‘द ब्याटल एट लेक चाङजिन’को पोस्टर

अहिले चीनमा रिलिज भएको सन् १९५० को युद्धमा आधारित चिनियाँ फिल्मले जेम्स बन्डको निद्रा हराम गरिदिएको छ । जेम्स बन्ड मात्र होइन, हलिउडकै निद्रा बिथोलिदिएको छ । जुन ठाउँमा हलिउडले व्यापार चम्काएर कुस्त व्यापार गर्थ्यो, अचेल त्यो अवस्था रहेन । चीनले आफ्नो स्थानीय बजार कब्जा गर्न थालेको छ भने हलिउड पछि पर्दै जान थालेको छ ।

‘द ब्याटल एट लेक चाङजिन’ चिनियाँ सिनेमा हलमा रिलिज भएको जम्मा दुई सातामा ६३३ मिलियन डलर कमाई गरेको छ । यो उसको घरेलु कमाई मात्र हो । यसअघि हलिउडको डिज्ने कम्पनीले बनाएको साङ चीले संसारभरबाट जम्मा ४०२ मिलियन डलर कमाएको थियो ।

यो कमाईले एकातिर पश्चिमा फिल्ममेकरहरूलाई टाउको दुखाउन थालेको छ भने सँगैमा उनीहरूका लागि थोरै आशा पनि जगाएको छ । आशा यस कारणले कि दर्शकहरू सिनेमा हलमा फर्कन थालेका छन् । दुःख यस कारणले कि चिनियाँ प्रपोगन्डा फिल्म चलाउनका लागि त्यहाँको प्रशासनले एक किसिमको उर्दी नै जारी गरेको थियो र त्यसमा ऊ सफल पनि भएको छ ।

‘द ब्याटल एट लेक चाङजिन’को सफलताले अर्को एउटा मानकसमेत बनाएको छ । यसअघि चीनले बनाएका प्रपोगन्डा फिल्मले यो स्तरको सफलता पाएको थिएन । यो सफलताले प्रपोगन्डा फिल्म पनि कसरी राम्रोसँग बनाउन सकिन्छ भन्ने पाठसमेत सिकाएको छ ।

चीन विश्वको सिनेमा बजारको सबैभन्दा ठूलो व्यापार केन्द्र हो । खासगरी हलिउडले यहाँबाट ठूलो फाइदा बटुल्दै आएको थियो । अब स्थानीय फिल्मको यो स्तरको सफलताले हलिउडको आम्दानी खुम्चने निश्चित देखिएको छ ।

सरकारले नै यस्ता फिल्म हेर्नु देशभक्ति जनाउनु भएको वक्तव्य जारी गरेका कारण यो फिल्मले यो स्तरको कमाई गरेको केहीको धारणा छ ।

यसअघि सन् २०१७ मा ‘वल्फ वारियर २’ फिल्मले पनि यस्तै कमाई गरेको थियो । एक जना चिनियाँ सेनाले कसरी आफ्ना मान्छेलाई बचाउँछन् भन्ने विषयमा बनेकत्र सो फिल्मले एक सातामा नै १३८ मिलियन डलर कमाई गरेको थियो । त्यो बेला प्रपोगन्डा फिल्मले त्यो स्तरको कमाई गरेको पहिलो कीर्तिमान थियो ।

यो फिल्म भने अमेरिकालाई कोरियाली युद्धमा चिनियाँले कसरी तह लगाए भन्नेबारेमा बनाइएको छ । एकातिर अमेरिका-चीन व्यापार युद्ध भइरहेको छ भने अर्कोतिर अमेरिकालाई धेरै कुरामा चीनले चुनौती दिन थालेको छ । यस्तो अवस्थामा १९५० मा नै आफूहरूले अमेरिकालाई युद्धमा धुलो चटाएका थियौँ भन्ने स्मरण फिल्ममार्फत गराइएको छ ।

यो फिल्मको लोकप्रियताको एउटा कारण भने अमेरिकासँग पछिल्लो समय बढ्दै गरेको विवाद पनि एउटा हो ।

युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाका राजनीतिशास्त्रका प्राध्यापक डा. स्टेन्ली रोजेन भन्छन्, ‘हाल जारी तनावले यो फिल्मलाई सफल पार्न भूमिका खेलेको छ र यस पटक यो स्पष्ट नै देखिएको छ ।’

अर्को कारण चाहिँ यस पटक फिल्म स्टुडियो र राजनीतिक अधिकारीहरूबीच सन्तुलन मिल्नु पनि हो । यो बेला अन्य सिनेमा नचलेको हुनु, खुला प्रतिस्पर्धामा यो एक्लो फिल्म पर्नु पनि सफलताको कारक भएको केहीको धारणा छ । अब अर्को सातादेखि जेम्स बन्डको नो टाइम टु डाई रिलिज हुँदैछ । त्यस्तै ‘दुन’ पनि त्यहाँ रिलिजको तर्खरमा छ । जबकि यी दुवै फिल्म नेपालमा समेत प्रदर्शन भइसके ।

