अच्युत कोइराला

संसार बदल्न तीन वटा हतियार काफी थिए। जुन बेला मानिस कसरी पेट भर्ने होला भनेर गुफामा चिन्ता गरेर बस्थ्यो, उसकी स्त्रीले गुफा वरिपरि उप्जाएका अनेकन खान्कीले अचानक उसमा खेतीको सोच पलाएको थियो। त्यो सोचलाई परिस्कृत गरेर उसले हलो बनायो। यो हलोले कृषि क्रान्तिको फाली तयार पा-यो।

समृद्धिका लागि जब उसले फालीको महत्व बुझ्दै र वरिपरि गतिलो उप्जाउ जमिनको रक्षा गर्नेबारे बुझ्न थाल्यो, तत्काल उसलाई तरबारको मूल्यबोध भयो। जब तरबारले एउटा–दुइटा गाउँ हुँदै क्षेत्र कब्जा गर्न थाल्यो, संसारभर तरबारले गर्ने परिवर्तनको बोध भयो।

तरबारको शक्ति बुझ्दै मात्र थियो मानिसले, शान्तिका बेला गर्ने चिन्तन र त्यो चिन्तनबाट निसृत ज्ञानको बोध गर्दै जान थाल्यो। ज्ञानलाई उसले एकमुष्ठ रुपमा संरक्षित गर्न कहिले माटोका ‘ट्याब्लेट’मा तिनलाई संरक्षण गर्न सिक्यो त कहिले छालामा टिपोट गर्न थाल्यो। जसै कागजको सर्वसुलभता र त्यसलाई वृहद् उपयोगका लागि छपाई मेसिनको आविष्कार मानिसले ग-यो, उसले किताबको महत्व अझ बढी बुझ्यो। हेर्दाहेर्दै किताबभित्र ज्ञान मात्र होइन, यसको बिजनेस पनि उसले देख्यो।

यसरी बुद्धिमान मानिसले पहिला हलो, त्यसपछि तरबार र पछिल्लो समय किताबको आविष्कार गरेर संसारलाई एउटा पछौटेपनबाट टपक्क उठाएर सदियौँभित्रैमा सभ्यता निर्माण गरिछाड्यो। त्यसो त, विधा फरक थिए होलान् तर कृषि, हतियार र ज्ञानको सदुपयोगले नै संसारले सभ्यता उठाएका थिए, उठाइरहेका छन् र भविष्यमा पनि उठाउने नै छन्।

जुन समाज दिमागको तीक्ष्णताको भोकभन्दा जिब्रो र पेटको भोकलाई महत्व दिन थाल्छ, त्यो समाज पतनोन्मुख छ भन्ने बुझे हुन्छ।

जस–जसले यी तीनलाई सदुपयोग गरेका छन्, तिनले अहिले पनि ठूलो प्रगति गरेका छन्। दुरूपयोग गर्ने वा यसको महत्व नबुझ्नेहरू संसारकै पछौटेमा दरिएका छन्।

एकताका सबैभन्दा धेरै पुस्तक बेलायतले प्रकाशन गथ्र्याे, ऊ संसारकै अगुवा थियो। पछि अमेरिका थपियो र ऊ संसारको अगुवा बन्यो। सन् २०१५ को एक अध्ययनअनुसार यतिबेला चीनमा धेरै पुस्तक प्रकाशन हुन्छ। अर्थात्, संसारको अगुवा को हो, अब बताइरहनु नपर्ला ! धेरै पुस्तक प्रकाशनको अर्थ धेरै बिक्री हुनु पनि हो। धेरै बिक्री हुनुको अर्थ, नयाँ कुराप्रति त्यो देशका जनता कति जागृत र सचेत छन् भन्ने नाप्ने मेसो पनि हो।

