अच्छा, त यतिञ्जेल तपाईंले अमाजनडटकमका मालिक जेफ बेजोस चर्चित जासुस ००७ अर्थात् जेम्स बोन्डको आधा मालिक भएको थाहा पाइसक्नु भयो होला ।
जेम्स बोन्ड फिल्म निर्माण कम्पनी एमजिएमलाई अमाजन डटकमले एक्विजिसन (अधिग्रहण) गरिसकेपछि अब आधिकारिक रुपमा जेम्स बोन्ड फ्रेन्चाइजीको मालिकाना हक प्राप्त गरेको छ । जब मैले यो समाचार पहिलो पटक पढेँ, म शीताङ्ग भएँ । मैले जेम्स बोन्डका दुई वटा स्क्रिनप्ले लेखेँ, एउटा ‘स्काइफल’ र अर्को ‘स्पेक्ट्र’ । यी दुई फिल्म लेखिसक्दा मैले बुझिसकेको थिएँ, यो बोन्ड भन्ने फिल्म अन्य फ्रेन्चाइजीजस्तो होइन रहेछ । न त यी मार्वल कमिक्सका कुनै सुपरहिरोजस्ता फिल्म हुन् न त डिसी कमिक्सका । यो त यस्तो पारिवारिक फिल्मी व्यापार हो, जसलाई यसका संस्थापकहरु (ब्रोकोली/विल्सन परिवार)ले सचेतनापूर्वक हुर्काएका, अघि बढाएका थिए ।
‘स्काइफल’ र ‘स्पेक्ट्र’ लेख्ने क्रममा बार्बरा ब्रोकाउली र उनको सौतेनी भाइ माइकल विल्सनसँग हामी उनीहरुको घरमा डिनर टेबलमा खाना खाँदै बच्चाजस्तै छलफल गरिरहेका हुन्थ्यौँ । ती छलफल ग¥यौँ, वादविवाद ग¥यौँ र अन्त्यमा एउटा निष्कर्षमा पुग्यौँ, एउटा परिवारका रुपमा हामीले सारा विवाद साम्य गर्ने हो, बाहिरी कुनै पनि किसिमको दबाबलाई हामी एउटा कान पनि नदिने हो । त्यतिबेला मैले बुझेँ, बोन्ड फिल्ममा काम गर्नुको अर्थ तपाईं एउटा कामदार मात्र होइन, तपाईं ब्रोकोली/विल्सन परिवारको एउटा अंश हो ।
लेखक आउँछन्, जान्छन्, निर्देशक आउँछन्, जान्छन् तर परिवारको अङ्ग महसुस गराइएकै कारण हामीले फिल्म बन्न थालेको ५० वर्षभन्दा बढी भए पनि तिनले जेम्स बोन्डको आत्मा यही कारणले जोगाएर राख्न सके भन्ने लाग्छ । यी ५० वर्षमा दर्शकको स्वाद कत्ति धेरै परिवर्तन भयो तर कहिल्यै पनि जेम्स बोन्ड असान्दर्भिक बनेन । सधैँ ताजा, सधैँ समकालीक बनिरह्यो । यसरी उनीहरुले जेम्स बोन्डको चरित्रलाई जोगाए । कयौँ कर्पोरेट पार्टनरहरु आए, गए तर जेम्स बोन्डले सारा परिवर्तन चपाइदियो । जेम्स बोन्डले यी सारा परिवर्तन किन पचाउन सक्यो भने उसलाई असाध्य प्रेम गर्ने मानिसहरुको छत्रछायाँमा रह्यो ।
अमाजनसँगको पछिल्लो सम्झौताले ऊ बोन्डको आधा हकदार बनाएको छ तर बाँकीको आधाको हकदार ब्रोकोली/विल्सन परिवार यसको रक्षक बनेर उभिएकाले तत्काल बोन्ड साम्राज्यको ‘ऐसी की तैसी’ हुनबाट अवश्य जोगिनेछ । यसको अर्थ बार्बरा ब्रोकोली र माइकल विल्सन यसलाई रक्षा गर्न फलामे ढाल बनेर अघि बढ्नेछन् भन्नेमा म पक्का छु । तिनले अवश्य पनि कलात्मकताको नियन्त्रण आफ्नो हातमा लिनेछन् ।
तर के सधैँ उनीहरु ढाल बनेर बसिरहन सम्भव छ ? जब बिस्तारै बिस्तारै आफूले गरेको लगानीबापत आफ्ना कुरा सुनिनुपर्ने जिकीर अमाजनले गर्न थाल्यो भने के हुन्छ ? जब अमाजनले आफूसँग भएका सारा तथ्याङ्कीय चिजबिज अघि सारेर दर्शकहरुले के रुचाउँछन् भनेर उनीहरुलाई पाठ पढाउन थाल्छ, त्यो बेला कम्पनीभित्रको कमरेड पारा र गुणस्तर नियन्त्रण के हुन्छ ? सबैको आवाज सुनिने पारिवारिक माहोल के हुन्छ ? जब कतिपय फोकस ग्रुपले बोन्डले मार्टिन पिएको मन पराएनन् र आन्दोलन गर्न थाले भने के हुन्छ ? बोन्डले त्यत्तिका सारा मानिसहरु मारेको कुरा आन्दोलकहरुलाई मन परेन भने के हुन्छ ? जब अमेरिकी कम्पनीले यसको आधा प्रतिशत किनिसकेपछि अब उसले जेम्स बोन्डले बेलायती उच्चारण हराउँदै गएकाले अमेरिकी उच्चारण बोल्नुपर्छ भन्न थाल्यो भने के हुन्छ ?
