साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अलेक्जेन्डर महानको सन्दुक

Chovar Blues Mobile Size

प्रारम्भमै बताइहालूँ, याे याेद्धाकाे कथा हाे तर युद्धकाे हाेइन । डा. रामचरण महेन्द्रको पुस्तक ‘दृष्टान्त सरित्-सागर’ पढेपछि आँखामा आएका दृश्य हुन् ।

अलेक्जेन्डर महान् संसार टेक्ने अभियानमा निस्कँदा बाटामा अनेक देश जित्दै अघि बढिरहेको थियो । बीचमा अर्को एउटा महान् साम्राज्य थियो, पर्सिया (इरान) ! अलेक्जेन्डर उदाउँदो थियो, पर्सियाली सम्राट डारियस तृतीय अस्ताउँदो !

उनीहरूबीच युद्ध भयाे र  इरानी शासकले आफ्नाे अस्तित्व जाेगाउन भीषण युद्ध गरे । पर्सियालीहरूले त्याे बेलासम्म युद्ध हार्नका लागि लडेकै थिएनन् । यसमा पनि उनीहरू जित्ने पक्का भएरै लडेका थिए ।

तर नियम नै छ,  युद्धमा जसले जित्छ, उसको अवस्था पनि हारभन्दा कम हुँदैन । हार्नेकाे मात्र हाेइन,  जित्ने पक्षकाे पनि यति ठूलाे सैन्य क्षति हुन्छ कि खुसी हुनका लागि उसले पराजितको दरबार लुटेर मात्र तृप्त हुनसक्छ ।

अलेक्जेन्डर एउटा महत्त्वाकांक्षी लडाकु थियो । विश्व विजेताको पदवि पाइयोस्, ऊजस्तो योद्धा संसारमै अरू काेही नहोस् भन्ने उसको चाहना थियो । उसको महत्त्वाकांक्षा ज्यादै ठूलो र विरल थियो । यो सफलीभूत पार्न उसले एउटा ठूलो सेना बनाएको थियो । यही उद्देश्य प्राप्तिका लागि उसले बाटामा पर्ने साना–ठूला देशका शासकलाई मृत्युको मुखमा पुर्याउँदै, विजय पताका फहराउँदै अघि बढ्याे । पृथ्वीकाे मध्यभागमा फेला परेकाे थियाे, पर्सियाली सम्राज्य । जसलाई नजिती अघि बढ्न सम्भव थिएन ।

sagarmani mobile size

अन्ततः पर्सियाली (इरान)काे विशाल साम्राज्य पनि अलेक्जेन्डरका लडाकु र उसकाे विश्वविजयकाे सपनाका अघि हार खाए ।  यो विजयसँगै अलेक्जेन्डर महानका लडाकूले थुप्रै धन, स्वर्णमुद्रा र बहुमूल्य रत्न, हिरा, जवाहरात लुट्दै बाेराका बाेरा बहुमूल्य सामग्री आफ्ना घाइते वा थप युद्ध गर्न नसक्ने सिपाहीका साथ देश पुर्याउँथ्याे । तर पनि यी सामग्रीबाट ऊ धेरै खुसी हुन्थेन । उसका सेनालाई थाहा थियो, अलेक्जेन्डर महानलाई खुसी पार्न सजिलो छैन । युद्ध जित्नु र बहुमूल्य सामग्री हात पार्नु सामान्य खुसी मात्र हो ।

इरानमा हारेको भए अलेक्जेन्डरले आफ्नो मूल्य मृत्युबाट चुकाउनु पर्थ्यो । जितेको हुनाले इरानका मूल्यवान् चिज उपहारका रूपमा पाइरहेको थियो । हारेका सम्राटबाट लुटिएका सामग्रीहरू ल्याउँदै उसलाई देखाइँदै थियो, खुसी पार्न उसका आसेपासे सेनाले अनेकन् प्रयत्न गरिरहेका थिए । मूल्यवान् उपहार देखेर अलेक्जेन्डरको मुखमण्डल केही समयका लागि दीप्त भयो ।

‘साबास्, वीर सैनिक ! तिमीहरूले यूनानको नाम उजिल्यायौ । पर्सियाबाट तिमीहरूले मूल्यवान् चिज पायौ । म खुसी छु ।’

अलेक्जेन्डरले सारा थकान बिर्सियो । उसका मन पुलकित थियो । उसको ध्यान अब भारततिर केन्द्रित थियो । अब एउटै मात्र ठूलो र शक्तिशाली किल्ला बाँकी रह्यो ।

