गत वर्ष अमेजनको स्ट्रिमिङ कम्पनी प्राइमले चर्चित जेम्स बोन्ड फिल्मको निर्माता एमजिएम कम्पनी किन्यो । ८.४५ बिलियन डलरमा जेम्स बोन्ड शृंखला किन्दा जेम्स बोन्डको टेलिभिजन शृंखलासमेत बनाउने गरी सम्झौता गरेको थियो ।
यसका लागि एमजिएम र इअन प्रोडक्सनका बारबरा ब्राकोली र माइकल जी. विल्सनसँग अमेजनले सम्झौता गरेको थियो ।
अबका केही वर्षमा जेम्स बोन्डका अनेकन शृंखला हेर्न पाइने स्वाभाविक छ ।
इयान फ्लेमिङले रचेको प्रख्यात उपन्यास पात्र जेम्स बोन्डका केही उपन्यास लेखेपछि फ्लेमिङको निधन भएपछि त्यसलाई अन्य केही उपन्यासकारहरूले निरन्तरता दिएका थिए ।
केही लेखकहरूले भने किशोरावस्थामा जेम्स बोन्ड कस्तो थियो भन्ने कल्पना गर्दै केही उपन्यास लेखे ।
किशोर जेम्स बोन्डमाथि चार्ली हिग्सनले पाँच पुस्तक लेखेका थिए । सिल्भर फिन (२००५), ब्लड फरेभर (२००६), डबल अर डाइ (२००७), हरिकेन गोल्ड (२००७), बाई रोयल कमान्ड (२००८) र अ हार्ड म्यान टु किल (२००९) शीर्षकमा ती उपन्यास बजारमा आएका थिए ।
शुरूमा चार्लीले ती पाँच उपन्यासहरू मात्र लेख्ने सम्झौता भएको थियो र त्यसको भावभूमि सन् १९३० को दशकमा जेम्स बोन्डले के कस्ता अनुभूत गर्यो भन्नेबारे उपन्यास केन्द्रित थियो । पछि छैटौँ थपिएपछि उनीसँगको सम्झौता सकियो ।
ती उपन्यासलाई पाठकले यति रूचाए कि पछि स्टिभ कोलले २०१४ देखि २०१७ सम्म सो शृंखला उपन्यासलाई अघि बढाएका थिए । कोलले सुट टु किल (२०१४), हेड्स टु टाइ (२०१६), स्ट्राइक लाइटनिङ (२०१६) र रेड नेमेसिस (२०१७) उपन्यास लेखेका थिए । बाल साहित्यमा निकै ख्याति बटुलेका उनले पनि यतिबेला सो उपन्यास शृंखला लेख्न छाडेका छन् ।
यतिबेला भने चार्ली हिग्सनले बालबालिकाका लागि छाडेर वयस्कहरूकै लागि जेम्स बोन्डका उपन्यास शृंखला लेख्ने भएका छन् । द सन्डे टाइम्स पत्रिकासँग कुरा गर्दै उनले यो शुरू गर्नका लागि वर्षौं इयान फ्लेमिङका सिर्जनाहरू बारम्बार पढेको र उनको सूत्र यतिबेला बल्ल बुझेको टिप्पणी गरेका छन् ।
‘उनको सूत्र निकै सजिलो छ,’ सन्डे टाइम्ससँग कुरा गर्दै लेखक हिग्सनले भने, ‘फ्लेमिङले निकै सजिलो र नक्कल गर्न सकिने सूत्र दिएर गएका छन् । बन्दुक, कार, सुपरभिलेन र महिला । यी चार कुरामा उनले निकै मिहिनेत गरेका छन् । अब जसले उपन्यास लेखे पनि तिनै सूत्र वरिपरि रहेर लेख्नुपर्नेछ ।’
उनले भने, ‘पछिल्लो समय ड्यानियल क्रेगले अभिनय गरेका बोन्ड फिल्महरूलाई साह्रै क्लिष्ट बनाइयो । उसलाई मूडी, क्लिष्ट चरित्रको र ज्यादै भावुक पात्रका रूपमा उभ्याइयो । ती सबैले बोन्डलाई अप्ठेरो, जान्न गाह्रो हुने पात्रका रूपमा विकसित गरेको छ ।’
‘त्यसो गर्न हुन्थेन,’ उनी भन्छन्, ‘मेरो ३० वर्षे छोरो फ्राङ्कले पनि एक दिन भन्यो- बोन्ड फिल्म त्यस्ता मानिसले बनाइरहेका छन्, जो यो फिल्म बनाउन ज्यादै लज्जाबोध गरिरहेका छन् तर पनि बाध्यताले बनाइरहेका छन् ।’
यो फिल्म उत्सवका रूपमा बनाइनुपर्ने र कुनै लाज, घिन नमानी पात्रलाई न्याय गर्नुपर्ने आफ्नो धारणा रहेको बताएका छन् । उनी भन्छन्, ‘मैले लेख्ने नयाँ जेम्स बोन्ड उपन्यास शृंखलामा यिनै कुरा समावेश हुन्छ । त्यहाँ पोलिटिकल्ली करेक्ट कुराहरू कमै हुनेछन् ।’
‘अरे यार, उसलाई बोन्ड नै रहन दिनुपर्छ,’ उनको तर्क छ, ‘धेरै राजनीतिक र नैतिकताजस्ता कुरामा उसले ध्यान दिन थाल्यो भने न त जासुसी भन्ने चिज रहन्छ, न त उसको मिसन नै पूरा हुन्छ ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।