छौ, त्यसलाई म नरोकौँ भनेर म आँखा बन्द गर्ने गर्छु । चाहे त्यो गलत होस् या ठीक, तिमीलाई कुनै पनि कुराबाट रोक्ने काम मेरो होइन । मैले तिम्रा आमाबुवाबाट लिएको हुँ । मैले तिमीलाई स्वतन्त्रता दिन सक्तिनँ भने तिमीलाई मातापिताबाट यहाँ ल्याउनुको के फाइदा ? त्यसैले मैले तिमीलाई उनीहरूबाट यस कारणले लिएको थिएँ ताकि जीवनमा म कुनै दखल नदिऊँ । उसो भए म तिमीलाई कसरी व्यवधान गर्न सक्छु !’

‘तर तिमीलाई थाहा छ,’ कुरा अघि बढाउँदै उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ तिमी हद गरिदिन्छौ र त्यस्तो बेलामा तिमीलाई रोक्न गाह्रो हुन्छ । मलाई यो कुरा थाहा थिएन, नत्र त म तिमीलाई यहाँ ल्याउने खतरा मोल्दिन थिएँ । खोजीखोजीकन गलत काम गर्न तिमी कुशल छौ । आश्चर्य लाग्छ, कसरी तिमी गलत गर्नका लागि यति सारा चिज खोजिरहन सक्छौ ? तिमी पागल हौ कि म पागल हुँ, कहिलेकाहीँ आश्चर्य लाग्छ ।’

मैले भनेँ, ‘हजुरबा, तपाईंले मेरो चिन्ता गर्न पर्दैन । यदि कोही पागल हो भने त्यो मै हुँ ।’

र, त्यही दिनदेखि म मानिसहरुलाई भनिरहेको छु, ‘मेराबारेमा चिन्ता नलेओ । म पागल मानिस हुँ ।’

यो त मैले हजुरबालाई ढुक्क पार्न भनेको थिएँ र अहिले पनि म ती मानिसलाई ढुक्क पार्न भनिरहन्छु, जो साँच्चिकै पागल छन् । तर जब तिमी पागलखानामा हुन्छौ र एक्लो तिमी मात्र पागल हुँदैनौ, तिमीले मात्र पागलहरूलाई आफू पागल भएको घोषणा गर्नुको अतिरिक्त अरु के नै गर्न सक्छौ र ? चिन्ता नगर, म पनि पागल नै हुँ, गम्भीरतापूर्वक नलिनू नै भन्छौ नि, हैन ?

जीवनभर मैले यही गर्दै आइरहेको छु ।

हजुरबा आँखा बन्द गर्नुहुन्थ्यो तर कहिलेकाहीँ म अति नै गर्थें । उदाहरणका लागि, मैले एक दिन म नोकरमाथि चढेर हिँड्दै थिएँ । मैले उसलाई घोडा बन्न भनेँ । शुरुमा त ऊ डरायो तर मेरी हजुरआमाले उसलाई भन्नुभयो, ‘तँ घोडाजस्तो अभिनय गर्न सक्तैनस् ? घोडा बन्न के गाह्रो छ र ?’

ऊ घोडा बन्नै प-यो बिचरो र म उसमाथि चढेँ ।

हजुरबाले यो हेर्न सक्नु भएन र उहाँले आफ्नो आँखा बन्द गर्नुभयो र आफ्नो मन्त्र दोहो-याउन थाल्नुभयो, ‘नमो अरिहंताणं नमो.. नमो सिद्धाणं नमो ।’

मैले खेल बन्द गरेँ किनभने जब उहाँले आफ्नो मन्त्र जप गर्न थाल्नुभयो भने यसको अर्थ, उहाँको सहन शक्ति सकियो । यो खेल बन्द गर्ने समय थियो । मैले उहाँलाई हल्लाउँदै भनेँ, ‘हजुरबा, फर्कनुस् । तपार्इंले मन्त्र जपिरहनु पर्दैन । मैले खेल बन्द गरिसकेँ । तपाईंले यो एउटा खेल मात्र हो भन्ने देख्नु हुन्न र ?’

