अरे मरिक बेचन, फटाफट तँ हाथ थापिहाल् त । अरे… अरे… अरे ! दूर रख्… दूर… तेरा काला मैला हाथ । छोइदेलास् फिर, डोम !’ शोभाकान्त झा सरले यसो भन्दै मरिक बेचनको हातमा छडीले निर्ममतापूर्वक ठोके, फटाफट । आ… ऊ… गरेर कराइरह्यो, तीन कक्षाको दुब्लो, कालो, मैलो – मरिक बेचन ।

हात त त्यसै पनि झा बाउन-देवताको पास  ल्याउन के साहस गर्न सक्थ्यो र डोमको बच्चाले । तैपनि बारबार छडीले मार्दा बारबार ‘दूर रह दूर रह डोम’ भनेर भन्न कहिले पनि भुल्नुहुन्न झा सर।

मरिकले जवाफ त सही नै दिएको हो । सरले सोध्नुभएकाे थिए, ‘जिराफ कुन महादेशमा पाइन्छ ?’

मरिको जवाफ थियो, ‘अ फ रिका ! ’

‘साला डोमका बच्चा’ भन्ने जस्तो भाव देखाउँदै उद्धारका लागि झा सरले हृदयेश त्रिपाठीतर्फ हेर्नुभयो । तुरुन्त गर्वपूर्वक शिर उठाएर त्रिपाठीले अङ्ग्रेजी टोनमा बतायो, ‘एफ्रिका ।’

झा सरले हर्षनाद गर्नुभयो, ‘देख् त देख् ! ब्राह्मणको बच्चाले कति शुद्ध अङ्ग्रेजी बोलेको छ ! ब्राह्मण भनेको ब्राह्मणै हो । ब्राह्मणको त जिभमै सरस्वती माताले विराजमान गर्नुहुन्छ । अ फ रि का रे ! नेपालमा छ र एफ्रिका, नेपालीमा बोल्छस्, अ फ रिका ? साला गधा डोमको बच्चा । तब त म कहन्छु नि, प्रधानाध्यापकज्यूलाई बारबार _ यी दुसाध, डोम, चमार और मुसहरका छोराहरूलाई के पढाउनु ! जति पढाए पनि यिनले बुझ्ने समझनेवाला छैनन् । समयको बरबादी मात्र । बरु भैँसालाई पढाए पास गरिहाल्छ, इम्तिहानमा पनि फटाफट… हा हा । मलमूत्र साफ करने अलावा यी अछुतका बुद्धिमा ज्ञानको कुरा आउनै सक्दैन । दिना भद्रीजस्तो देवता त यिनका कुलदेवता ! अछुतका देवता भी अछुत । अनि कहाँ से आउँछ त बुद्धि ?’

उमेरले एघार काटे पनि तीनमै पढिरहेको लल्कु सदाले मन्द आवाजमा भन्यो–‘सर, देवता त सबै उही भनेर पाण्डे सरले पढाउनुभएको छ नि ! देवता पनि अछुतको अलग …’

लल्कुलाई बीचमै टोक्दै झा सर चिच्याउनुभयो, ‘अरे त्यो बनारसी पण्डाको सन्तान शशीभूषण पाण्डेको सर्टिफिकेटै दरभङ्गाको हो । त्यसलाई के जानकारी छ ? ब्राह्मणकाे देवता ब्राह्मणैजस्तो उच्च हुन्छ । शूद्रका लागि ब्रह्माजीले आफ्नो मलमूत्रबाट शूद्र देवता उत्पन्न गर्नुभएको हो । मलमूत्रबाट उत्पन्न देवताको बुद्धि त मलमूत्रैबाट बन्ने हो । लौ खाइहाल् तँ पनि तेरै अछुत देवता दिन भद्रीको परसाद सम्झेर !’ झा सरले लल्कु सदाका टाउका र शरीरमा दुई-तीन फटाफट ठाेके, छडी ।

लल्कु सदासित उठेकाे रिस थामिनसक्नु भइरहेकाे बेला, अचानक फुच्चे समीर यादवले भन्याे, “सर, मेराे हरिजनहरूलाई पनि भगवानकाे पयरबाट उत्पन्न गराएकाे भन्नुहुन्छ, मलमूत्रबाट त हैन ।”