‘जे जति पाएका छौ, आफ्ना सन्तानका लागि युनान लैजानू । उनीहरू पनि तिमीहरूको जितबाट खुसी होलान्,’ सैनिकहरूको खुसीमा उसले आफ्नो खुसी थप्दै भन्यो ।

यत्तिकैमा परबाट एउटा सैनिक अधिकारी हतारिँदै आएको देखियो । उसको हातमा सानो बाकसजस्तो केही थियो, जसलाई रेशमी वस्त्रले बेरिएको थियो ।

‘मेरा तर्फबाट उपहार छ हजूरलाई,’ त्यो सैन्य अधिकारी अलेक्जेन्डर नजिक आउँदै भन्यो ।

ऊ सम्राट सामु आयो र अदबका साथ अभिवादन ठोक्यो । उसले उपहार दिन ल्याएको वस्तु सम्राट छेउमा राख्यो र रेशमी वस्त्रलाई बिस्तारै सुम्सुम्यायो ।

‘सम्राट, मैले इरान लुट्दा यो फेला पर्यो । हजूरलाई मन पर्ला भनेर यहाँ ल्याएँ,’ रेशमी कपडा खोल्दै सैन्य अधिकारीले भन्यो ।

‘के हो यो ?’

‘यो एउटा बाकस हो हजूर, सन्दूक ।’

‘अरे, निकै राम्रो छ त ! कहाँ फेला पारिस् ए ? सुनले मोरेको रहेछ । हेर्दै मोहक !’

‘हजुर, मैले एउटा जोहरीको पसल लुट्दा फेला पारेको हुँ । यसलाई लुकाउन खोजिरहेको थियो । मार्ने डर देखाएँ । उसले यो भन्दा सुन्दर चिज दिन्छु, नमार्नुस् भन्यो र वास्तवमै मलाई पनि मन पर्यो ! कति मन पर्यो भने हजुरलाई नदेखाई मनले मानेन । हजुरलाई पनि मन पर्यो, मलाई खुसी लाग्यो ।’

अलेक्जेन्डर महान्ले यत्रो लुटमा कुनै चिजमा आँखा लगाएको थिएन तर त्यो सानो सन्दूक अपलक हेर्न थाल्यो । अनुहारबाटै सुन्दरताबाट मख्ख परेको बुझ्न सकिन्थ्यो ।

चन्दनको काठबाट बनेको, बुट्दा कुँदिएको । कुँदिएका फूलहरूमा सुनको जलप ! हेर्याहेर्यै भइने यस्तो अद्भुत चिज थियो यो ।

अलेक्जेन्डरको मुखबाट अनायास निस्कियो, ‘यो सुनले जडिएको सन्दूक (बाकस) जो कोही कलाकारले बनाएको हो, उसको हात चुमूँ लाग्यो । योभन्दा सुन्दर बाकस बन्नै सक्दैन । कति सुन्दर ! कति आकर्षक !! अद्भुत कलाकृति !!!’

ती सैन्य अधिकारीतिर हेर्दै अलेक्जेन्डरले भन्यो, ‘तिम्रो यो उपहारबाट म खुसी भएँ ।’

छेउका अधिकारीले आरिसले उसलाई हेर्न थाले ।

त्यसपछि सैनिकलाई अलेक्जेन्डरले थपथपाउँदै भन्यो, ‘यो सबैभन्दा अनौठो छ । यसमा म मेरो सबैभन्दा मूल्यवान् चिज राख्नेछु । यसले मलाई यो सन्दूकका बारेमा सधैँ स्मरण गराइरहनेछ । तिमीलाई सम्झाउनेछ । धन्यवाद ।’

अलेक्जेन्डरले खुसी भएर त्यो सन्दूक आफ्नो छेउमा राख्यो र धेरैबेरसम्म सुम्सुम्याइरह्यो ।

अरस्तुसँग ज्ञानगुनका कुरा सुन्दै अलेक्जेन्डर महान्

मन त पर्यो तर उसको मनमा कुरा खेल्न थाल्यो । यति सुन्दर चिजमा राख्ने के त ? यसमा बस्ने उचित पात्र के होला ? यो जति मूल्यवान् कलाकृति छ, उति नै मूल्यवान् वस्तु यसमा बस्नु पर्छ । साधारण कुरा यसमा राख्दा यसको सौन्दर्यप्रति उपेक्षा गरेको ठहरिनेछ ।

अबेर रातिसम्म अलेक्जेन्डरलाई निद्रा लागेन । ओछ्यानमा पनि पल्टँदा यही सोचिरह्यो कि जति राम्रो चिज हुन्छ, त्यसभित्र उत्ति नै बहुमूल्य चिज राखिनु पर्छ । जति भव्य बाहिरी आवरण छ, त्यस्तै उत्कृष्ट भित्रको वस्तु हुनुपर्छ । तर सबैभन्दा राम्रो, असल कुरा के हुनसक्छ ? यो संसारमा सबैभन्दा मूल्यवान् कुरा के होला ? कुन कुरा चाहिँ यो सन्दूकको लायक होला ?