दुःखको कुरा, नेपालमा हरेक वर्ष कति पुस्तक प्रकाशन हुन्छ भन्ने सर्भे कतै कसैले गरेको छैन। यस किसिमको उदासी शायदै कुनै देशको होला। यो पक्का हो, विगत केही वर्षयता नेपालमा पुस्तक प्रकाशन संख्याको हिसाबले बढिरहेको छ। पछिल्लो समय किताब पढ्ने जमात बढे पनि उनीहरुको ध्यान विकेन्द्रित गर्ने गरी मोबाइलको अतिक्रमण चर्को रुपमा बढिरहेको छ। हातैमा विकिपेडियाजस्तो ज्ञानको संसार छ। युट्युबमा चाहेजस्तो मनोरञ्जन तयार छ। समय खाइदिने फेसबुके साथीसङाती छँदैछन्। आधुनिक सञ्चारका यी नयाँ नमूनाले पो किताबको बिक्री घटेको हो कि ? कि साँच्चिकै पाठकले खोजेजस्तो ‘कन्टेन्ट’को अभावका कारण पाठकको जाँगर नचलेको हो ? यसमाथि अध्ययन भएकै छैन र हुने छाँट पनि देखिन्न किनभने त्यसतर्फ कसैको ध्यान छैन।

बेलायतीहरु सभ्य, सुसंस्कृत र विद्वान देखिनका लागि भए पनि किताब किन्छन् र घरमा थन्क्याउँछन्। यस्तो गर्नेको संख्या ८३ प्रतिशत छ। घरमा सजावटका सामानमध्ये किताब पनि हुनसक्छ भन्ने चेत त हामीकहाँ पस्नै बाँकी छ।

किताब किन्ने र पढ्ने संस्कृति जोगाउन विकसित मुलुक चिन्तित छन्। तिनले अत्याधुनिक प्रविधिलाई समेत पठन संस्कृति जोगाउने उपायका रुपमा प्रयोग गरिरहेका छन्। इबुकदेखि अडियो बुकको सोच पठन संस्कृतिलाई विस्तृत बनाउने अनेकन उपक्रममध्येका हुन्।

पुस्तक पसलहरु हरेक वर्ष घटिरहेकामा उनीहरु पनि चिन्तित छन्। न्युयोर्कजस्ता महँगा ठाउँमा हरेक वर्ष पुस्तक पसलेहरु घटिरहेका छन्। यसमा उनीहरु चिन्तित छन्। जसका लागि हालै बन्र्स एन्ड नोभलजस्तो अमेरिकी पसलेले आफ्नो अस्तित्व जोगाउन बेलायतको वाटरस्टोनसँग हातेमालो गरेको छ। बन्र्स एन्ड नोभलका अमेरिकाभरि ६२७ स्टोर छन्। यता बेलायती वाटरस्टोनका २९३ वटा छन्। यसका बेल्जियम, आयरल्यान्ड र नेदरल्यान्डमा पनि पसल सञ्चालित छन्। वाटरस्टोनले बन्र्स एन्ड नोभललाई ६८ करोड ३० लाख डलरमा किनेपछि पुस्तक पसलको अवस्था सशक्त हुने अपेक्षा गरिएको छ।

किताब पसल, पसल मात्र होइनन्, ती ज्ञानका संवाहक हुन्। तिनलाई सुन पसल जसरी तौलनु हुँदैन। यतिबेला अमेरिकाको न्युयोर्कमा रहरले खोलिएका पुस्तक पसल बचाउने नयाँ उपाय थालिएको छ।

नेपालमा ? नेपालको सबैभन्दा महँगो ठाउँमा पनि पुस्तक पसलहरु गायब हुन थालेको धेरै भइसकेको छ। सबैभन्दा चर्चित नयाँ सडकको पिपलबोटका पुस्तक पसल पनि गायब भएको महिनौँ भइसक्यो तर त्यो किन गायब भयो, कहिले खुल्छ कसैलाई चिन्ता छैन। भरसक अबका केही महिनामा त्यहाँ मम पसल झुल्किनेछ र सर्वसाधारणले किताबको स्वादको सट्टा ममको स्वाद बढी चट्कार्ने छन्। जब समाज दिमागको तीक्ष्णताको भोकभन्दा जिब्रो र पेटको भोकलाई महत्व दिन थाल्छ, त्यो समाज पतनोन्मुख छ भन्ने बुझे हुन्छ।

किताब पसल, पसल मात्र होइनन्, ती ज्ञानका संवाहक हुन्। तिनलाई सुन पसल जसरी तौलनु हुँदैन। यतिबेला अमेरिकाको न्युयोर्कमा रहरले खोलिएका पुस्तक पसल बचाउने नयाँ उपाय थालिएको छ। त्यहाँ बन्द हुन बाँकी रहेका सीमित पसलेहरुले पसलको मासिक भाडा तिर्न गाह्रो भइरहेको भन्दै इन्टरनेटबाट क्राउड–फन्डिङ उठाउनेदेखि पुस्तक तथा पत्रिकामा छूट नमाग्नेसम्मको अभियान सञ्चालन गरिरहेका छन्। पुस्तक पसलको महत्व बुझेकाहरुले तिनलाई सहयोग पनि गरिरहेका छन् तर कतिञ्जेल यसरी चल्छ होला भनेर त्यहाँका बुद्धिजीवी चिन्तित छन्। यस्तो अवस्थामा पुस्तक पसल बचाउने फ्रान्सेली उपाय काम लाग्छ कि ?

