बाबुसाहेब बवुल आजकल निधारमा पशुपतिको चन्दन नलगाई हिँड्दैनन् । छोरालाई अंग्रेजी पढाउन्नन् । पाश्चात्य विचार र आदर्श हरेक दममा काटेर कुरा गर्छन् । उनीजस्तो बाबुसाहेब भईकन अंग्रेजीले नबिग्रेको सच्चा क्षत्रिय धेरैले देखेको छैनन् ।
“तर पहिले पहिले” मेरा साथीले पासाको खेल सिद्धिएर फर्कंदा बाटामा भने, “ज्यादै उज्जन्ड पो थिए त ! अहिले त मैदानका बुढा बाग्मती बेचारा ।”
“हँ ! किन त्यस्तो थिए र ? यस्ता शान्त ब्राह्मणभक्त मान्छे ?”
“ज्यादा गहिरा नदीले चट्टानको चोट खाइसकेका हुन्छन् ।”
हाम्रा बाबुसाहेब जङ्गली हावा हुँदैको कुरा ! त्यस बेला जब नयाँ ठिटाहरू अंग्रेजी बुर्कुसी मार्ने हुन्छन् ।
“अंग्रेजी पनि पढेका छन् र ?” मैले सोधेँ, “पढेजस्तो नै देखिनन् ।”
“त्यो त आजकल । उस बेला कलकत्तामा पढ्न बसेका थिए । के पढ्थे नाइँ ? सिनेमा जान्थे, होटेल पनि क्यार ? खान्थे, पिउँथे, अंग्रेजीसँग पढ्थे, जालीदार डन्डाले हावामा सेतो भकुन्डो हान्थे, अनि गफ गर्थे !”
“त्यत्तिकै हो त पढेको ? अंग्रेजी सजिलो हुन्छ क्यार हाम्रो कौमुदीभन्दा त ?” मैले सोधेँ ।
“हुन्थ्यो नाइँ ? समुद्रपारिको कालो अक्षर ! तर भाषै त पढ्नुहुन्न, विचारसम्म त एम्. ए. पनि उक्लँदैनन् धेरै धेरैजसो ! जो होस्, ११ बजेसम्म बिहान सुत्नु, राति दुई बजेसम्म सिनेमा हेर्न अथवा तास खेल्नु, क्यारम खेल्नु, डल्नु, यत्ति हो कलकत्ताको पढाइ ! अच्छा ! जो होस् ! यौटा बुढो अंग्रेज जो चश्मा लाउँथ्यो, चुस्स सेतो दाढी पालेको, तालु खुइलिएको, तर विघ्नै जान्ने, हप्ताको दुई बाजि पढाएर महीनाको सय रुपियाँ खान्थ्यो । अंग्रेजले पढाएजस्तो अंग्रेजी कसैले पढाएर जानिन्न तर अंग्रेज मास्टर हाम्रा बङ्गाली मास्टर नेपाली मास्टरजस्ता होइनन्,
बडा खुलस्त, साँचो बोल्ने, विद्यार्थीलाई आफ्नै छोराछोरीजस्तो सम्झने, आफ्नो घरको कुरा पनि खुलस्त भन्ने बडो फरासिलो हँसिला हुन्छन् ।”
“हँ ?” मैले भनेँ ।
“यी स्वदेशी मास्टर पो टिम्मुर खान्छन् । अंग्रेजी दासत्वमा उल्थाको गहना लाएझैँ बढा शुद्धाशुद्ध भई चडाएर नकली फुर्तीले ठगेर खान्छन् । ज्यादा कराउँछन् । गुदी हुँदैन ! घोकेर ओकल्छन् ।”
“तब त ! हिन्दुस्तानीलाई अर्धसभ्य भनेको । केही कालोपना हुन्छ स्वदेशी मास्टरहरूमा । परदेशी लवजले स्वदेश तर्साउन, ठग्न खोज्ने । छिपछिपेमा अंग्रेजी पुच्छर हाले भन्ने घमण्डी । बी. ए. फुर्ती, एम. ए. मिजाज ! लवज बोक्रे विद्वत्ता जो घर न घाट रहन्छ । नक्कली मुजुरपाना ?”
