कथाको पर्दा खोलिन्छ । अनि, पात्रक्रिया आरम्भ हुन्छ ।
ऊ एकादेशको होइन, यसै देशको एउटा सामान्य नागरिक हो । यतिबेला ऊ कुनै कथा वा नाटकको पात्रजस्तो भएर होइन, एक सामान्य नागरिक भएरै घरबाट निस्केको थियो । निस्कँदा हातमा फाइल थियो- फाइल व्यक्तिगत तथ्याङ्कको । यसको अर्थ हुन जान्थ्यो, ऊ कतै काम खोज्न जाँदै थियो अर्थात् ऊ बेरोजगार थियो । लोकतन्त्रमा पनि बेरोजगारी ? भएन त लोकतान्त्रिक प्रश्न ? किन त ? प्रश्न उठ्न सक्ने सम्भावित परिवेशलाई सेट गर्दै कारण र यथार्थको खोजी यसरी गरिन्छ, महोदय !

उसको समकालीन स्थिति
उसको यथार्थ स्थिति के थियो भने ऊ सम्पूर्ण पारिवारिक व्यक्ति भएर पनि पूर्णरूपले बेरोजगार थियो । परिवार, बाआमा, दिदीबहिनी, श्रीमती र छोरीले भरिपूर्ण थियो । यो उसको पारिवारिक हुनाको स्केच थियो भने बेरोजगार हुनाको कारण लामो अध्याय हुनसक्ने स्थितिलाई कन्ट्रोल गर्दै कथाले सङ्क्षिप्त सार फाल्दा देखियो- एकादेशमा होइन, जस्तो माथि नै भनियो, त्यस्तै- यस देशको एउटा ठाउँमा एउटा कार्यालय थियो, त्यहाँ ऊ जागिरे थियो । एक दिन, त्यो दिन सम्भवतः प्रतिगमनको महाप्रकोपित बेला थियो । ऊ पर्‍यो स्वतन्त्रताका लागि लड्ने व्यक्ति । व्यक्तिस्वतन्त्रताको पक्षपाती । उसको यस गुणलाई निमोठनामठ पारी प्रतिगमनका महानायकले उसको जागिरे जीवनमा रोक लगाइदियो । त्यस महामानवको आचरण बडो अनौठाको थियो । नारीउत्थानका लागि त्यसले घरको होस् वा वनको, अफिसको होस् वा होटलको, छुट्टै कोठा, छुट्याएको थियो र त्यस्ता कोठामा नारी हकहितका लागि नारीका अवयवमा सान्त्वनाका लेपन दल्दथ्यो । त्यस्तोमा ऊ पर्‍यो पुरुष, त्यसमाथि ज्याद्रो र असह्य, खुप स्वतन्त्रताप्रेमी भइखाएको, ठोक्नैपर्छ भन्ने महामण्डलावृत्तिलाई उजागर गरी उसको खानु खोसिदिएको हो । हो, त्यही असुर, त्यही भ्रष्टनायक, जसको थेगो र आचरण मात्र अनौठो थिएन, नाउँ पनि अनौठो थियो । नाउँ थियो- जरावन ‘नयौप्रेमी’ । यो नाउँ यहाँहरूलाई अचम्म र सोचनीय जति लाग्ला, त्यति नै यस कथालाई पनि लाग्यो । त्यसको नाउँअनुसार बानी कस्तो थियो भने आफ्ना भरौटदारहरूलाई वरिपरि राखेर सधैँ लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र, वर्तमान राजनीति, जनतन्त्र, स्वतन्त्र आदिबारे कम्तीमा चार घन्टाका दरले राष्ट्रियस्तरका अश्लील वाक्यसहित गाली गर्दै बस्न सक्थ्यो । अचम्म त झन् यो पो थियो- त्यो मोरो अहिलेको लोकतान्त्रिक दलहरूमध्ये साम्यवादसँग निकट राख्ने एउटा दलको कट्टर समर्थक भएर देखा पर्‍यो । ऊ भने लोकतान्त्रिक भित्रको एक लोक भएर पनि अझै पीडित र बेकारी थियो ।
(यो उसको समकालीन वस्तुस्थिति थियो भने अब उसको बाँच्नुको नियतिका दृश्यहरूमा ऊ भुमरिँदै थियो । गर्ने के ? समस्याजस्तै प्रश्न थियो, उत्तरजस्तै समाधान हराएको थियो ।)

