इयान फ्लेमिङ्सले १२ वटा जासुसी उपन्यास लेखे । उपन्यासमा यौनप्रति मुखर थिए तर प्रेमिकाप्रति अनुदार ।

हेर्दैको आकर्षक हिरो तर क्रूर व्यवहार किन होला भन्नेबारे हालै खुलासा भएको छ । इयान फ्लेमिङः द कम्प्लिट म्यानका जीवनीकार निकोलस सेक्सपियरले हेर्दैको आकर्षक यो जासुसले धेरै प्रेमिका बनाउने तर प्रेमिकाहरूप्रति साह्रै क्रूर व्यवहार देखाउने (प्रयोग गर्ने र छाड्ने) गरेकामा उनको आमाप्रतिको वैराग्यले काम गरेको खुलासा गरेका छन् ।

उनकी आमा इभ फ्लेमिङले पहिलो वयस्क प्रेमिकासँग उनको वैवाहिक सम्बन्ध तोड्न निकै दबाब दिएकी थिइन् । जीवनीमा उल्लेख भएअनुसार, जेम्स बोन्डकी आमा मोनिक डिलाक्रोक्स उनकै प्रेमिकाको नामबाट प्रेरित हो ।

इभले छोरा इयानको बिहे तोड्न धेरै प्रयास गरिन् । सन् १९३३ मा इयानले मोनिकसँग बिहे गर्न पक्का गरिसकेका थिए । स्विट्जरल्यान्डकी बासिन्दा मोनिक पेन्काउड डि बोटोन्सलाई भित्र्याए, छोराले पाइरहेको खर्च काटिदिने उनकी आमाले धम्की दिएकी थिइन् ।

जीवनीकार सेक्सपियरले मोनिकका छोरा जर्जलाई भेटेर इयान र मोनिकबीच के कस्तो सम्बन्ध थियो भन्नेबारे खोजतलास गर्दा यसको खुलासा भएको हो ।

मोनिक र इयानका छोरा जर्जलाई भेट्दा जर्जले दुवैको बिहेको औँठी देखाएका थिए । त्यो बेला इयानको उमेर २२ वर्ष थियो ।

इयानले आफ्नी प्रेमिकाको नाउँ जेम्स बोन्डकी आमा बनाएका थिए । आफ्नी आमाले उनको कलिलो मस्तिष्कमा जे हालेकी थिइन्, त्यसलाई जेम्स बोन्डमार्फत अभिव्यक्त गरेको देखिने इयानका बाल्यकालका साथी अर्नेस्ट कुनियोले बताएका छन् ।

जेम्स बोन्डले आफ्नी आमाका बारेमा कुरा गर्दा कालो कपाल, नीलो आँखा, दुब्लो काया, कडा हास्य चेत, सुसंस्कृत महिला, धेरै किताब पढ्ने र चित्रकला संग्रह गर्न मरिहत्ते गर्ने भनी व्याख्या गरेको पाइन्छ । ठीक यही बान्की उनको प्रेमिकासँग मिल्ने सेक्सपियरको टिप्पणी छ ।

धेरै जीवनीकारले इयानले बिहे टुंग्याएको लेखे पनि सेक्सपियरले भने कडा व्यवहारकी प्रेमिकाले सासूसँगको मतभेद बढ्ने देखेपछि आफैँले बिहे टुंग्याएको बताएका छन् ।

धेरैपछि इयान चर्चित भइसकेपछि प्रेमिकालाई भेट्ने पुनः प्रयास गरे पनि प्रेमिका मोनिकले अस्वीकार गरेकी थिइन् । सेक्सपियर लेख्छन्, ‘यदि इभले इयानको निर्णयलाई स्वीकार गरेकी हुन्थिन् भने उनीहरूको वैवाहिक जीवन सफल हुन्थ्यो । उनीहरू बिहे गर्ने नियतका साथ जब लन्डन आएका थिए, हुनेवाला सासू इभले बुहारी मोनिकलाई नराम्रो व्यवहार गरिन् । जब मोनिकले इयानलाई छाड्ने निर्णय गरिन् र जीवनभर भेट्न अस्वीकार गरिन्, यसपछि उनले जीवनभर महिलाहरूलाई धोका दिइरहे ।’