भोलिपल्टसम्म पनि कुनै कुरा नफुरेपछि उसले आफ्ना सल्लाहकारलाई डाक्यो । अलेक्जेन्डरले यही कुरा सुनायो । यो सुन्दर सन्दूकमा के राख्नुपर्ला ? यो सन्दूकको सौन्दर्य हाराहारीमा के हुनसक्ला ?

यो प्रश्नको उत्तरमा आफ्नो बुद्धि र बर्कतले भ्याएसम्म जवाफ दिए, सल्लाहकारहरूले ।

एउटाले भन्यो, ‘सम्राट्, यो सुन्दर पेटीमा दुई वटा सुन्दर हिरा, जवाहरात हाल्नुपर्छ । तिनको मूल्य कल्पना पनि गर्न नसकियोस् । अनि सुहाउँदिलो हुन्छ ।’

‘उसो भए हिरा जवाहरातभन्दा मूल्यवान् कुरा यो संसारमा अरू केही छैन त ?’ अलेक्जेन्डरले झिँजो मान्दै भन्यो ।

अर्को सल्लाहकारले भन्यो, ‘हजूर, यसमा हजुरको वस्त्राभूषण राख्दा ठीक होला । त्यो पनि निकै मूल्यवान् छ ।’

अझ अर्कोले भन्यो, ‘त्यसो होइन सरकार ! सबैभन्दा महँगो त हाम्रो मुलुकको राज्यकोष छ । त्यसैको चाबी राख्नु उचित होला । सोही चाबीले हजुरको सारा खजाना खुल्छ । मानिसले आफ्नो खजानाको कुञ्जीलाई सबैभन्दा बढी मन पराउँछ । त्यसैले खजानाको चाबी नै यसमा राख्नु उचित हुन्छ ।’

अर्को एक जना बोल्यो, ‘सम्राट् ! यसमा हजुरकी प्रेमिका महारानी राेक्सानाले लेखेको पत्र राख्नु उचित हुन्छ । हजुरहरूकाे प्रेम हाम्रालागि पनि अविस्मरणीय छ । हजुरहरूका प्रेमपत्र राख्नुहाेला । प्रेमपत्र सारा सम्पत्तिभन्दा मूल्यवान् हुन्छ ।’

एकएक गर्दै सल्लाहकारका कुरा मन्दमन्द मुस्कानका साथ अलेक्जेन्डरले सुनिरह्यो । उसले आफ्नो सोच चाहिँ कसैलाई सुनाइरहेको थिएन ।

उसका अधिकारीहरू पनि कौतुहलमा थिए । उनीहरूलाई थाहा थियो, उनीहरूका सम्राट ग्रिसेली दार्शनिक अरस्तु (एरिस्टोटल)का शिष्य हुन्, कम चतुर र बुद्धिमान छैनन् !

जब सबैले आआफ्ना धारण पस्किए, अलेक्जेन्डरका सल्लाहकारहरूले एकमुखले सोधे, ‘सरकार, यसमा हजुरले के राख्नेबारे सोच्नुभयो त ? हजुरको धारणामा संसारको सबैभन्दा मूल्यवान् कुरा के हुनसक्ला ?’

अलेक्जेन्डरको दिमागमा त्यही कुरा घुमिरहेको थियो । उसले सबैलाई एक पटक आँखामा गढेर हेरेपछि उसले भन्यो, ‘मेरा लागि संसारको सबैभन्दा उत्तम वस्तु त्यो हो, जसले मेरो जीवनमा सबैभन्दा बढी फाइदा दिएको छ ।’

उसको मनले भन्यो, ‘के सम्पत्तिले मलाई सबैभन्दा बढी फाइदा दिलाएको छ ?’