उहाँले मेरो आँखामा हेर्नुभयो र मैले उहाँको आँखामा हेरेँ । एक क्षणका लागि मौनता छायो । उहाँ म बोलुँला भनेर पर्खनुभयो र फेरि उहाँले भन्नुभयो, ‘ल ठीक छ म नै पहिले बोल्नु पर्ला ।’

मैले भनेँ, ‘हो, ठीक छ । किनभने तपाईं चुप रहनुभयो भने जीवनभर म चुप रहन्थेँ । यो राम्रो भयो कि तपाईं बोल्नुभयो । त्यसैले अब म तपाईंको उत्तर दिनसक्छु । तपाईं के सोध्न चाहनुहुन्छ ?’

उहाँले भन्नुभयो, ‘म सधैँ तिमीलाई एउटै कुरा सोध्न चाहन्छु कि तिमी यति चकचके किन छौ ?’

मैले भनेँ, ‘यो प्रश्न त तपाईंले भगवान्सँग सोध्नका लागि राख्नुपर्छ । जब तपाईंको भगवानसँग भेट हुन्छ, त्यो बेला सोध्नूः यो केटो यति चकचके किन छ ? किन यति शैतान बनाउनुभयो ? तपाईंले मलाई योबारे सोध्न सक्नुहुन्न । मलाई यो सोध्नु भनेको मानौँ यस्तो होः तिमी किन छौ ? अब किन छौको उत्तर के हुनसक्छ ? जहाँसम्म मेरो कुरा छ, मलाई त यसमा केही लाग्दैन । म मजस्तै छु । यो घरमा आफूजस्तै हुनुमा कसैलाई किन आपत्ति हँ ?’

हामी बाहिर बगैँचामा बसेका थियौँ । उहाँले मतिर हेर्नुभयो र सोध्नुभयो, ‘तिमीले भन्न खोजेको के हो ?’

मैले भनेँ, ‘तपाईंलाई राम्रैसँग थाहा छ, मैले के भन्न खोजेको । मैले आफूजस्तै हुन सक्तिनँ भने म यो घर नै छिर्दिनँ । त्यसैले तपाईंले प्रस्ट गर्नुपर्छ, कि त म आफूजस्तै भएर यो घरभित्र छिरुँ या यो घरलाई बिर्सेर आवारा घुमक्कड बनूँ । प्रस्ट भन्नुस्, म के गरुँ ? चाँडो…।’

उहाँले हाँस्दै भन्नुभयो, ‘तिमी घरभित्र जान सक्छौ । यो घर तिम्रै हो । म तिम्रो जीवनमा दखल दिन थाले, बरू मै घर छाडूँला । तिमीले छाड्नुपर्ने आवश्यक छैन ।’

उहाँले त्यस्तै गर्नुभयो । यो वार्तालापको दुई महिनापछि नै उहाँ संसारबाटै बिदा लिनुभयो । उहाँले आफ्नो घरमात्र होइन, आफ्नो शरीर नै छाडिदिनुभयो, जुन उहाँको वास्तविक घर थियो ।

म हजुरबासँग ज्यादै प्रेम गर्थें किनभने उहाँलाई मेरो स्वतन्त्रता ज्यादै प्रिय थियो । म त्यो बेला मात्र प्रेम गर्न सक्छु, जब मेरो स्वतन्त्रताको आदर गरिन्छ । स्वतन्त्रता दिएर मैले प्रेम पाएँ भने मलाई त्यो व्यापार स्वीकार छैन । तर बुझ्झकी मानिस कुनै पनि मूल्यमा आफ्नो स्वतन्त्रता गुमाउँदैन ।

यो संसारमा प्रायः हरेक व्यक्ति प्रेम गर्छ भन्ने ठान्छ तर यदि तिमी ती प्रेमीहरूलाई हे-यौ भने उनीहरू एकअर्काका कैदी हुन् भन्ने थाहा पाउँछौ । यो कस्तो अनौठो प्रेम हो, जो एकअर्कालाई बन्धनमा पार्छ । के प्रेम पनि कहिले बन्धन हुनसक्छ ? तर ९९.९ प्रतिशत यस्तै नै हुन्छ किनभने शुरुदेखि नै प्रेम त्यहाँ थिएन ।

सत्य त के हो भने सामान्यतः मानिसहरू प्रेम गर्छु भन्ने ठान्छन् तर उनीहरू प्रेम गर्दैनन् किनभने जब प्रेम हुन्छ, को तिमी, को म ? प्रेमका साथ स्वतन्त्रताको भाव आउँछ, त्यसमा अधिकारको भाव हुँदैन । तर दुर्भाग्यले यस्तो प्रेम दुर्लभ हुन्छ ।

