साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कर सूचनाका कारण बढ्यो प्रकाशकको तनाव

Chovar Blues Mobile Size

अर्थ मन्त्रालयले कर विवरण तथा कर बुझाउन सूचना जारी गरेपछि पुस्तक विक्रेताहरूमाझ तनाव थपिएको छ ।

गएको चैत ११ गतेदेखि कोविद १९ रोगका कारण सरकारले बन्दाबन्दी घोषणा गरेको थियो । त्यसयता सम्पूर्ण व्यापार बन्द छ । किताब व्यापार पहिल्यै थला परिसकेको अवस्थामा अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले कर तिर्नका लागि फागुन र चैत महिनाको कर दाखिलाका लागि जेठ २५ भित्र भुक्तानी गर्न सूचना जारी गरेपछि पुस्तक प्रकाशक तथा व्यापारीमाझ तनाव थपिएको हो ।

बजेट भाषणलगत्तै फाइन प्रिन्टका अजित बरालले आफ्नो निराशा पोख्दै फेसबुकमा लेखेका थिए, ‘३७ करोड राजस्व घाटा हुने गरी चकलेटमा कर घटाउने, १२ करोड जति उठ्ने तर करका मारले ३७% ले घटेको पुस्तक आयातमा लाग्ने करमा भने केही फेरबदल नगर्ने ? हाय पिएजडी अर्थमंत्रीज्यूको कर बढाउने कालिदासीय उपाय !’

बजेट भाषणमा त केही भएन तर बन्दाबन्दीले पूरै व्यवसाय चौपट भएको अवस्थामा पनि सरकारको संवेदनाहीन सूचनालाइ लिएर पुस्तक प्रकाशकमा निराशा प्रकट हुन थालेकाे छ।

फिनिक्स बुक्सका सञ्चालक कुमार ढकालले पनि मन्त्रालयको कर तिर्नुपर्ने सूचनाको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘हे सरकार दिमाग ठेगानमै त छ !’

यसैगरी मञ्जरी प्रकाशना कृष्ण अविरलले सोही सूचना फेसबुकमा टाँस्दै लेखेका छन्, ‘यी डाम्नाले सबै जनता आफूजस्तै (सम्पन्न) ठान्या हुन् कि के हो?’

sagarmani mobile size

बन्दाबन्दी ३२ गतेसम्म राखेर कर बुझाउने मिति भने जेठ २५ सम्म राखेको भन्दै उनले सामाजिक सञ्जालमा विरोध गरेका छन् ।

‘छलियुग’का लेखक अविरलले लेखेका छन्, ‘बैंकको ऋणको ब्याज, पुस्तक व्यवसाय माथिको सरकारको वक्र व्यवहार, रित्तिएको खल्ती र छ जनाको खान्की खर्च सम्झँदा छिमेकमा बनिरहेको घरमा गएर इँटा, बालुवा बोक्ने काम मागूँ कि जस्तो लाग्न थालिसक्यो।’

यति मात्र होइन, यस पटकको बजेट भाषणमा चकलेटलाई कर छूट र पुस्तकमा लागेको कर घटाउने बारेको मौनतामाथि पुस्तकप्रेमीहरूले सामाजिक सञ्जालमा व्यंग्यविरोध गरेका छन् ।

केही ट्रोल निर्माताहरूले नयनराज पाण्डेको पछिल्लो कथाकृति ‘चकलेट’को आवरण हाल्दै देशमा चक्लेट सस्तिएकोमा खुसी प्रकट गरेका छन् ।

प्रतिक्रिया
Loading...