माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको समुदघाटन सम्पन्न भएको छ । मंसिर २१ गते विहीबारका दिन आयोजना गरिएको एक औपचारिक कार्यक्रमका बीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको उद्घाटन गर्नुभएको हो ।

काठमाण्डौँको जमलस्थित नेपाल चेम्वर भवनमा कार्यालय रहने गरी माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले औपचारिक रुपमा कार्य शुभारम्भ गरेको हो । औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र बजारको विकास र विस्तारका लागि माछापुच्छ्र्रे सेक्युरिटिज लिमिटेडले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले धितोपत्र बजारमा नयाँ सेक्युरिटिजको रुपमा उदय भएकोमा माछापुच्छ्र्रे सेक्युरिटिज लिमिटेडलाई स्वागत गर्दै लगानीकर्ताहरूमा धितोपत्र कारोबारको विश्वसनीयता बढाउँदै आगामी दिनमा कार्य सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।

साथै सोही कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंक लि. का पूर्व अध्यक्ष एवं गैर आवासीय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले माछापुच्छ्रे बैंकको सहायक कम्पनीको रुपमा दर्ता भई धितोपत्र बजारमा कारोबार गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले माछापुच्छ्रे बैंक लि. ले जस्तै देशको आर्थिक गतिविधिमा महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै माछापुच्छ्रे बैंक लि. का अध्यक्ष रोशन केसीले असल संस्थागत सुशासन, पूर्वाधार तथा नियमन व्यवस्थाहरूको पूर्ण परिपालना हुने गरी व्यावसायिक, पारदर्शी र विश्वसनीय तरिकाले धितोपत्र बजारको सेवा प्रदायकको रुपमा माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले आफूलाई उभ्याउन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक, माछापुच्छ्रे क्यापिटल तथा, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडका संचालक समितिका पदाधिकारीहरू, विभिन्न सेक्युरिजिट लिमिटेडका पदाधिकारीहरू, माछापुच्छ्रे बैंक लि. का प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तहका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।