स्कूलबाट आएर कपडा फेरेर खाटमा पल्टिएँ । विगत बीस वर्षदेखि अध्यापन पेशामा संलग्न छु । यस बीच मैले अनेकौं स्कूल चाहर्नु पर्यो । खासगरी उदयपुर र सिन्धुली जिल्लाका धेरैजसो स्कूलमा म पढाउन पुगें । यी स्कूलहरूमा पढाउने क्रममा मैले अपमानित र तिरस्कृत पनि हुनु पर्यो । आफूमाथि भएका अमर्यादित व्यवहारको स्मृतिले मलाई यदाकदा कोपर्ने गर्दछन् । म त्यस्ता अप्रिय घटनालाई बिर्सने प्रयत्न पनि गर्छु । र, मनमनै भन्छु- “ती दिनमा कतिपय संतोषजनक कामहरू पनि त भएका थिए नि ।”
म खाटमा पल्टिरहेकै थिएँ । यसै बीचमा बाहिर धेरै मान्छेको कल्याङमल्याङ आवाज सुनेँ । शुरूमा त मैले केही निधो पाइनँ । पछि कान थापेर सुनेको । एउटी महिला भन्दै थिइन्, “खक्नाके घरमे पहडिया एल्छे देखेला चल” (‘खकनको घरमा पहाडी मानिस आएका छन्, हेर्न जाऊँ’)
पहाडी मूलका मानिस कस्ता हुन्छन् भनेर हेर्नको लागि भीड लाग्ने भनेपछि यो कस्तो ठाउँ हो सहजै अनुमान गर्न सकिन्छ ।
जागीरे जीवनको उत्तरार्धमा उदयपुर जिल्लाको उत्तराई टोलमा डेरा गरेर त्यहाँबाट एक किलोमिटर टाढा राजाबास भन्ने गाउँको स्कूलमा पढाउथें म । उतराई टोलमा असी घर जति थारु जनजातिका मानिसहरूको घर थियो ।
पूर्व र दक्षिण त्रियुगा नदी, उत्तरतर्फ साईखोला र सरस्वती खोलाले घेरिएको यो गाउँ बाँकी संसारसँग पूरै अनभिज्ञ थियो । यहाँका महिलाहरू खाना बनाउने र खेतको काम गर्नेबाहेक वनबाट घाँस दाउरा ल्याउने काम गर्दथे । पुरुषहरू चैं खेतको कामबाहेक माछा मार्ने, घुङ्गी, गँगटा खोज्ने र कहिलेकाही जङ्गली जनावरको पनि शिकार गर्ने गर्दथे । आफू पनि थारु महिला भएकीले यहाँ बस्न मलाई खासै समस्या थिएन, रमाइलो नै थियो ।
‘को आएको रहेछ त’ भनेर म पनि खकनको घरतिर लागें ।
दुइटा केटाहरू आएका रहेछन् । धेरै वर्ष भए तापनि मैले उनीहरूलाई सजिलै चिनें । उनीहरूको घर सिन्धुली जिल्लाको तीनपाटन थियो ।
अट्ठाइस उनन्तीस सालतिर म सिन्धुली जिल्लाको सदरमुकाम स्थित कमला हाई स्कूलमा पढाउथें ।
बाह्रजना शिक्षकशिक्षिकामा प्रधानाध्यापक समेत चारजना शिक्षक मधेसी मूलका थिए, एकजना महिला शिक्षक अमेरिकन थिइन् । म थारु समुदायबाट थिएँ । तथापि मलाई पनि उनीहरू मधेसी नै भन्दथे ।
मधेसी शिक्षक हटाएर पहाडी राख्ने भन्नेमा विद्यार्थीले आन्दोलन गरेका थिए । उनीहरूलाई स्थानीयको समर्थन थियो । विद्यार्थीका क्रियाकलाप आन्दोलन कम अराजक बढी थियो । परीक्षा बहिस्कार गर्ने, परीक्षामा भाग लिने विद्यार्थीको उत्तरपुस्तिका च्यात्ने जस्ता कामहरू सामान्य थिए । हँदाहुँदा विद्यार्थीहरूले मास्टरलाई कुट्न समेत थाले । सूर्यदेव साहलाई मरणासन्न हुने गरी कुटे पनि । त्यस दिन प्र.अ.जागेश्वर महतोलाई पनि कुट्ने योजना रहेछ । कसोकसो उनी चैँ जोगिए ।
आज यहाँ खकनको घरमा आउनेहरूमा त्यो बेला त्यही स्कूलमा आठ कक्षामा र दश कक्षामा पढ्ने दुई जना विद्यार्थीहरू रहेछन् ।