मैले हावा कुरा गरिरहेको छु र अलि बढी नै बढाइचढाइ गरिरहेको छु भन्ने तपाईंहरुलाई लाग्दो हो भने कम्पनीको दबाबबिना मैले लेख्न पाएको भए ‘स्विनी टोड’ अहिलेको भन्दा अझ सुन्दर फिल्म बन्ने थियो भन्ने मेरो दाबी छ । कम्पनीले जब तथ्याङ्क, अनलाइन भोटिङजस्ता अनेकन् कुरा अघि सारेर गीतहरु राख्नैपर्ने दबाब दिन थाल्यो, फिल्मको मूल आत्मा त रह्यो तर अवयव बिग्रिए ।
मेरो अनुभवले भन्छ, फिल्मको सिर्जनात्मक प्रक्रिया अघि बढ्दै जाँदा कर्पोरेटका स–साना रुचिहरु घुस्दै जान्छन् । सर्वस्वीकार्य फिल्म बनाउनुपर्ने दबाब बढ्दै जान्छ । विभिन्न ‘इन्ट्रेस्ट ग्रुप’ या ‘आन्दोलनकर्मी’ले फिल्ममा प्रयोग गरिएका दृश्य, भाषा आदिबारे सम्बोधन गरिनुपर्ने कुरा उठ्न थाल्छ । यसपछि लेखनमा चुनौती भन्ने चिज रहँदैन । सबैको दिल खुस गरिदिनुपर्ने फिल्म बन्न पुग्छ । र, त्यहाँ कलाको हत्या हुन पुग्छ । यसपछि फिल्म आफैँमा जीवन्त वस्तु होइन, असहाय छाया बन्न पुग्छ । त्यहाँ सिनेमायी पागलपनको हवाई यात्रा पाइने छैन । कुनै ‘रफ एज’ हुने छैन । सबै चिल्याएको, टिलिक्कको कुरा मात्र बाँकी रहनेछ ।
व्यावसायिक चिन्ताका कारण सिनेमाबाट प्यासन हराउँदै जान थालेको छ, केही गर्ने चाह र आगो निभ्दै जान थालेको छ । ओरिजनल आइडिया र आवाजहरु कर्पोरेट ध्यानाकर्षण र पोलिङ (भोट) डाटाका कारण हराउँदै जान थालेका छन् । मलाई कहिलेकाहीँ आश्चर्य लाग्छ, ‘भर्टिगो’जस्तो फिल्म त्यस्तो दवाव हुन्थ्यो भने कसरी ज्यूँदै रहन सक्थ्यो होला ? ‘सिजिटन केन’, ‘द रेड सुज’, कबिन इन द स्काई’ र ‘बोनी एन्ड क्लाइड’जस्ता विद्रोही फिल्महरु अस्तित्वमा आउँथे होलान् ?