उसको विवेकले जवाफ दियो, ‘धन त मूर्खले पनि अनायास फेला पार्न सक्छ । तेरो प्रसिद्धिको कारण यो सम्पत्ति हुँदै होइन । तँ कुनै धनी व्यापारी पनि होइनस् । तेरो विशेषता त अरू नै केही हो । तेरो खजाना अरू नै केही हो ।’

‘उसो भए मेरो वास्तविक गाढधन के हो ?’ नयाँ प्रश्न उठ्यो ।

उसको विवेकले उत्तर दियो, ‘तेरो वास्तविक पुँजी शूरता हो, वीरता हो । इतिहासका पृष्ठमा लेखिने त्यो गौरव तैँले तेरो साहसका कारण पाएको होस् । तँ महान् आफ्नो हिम्मतका कारण कहलिएको छस् । आफ्नो शौर्यको भावनालाई सही ठहराउन तैँले नजाने कति देशलाई धुलो चटाएको छस् । हजारौँ लाखौँको हत्या गराएको छस् । आफ्नो स्वार्थका लागि, निजी स्वार्थका लागि असंख्य सैनिकलाई समरमा झोसेको छस्… युद्ध र रक्तपात गराएको छस् ! तेरो विशेषता पौरख हो । पराक्रम हो… वीरता हो…।’

‘उसो भए यो साहस, पराक्रमको भावना ममा कहाँबाट आयो त ?’

उसको अन्तरात्माले उसलाई झक्झक्यायो, ‘विगतका स्मृतिमा खोज्नू, सम्झनू । तैँले जीवनको उत्कर्षका बेला सशक्त प्रेरणा कुन बेला, के पाइस् ? कसका विचारलाई मनको अन्तसमा लुकाएर तैँले पौरख गरिस्, सौर्य प्रदर्शन गरिस् ? युद्धमा विजय दिलाउने सौर्य तत्त्व कहाँबाट आयो ? तँलाई यति सशक्त र साहसी बनाउने को हो ?’

ऊ सोचिरह्यो । ठीक यही बेला उसको स्मृतिले उसलाई झक्झक्यायो ।

के उसले आफ्नो आत्माको पुकार नसुनेझैँ गर्ने हो ?

उसलाई अचानक याद आयो । उसको पौरख, पराक्रम र साहसको विचार पुराना ग्रन्थहरूले दिएका थिए । तिनैको ज्ञानबाट ऊ यति विकसित भएको हो । ज्ञान नै मनुष्यको उन्नतिको आधारशीला हो । जुनबेलासम्म ज्ञान थिएन, त्यतिञ्जेल ऊ अज्ञानी र पशुवृत्तिबाट प्रेरित थियो । उसका सारा शक्ति अन्तसमा बन्द थिए । त्यसको उपयोग हुन सकेको थिएन ।

‘जुन दिन मैले आफूभित्रको शक्ति बुझेँ, अनि मात्र विश्वविजयको संकल्प लिन सफल भएँ,’ अलेक्जेन्डरले सोच्यो, ‘ज्ञानले विवेक र बुद्धि जन्माउँछ र त्यही नै मेरो सारा शक्तिको स्रोत रह्यो । उसो भए त्यो ज्ञान मैले कहाँबाट पाएँ ?’

अब ऊ ज्ञानको स्रोतका बारेमा सोच्न थाल्यो ।

ऊ झस्कियो । ज्ञानको स्रोत पुस्तक थियो । ती पुस्तक उसले बालापनमा पढेको थियो । उसलाई माझ्ने काम, बुद्धिविकास गर्ने काम तिनै किताबले गरेका थिए । उसले प्राचीन पुस्तकहरू पढेको थियो । आखिर मानव जातिका सारा ज्ञान तिनै पुस्तकमा त सञ्चित थिए ! राम्रा पुस्तकहरू महान् आत्माका लागि जीवनदायिनी रगतझैँ हुन्छन् ।

‘मानिस मर्छ तर ती ग्रन्थमा उसको आत्मा भने शान्तिपूर्वक बस्छ,’ उसले सोच्यो ।

सारा सल्लाहकारहरू अलेक्जेन्डरको मुख ताकेर बसिरहेका थिए । उसको मुखारविन्दबाट केही फुत्केला कि भनेझैँ उनीहरू केही सुन्न उत्सुक थिए ।

‘म जीवनमा यति सफल किन भएँ थाहा छ ?’ अलेक्जेन्डर बोल्यो, ‘मलाई किताबले यहाँसम्म डोर्यायो । किताबमा निहित ज्ञानले मलाई अँध्यारोमा पनि उज्यालो दिइरह्यो ।’

यसपछि उसले बालापनदेखि पढेका अनेकन् किताबहरूको नाउँ लिन थाल्यो । ती सबै लेखकका बारेमा पनि उसले आफ्नो जानकारी दिन थाल्यो । तिनकै किताबबाट उसले उत्तम विचार, उदात्त भावना तथा वीरताको कल्पना खाँदखुँद गरेर भरेको थियो ।

अलेक्जेन्डर महान्का सल्लाहकारहरू पक्का भइसकेका थिए, बुद्धिमान् सम्राटले त्यति सुन्दर सन्दूकमा अब किताब नै राख्नेछन् । तर उनले जीवनमा पढेका कयौँ किताबहरू त यसमा पक्कै अट्दैनन् । उसो भए उनले कुन किताब राख्लान् त ?