यदि प्रेममा स्वतन्त्रता रहिरह्यो भने तिमी राजा या रानीभन्दा कम हुँदैनौ । त्यही त परमात्माको साँचो राज्य हो–– प्रेम स्वतन्त्रताका साथ । प्रेमले तिम्रो जरा जमिन सशक्त बनाउँछ र स्वतन्त्रताले तिमीलाई पखेटा दिन्छ ।

मेरा हजुरबुवाले मलाई यी दुवै दिनुभयो । उहाँबाट मैले जति प्रेम पाएँ, त्यति त हजुरआमा या मेरी आमाले पनि पाउनु भएन । साथै, उहाँले मलाई स्वतन्त्रता पनि दिनुभयो, जुन सबैभन्दा ठूलो उपहार हो । जुन बेला उहाँ मर्दै हुनुहुन्थ्यो, उहाँले मलाई आफ्नो औँठी दिनुभयो र आँखाभरि आँशु बनाउँदै भन्नुभयो, ‘तिमीलाई दिनका लागि मसँग केही छैन ।’

मैले भनेँ, ‘हजुरबा, तपाईंले मलाई पहिले नै सबैभन्दा मूल्यवान् उपहार दिनुभएको छ ।’

उहाँले आफ्नो आँखा खोल्नुभयो र सोध्नुभयो, ‘त्यो के हो ?’

मैले हाँस्दै भनेँ, ‘तपाईंले बिर्सनुभयो ? तपाईंले आफ्नो प्रेम दिनुभयो र स्वतन्त्रता पनि दिनुभयो । तपाईंले जस्तो स्वतन्त्रता मलाई दिनुभयो, त्यस्तो त कुनै बच्चाले पाएका छैनन् होला । मलाई अरु के चाहियो र ? अरु तपाईंले मलाईं के दिनसक्नुहुन्छ ? म तपाईंप्रति आभारी छु । अब तपाईं शान्तिपूर्वक बिदा हुन सक्नुहुन्छ ।’

यसपछि मैले कयौँ मानिसहरू मर्दै गरेको देखेको छु तर शान्तिपूर्वक मर्नु ज्यादै गाह्रो छ । मैले मात्र पाँच मानिस शान्तिपूर्वक मरेको देखेको छु । पहिलो मेरा हजुरबा हुनुहुन्थ्यो, अर्को चाहिँ, मेरो नोकर भुरा, तेस्रो मेरी हजुरआमा, चौथो, मेरा पिता र पाँचौँ चाहिँ विमलकीर्ति ।

भुरा यत्तिका लागि म-यो कि ऊ आफ्नो मालिकका बिना यो संसारमा बाँच्ने कल्पना पनि गर्न सक्तैनथ्यो । ऊ म-यो, सहजताले म-यो । ऊ हामीसँगै मेरा पिताको गाउँ आएको थियो किनभने ऊ गोरुगाढा चलाइरहेको थियो । बैलगाडी हिँड्दै गर्दा केही समयका लागि पर्दाभित्र केही सुनिएन, उसले मलाई सोध्यो, ‘सब ठीक छ नि ?’ पटक पटक सोध्यो, ‘सबै जना चुप किन ? किन कोही नबोलेको ?’ ऊ पर्दाबाहिर बसेको थियो । उसले पर्दा हटाएर भित्र हेर्ने प्रयास गरेन । ऊ यस्तो धृष्टता कसरी गर्न सक्थ्यो किनभने भित्र त हजुरआमा हुनुहुन्थ्यो ! त्यसैले ऊ पटक-पटक सोधिरहेको थियो– के हो ? किन सबै चुप ?

मैले भनेँ, ‘केही होइन । हामी मौनको मजा लिइरहेका छौँ । हजुरबा हामी चुप बसौँ भन्ने चाहनुहुन्छ ।’

यो झूटो थियो किनभने हजुरबा त मरिसक्नु भएको थियो । तर एक प्रकारले यो सत्य पनि थियो, हजुरबा चुप हुनुहुन्थ्यो र यही उहाँको सन्देश थियो– हाम्रा लागि चुप बस्ने सन्देश । अन्त्यमा मैले भुरालाई भनेँ, ‘सबै ठीक छ तर हजुरबा बित्नुभयो ।’