झा सर रिसाएर समीर यादवलाई छडीले ठाेक्न अघि बढ्नुभयाे । तर अचानक अडिएर टेबुलमा राख्दै सुनील श्रीवास्तवलाई भन्नुभयाे, “ए सुनील जा त। ट्युबवेलमा याे छडी धुलार शुद्ध बनार आइज । यी कुत्ताहरूले छाेइदिए मेराे छडी । छिटाे ले, याे शूद्रकाे नेता बन्न खाेज्ने यादवलाई पनि ठिक पार्नुपर्ने छ । डाेमकाे साथले डाेमै भइसक्याे याे यादवकाे बच्च पनि ।”

सुनील ठाकुर धाेइपखाली छडी ल्याएपछि दाे छडी समीर यादवलाई खिलाइहाल्नुभयाे, झा सरले । “अब त बुद्धि सामने आइहाल्याे हाेला तेराे ? लाठीले नठाेकी यादवहरूकाे भि बुद्धि आगे ललाटमा कहाँ आउँछ र ?”

अचानक छुट्टीकाे घन्टी बज्याे ट्वाङट्वाङ । हाहा गरेर कराए सबले । अनि झाेलामा बस्ता मिलाउर हिँड्न थाले ।

सर कराउनुभयाे, “ठहर् ठहर् पहले हाेमवर्ककाे कापी बुझाइहाल् सबले, फटाफट । भाेलि शनिश्चर छ ।”

केटाहरूले पनि हारालुछ गरेर टेबुलमा कापी थुपारे । “अरे अरे अरे, तिमीहरू हरजनहरूले पनि किन राख्छौ कापी यहाँ ? कति बार कहूँ, तिमीहरूको कापी, बस्ता, पुस्तक म छुँदैन भनेर । अरे ए, तिमी हरिजनहरू सबले निकाल् निकाल् आ–आफ्ना कापी । रविबार तिमीहरूको मात्र यहीँ कक्षामा अलगै चेक गर्नेछु । निकालिहाल् फटाफट, साला हरिजनहरू !”

शोभाकान्त सरले यसो भनेपछि रमेश, मरिक र चन्द्र मुशहरले कापी निकाले । अरू अछुत भनिनेहरूले त कापी राखेकै थिएनन् । उनीहरूको होमवर्क झासरले कहिले पनि हेर्नुहुन्न । त्यसैले धेरैले झा सरको होमवर्क गर्दैनन् ।

कक्षामा कहिलेकाहीँ मात्र परैबाट ‘के गरिस् तैँले, भन् त ! भनेर होमवर्क सोध्ने गर्छन् कुलीन जातका कतिपय सरहरूले । अछुतहरूलाई त सबै जातका सरहरूले अपमान गर्ने नै भए । तर बाहुन सरहरूका लागि भने यादव, कायस्थलगायत सबै जातका विद्यार्थीलाई समेत छिनछिनमा जातको नाम लिएर होच्याउनु सामान्य छ ।

गुरुहरूबाटै हरक्षण जातकै उचनिचता बोलिने तथा हेपिने गरिन्छ । यसैकारण विद्यार्थीहरू बिचमा पनि आपसमै हेला र भेदभावको आगो व्याप्त छ । हरिजनहरूलाई पछाडि बेन्चमा मात्र बस्न दिइन्छ । त्यहाँ पनि कोही अरूहरू साथमा बस्दैनन् । खेल्दा पनि अछुतका साथ पर्न खोज्दैनन् कोही पनि । फुटबलसमेत छोइन्छ यिनीहरूको दिमागमा ।

‘सब डोमहरूले पाइखाना साफ गरेर मात्र घर जाओ ! माथि टिचरको पनि साफ गर्न नभुलिहाल् । अलि बुद्धि लगाएर मलेर साफ गर्नु । फोहोर रह्यो भने पर्सि देखाउँछु तिमीहरूलाई त्यै दिन भद्रीको बाउको सादी, स्साला शूद्रहरू ।’ यसो भनेर शोभाकान्त झा सरले कक्षा–कोठा छाड्नुभयो ।