त्यस बेला कक्षा आठको पहिलो घण्टी मेरो थियो । मैले हाजीर गर्दा “यस मिस“ भन्ने र “छ्यासमिस” भन्नेहरू थिए । यो केटो चाहिँ “छ्यासमिस” भन्थ्यो । सूर्यदेव शाहलाई पहिलो हात छोड्ने पनि यही विद्यार्थी थियो । यहाँ आएकामध्ये अर्को विद्यार्थी चैँ पर्चा लेख्ने र अरूसँग सरकारी कार्यालयतिर छर्ने काम पनि गर्दथ्यो । यसलाई एकपल्ट पुलिसले रंगेहात पक्रेर सामान्य सोधपुछ गरेर अञ्चलाधीश कार्यालयसम्म पुर्याएको थियो पनि ।
यिनीहरूलाई देखेर पहिले त म झस्किएँ । पछि यी दुई पूर्व विद्यार्थीसँग सामान्य कुराकानी भएपछि थाहा भयो, अब यी केटाहरूमा पहिलेको जस्तो जोश, जाँगर, उत्साह, विद्रोही भावना, आदि केही पनि रहेनछ । आज त यी दुवै सशङ्कित थिए र डराईडराई बोल्दथे ।
० ० ० ०
मैले ती केटाहरू यहाँ आउने कारण बिस्तारमा बुझ्न चाहेँ ।
उनीहरूको कथा यस्तो थियो –
भाइ चाहिँले अर्को ऊभन्दा अलिक ठूलो जस्तो देखिने व्यक्तिलाई संकेत गरेर भन्न थाल्यो- “उहाँ मेरो सानिमाको छोरा माल्दाई हो । हामी दुवैजना तपाईंलाई अपमानित गर्ने मध्येकै तपाईंका पूर्वविद्यार्थी नै हौं । तपाईंलाई गरेको व्यवहारलाई लिएर तपाईंसँग माफ माग्न चाहन्छौं । त्यसो त त्यो बेला पनि तपाईं रिसाउनुको सट्टा हामीलाई सम्झाइ बुझाइ गर्नुहुन्थ्यो, माया गर्नु हुन्थ्यो र आफूभन्दा ठूलालाई आदर गर्ने अनुशासन सिकाउनु हुन्थ्यो ।
तपाईंले कमला हाई स्कूल छाडेपछि हामीलगायत धेरै विद्यार्थी मोहनविक्रम सिंह समूह नामक कम्युनिस्ट संगठनमा समावेश भयौं । त्यो कम्युनिस्ट समूहले हामीलाई प्रारम्भिक कम्युनिस्ट शिक्षा दियो । यसले पहिले हाम्रो जनै चुँडाइदियो, टुप्पी काटिदियो र रक्सी ख्वाइदियो । त्यसपछि विभिन्न अवैध काममा लगायो । रातिराति कम्युनिस्ट शिक्षाको पाठ लिने र दिउँसो स्कूलमा कुटपिट तोडफोड गर्ने हामी लगायत धेरैको दैनिकी बन्यो । पछि स्थिति धेरै असामान्य भएपछि अन्ततः हामी स्कूल छोडेर गाउँमै फर्क्यौं ।
गाउँ फर्केपछि पुष्पलाल समूहको सम्पर्कमा आएर दुईचार वर्ष पार्टीको काममा सक्रिय भयौं । पुष्पलाल समूहको नीति चाहिँ पञ्चायती चुनावमा भाग लिने र पञ्चायती शासनको भण्डाफोर गर्ने, जनसंगठन निर्माण गर्ने र वैधानिक सहुलियतको उपयोग गर्दै सैद्धान्तिक गतिविधिमा जोड दिने रहेछ । स्कूलमा सरस्वती पूजाको अवसर पारेर हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित ‘गंगालालको चिता’ र मोदनाथ प्रश्रितद्वारा लिखित ‘पचास रुपियाँको तमसुक’ जस्ता पञ्चायत विरोधी नाटक पनि मञ्चन गर्यौं । हाम्रा गतिविधिले पञ्चायती व्यवस्था सामन्ती तानाशाही व्यवस्था हो भन्नेमा जनता सचेत हुँदै पनि थिए ।