अमाजनको बारेमा चिन्ता किन गर्ने भन्ने तपाईंलाई लागिरहेको होला । यसको अर्थ यो खराब कम्पनी हो भन्ने कदापि आशय होइन । खराब कुरामा विश्वास गर्ने कम्पनी पनि यो होइन । यो त बरु विश्वव्यापी टेक्नोलजी कम्पनी हो । १.६ बिलियन मार्केट क्यापिटलाइजेसनको यो कम्पनीले जे पनि उत्पादन गर्छ, वृहद् पारामा उत्पादन गर्छ । अनि, सबैभन्दा ठूलो कुरा यसले ग्राहकहरुको सन्तुष्टिलाई जोड दिन्छ । यस्तो बेलामा एउटा समस्या हुन्छ, कलाकारिताको रक्षक वा कलाकारिताको च्याम्पियन वा विशिष्ट सर्जकले वृहद् ग्राहकको सन्तुष्टिलाई होइन, उसको सर्जक मनलाई जोड दिन्छ । यो अलग कुरा हो, उसको सिर्जनाले पछि ग्राहकलाई सन्तुष्ट बनाउन सक्ला तर ग्राहकले यस कुरामा सन्तुष्टि पाउँछन् भनेर त्यस्तै सिर्जना गर्न लगायो भने त्यहाँ कलाकारिता कम र व्यापार बढी हुन्छ । ठूला कर्पोरेसनको हस्तक्षेपका कारण फिल्ममा पछिल्लो समय त्यही बढी भइरहेको छ ।
अमाजनले भिडियो बेच्ने प्राइम मुख्यतः कलाकार वा कलाकारिताका बारेमा चिन्ता गरेर खोलिएको कम्पनी होइन । ग्राहकलाई आकर्षित गर्ने र ग्राहकलाई बारम्बार त्यहाँ लैजानका लागि खोलिएको हो । जब यस्ता ठूला कमपनीहरुले कुनै महान् पात्र वा चरित्रबारे केही धारणा राखन थाल्छन्, ती चरित्रलाई फ्रेन्चाइजी बनाउन थाल्छन्, त्यस्ता कम्पनी जब त्यस्ता राम्रा चरित्रलाई दोहन गर्न थाल्छन्, त्यो बेला गुणस्तरको कुरा उठ्छ नै । अब यतिबेला तपाईंले स्टारवार्स हेर्नुभयो भने तपाईं अल्मलिनु हुन्छ । कहाँको ओरिजनल जर्ज लुकासका फिल्म, कहाँका डिज्नेका स्टारवार्सका शृङ्खलाहरु ! पछिल्लो समय व्यापारमा रमाउँदा सुपरम्यान, ब्याटम्यान कहाँबाट कहाँ पुगे !
एउटा स्क्रिन लेखकको हिसाबले मैले ठूला स्टुडियाका फिल्महरु लेख्ने मौका पाएँ । तिनबाट अर्थपूर्ण र कलात्मक दुवै चिजहरु नजानिदो पारामा गाँसिएर निस्किए । तिनले सधैँ कर्पोरेट प्रभावबाट जोगाए । यसबाट बुझेँ, संरक्षणात्मक वातावरणमा फिल्म स्टुडियोहरुले कर्पोरेट झमेलाबाट फिल्मलाई जोगाउन सक्छन् ।
मेरो मामिलामा भन्ने हो भने ‘ग्ल्याडिएर’, ‘द एभिएटर’, ‘स्विनी टड’, ‘र्याङ्गो’ र ‘ह्युगो’जस्ता फिल्म अन्तरहृदयबाट बनाइएका थिए । यसका थप शृङ्खला बनाउन सकिन्छ कि सकिँदैन भनेर बनाइएका थिएनन् । प्ल्याटफर्म मार्केटिङका लागि पनि ती बनाइएका थिएनन् । ठूला फिल्मका लागि कलात्मक नियन्त्रण र इन्ट्रेस्ट ग्रुपका मुद्दा भन्ने कुरा ठूला फिल्मका लागि आवश्यक त थिए किनभने तिनमा लगानी पनि अत्यन्त ठूलो हुन्थ्यो, लगानी डुब्ने खतरा पनि उत्तिकै हुन्थ्यो तर त्यसका पनि सीमा थिए ।