कुकुरदेखि सावधान !
ऊ फाइल बोकेर एउटा ठाउँमा पुग्यो । त्यो ठाउँ लोकतान्त्रिक व्यवस्थाको एक दरो खम्बा मानिने व्यक्तिको थियो र त्यो व्यक्ति यस मुलुकको कुनै पनि व्यवस्थामा यसरी नै दरो खम्बाका रूपमा उपयोग हुन्थ्यो । त्यस व्यक्तिसँग रकम र शक्तिको प्रवाहमय स्थिति सधैँ उपस्थित थियो । आज त्यसैकहाँ काम माग्न ऊ जाँदै थियो । ऊ त्यस ठाउँमा पुग्यो । घर विशाल थियो, विशाल गेट पनि, त्यहाँ पुगेर ऊ उभियो । घर के, महलको रूप देखेर ऊ खुम्चियो र घुटुक्क थुक निल्दै ‘डोर’सँगैको ‘बेल’ बजायो । त्यो बेल टाँसिएको ठाउँमा एउटा ठूलो कुकुरको टाउको चित्र र ‘यहाँ कुकुर बस्छ, कुकुरदेखि सावधान’ लेखिएको वाक्यांश पनि टाँसिएको थियो । ऊ हाँस्यो । बेल थिच्नु पनि सम्भवतः त्यही चित्रे कुकुर भित्रबाट बेसरी कराएको आवाज आयो । ऊ झस्कनु र खुम्चनुको स्थितिमा उभियो । केही समयपछि डोरको सानो जस्केलो पट खोलियो । त्यहाँबाट एउटा दरबानी टाउको बाहिर निस्क्यो र भुक्न लाग्यो ।
क्या हो नि त गाँठे ?
यहाँ श्री …प्रसादज्यू हुनुहुन्छ ?
हुनुहुन्न ।
उहाँकी श्रीमती नि त ?
अहँ, हुनुहुन्न दुवै । मालिकसाथ अमेरिका जानुभा’छ हाम्री मैसापका लागि घर किन्न र मालिकनीसाप पनि इन्डियामा व्यापार गर्न जग्गा किन्न जानुभा’छ ।
(अब गर्ने के ? थिएन केही । ऊ उत्तरहीन र कामहीन भएर गेटको ‘यहाँ कुकुर बस्छ, कुकुरदेखि सावधान ! हेर्दै फर्कियो ।)

विश्राम दृश्य
त्यस दिन अरू दिनसरह कामका लागि धेरै भौँतारियो । उसले चिनेका मान्छेहरू त धेरै थिए तर काम भने कतै थिएन । किन त ? प्रश्न बारम्बार प्रतिगमनको घमण्डजस्तो उठ्थ्यो तर उत्तर भने …- कतै लोकतन्त्रको स्थिति जस्तै हुँदैनथ्यो । ऊ यतिबेला थाकेर एउटा बौद्ध स्तूपमुन्तिर सियाँलमा बसिरहेको थियो ।
(त्यहाँ केही क्रियाप्रतिक्रिया नाटकका चरित्र प्रतिक्रियाजस्तै देखिन थाले ।)

जेनेरेसन ग्याप
त्यस ठाउँको एक कुनामा केही किशोरहरू कुनै पीरताप नलिई हाँस्तै थिए । बोल्दै थिए । त्यस हूलबाट एउटा किशोर उछिट्टिएर मोबाइलमा केही बोल्दै उसका अगाडि आएर बस्यो । त्यस किशोरले मोबाइलमा कुरा गर्दै थियो, जसबाट थाहा लाग्थ्यो, त्यसले पक्कै कुनै किशोरीसँग कुरा गर्दै थियो । भन्दै थियो- तँ आउँछेस् कि … ? तेरो लभ के ? बुझिस् मैले चाहेँ भने … । पख् न तँलाई म ।
(ऊ उठ्यो । यो स्वतन्त्र संवाद उसका लागि अर्थहीन थियो । अर्को कुनामा गएर बस्यो ।)

धरमर खम्बा
बस्ताबस्ता अँधेराले छोप्न लाग्यो । एउटा कुनामा अडिरहेको खम्बाजस्तो भान पर्ने छाया हल्लियो । ऊ देख्तै थियो । त्यो छायावत् खम्बा हल्लिँदै उसको वरपर आइपुग्यो । उसका अगाडि आएर उभियो । उसले हेर्‍यो । त्यो खम्बा हल्लिँदै थियो । रक्सी खाएको होला तर होइन, उमेरले त्यस्तो भएको देखियो अर्थात् एक वृद्ध उमेरको रहेछ र आफ्नो उमेर अनुसार हल्लिएको रहेछ । त्यो हल्लिँदो खम्बा, वयोवृद्ध छायाँ, कुनै विदूषक वा सूत्रधार नभएर एउटा पात्रजस्तो टुप्लिएको थियो र केके सङ्केत गर्दै आफैँमा सीमित संवाद बोल्दै थियो ।

कोरिया जाने रे, किन जाने ?
कोरिया जान घरखेत बेच्नुपर्‍यो रे !
यस्तो पनि सन्तान हुन्छ । कोरिया जान नदिए, हेर्नुस् बाबु, मेरा हातखुट्टा भाँचिदिने रे !
मेरो सन्तान नै मेरो अभिशाप हो ।
म कति नै बाँच्छु र ? कहिल्यै सुख दिएन । यस युगमा वृद्ध भएर बाँच्नु त पापै रहेछ ।
(यति बोलेर त्यो लरखरिँदो छाया, धरमर खम्बा अँधेराको कुनै नेपथ्यमा गएर हरायो । ऊ मौन पात्र भएर आफ्नो पीडासँगै सबै दृश्य आत्मसात् गर्दै थियो ।)