तीस एकतीस सालतिर सिन्धुली सदरमुकाम, कमलाखुँज र तीनपाटन क्षेत्रमा पञ्चायती शासनले सेना परिचालन गर्यो । यसको मूल उद्देश्य त्यो क्षेत्रबाट कम्युनिस्टलाई जरैदेखि सखाप पार्ने थियो । उद्देश्य त्यस्तो भए पनि सेनाले कम्युनिस्टहरूलाई भन्दा सर्वसाधारणलाई बढी दुःख दिएको अवस्था थियो । जनताहरूलाई पक्रने, थुन्ने, हिरासतमा मरणासन्न हुने गरी यातना दिने तथा झूटा मुद्दा लगाउने कार्यमा पुलिस प्रशासन उत्रियो । धेरैलाई पक्राउ पुर्जा काटियो, सयौंको संख्यामा भूमिगत भए । यसबीच मसाल समूहका ऋषि देवकोटा, दुर्गा सुवेदी र रजन मगर गरी तीन जना नेताहरूलाई बीभत्स तरिकाले पुलिस प्रशासनले मार्यो । यसपछि त झन् जनमानसमा कहालीलाग्दो स्थिति देखा पर्यो । यस्तो आतंकबाट आजित भएर समाजका धेरै घरपरिवार बसाइँ हिँड्न थाले । हाम्रो परिवारले पनि बसाइँ हिँड्ने निधो गर्यो । माल्दाइको परिवारले पनि बसाइँ हिँड्ने सवालमा हाम्रो साथ दियो ।
हाम्रो परिवारमा वृद्धावस्थाका मेरा बाआमा मेरा तीन वटा छोराछोरी अनि हामी दुई श्रीमान्, श्रीमती गरी सात जनाको परिवार थियो । चालीस सालको जेठतिर हाम्रो परिवार तीनपाटनलाई सदाका लागि बिदा भई बसाइँ हिँडेको हो । आफैँ बसाइँ हिँडेपछि थाहा भयो, बसाइँ हिँड्नु भनेको केवल ठाउँ बदल्नु होइन, त्यो जीवनको एक गहिरो पीडा हो — जहाँ हृदय एकातिर रहन्छ र शरीर अर्को दिशातिर लाग्छ । पुरानो घर, साथीभाइको माया, गाउँको खेतबारी, बगरको पानी र डाँडाको हरियाली सबैलाई बिर्सेर बसाइँ हिँड्ने व्यक्तिलाई यति कठोर निर्णय लिन बाध्य बनाउँछ कि, आँसु पुछ्दै, सम्झनाहरू मुटुमा लुकाउँदै, नयाँ जीवनको खोजीमा उसले हिँड्नै पर्दोरहेछ । बसाइँ हिँड्नुपर्ने बाध्यता रहेछ, रहर होइनरहेछ, यो परिस्थितिको निष्ठुर निर्णय रहेछ । तर फेरि त्यही बाध्यताले मानिसलाई बलियो पनि बनाउने रहेछ— नयाँ ठाउँमा संघर्ष गर्न, बाँच्न र फेरि कहिल्यै नहराउने सपना देख्न प्रेरणा पनि दिने रहेछ ।
पहिलो दिन हामी सिन्धुली जिल्लाको भिमानमा बास बस्यौं । दोश्रो दिन महोत्तरी जिल्लाको पाटुमा बास बस्न पुग्यौं । पाटुमा मेरी साहिँली दिदी हुनुहुन्थ्यो । हाम्रो आगमनले दिदी छक्क परेर सोध्नुभयो, “बा आमा सबैलाई लिएर कहाँ हिँडेको ?”
“बसाइँ हिँडेको, दिदी !” मैले भनें ।
दिदीले झन् छक्क पर्दै सोध्नुभयो, “किन, कहाँ जाने बसाइँ ?”
मैले भनेँ, “उदयपुरको गाईघाटमा बसाइँ जाने, दिदी !”
“चालीस हजार जति छ ।” दिदीका सामु मैले आफ्नो हैसियत पनि देखाएँ ।
दिदीले उतर्सिँदै भन्नुभयो, “चालीस हजारले घरखेत सबै किन्न पुग्दछ त ?”
अतालिएर मैले भनें, “पहिले खेत किन्छु । अनि ऊ गरेर ऊ गर्छु ।”
दिदीले झन उतर्सेर भन्नुभयो, “के हो ऊ गरेर ऊ गर्छु भनेको ?”
मैले प्रष्ट पारें, “पहिले खेत किन्ने, अनि घडेरी किन्ने र घर बनाउने ।”
दिदीले उसैगरी भन्नुभयो, “जा, पहिले ऊ गरेर आइज, अनि मात्र बाआमा, केटाकेटी लान दिन्छु ।”
मैले किञ्चित लाडे भएर भनेँ, “त्यसो नभन्नु न दिदी । बा आमालाई यीँ छोडेर मैले कसरी ऊ गर्न सक्छु ?”