ग्ल्याडिएटर फिल्म बनाउँदा निर्देशक रिड्ली स्कटलाई अनेकन् दबाब आएका थिए । यो फिल्म चल्दैन । यस्तो विषयमा कसरी ऐतिहासिक फिल्म बन्ला र ? फिल्म बने पनि पैसा उठाउन गाह्रो हुन्छ । बन्दुकको जमानामा तरबारबाजी कसले हेर्छ ? फिल्म फ्लप भयो भने पैसा कसरी उठाउने ? फिल्म हिट भयो भने र मुख्य नायक नै मारिदिने हो भने यसको अर्को भाग कसरी बनाउने ? आदिआदि कुरा उठेका थिए । त्यसका ससाना कुरामा पनि कर्पोरेटवालाहरुले दुःख दिएर हैरान हुन्थ्यो । सबैभन्दा ठूलो कुरा फिल्मको रेटिङमा थियो । कर्पोरेटवालाहरु, जसले पैसा खन्याउँदै थिए, तिनीहरु यो फिल्म बच्चाले पनि हेरुन् भन्ने इच्छा गर्थे तर यसको विषय नै हिंस्रक भएकाले त्यस्तो बनाउनु नै सम्भव थिएन । उनीहरु ‘आर’ रेटिङभन्दा तल झार्ने प्रयास गर्थे । तर रिड्ली स्कटलाई कहन थालिएको यसको कथामा विश्वास थियो । फिल्म निर्माणका क्रममा व्यापारिक चासोलाई आफ्नो कोठाभित्र छिर्नै दिएनन् ।
यस्तै देखेँ जब मैले मार्टिन स्कोर्सिसको होवार्ड हग्सको जीवनीमा आधारित फिल्म ‘एभिएटर’ बनाउँदै जाँदा । हग्सको जीवनीमाथि फिल्म बनाउँदा विवाद हुन्छ भन्ने सबैलाई थाहा थियो । यसमा सबैको भावना मिसिएको थियो, आखिर उनी राष्ट्रकै नायक जो थिए ! उनलाई जीवनीमा बढाइचढाइ देखाउनुपर्ने दबाब थियो तर मार्टिनले ती सबै कुरालाई पन्छाएर हग्सलाई एउटा सामान्य युवकका रुपमा प्रस्तुत गरे ।
जब तपाईं फिल्म बनाउनु हुन्छ, त्यसका लागि तपाईंलाई एउटा च्याम्पियन चाहिन्छ । त्यो च्याम्पियनले यस्ता अनेकन् लडाइँलाई कुशलतापूर्वक परास्त गर्न सकोस् । साराका अपेक्षालाई छेउ लगाएर वास्तविक कलाकारितालाई ठाउँ कसरी दिने भन्ने कौशल जानेको होस् । बार्बरा ब्रोकोली र माइकल विल्सन जेम्स बोन्डका मामिलामा त्यस्तै च्याम्पियन हुन् । तिनले सारा कर्पोरेट र व्यापारिक दबाबलाई ढोकाभित्र छिर्नै नदिई काम गर्ने वातावरण दिएका छन् । यही कारणले त हामीले अहिलेसम्म बोन्डको सिनेम्याटिक युनिभर्स पर्दामा देख्न पाएका छैनौँ । नत्र त टेलिभिजनका पर्दामा बोन्डका अनेकन् रुप, रङ तपाईंले देख्नु हुने थियो । कुन चाहिँ स्ट्रिमिङ कम्पनीले बोन्डका शृङ्खलाबद्ध सिरिज बनाएर ग्राहकलाई बेच्न नचाहला ?