“किकंबै सिल्ली रहेछन् हकि ?” मैले भनेँ ।
“थोरैले गुमान !– अँ तर हाम्रो कथा पो आर्कोतिर गयो ।”
“साँच्चि भन्नोस् न ! म बराबर जिज्ञासु नजर लगाएर रोकिदिन्छु हकि ?”
“अँ ! अच्छा ! जसो होस् । त्यस घरमा ठिटाहरू धेरै बसेका थिए । अनेक रङ्गका चिडियाजस्ता जो नेपाली बाबुआमालाई ठगेर कलकत्तामा पिँजराविनाका हुन्छन् । घरैअगाडि वेश्येको कोठी रहेछ र ती ठिटाहरूमध्ये उल्लुका पट्ठाहरू नखरा र इशारासिवाय पढ्दा रहेनछन् । एक– दुई जना बिग्रेछन् । त्यो देखेर अरु डराएका थिए ।”
“बवुल बाबु, तीजस्ता खराब थिएनन् । उनी खालि जिज्ञासु थिए तर उनलाई हिन्दुस्तानी कालो सौन्दर्य निको लाग्दैनथ्यो ।”
“अंग्रेज बुढाले घरको कुरा गर्दा खूब चाखसँग सुन्ने गर्थे । मेरी छोरी मइलिन् बढी छिटी, बढी फरासिली ! खूब सिनेमा जानुपर्छ ! र अति राम्री छ ! अंग्रेजले एक दिन भन्यो ।”
“र के हामीहरू तपाईंको घर देख्ने सौभाग्य पाउँदैनौँ ? हामीलाई एक दिन मेहमानीसाथ लैजानोस् है ?” उनले भने ।
“अल् राइट् ! अल् राइट् !” अंग्रेजका रुद्रघण्टी बजे ।
हामीले एक जना साथी भेटेर एकछिन कुरा गर्यौँ । अनि कथा शुरू भयो ।
अंग्रेजको घर जाँदा ठिटाहरूले बाबुको शिष्य भनेर खूब मिजाज गरे । बगैँचा घुमाए । तस्वीर देखाए । लाइब्रेरी देखाए र बिस्किट् र चिया पिलाए । तर सबैभन्दा बवुल बाबुलाई प्रियाम् लाग्यो जो कुइरआँखे षोडश मिठासकी कपुर सेती थिई । उनी उसैसँग कुरा धेरै गर्न खोज्थे । मइलिन् त्यो पक्षपात देखेर उस्तो मन पराइन । सिनेमा लगे । सौगात किनेर ल्याइदिए ।
भाइ टमले भन्यो एक दिन, “ My sister loves you very much! ” (मेरी दिज्यु तपाईसँग अति प्रेम गर्नुहुन्छ ।)
बवुल बाबु लाललाल बनेर भने, “You tell me a lie! Little liar ! ” (तिमी झुटो बोल्छौ सानो फटाहा !)
“No! I don’t! I tell you the truth! Ask Her! ” (होइन, म झुटो बोल्दिनँ ! म साँचो बोल्छु । दिज्युलाई सोध्नोस् न !)
ए फसाद ! कस्तो बतुरे ठिटो !
गालाको लाटो लाली रोक्न नसकेर बवुल बाबुले, “कति बज्यो ?” भनेर प्रियाम्लाई सोधे ।
“साढे नौ !”
प्रियाम्ले लाली देखेर हिन्दुस्तानी मिजाज भन्ने सम्झी र ओठ लेप्र्याई । बवुल बाबुले सम्झे, यो ठिटो भएर राम्ररी खुलस्त कुरा गर्न पाइएन भनेको हो कि ?
