सारा म्याकलच्लन क्यानडास्थित हाउस अफ अनन्सी प्रेसकी पूर्व अध्यक्ष तथा प्रकाशक हुन्। अनन्सीले केही राम्रा क्यानडेली लेखकहरू उत्पादन गरेको छ, जसले ख्याति बटुलेका छन्। यसमा लिन कोएडी, लिसा मुर, तान्या टेलगा, एलिक्स ओहलिन, प्याट्रिक डेविट, गिल एडम्सनजस्ता सफल लेखक पनि पर्छन्। यत्ति धेरै लेखकहरूले पत्याएको एउटा सानो पब्लिकेसन हाउसकी प्रकाशक तथा अध्यक्ष साराले गएको जनवरीमा नै कम्पनीबाट बिदा लिने घोषणा गरिसकेकी थिइन्। बीचमा कोविद १९ रोगको आतंकका कारण उनको बिदाइ पनि सामान्य बन्न पुग्यो, ‘जूम’ बिदाइ। यो बिदाइ अनलाइन भएकाले रोनाधोना मुक्त पनि भयो।
पछिल्लो समय साना प्रकाशन गृहलाई दवाव छ- तिनीहरू नाफामा पनि चल्नु छ र सँगैमा ठूला प्रकाशन गृहहरू पेइन्गुइन रेन्डम हाउस, ह्याचेट लिभ्र, हार्पर कोलिन्स, म्याकमिलन, सिमोन एन्ड सुस्टर, म्याक्ग्रहिल्स, पियर्सन एडुकेसन, स्कोलास्टिक, हग्टन मिफिनजस्ता कुस्त नाफा कमाउने कम्पनीले साना प्रकाशकहरूबाट राम्रा र सम्भावना भएका लेखकहरू जोगाउनु पनि छ।
यस्तो बेलामा उमेरमा ६० लागेपछि प्रकाशन संस्थाबाट बिदाबारी भएकी साराका लागि कम्पनीको दैनन्दिनीबाट मुक्त भएकी छन्।
उनी भन्छिन्, ‘एउटा स्वतन्त्र प्रकाशक भएर राम्रा किताब निकाल्नु गाह्रो छ। निकालिए पनि महत्त्वाकांक्षी लेखकहरूले पहिलो पुस्तक साना प्रकाशकबाट निकाल्नेबित्तिकै ठूला प्रकाशककहाँ फड्को मारिहाल्छन्। कहिलेकाहीँ यस्तो देख्दा दिक्क पनि लाग्छ किनभने तिनलाई लेखकका रूपमा उभ्याउन साना प्रकाशकले ठूलो मिहिनेत गरेका हुन्छन् तर त्यो मिहिनेतको फल पनि चाख्न पाउँदैनन्।’
उनको ईशारा चाहिँ क्यानडाका सम्भावनायुक्त लेखकहरू सिला हेटी, जोइ ह्विटफल र रल हेजजस्ता लेखकको थियो, जुन अलि चर्चामा आउनेबित्तिकै ठूला प्रकाशकको आँखामा परिहाले र तिनले पनि मौकामा चौका हान्न बिर्सिएनन्।
यसरी कम्पनीबाट हाम्फाल्नुलाई उनले त्यति नराम्रो रूपमा लिन्नन्, भन्छिन्, ‘हामीले उनीहरूलाई ठूला मल्टिनेसनल कम्पनीले दिए जति दिनसके उनीहरू किन जान्थे र?’
तर कम स्रोतका बाबजुद पनि साना कम्पनीले बढी विविधतायुक्त पुस्तक पस्कन भ्याउने, त्यसका लागि गहन मिहिनेत गर्ने गरेको उनको धारणा छ। ठूला प्रकाशकहरूले पनि मिहिनेत त गर्छन् तर उनीहरूको ध्यान बढी व्यापार केन्द्रित हुने उनको बुझाइ छ।
‘हामीजस्ता साना कम्पनीको पुँजी भनेको लेखकहरूसँगको निजी सम्बन्ध हो,’ उनी भन्छिन्, ‘हामीसँग पैसा कम होला तर ज्यादै संवेदना बुझेर काम गर्छौं। हामीले उनीहरूलाई अग्रिम रूपमा ठूलो रकम दिन नसकौँला तर हरेक वर्ष किताब बिक्रीबाट आएको रोयल्टी राम्रै दिन्छौँ। यसले लेखक र प्रकाशक बीचको सम्बन्ध दरिलो बनाउँछ, निजात्मक सम्बन्ध बनाउँछ। र, सबै लेखक पैसाकै लागि मात्र पनि काम गर्दैनन्। तिनीहरू सम्बन्धको महत्त्व बुझ्छन् भन्ने लाग्छ।’
उनले कयौँ लेखकले वर्षको १० लाख डलरसम्म रोयल्टी लग्ने लेखकहरूसँग काम गर्न पाएकामा खुसी व्यक्त गरिन्। तिनै लेखक अलि बढी पैसा पाउने भएपछि कम्पनी छाडेर गएका पनि छन्। उनी त्यसलाई सामान्य नै मान्छिन्।
उनले अहिले बिदा लिएको कम्पनीमा १६ वर्षअघि छिरेकी थिइन्। जम्मा पाँच कर्मचारी र १० लाख डलरबाट शुरू गरेको यो कम्पनीमा अहिले ३८ कर्मचारी र ८० लाख डलरको व्यापार गर्न सफल भएको छ। यो तहमा ल्याउन सकेकामा उनले सन्तुष्टि व्यक्त गरिन्। तर यो वर्ष भने कम्पनी पूरै घाटामा जाने उनको आँकलन छ।
जब एउटा सक्रिय प्रकाशकले कम्पनीबाट बिदा लिन्छ, त्यो बेला उसले कस्ता कुरा छुटाउँछु होला जस्तो लाग्छ त ? सारा भन्छिन्, ‘कम्पनी चलाउञ्जेल पनि राति अचानक ब्युँझन्थेँ र कम्पनीमा यो बिग्रियो भन्ने लाग्थ्यो। अहिले पनि कहिलेकाहीँ झट्ट ब्युँझन्छु र कम्पनी छाडेँ भन्ने नै बिर्सन्छु। त्यो तनाव मैले यतिबेला मिस गरिरहेकी छु।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
९ माघ २०८२, शुक्रबार 