उसलाई विश्वासै लागेन, भन्यो, ‘उसो भए ठीक कसरी भयो त ? उहाँ बिना म ज्यूँदो कसरी रहूँ ?’ र, चौबीस घण्टाभित्र नै ऊ म-यो । ठीक त्यसरी नै, जसरी एउटा फक्रेको फूल बन्द हुन्छ र फेरि दोहो-याएर खुल्न तयार हुँदैन । अब हामी हाम्रा पिताको शहरमा थियौँ । जो केही ठूलो थियो । त्यसैले हामीले भुरालाई बचाउने प्रयास ग-यौँ ।

भारतका लागि मेरा पिताको शहर एउटा सानो सहर थियो । त्यहाँको जनसंख्या २० हजार मात्र थियो । त्यहाँ एउटा अस्पताल र एउटा स्कुल थियो । हामीले भुरालाई बचाउने हरेक सम्भव प्रयास ग-यौँ । अस्पतालको डाक्टर आश्चर्यचकित थियो, उसलाई विश्वास नै लागिरहेको थिएन कि भुरा भारतीय हो । किनभने भुरा बिल्कुलै युरोपेली देखिन्थ्यो । शायद ऊ जीवविज्ञानको विचित्र उदाहरण थियो, मलाई थाहा छैन । केही ठीक भयो होला ! प्रचलित उखानअनुसार भन्ने हो भनेः ‘केही गडबड भयो होला ।’ तर मैले आफ्नै उखान बनाएको थिएः ‘केही ठीक भएको होला ।’ गडबड नै किन भन्ने ?

आफ्नो मालिकको मृत्युले भुरालाई ज्यादै गहिरो घात प-यो । जबसम्म हामी शहर पुगेनौँ, हामीले उसलाई झुटो भनिरह्यौँ । शहर पुगेपछि जब शवलाई गोरुगाढाबाट बाहिर निकाल्यौँ, त्यो बेला भुराले थाहा पायो । उसले आफ्नो आँखा बन्द ग-यो र त्यसपछि कहिल्यै खोलेन । उसले भन्यो, ‘म मेरो मालिक मरेको देख्न सक्तिनँ ।’ र, यो मालिक र नोकरको सम्बन्ध मात्र थिएन, यस्तो गहिरो घनिष्ठता थियो, जसलाई परिभाषित गर्न सकिँदैन । यति त म निश्चित रुपले भन्न सक्छु, उसले दोहो-याएर आफ्नो आँखा खोलेन । हजुरबा मरेपछिको केही घण्टा मात्र ऊ जीवित रह्यो । मर्नुअघि नै ऊ बेहोस भयो र कोमामा पुग्यो ।

मर्नुभन्दा पहिले हजुरबाले हजुरआमासँग भन्नुभएको थियो, ‘भुरालाई हेरचाह गर्नू । मलाई थाहा छ, तिमीले राजालाई राम्रोसँग रेखदेख गर्न सक्छौ, उसका बारेमा तिमीलाई केही भन्नु छैन तर भुराको पनि ख्याल गर्नू । उसले जसरी मेरो सेवा गरेको छ, अरु कसैले पनि गर्न सक्तैनथ्यो ।’

मैले डाक्टरलाई भनेँ, ‘तपाईं यी दुई जना बीचको प्रेम र विश्वासलाई बुझ्न सक्नुहुन्छ ?’

‘के यो युरोपेली हो ?’ डाक्टरले सोधे ।

‘देखिन त त्यस्तै देखिन्छ !’

डाक्टरले भने, ‘चलाखी नगर । तिमी जम्मा सात आठ वर्षका बच्चा छौ तर निकै चलाख छौ । अरुलाई घुमाइदिन्छौ । जब मैले तिमीलाई सोधेँ, तिम्रा हजुरबा बित्नुभयो, तिमीले मलाई भन्यौ, उहाँ बित्नु भएको छैन । र, त्यो कुरा साँचो होइन ।’

मैले भनेँ, ‘होइन, मैले सत्य नै भनेको हुँ । उहाँ मर्नु भएको छैन । त्यति प्रेमपूर्ण व्यक्ति मर्न सक्नुहुन्न । यदि प्रेम मर्न सक्छ, मर्छ भने यो संसारमा कुनै आशा छैन । मलाई त विश्वास नै लागिरहेको छैन कि जो मानिसले मेरो स्वतन्त्रताको, एउटा सानो बालकको स्वतन्तालाई यति आदर ग-यो र त्यो व्यक्ति म-यो भन्दा पत्यारै लागिरहेको छैन । श्वास लिन नसक्नु मृत्यु हुनु हो र ? म मृत्यु र श्वास नलिनुलाई बराबर मान्दिनँ । श्वास नलिनुको अर्थ मर्नु हो ।’

