अन्धकार, निर्जन, डरलाग्दो एकलासे जङ्गलबाट पार गर्दागर्दै अकस्मात्, म एक यस्तो ठाउँमा पुगेँ, जहाँ उज्यालो नै उज्यालो थियो । म आनन्दले एकदम प्रफुल्लित भएँ । अघि भर्खरका दुःखकष्टहरू सबलाई बिर्सेर म दौडँदै हुत्तिँदै त्यस ठाउँमा पुगेँ, जहाँ मनुष्यको न्यानो माया मलाई पर्खिरहेको थियो । मैले मनुष्यको अनुहार नदेखेको धेरै दिन भइसकेको थियो । त्यसैले म व्यग्र थिएँ ।

त्यो ठाउँ अत्यन्त रमणीय थियो । एउटा ठूलो भोज त्यहाँ भइरहेको रहेछ । जताततै रङीचङी, नीला, राता, पहेँला, हरिया, सेता बत्तीहरू बलिरहेका रहेछन् । ठूलो चौर, जसका चारैतिर कलापूर्ण बगैँचा, उज्यालोमा जगमगाइरहेको छ । विभिन्न प्रकारका रङ्गीबिरङ्गी फूलहरू सुगन्ध छरेर बिउँझिरहेका छन् । र, त्योभन्दा पनि बढी विभिन्न रङका पोसाकहरूमा लोग्ने मानिस र स्वास्नी मानिसहरूको ठूलो जमात नै त्यस ठाउँमा जम्मा भएर यताउति गरिरहेका छन् । ती सुगन्धित फूलहरूभन्दा पनि ती अति आकर्षक थिए । मलाई यस्तो लाग्यो, स्वर्गको एक टुक्रा त्यस ठाउँमा खसेको हो । म विमोहित भएर नजिकै गएँ ।

हरियो कोमल दूबोहरूका ठूलो फाँटमा, श्रेणीबद्धरूपले टेबिल, मेच, कुर्सीहरू लगाइएका रहेछन् । र, हरेक टेबिलका मध्य भागमा फूलदानमा फूलहरू मुस्काइरहेका छन् । प्रत्येक टेबिलमा एक/दुई सेता पोसाक लगाएका ब्वाय्हरू खानेकुराहरूका किस्ती बोकेर उभिएका छन् । कोही यताउति किस्ती बोकेर घुमिरहेका छन् । मलाई अत्यन्त भोक लागेको थियो ।

विजय मल्ल

त्यसैले भोज भन्ने थाहा पाउँदा–पाउँदै लाजै पचाएर म त्यसभित्र पसेँ । नजिकै पुगेपछि मैले चाल पाएँ, ती व्यक्तिहरूको लवाइ, बोलाइ र रूपरङ एकै प्रकारका रहेनछन् । कोही अमेरिकनजस्तो लागे । कोही रूसीजस्तो । कोही जर्मन । कोही चिनियाँ । कोही भारतीयजस्तो । कोही अफ्रिकन नेग्रो । कोही इजिप्सियन । इरानी । कोही आइस्ल्यान्डिस् ब्रिटिसजस्तो । सारा संसारभरका जातिहरू म्युजियममा सिँगारिएर थपक्क राखेझैँ ती मानिसहरू । मैले उनीहरूलाई सरसरती हेरेँ र खुसीले आफू दङ्ग हुँदै उनीहरूका माझमा पुगेँ । विश्वका सम्पूर्ण राष्ट्रहरूका मानिसहरू जमघट भएको ठाउँमा पुग्नुमात्र पनि मजस्ताका लागि ठूलो पर्व थियो । त्यसैले भोजको निम्तो आफूसँग नभएकोमा मैले सङ्कोच पनि मानिनँ र त्यसै पसिदिएँ ।

तैपनि, पाहुनाहरूका हुलमा मिसिन मलाई अप्ठ्यारो लाग्दै थियो । एउटी राम्री अर्धवक्ष खुला आइमाईले हात समाएर अरूसँग तान्दै अङ्ग्रेजी भाषामा भनी, ‘‘लौ एक नवआगन्तुक आइपुग्यो, नयाँ देशबाट ।’ र, मलाई सोधिन्, “कुन देशका हौ ?”

मैले भनेँ, “नेपाल !”