जेम्स बोन्डका सिनेमाहरुमा जति मैले काम गरेँ, वास्तवमै हातले उनेको मालाजस्तो मिहिनेतको काम हो भनी अनुभूत गरेँ । माला त अब मेसिनले पनि उनिदिन्छ । त्यो आकर्षक पनि देखिएला तर त्यहाँ हातको ‘मैलो’ कहाँ पाइन्छ र ? यही कारणले पनि जेम्स बोन्डका फिल्महरु ‘ओरिजनल’ लाग्छन्, ती केही काँडायुक्त पनि देखिन्छन् र ती विशेष पनि छन् । यी फिल्म बनाउँदा कहिल्यै कानुनविद्हरु अघि राखेर सल्लाह गरिएनन् न त अकाउन्टेन्टहरुसँग राय लिइयो । न त कुनै इकमर्स मास मार्केटिङको भोटिङलाई नै आधार बनाइयो ।
एक दिन फिल्म निर्देशक साम मेन्डेस र म बार्बरा र माइकलको अफिसमा गएर बोन्ड र भिलेन राउल सिल्भाको पहिलो दृश्य सुनाउँदै थियौँ । ००७ र उसको दुस्मनको जब आमने सामने हुन्छ, त्यो बेग्लै किसिमको भाव उत्पन्न गराउने हुन्छ । यो ००७ फिल्मको विशेषता नै हो । यसका लागि तपाईंले धेरै न्यारेटिभ र सिनेम्याटिक रिदम जन्माउनुपर्ने हुन्छ । (बोन्ड र डा. नो अनि गोल्डफिङ्गर वा ब्लोफेल्ड सम्झनुस् त !) हामीले यो फिल्ममा एउटा होमोइरोटिक (समलैंगिकता)को दृश्य राख्न जरुरी रहेको सुनायौँ । यसका लागि बार्बरा र माइकलले कुनै फोकस ग्रुपको सल्लाह वा पोल गर्न जरुरी देखेनन् । कुनै स्टुडियो वा लगानीकर्तालाई उनीहरुले यस विषयमा मनाउन जरुरी थिएन । उनीहरु यसमा सहमत भएपछि र फिल्ममा त्यो आवश्यक भएको पाइएपछि सकियो । उनीहरुलाई यो नयाँ सोच लाग्यो, यसले बोन्ड फिल्मलाई समकालीक बनाउँछ भन्नेमा उनीहरु विश्वस्त भए । उनीहरु विवादबाट डराउँदैन थिए । मेरो अनुभवमा ठूला लगानीका फिल्मले यस्तै स्वतन्त्रताका काम गर्न पाउनु पर्छ । त्यसो भयो भने मात्र फिल्मले वास्तविक स्वतन्त्रता पाउनेछ । र, यो खतराको आनन्द पनि उत्तिकै हुन्छ ।
ब्रोकोली/विल्सन परिवारका साथमा बोन्डलाई उत्तेजित पार्ने, अघि बढ्ने र केही बेवकुफी गर्ने ठाउँ सधैँ रह्यो । यसले सधैँ निरन्तरता पाइरहोस् ।
यही कारणले त जेम्स बोन्डले शीत युद्ध जित्यो, गोल्डफिङ्गर, जअ, डिस्को र अर्नेस्ट सटभ्रो ब्लोफेल्डलाई कयौँ पटक जितेर अघि बढ्यो । म यति मात्र आशा गर्छु, अमाजनले आफ्नो शक्तिलाई जसरी चिनेको छ, उसैगरी बोन्डको शक्तिलाई पनि चिनोस् र उसको शक्तिको बलमा अघि बढोस् ।
बोन्ड ‘कन्टेन्ट’ होइन र ऊ बेचिने वस्तु मात्र पनि होइन । ऊ त हाम्रो जीवनको एउटा अङ्श हो र यो दशकौँदेखि बन्दै आइरहेको छ । सिन कोनरीदेखि जर्ज लेजेनबाईदेखि रोजर मूरदेखि तिमोथी डाल्टनदेखि, पियर्स ब्रोस्ननदेखि ड्यानियल क्रेगसम्म आइपुग्दा हाम्रो आफ्नो पुस्तालाई मनपर्ने पात्रसँग एकाकार हुन पाएका छौँ । त्यसैले हामी उसप्रति चिन्ता व्यक्त गर्छौं ।
त्यसैले कृपया ००७ लाई उसको मार्टिनीमा आनन्द लिन दिनुस्, उसलाई नहल्लाउनुस्, उसको जीवनमा उपद्रव नल्याइदिनुस् ।
(जोन लोगनले जेम्स बोन्डका फिल्महरू ‘स्काईफल’ र ‘स्पेक्ट्र’ फिल्महरू सहलेखन गरेका थिए । ‘द एभिएटर’ र ‘ग्ल्याडिएटर’ फिल्मका लागि उनी अस्कार अवार्डका लागि ओरिजनल स्क्रिनप्ले विधामा नामाङ्कित भएका थिए । ‘रेड’ फिल्मका लागि उनी टोनी अवार्ड विजेता लेखक हुन् ।)
जेम्स बोन्डको नयाँ फिल्म कस्तो बनेको होला भन्ने जिज्ञासा छ ? हेर्नुस्ः त्यस फिल्मको प्रोमोः
[embedyt] https://www.youtube.com/watch?v=BIhNsAtPbPI[/embedyt]
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।