“टम, तिमी घरनेर ओर्ल ! हामी बजार जान्छौँ है ? तिमीलाई राम्रो पुतली ल्याइदिउँला ।”
टम ओर्ल्यो । मोटर अगाडि चल्यो । अनेक तरङ्ग लिएर बवुल बाबु बसेको देखेर प्रियाम्ले सोधी, “किन यस्तो चुप हुनुहुन्छ आजकल ? मदेखि त रिसाउनुभएन ?”
“आम्मै” बवुल झस्के, “चन्द्रमासँग जुनकीरी रिसाउन सक्छ ?”
यो अंग्रेजी किताबको कविता सुनेर मेमको गाला रातो भयो , हिन्दुस्तानी कस्तो अंग्रेजी बोल्नु नजान्ने ? प्रेमीले बोलेजस्तो किताबबाट बोल्नछन् !
त्यो लाली देखेर बवुल बाबुलाई निश्चय भयो, ‘ऊ मलाई प्रेम गर्छे ! नत्र किन लाल हुन्थी ! अब मैले कोटशिप् याने विवाह प्रार्थना शुरू गरे पनि हुन्छ ।’
उनले केमेरा किनिदिए, पुतली पनि ।
“I love this camera very much. It is just to my heart!” म यो केमेरा अत्यन्त प्रेम गर्छु । यो मेरो हृदयमाफिकको छ । मेमले भनी
अनि च्वाप्प चुम्बन दिई ।
‘म पनि त्यस्तै प्रेम गर्छु यसलाई’ भनेर उसका हातबाट केमेरा लिएर त्यसै गरी चुम्बन दिए ।
“लौ बिताएछन्” मैले भनेँ ।
“त्यसले चुमेको ठाउँमा ? जुठो खाएछन् त हाम्रा बवुल बाबुले ! त्यसैले त अंग्रेजी पढ्नेदेखि घीन लाग्छ मलाई त” मैले भनेँ ।
“ओहो ! पण्डितजी ! तपाईंहरू पनि भ्याकुते दशामा हुनुहुन्छ । सौर्न्दको प्रलोभन सानो हुन्न भनी ठान्नुभएको छ ? अनि पण्डितको सुटबुट, कोट कति बिलायत पुगे भारतमा ? खालि गौराङ्गनाका निमित्त ! त्यहाँ एक पाश्चात्य मोहनी, एक अलौकिक मिठास छ गुलाफको मधुजस्तो बास्नासँग मिसिएको जस निमित्त हिन्दुस्तानी भँवराहरू हमेशा जिभ्रो चाट्न पाउँछ, वरिपरिसम्म घुम्न पाउँछ, तर छुन पाउँदैन । खियौटे जातिका सदस्यले सभ्य पुर्ण विकसिता स्त्रीमा मुग्ध भएर आँखा लोभ्याएझैँ बेचारा अङ्ग्रजीबाज मेमसाहेबको मोहनीले भारतमातालाई लल्याएर खिसी गर्छन् । तर एक किसिमको सङ्कीर्ण विकीर्णता हिन्दुस्तानी गुण छ जसले सभ्य जीवनतरफ खालि आँखा लगाउँछ तर पाउँदैन !”
“आम्मै ! के भन्नुभा त्यो ता ? मेमसाहेब ल्याउने कति छैनन् र हिन्दुस्तानी पति ? कति र… छैनन् र ? हिन्दुस्तानीलाई हेपेजस्तो कुरा गर्नुभो तपाईंले त !”
“हिन्दुस्तानीलाई होइन, हिन्दुस्तानी मिजाजलाई ! अच्छा जो होस् ! त एक दिन रातिसम्म कोठामा एक्लै मेम प्रियाम्सँग क्यारम खेलेर बसेछन् । मेमसाहेबले अघिदेखि नै मिजाज बुझिसकेकी थिई । एक किसिम हिन्दुस्तानी सङ्कीर्ण न्युनता जो मेममा लोभिन्छ, जो रेलगाडीमा ‘लभ्’ गर्न खोज्छ, राम्री सेती स्त्री देखे नजीकै रहन खोज्दछ, रमाउँछ र शायद रमरमाउँछ । ढेडु लभरको किस्साजस्तो चाँडै चिनिहाल्दछन् तिनले जो सभ्यसंसारमा हिँड्दछन् ।”
क्यारम खेल्दा बबलुले भनेका थिए, “जीवन चक्की हो । ठीक ठाउँ अन्दाज नभए बेठीक दिशामा चल्दछ ?”