पात्र विनिर्माण
अर्को दृश्य यस्तो देखियो । सबै दृश्य बिलाएर यो निर्माण भयो । त्यस्तो अनुभूति हुँदै थियो भनुँ । यस दृश्य निर्माणमा एउटा पात्र उत्पत्ति भयो । फलामको बार दुई हातले समाएर हल्लाउन लाग्यो । केही छिनपछि त्यो बेसरी करायो । अनि, विस्तारै केही बोल्न थाल्यो । त्यो पात्र, उमेर हेर्दा युवकै थियो । केही झन्टाले मगज खलबल्याइदिएको हुनुपर्छ । लुगाचाहिँ सामान्य थियो । व्यवहार भने असामान्य देखिन्थ्यो । त्यो युवक कराउँदै थियो ।
लोकतन्त्र रे ! के लोकतन्त्र ?
लोकतन्त्रमा सबै समान भनिन्थ्यो । खोइ समान ? आफ्ना कार्यकर्तालाई मात्र ठाउँ दिने ।
यस मुलुकमा जुन तन्त्र आओस्, शासित र शोषित हामी नै हौँ । हामी जनता । जनताको नाउँमा युगौँदेखि यसरी चलखेल भइरहेछ ।
बजारमा महँगी छ । व्यवस्थामा द्वन्द्व छ । खेतमा धान छैन । संविधान कहिले बन्ने ? भोको म छु । बाँच्नु व्यर्थ छ ।
हामी निर्धाको, निरीहको, स्वतन्त्र हुनुको कुनै अर्थ छैन र ? के सधैँ यसरी नै दण्डित हुनुपर्ने, राष्ट्रका नाउँमा, भ्रष्टाचारका नाउँमा, महँगीका नाउँमा, व्यवस्थाका नाउँमा ?
(अझ अरू केके वाक्यांश त्यो युवक निर्माण गर्दै थियो । ऊ एक कुनाबाट नाटक हेरेजस्तै गरी हेररिहेको थियो । नाटकमञ्चनका कति क्रिया र दृश्यहरू त्यहाँ उपस्थित थिए । अरू हेर्न मन नलागेर भनौँ, ऊ जुरुक्क उठ्यो र त्यहाँबाट हिँड्यो ।)

साँझ गुँड फर्केको चरो
जसरी ऊ बाहिरएिको थियो, त्यसरी नै घर फर्कियो रित्तो । फाइल हातमा यथावतै थियो । ऊ भित्रेको देखेर छोरी ‘बाबा, बाबा’ भन्दै दौडेर आई र समाई । ऊ छोरीको शब्द र हाँसोमा आफ्नो स्थिति, दैनिक पीडालाई बिर्सन्थ्यो । आज पनि त्यही अनुभूतिको पुनरावृत्ति भयो भनेर मान्दा हुन्छ । घरको ढोकामा पुगेपछि एकछिन अडेर उसले सोचेको थियो । जीवनका अंशहरू सकिएका छैनन् । क्रमशः चलिरहने क्रियाजस्तै चलिरहनेछन् । यस्तोमा आफ्ना लागि निराशाको पासो बनाएर मृत्यु याचना गर्नु वा नगर्नुको कुनै औचित्य शीर्षक सार्थकताहीनको स्थितिजस्तै हुनेछ । यही सोचाइ फाइलसँगै रित्तै बोकेर घरभित्र पस्यो । भित्र सधैँका जस्तै क्रिया र प्रतिक्रिया उसलाई कुरेजस्तै गरी उपस्थित थिए । ऊ सम्भावित उत्तर बोकेर घुटुक्क थुक निल्यो ।
– हैन, यो मान्छे किन सधैँ भौँतारिएर हिँड्छ ?
– काम नभएपछि त घरमै बस्नु नि !
– लखरलखर हिँडेेर काम पाइन्छ खुप !
– बरु घरमै छोरी हेरेर बसे राम्रै हुन्थ्यो नि !
– यसरी बेकारी जीवन कतिसम्म चल्ने हो ?
-प्रश्नको ओइरो उमार्ने पात्र अरू कोही नभएर उसकी श्रीमती थिई । अब यस्तो बेला ऊ सधैँजस्ताको क्रिया गर्थ्यो । न श्रीमतीको कटाक्ष मुहार हेर्थ्यो, न उत्तर दिने क्रिया गर्थ्यो । यी क्रियाभन्दा खुरुक्क छोरीलाई बोकेर कौसीतिर चढ्थ्यो । शीतलताको स्पर्श लिन्थ्यो । अहिले पनि त्यसै गर्‍यो । दिनभरको थकान, कटाक्षलाई त शीतलताको स्पर्शले शान्त गर्‍यो तर पेटको भोक भने – पेट दिनभरको थकानले गर्दा भोको ध्वनि उमार्दै थियो । यसमा पनि ऊ सहन्थ्यो र सहँदै गयो ।)
अब कथाको पर्दा लाग्छ । पर्दाभित्र सबै पात्रहरू बिलाउँछन् तर उसको जीवनको चर्चा भने … लाग्छ, कुनै पर्दाभित्र पस्न र बस्न मान्दैन ।