सन् १९८१ देखि नै फ्रान्सले पुस्तकलाई छूटमा बेच्ने कुरामा प्रतिबन्ध लगाएको छ। यसमा उसको तर्क थियो, यसले साना स्थानीय पुस्तक विक्रेतालाई घाटा हुन्छ। उनीहरूले छूटमा पुस्तक बेचेर के नाफा पाऊन् ? कसरी पसल चलाऊन् ?
यो कुरा सन् २०११ देखि अझ चर्कियो किनभने त्यतिञ्जेल इबुक शुरू हुन थालिसकेको थियो। अमेजनले त हुन्डीमुन्डीमा किताब बेच्न थालिसकेको थियो। भनाइको अर्थ, निश्चित रकम तिरेर महिनाभरि जतिसुकै पनि इबुक पढ्न पाइने नीति अमेजनले ल्याएको थियो। कतिसम्म भने बन्डलिङ भनिने यो नीति किताबप्रति हुरूक्क हुनेका लागि ठूलो चिठ्ठा नै थियो तर यसमा पनि फ्रान्सले बाँध बाँधिदियो। उसले इबुक होस् या छापिएका, जस्ता सुकै किताब फ्रान्समा छूट भनेर बेच्न पाइँदैन। नयाँ किताबका मामिलामा यस्तो नीति अख्तियार गरिएको भए पनि पहिल्यै प्रयोग गरिएका, थोत्रा–पुराना पुस्तकका मामिलामा भने यो लागू भएको थिएन। यही सुविधा उपयोग गरेर अमेजनले नयाँ पुस्तकलाई पनि सेकेन्डह्यान्ड बुक भनी भारी छूटमा बेचेर आफ्नो वेबसाइटलाई चलायमान बनाइरह्यो।

अमेजनको यो तरिका थाहा पाएपछि सित्तैमा डेलिभरी गरिदिने मोडललाई उसले नियन्त्रण ग-यो। सेकेन्डह्यान्ड बुकको बहानामा चलाइएको यो मोडल केही नियन्त्रित भने अवश्य भयो। डेलिभरीमा छूट नदिँदाको अवस्थामा त्यहाँका हुलाकले न्यूनतम रकम ०.०१ युरोको टिकट बेच्ने अवसर पाइरहे।

फ्रान्समा हरेक वर्ष एक लाख शीर्षकका पुस्तक निस्कन्छन्। तीमध्ये कतिपय पुराना नै रिप्रिन्ट हुन्छन् भने केही नयाँ। पुस्तक प्रकाशन यहाँ वर्षौंदेखि राम्रै अवस्थामा रहनुको कारण अधिकांशमा प्रिन्टेड पुस्तकप्रतिको मोह, त्यसको बिक्रीबाट आउने राम्रै आम्दानी पनि एक हो। क्रेताले पनि किताबमा छूट माग्नु अपराधजस्तै मान्छन्। नगरपालिकाले पसलेहरुलाई उपलब्ध गराउने ठाउँ सस्तो हुने भएकाले तुलनात्मक रुपमा ती टिकाउ पसले भइरहेका छन्।

काठमाडौँ वा अन्य नगरले पुस्तक संस्कृति जोगाउन विशेष पहल गर्न जरुरी छ। तिनको काम पार्किङबाट पैसा असुल्नु मात्र होइन, सभ्यतासमेत निर्माण गर्नु हो। संस्कृति भनेको मन्दिर मात्र होइनन्, किताब वा ज्ञानप्रति गरिने व्यवहार पनि हो। गायब हुन थालेका पुस्तक पसलप्रति चिन्ता गर्न ढिला भइसक्यो।

साभारः https://shukrabar.nagariknetwork.com/news/4852