अरू विद्यार्थीहरू भागाभाग घरतिर लागे । हरिजनहरू सफाइतिर लागे । यो नियमित प्रचलन हो यहाँको । सरकारको तर्फबाट आउने पाइखाना सफाइ गर्ने कर्मचारीको बेतनले चमेना खान्छन् कुलीन जातका सरहरू ।

= = =

झा सरको छडीले बेचनको हातभरि घाउ लागेको छ । रगत बगिरहेको छ । तर पनि पाइखाना सफा गर्यो उसले । स्कुल छाडूँ–छाडूँ लाग्यो । यस्तै अपमान र कुटपिटका कारण अन्य धेरै दलित साथीहरू स्कूल छाडिसके ।

बुद्धिलाल हरिजनले सबैभन्दा पहिले छाड्यो । उसको त कहानी अझ बेग्लै छ । शशीभूषण पाण्डे सरले क्लासमा चमार जातलाई होच्याउने उखान प्रयोग गरेर क्लासलाई हँसाउनु भएको थियो । सर निस्केपछि साथीहरूले पनि उही उखान प्रयोग गरेर बुद्धिलाल हरिजनलाई गिल्ला गरे । लफडै भयो ।

प्रधानाध्यापक र अरू शिक्षककोमा रिपोर्ट गरियो । उनीहरू आफैँ क्लासमा आए । अनि उल्टो सरहरूले बुद्धिलाललाई नै कुटे । पछि गाउँका अरू हरिजनहरूको सहयोगमा कानुनी बाटो लिन खोजियो । प्रहरीले मुद्दा दर्ता गर्न मानेन । त्यसपछि बुद्धिलालले स्कुल आउनै छोड्यो ।

सर र साथीहरूबाट भएको जातीय अपमान, दमन र कुटपिटका कारण विशाल मरिकले पनि स्कूल छाड्यो । त्यसपछि रमेश मरिक, अजय मरिक, निरज मरिक आकाश मरिक र मनिष मरिकले पनि पढ्न छाड्यो । अब दशरथ मरिक र बेचन मात्रै डोम जातका बाँकी छन्, कक्षा तीनमा ।

बेचन पढाइ छाड्न चाहँदैन । दश वर्षको उमेरमा तीन कक्षा पढ्दै छ । ऊ मेट्रिक गर्न चाहन्छ । पढेपछि यो गावैँ छाडेर काठमाडाैँ गएर काम गर्ने सपना छ उसको । मधेसमा दलितहरूको कुनै अस्तित्व छैन भन्ने चेत आएको छ आजभोलि ऊ र ऊजस्ता अरु दलितहरूमाम । मधेस आन्दोलनपछि त झन् ब्राह्मण र यादवहरूको राज बढेको छ, दलित र गरीबमाथि । यादवहरू नयाँ राजा ब्राह्मण त त्यसै पनि देवता, उहिलेदेखि नै ।

यस्तो सोच्दै बेचन घर पुग्यो । आमा काजल मरिकले घाउ देखेर कराई । तर के भयो सोधिन । थाहा छ, के भयो होला भनेर । नियमित घटना हुन् यस्ता जुन आफैले खेत–खलिहान, दुकान, कुवा, मन्दिर जताततै अपमान भोगिरहेकी छ । तेह्र वर्षमै शादी गरेकी उसले चौधमै बेचनलाई पाएकी हो । काजल आफै चौबीसकी भई ।

साँझमा मरिकलाई धेरै ज्वरो आयो । ऊ काँप्न थाल्यो । ‘पानी… पानी…’ भनेर बेचन कराउन थाल्यो । रक्सी टन्न गोदेर आएको लोग्ने किशोर मरिकले सब पानी पोखाइदियो । गाउँको ट्युबवेलबाट दलितहरूले पानी तान्न पाउँदैनन् । गाउँबाहिरको कुलोबाट लिनुपर्छ दलितहरूले ।

डोमनी काजल दुई मट्का शिरमा राखेर अँधेरोमै हिँडी, अछुतहरूको कुलाबाट पानी लिन । घरबाट निस्कनेबित्तिकै अचानक बाघ हो कि खै के हो, कुनै जनावर करायो । काजललाई डर लाग्यो । छोरालाई कुट्ने शोभाकान्त झा सरको घरको ठिक सामुन्ने (कुलीन)हरूको ट्युबवेलको नजिक पुगी । त्यहाँ दलितहरूलाई बन्देज छ । तर यतैको पानी भर्ने बिचार आयो । आसपास कोही देखिन ।