त्यो युरोपेली डाक्टरले शंकालु दृष्टिले मलाई हे-यो र मेरा काकालाई भन्यो, ‘या त यो केटो दार्शनिक बन्छ या त पागल हुनेछ ।’

उसको कुरा गलत भयो किनभने म दुवै एक साथ भएँ, ‘या’ को यहाँ कुनै प्रश्नै छैन । म सोरेन किर्कगार्ड होइन– या त कि त को कुनै प्रश्नै छैन । तर मलाई आश्चर्य छ, उसले मेरो कुरामा विश्वास किन गर्न सकेन ? कुरा त सिधा र सरल थियो । तर सरल कुराहरूमा विश्वास गर्न ज्यादै गाह्रो छ । गाह्रो कुरामा विश्वास गर्नु सबैभन्दा सहज । विश्वास किन गर्ने ? तिम्रो मनले भन्छ, ‘यो त यति सरल छ । यसमा कुनै जटिलता छैन । यसमाथि विश्वास गर्नुको कुनै कारण छैन ।’ जबसम्म तिमी तरतूलियन (शुरुवाती क्रिश्चियन विद्वानमध्ये एक) हुँदैनौ– उसको भनाइ मलाई ज्यादै प्रिय छ ।

संसारका सबै भाषाका साहित्यहरूबाट यदि कुनै एउटा वक्तव्य छनोट गर्नुप-यो भने म जिसस क्राइस्टको चयन गर्दिनँ । मलाई खेद छ, म गौतम बुद्धको पनि छनोट गर्दिनँ । म मोजेस या मोहम्मद, च्वांगत्सु अथवा लाओत्सुका पनि छान्दिनँ । म त त्यो अनौठो मानिसको भनाइ छान्छु, जसका बारेमा मलाई केही पनि थाहा छैन– तरतूलियन । यो नामको सही उच्चारण त मलाई थाहा छैन, त्यसैले यसको अक्षरहरूलाई उच्चारण यसरी गर्छु ‘तर–तू–लियन’ । मलाई सबैभन्दा प्रिय उदाहरण उसैको लाग्छः ‘क्रेडो कुआ एबसर्डम ।’ अर्थात्–– म विश्वास गर्छु किनभने यो बेतुकको छ, असंगत छ ।’

केही क्षणका लागि तरतूलियनलाई बिर्स । त्यसलाई पर्दा हालिदेऊ । यी गुलाबहरूलाई हेर । यिनलाई तिमी किन प्रेम गर्छौ ? यिनलाई प्रेम गर्नुको कुनै कारण छैन । के यो बेतुकको कुरा होइन ? यदि कसैले तिमीलाई पटक-पटक गुलाबलाई किन तिमी प्रेम गर्छौ भनेर सोध्छ भने अन्त्यमा तिमीले आफ्नो काँध उच्काउँदै ‘खै खै !’ भन्छौ होला । यही ‘खै खै’पना नै क्रेडो कुआ एबसर्डम हो ! तरतूलियन फिलोसफीको यही अर्थ हो ।

त्यो डाक्टरले किन मेरा हजुरबा मर्नु भएको छैन भन्ने कुरा विश्वास गरेन भन्ने कुरा मैले बुझ्न सकिनँ । मलाई थाहा थियो र उसलाई पनि थाहा थियो, शरीर त समाप्त भयो । त्यसमा कुनै सन्देह थिएन । तर शरीरका अतिरिक्त पनि केही छ । शरीरमा हुँदा पनि ऊ शरीरको अंश थिएन । यसमा म फेरि एक पटक जोड दिन्छु– शरीरमा रहेर पनि शरीरको अंश थिएन । प्रेमले त्यसको उद्घाटित गर्छ । स्वतन्त्रताले उसलाई आकाशमा माथि उडान भर्न पखेटा दिन्छ ।

हामीसँग अझै समय छ ?

‘छ, ओशो ।’

कति ? गरिब मानिसको चाडजस्तो हामी ज्यादै सुस्तरी गइरहेका छौँ । अतिमा जाऊ । यसरी बिस्तारै बिस्तारै होइन– यो मेरो तरिका होइन । या त जल या बिल्कुलै नजल । या त दुवै किनारालाई एक साथ आगो लगाऊ या त अँध्यारोको सौन्दर्य नै रहिरहन देऊ ।