यो फिल्म सफल हुनुको अर्को कारण चाहिँ चीनमा १ अक्टोबरदेखि राष्ट्रिय बिदा पर्ने गर्छ । यसले चिनियाँ कम्युनिस्ट पार्टीले एक सय औँ वार्षिकोत्सव मनाउँदैछ । ‘यस्तो बेलामा पार्टीका तर्फबाट लडिएको यो युद्ध हेर्नु सबै जनताको कर्तव्य हुनु स्वाभाविक छ,’ डा. रोजन भन्छन् ।

यो फिल्म मात्र होइन, प्रायः यस्ता अन्य प्रपोगन्डा फिल्महरू हेर्नु कम्युनिस्ट पार्टीका सदस्यहरूको अनिवार्य शर्त हुन्छ, नेदरल्यान्डको लेडेन एसिया सेन्टरका निर्देशक डा. फ्लोरियन स्नेडरको भनाइ छ । र, पार्टीका सदस्यहरू ९५ मिलियन छन् । यस्तोमा यी सदस्यले फिल्म हेरिदिँदा मात्र पनि फिल्मले कुस्त कमाउँछ ।

त्यसो त फिल्मको समीक्षा पनि राम्रो आएको छ । कसैले पनि फिल्मका बारेमा नराम्रो टिप्पणी गरेका छैनन् । गरेका खण्डमा जेल जाने सम्भावना त उत्तिकै छँदैछ ।

गएको साता, पूर्व पत्रकार लाओ चाङपिङले सामाजिक सञ्जालमा चिनियाँ सेनाको नराम्रो चित्र उतारेको भन्दै टिप्पणी गर्दा उनलाई पक्राउ गरिएको थियो । उनको पक्राउमाथि अझै अनुसन्धान जारी छ ।

यो फिल्मको बजेट २०० मिलियन डलरमा बनाइएको थियो । यसमा प्रयोग गरिएका स्पेसल इफेक्टहरू अति सुन्दर र विश्वस्तरका छन् । तीन जना निर्देशकले मिली बनाएको यो फिल्मका निर्देशकहरू आफैँमा निकै सक्षम निर्देशकका रूपमा ख्याति कमाएका हुन् । दाँते ल्याम स्पेशल इफेक्ट र मार्सल आर्टका सुपर हिट फिल्म बनाउने निर्देशकका रूपमा चर्चित छन् । त्यस्तै चेन केइज चिनियाँ सामाजिक जीवनलाई राम्रोसँग बुझेको निर्देशकका रूपमा चिनिन्छन् ।

यसरी एउटा प्रपोगन्डा फिल्म, त्यो पनि अमेरिकामाथि नै विजय हासिल गरेको फिल्म सफल हुनु हलिउडका लागि हेडेक बन्न पुगेको छ । यसअघि नै हलिउडले चिनियाँ दर्शक लोभ्याउन चिनियाँ तत्त्वहरू पनि घुसाएर व्यापार गर्ने प्रयास गर्दा स्थानीय फिल्म जत्तिकै सफल हुन सकेको छैन ।

चीनमा प्रत्येक वर्ष ३४ वटा मात्र विदेशी फिल्मले रिलिजको मौका पाउँछ । यी ३४ भन्दा बढी पार्नका लागि हलिउडले चिनियाँ साझेदारसँग मिलेर फिल्म बनाउन थालेको पनि निकै भइसकेको छ । साझेदार नचाहेको खण्डमा चिनियाँ अधिकारीलाई खुसीपार्ने तत्त्वहरू फिल्ममा हालेर ठूला फिल्म रिलिज गर्न हलिउड आतुर छ भन्ने रिपोर्ट केही समयअघि प्रकाशित भइसकेको छ ।

अनेक प्रयत्नका बाबजुद सन् २०१६ मा रिलिज भएको द ग्रेट वाल फिल्म नराम्रोसँग फ्लप भएको थियो । यद्यपि, सो फिल्मका निर्देशक झाङ यिमाउ थिए ।

त्यसो त अहिले नै चीनले पनि हलिउड पछारियोस् भन्ने चाहेको छैन । तिनलाई एकअर्काको खाँचो छँदैछ ।

‘कोभिडपछिको अवस्थामा चीनले आफूलाई फिल्म बजारको नं. १ रहिरहूँ भन्ने चाहेको छ र त्यसका लागि दर्शकलाई हलसम्म ल्याउनका लागि हलिउडका राम्रा फिल्म उसलाई चाहिन्छ,’ डा. रोजेन भन्छन्, ‘खासगरी ठूला शहरका आइम्याक्स र थ्रिडी हल चल्नका लागि हलिउडका फिल्म नभई हुँदैन । र, यसरी नै चिनियाँ फिल्मको प्रोडक्सन भ्यालु बढ्दै जाने हो भने एउटा समयमा हलिउड चीनका लागि महत्त्वहीन उत्पादन बन्न पुग्छ । त्यो बेला उसलाई हलिउडका फिल्म नभए पनि फरक पर्दैन । अर्कोतिर यतिबेला हलिउडले विश्वभरिकै कथा भन्छ, जुन चीनका लागि या त महत्त्वको छैन या त उसले त्यस्ता फिल्म बनाउन चाहेको छैन ।’

[embedyt] https://www.youtube.com/watch?v=YGseTiQpxI8[/embedyt]

[embedyt] https://www.youtube.com/watch?v=1_Uw8IwMaCw[/embedyt]