काजलले आवाज ननिकाली बिस्तारै ट्युबवेलको ह्यान्डल मार्दै पानी भर्न थाली, तुर्रर… तुर्रर… । मन ढुकढुक छ । कोही आइहाल्छ कि । छिन–छिनमा चारैतिर हेर्दै छे । यौटा मट्का भरियो । अर्को पनि भरी । शिरमा एउटा मट्का राखी । अचानक कसैले उसको हात पक्रियाे ।

औँसीको रातमा मान्छे चिन्न सकिन । त्यो मान्छेले भने काजललाई चिनेछ र भन्यो–‘साली डोमनी, दिनमा छोराले मेरो छडी छुन्छ,  रातमा तँ तेस्की आमा आएर हामी ब्राह्मणहरूको ट्युबवेल छुन्छस् ?’

काजलले पनि चिनी । लल्याकलुलुक भई । पिसाबै पो चुहियो डरले । अब के हुन्छ, थाहा छ उसलाई । अहिले नै हल्ला गरिन्छ । उसलाई रस्सीले बाँधिन्छ । पानीले शरीर भिजाएर सिस्नो लगाइन्छ । लाठीले कुटिन्छ । भोली बिहानै ठूला जातहरूको पञ्चायत बसिन्छ । ट्युबवेल चोख्याउन बीस हजारको जुर्माना गरिन्छ । तिर्न नसक्ने भनेपछि बनिया लक्ष्मी कायस्थले तुरुन्त घरको गिरवीको कागजाद बनाएर पञ्चायतलाई जुर्माना तिरिदिन्छ । थोरबहुत सबैलाई बनियाले परसाद बाँटिहाल्छ । एक सालबाद ब्याज चौराएर घरजमिन आफ्नो नाममा गरिहाल्छ, बनियाले । यसरी गाउँबाटै निकालिन्छ । नियमित सिलसिला हो यो, दलित र गरीबका लागि मधेसमा । देखेकी छे, बारबार काजलले यस्ता दुर्दशा । अब उसको पालो आउने भयो, यसपटक ।

काजलले कापेर भनी–‘ब्राह्मण देवता, माफ गरिहाल्नुस् यसबार ! बेचन बिरामी छ, उसको बापले शराब पिएर पानी पोखाइदिएको छ । रातको बखत उता जान गाह्रो छ । शेर कराएको छ । हजुर माइबापले जे भन्नुहुन्छ म गरिहाल्छु । हफ्ताभर फिरी काम गरिदिन्छु । माफ देदो सरकार, माइबाप !’

अझै काजलको हात ब्राह्मण देवताले छाडेका छैनन् । काजलको कुरा सुनेर देवता खुशी भए । नरम आवाजले भने–‘हप्ताभर किन दुख्ख गर्छेस्, काजोल ? दश–ग्यारह मिनेट दुख्ख गर ।’ यसो भन्दै तान्दै काजललाई उखुबारीमा घिसारेर लगे ।

काजल कराई, ‘ब्राहमण देवता म डोमनी हो । छोइन्छ । हजुरलाई पाप लाग्छ । त्यसो नगर्नुस् नगर्नुस् । सर, पेसाब चुहेको छ । छोइन्छ, छोइन्छ ।’

‘छडी हो र छोइनलाई लाटी ? छुने जगहै हो नि । बुद्धु लडकी । तँमाथि मेरो आँखा परेको बहुत साल भयो । सिनमाकै काजोल जस्ती पो छिस् तँ । चुप लाग् । फटाफट । कराइस् भने… ।’ काजलको मुख थिचिएकाे थियाे । काजलको आवाज बाहिर आएनै पाएन ।

ठीक एघार मिनेटपछि सरले यौटा भरेको मट्का आफैले बोकेर काजलको शिरमा राखिदिए । अर्को मट्का त अघि नै सरले समाउँदै खसेर फुटिसकेको थियो ।