“अँ ! निक्कै बाठा कुरा गर्दा रहेछन् हकि ?” मैले भनेँ ।
“तपाईंहरूका बाठा कुरा उनीहरूलाई लाटा कुरा हुन्छन्” उनी भन्दै गए, “अँ ! अच्छा जो होस् !” त उसले भनिन्छ कि उनी दार्शनिक हुन लागे ! झन् खुशी लागेछ बबुलले ल्याएछन् सुकरात, नित्सेका कुरा !
मेमलाई कान थुनुँ जस्तो लाग्यो । उसले बुझिसकेकी थिई “त्यो ढड्डु मसँग प्रेम गर्न चाहन्छ !” उसले शिक्षा दिने विचराले निक्कै बेर बसेर हाँस्दै ठट्ठा गरिछ । आखिर भनिछ कि “म तिमीजस्तो मान्छे चौपट्ट रुचाउँछु । होइन प्रेम गर्छु पनि हुन्छ !”
बवुल दङ्गदास !
आमा, बाबु, घर अब छुट्न लागे । उनले सोचेछन् ‘प्रेम अझ ठुलो छैन र ?’
“म पनि तिमीलाई हृदयको गहिराइबाट प्रेम गर्छु !” स्ट्राइकर राखेर बबुलले भने । प्रियाम् लाल भई ! ‘कति राम्री गुलाफजस्ती !’ बबुलले सोचे ।
“गुलाफहरु त्यसरी फुल्दैनन् जस्तो तिम्रा प्यारा गालाहरू !’
प्रियाम्ले हाँसेर भनी, “तर तपाईंले कहिले घुँडा टेक्नुभएन !”
बवुल बाबुले घुँडा टेके, “म तिम्रो दासानुदास छु ।”
प्रियाम्ले हात पछाडि लगेर के के क्वारक्वार गरेझैँ गरी अनि देब्रे हात दिई । बबुलले चुम्बन गरे, अनि भनी, “के तपाईंहरु देब्रे हातमा मात्र चुम्बन गर्नुहुन्छ हिन्दुस्तानमा ?”
“दाहिना अझ मीठो !” बबुलले भने ।
दाहिना हात झिलिक्क मेमले ओठनेर पुर्याई । उनले खुब प्रेमले चुम्बन गरे, आँखा चिम्लेर यसपाला !
प्रियाम् जुर्मुराउँदै उठी, “म लाटोकोसेरोलाई प्रेम गर्छु । ढेडुलाई ! बिरालोलाई ! ऐनामा गएर एक बाजि हेर आफूलाई ।” अनि ऊ खुरुरु भागी ।
बवुल बाबु ऐनामा गएर हेर्छन् त, वाह ! जुत्ताको कालो टल्कने काली ओठमा, गालामा, नाकका टुप्पामा लागेको रहेछ । मेमसाहेबको औँलाको चुम्बनको स्वाद त्यस बेला पाएर बवुल बाबुले सारा सेता जातीलाई थुक्न थालेछन् । थुक्थुक् गर्दा म टुप्लुक्क त्यहीँ पुगेथेँ र उनैका मुखबाट सारा वृत्तान्त सुनेँ । मेरो व्याख्यान सुनेपछि पो बवुल बाबु यस्ता कट्टर अंग्रेजविरोधी भएका !
“काली पो चुम्बन गरेछ ए !” मलाई बडो हाँसो उठ्यो, “कत्तिको नाकमा कालो लाइदिई त ?”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ मंसिर २०८२, मंगलवार 