तिनले मलाई टेबल–टेबलमा लगेर विभिन्न भाषाहरूमा बोल्दै चिनाइन् । मैले सबसँग हात मिलाएर अभिवादन गरेँ । त्यहाँ नभन्दै संसारभरका विशिष्ट र प्रसिद्ध मानिसहरू जम्मा भएका रहेछन् । ठूला–ठूला नेता । राष्ट्रपति । प्रधानमन्त्री । कवि । लेखक । गायक । नर्तकी । कुलपति । वैज्ञानिक । प्राध्यापक । उद्योगपति । प्रबन्धक आदि । उनीहरूका माझमा मलाई आफू अत्यन्त होचो र सानोजस्तो अनुभव भयो । तैपनि, ठाडो भएर उभिइरहेँ । तिनले मलाई जताजता तान्दै लगिन्, त्यतैत्यतै लाग्दै रहेँ ।

आखिर तीन–चारजनामात्र भएको टेबलमा उभ्याएर तिनले मलाई भनिन्, “यही टेबलमा बसेर आजको अन्तिम भोज मनाऔँ, हुन्न ? लौ लेऊ, यो ब्रान्डीको गिलास ।”

गिलास हातमा लिँदै आफ्नो आत्मीयझैँ सम्झेर मैले तिनीसँग लाज नमानी सोधेँ, “आज साँच्ची यो केको भोज, भन्नोस् ।” आश्चर्य मान्दै तिनले मतिर विस्फारित लोचनले हेरेर अरूसँग हाँस्दै भनिन्, “हेर यो कस्तो अनौठो मानिस, आज केको भोज भनेर पो सोध्छ ।” मतिर हेरेर नपत्याएझैँ गरी फेरि तिनले सोधिन्, “साँच्ची आज केको भोज तिमीलाई थाहा छैन ?” मैले लजाएर उत्तर दिएँ, “म त घुम्दै आएको यहाँ आइपुगेँ । मलाई अत्यन्त भोक लागेकोले यहाँ पसेको, मसँग निम्तो पनि छैन । के गरूँ म जाऊँ कि ?” म लाजले मरेतुल्य भएको थिएँ । म चोर पकडिहालेँ ।

तिनले हतारिएर झटपट भनिन्, “हैन हैन, बस । तिमीलाई थाहा रहेनछ त के भयो ? बरु, सुन, म तिमीलाई बताउँछु । आज यो विश्वमा नै अन्तिम भोज हो । यस्तो भोज यो पृथ्वीमा कहिल्यै हुन पाउने छैन । यो रातपछि पृथ्वीमा कहिल्यै रात पर्दैन । थाहा पायौ ?”

मैले थाहा पाएझैँ टाउको हल्लाएँ । मेरो मगजमा निम्तो कार्डमात्र घुमिरहेको थियो । निम्तो कार्ड भएको भए मलाई यसरी लज्जान्वित हुनुपर्ने नै थिएन ।

तर, तिनी उल्लासित हुँदै भन्दै गइन्, “यो पृथ्वीमा कहिल्यै रात पर्दैन, यही अन्तिम रात हो । यहाँ ससारका सम्पूर्ण राष्ट्रका उच्च पदाधिकारीहरूदेखि लिएर महान् व्यक्तिहरू सबजना जम्मा भएका छन् एउटा उद्देश्यले, एउटा अभिलाषाले । यस्तो एक मत अहिलेसम्म विश्वका राष्ट्रहरूमा कहिल्यै देखिएको थिएन । यो एउटा अनुपम घटना हो । यो अनुपम घटना यस पृथ्वीमा फेरि कहिल्यै दोहोरिने पनि छैन । सुन, झिसमिसे बिहान हुन नपाउँदै यहाँका ठूलाठूला राष्ट्रका राष्ट्रपति प्रधानमन्त्रीहरूले आफ्नो देशमा यस्ता परमादेश पठाउने छन् कि उनीहरूका देशमा रहेका सम्पूर्ण आणविक अस्त्रहरू तथा ठूला–ठूला अणुबमहरू एकैचोटि एकै समयमा विस्फोट गरिनेछ र पृथ्वीलाई टुक्रा–टुक्रा पारेर ब्रह्माण्डमा हु¥याएर मिल्काइनेछ । पृथ्वीको अन्त्य गरिनेछ । मनुष्यको पृथ्वीमाथि ठूलो विजय हुनेछ । त्यसैले आजको एकमात्र अन्तिम रातमा यसरी यो प्रीतिभोज मनाइँदै छ । आज तिमी–हामी पनि मनुष्यको यस महान् विजयमा विजयोत्सव मनाऔँ ।”

तिनले रक्सीको गिलास गर्वपूर्वक ओठसम्म उठाइन्, अरूहरूले पनि गम्भीरतापूर्वक त्यसै गरे ।

तर, मैले गिलास उठाउन सकिनँ । कसरी म पृथ्वीको अन्त्यमा विजयोत्सव मनाउन सक्छु ? आखिर गिलास त्यसै मिल्काएर म त्यहाँबाट भाग्न थालेँ । भोलि बिहान सूर्योदय नहुँदै पृथ्वीको सर्वनाश हुनेछ । म यो कुराले लखेटिँदै भोकै भाग्दै छु । दौडँदै छु । मेरो प्यारो पृथ्वी, मेरो प्यारो धरती भोलि रहन्न ! उफ् ! भोलि रहन्न ! म माटो सुँघेर भाग्दै छु ।