एउटा सल्लाहकारले पनि सोधिहाल्यो ।

‘अँ, म पनि सोच्दैछु,’ अलेक्जेन्डर महान्ले सोचमग्न हुँदै भन्यो, ‘याद आयो, याद आयो । यो त्यही ग्रन्थ हो, जसले मेरो जीवनलाई नयाँ मोड दिएको थियो । त्यसैलाई यो सन्दूकमा राख्नु उचित हुन्छ । किनभने मेरालागि त्यही सबैभन्दा बहुमूल्य छ । त्यही पुस्तकलाई यसमा राख्नु, त्यस किताबप्रति सम्मान हुनेछ र म पनि त्यस किताबप्रतिको कर्तव्यबाट ऋणमुक्त हुन सक्नेछु ।’

सभामा भएका मानिसहरू चासो चरममा पुग्यो । प्रत्येक क्षण उनीहरूलाई त्यो किताबको नाम सुन्न चौचौ लागिरहेको थियो ।

एक जना सल्लाहकार, जो अन्तिममा आएको थियो र केही जान्न पहिलेदेखि सभामा बसेकोसँग खासखुस गरिरहेको थियो, उसले सोध्यो, ‘सरकार, यो मूल्यवान् सन्दूकमा कुन चाहिँ त्यस्तो अद्भुत चिज राख्ने ? हिरा ? महँगो वस्त्र ? गहनागुरिया ? सुन अथवा अरू नै केही ?’

सबै सल्लाहकारले त्यो मूर्ख व्यक्तितिर नजर दौडाए । सबैले एकसाथ आफूलाई हेरेको देखेर ऊ सकपकायो । अलेक्जेन्डर आफ्नै सोचमा मग्न थियो । ऊ केही गुन्गुनाएजस्तो सुनियो ।

‘हैन, ती कुनै पनि चिज मेरो नजरमा मूल्यवान् होइनन् । झन् यसमा राख्न लायक त ती हुँदै होइनन् ।’

यो सुनेर उसको हौसला बढ्यो । तनक्क छाति तन्कायो र सोध्यो, ‘उसो भए के राख्ने त सरकार ?’

गम्भीर हुँदै अलेक्जेन्डरले भन्यो, ‘यो स्वर्णजडित सन्दुकमा महाकवि होमरलिखित महाकाव्य ‘इलियाड’ राख्नुपर्छ । ‘इलियाड’ जस्तो बहुमूल्य ग्रन्थ यो संसारमै छैन । ममा जुन शौर्यको भावना छ, त्यो यसैबाट पाएको हुँ । यो युनानको सबैभन्दा महत्त्वपूर्ण देन हो । होमरजस्ता महाकवि संसारमै अर्को छैन । ट्रोयको युद्ध अनि एचलिजजस्ता वीरहरूको शौर्य गाथाले नै मलाई योद्धा बनायो ।’

अलेक्जेन्डरको निर्णय सुनेर सबै दङ्ग परे ।

त्यो दिन अलेक्जेन्डर महान्का अधिकारीहरूले धनभन्दा बढी ज्ञानको महत्त्व कति रहेछ भन्ने चाल पाए । पाइएका सारा धन पनि अलेक्जेन्डरले किन आफूले नलिई सबैलाई बाँड्दै हिँड्थे भन्ने बुझे ।

पर्सियाको आतिथ्य सकिएपछि अलेक्जेन्डर महानको सैन्य टुकडी गान्धार (अफगानिस्तान) तिर सोझियो । त्यतिञ्जेल उसका सेवकले मेसिडोनियाबाट होमरको ‘इलियाड’ पुस्तक ल्याइसकेका थिए । अलेक्जेन्डरको घोडा बुसफलासले पञ्जाबको युद्धमा नमरूञ्जेल त्यो सुन्दर सन्दुक र अलेक्जेन्डर महान्को सबैभन्दा प्रिय पुस्तक बोकिरह्यो…।

लेखक परिचय

पेशाले पत्रकार अच्युत कोइराला अनुवादक पनि हुन् । उनी मूलतः विदेशी चर्चित व्यक्तिका जीवनी पढ्न र लेख्न रूचाउँछन् । उनका २ दर्जन अनुदित पुस्तक प्रकाशित छन् । हाल उनी नागरिक दैनिकमा जिल्ला ब्युरो प्रमुखका रूपमा कार्यरत छन् ।

प्रतिक्रिया
Loading...