दिदीले मेरो बोली भुइँमा खस्न नपाउँदै भन्नुभयो- “हुँदैन, भोलि भिनाजुलाई लिएर जा । खेत घर घडेरी किन् । खेती गर । खाने अन्न र बस्ने बास भएपछि मात्र बा आमा केटाकेटी लान दिन्छु ।”
मेरो सामुमा उभिएको परिस्थिति र आज दिदीसँग भएको वार्तालापले गर्दा मलाई रातभरि निद्रा लागेन । दिदीले भने जस्तो बाआमालाई लगेर कसको घरमा राख्ने ? के खाने ? तेरो खेत बेच्छस् भनेर कसलाई भन्ने ? आदि इत्यादि धेरै कुरा मनमा खेल्न थाले । गाउँको स्थिति कुनै दिन साम्य हुने नै थियो । बेकारमा बसाइँ हिँडेको जस्तो पनि लाग्यो ।
आँखा झिमिक्क नगरी फर्लङ्ग मेरो रात कट्यो । बिहानीपख निदाएछ।
एकाएक दिदीको कर्कश आवाज कानमा पर्यो । “ए लठुवा, बिहानभरी सुतेर बसाइँ हिँड्न सकिन्छ ? उठ्, चाँडो भिनाजु ठीक परिसक्नुभयो ।”
म हत्तपत्त उठें । हातमुख धोएँ र झोलामा एक जोर लुगा हालें । दिदीले मेरो हातमा खाजाको पोको दिनुभयो । मैले त्यो खाजाको पोको पनि झोलामा हालें । भिनाजुले चालीस हजार कम्मरमा बाँध्नुभयो ।
माल्दाइ, म र भिनाजु लाहानबाट आठ नौं कोस हिँडेर साँझपख गाईघाट पुग्यौं । संयोगवश हामी बास बसेको घरको मान्छे जग्गा खेलोफड्को गर्ने मान्छे रहेछन् । उनैको कृपाले यो उत्तराई टोलमा तीस हजारमा डेढ बिगाहा खेत र देउरीमा पाँच हजारमा एक कट्ठा घडेरी किन्न सकियो । बाँकी बसेको पुगनपुग पाँच हजार रुपैयाँ खेतीखर्च चाहिन्छ भनेर भिनाजुले मलाई दिनुभयो । त्यसपछि हामी तीनैजना दिदीभिनाजुको घर पाटु फर्कियौं । दुई दिन दिदीको घरमा बसें । यसबीच दिदीले थुप्रै अर्तिबुद्धि दिनुभयो । त्यसपछि एक हल गोरु र एकजना काम गर्ने मान्छे पनि दिदीले नै व्यवस्था गरिदिनु भयो । यी सबै लिएर हामी यहाँ खेती गर्न आएका हौं ।”
० ० ० ०
कमला हाई स्कूलको कक्षा आठमा पढ्ने मेरो पूर्व विद्यार्थीले आज यहाँ आउनुको कारण सबै सुनायो । उसका कुरा मैले पनि चाख मानेर सुनें । मेरो मास्टरी जीवनका एकपछि अर्को सरुवाका घटना र यी युवाहरूको बसाइँ हिँड्नु पर्ने परिस्थितिलाई मैले दाँजेर पनि हेरें । मेरो जीवनभन्दा यिनीहरूको बसाइँ हिँड्नु पर्ने परिस्थिति मलाई निकै जटिल र जोखिमपूर्ण लाग्यो ।
मलाई आज राति पनि निकै बेर निद्रा परेन । मेरो यो पूर्व विद्यार्थीले यो नयाँ ठाउँ, भाषा समेत बुझ्न नसकिने समुदायका बीच आफू परिवारको हर्ताकर्ता भएर बुढा बाबुआमा, ससाना छोराछोरी सहितको परिवारलाई कसरी व्यवस्थापन गर्ला, कसरी खेतीपाती उतार्ला, घर कसरी बनाउला, कसरी वृद्ध शाकाहारी बाबुआमालाई दूध घिउको जोहो गर्ला, छोराछोरीलाई कसरी पढाइलेखाइको बन्दोबस्त मिलाउला भन्ने सोच्दा सोच्दै बिहानीपख निदाएछु ।
बिहान उठेर खकनको घरतिर हेरें । मैले देखें हलोजुवा बोक्नेले गोरु धपाएको थियो । कोदालो बोक्ने एउटा मान्छे उसको पछिपछि थियो । लाग्यो, अर्को चैँ खाजाभात गर्न घरमा नै बसेको थियो होला ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
११ कार्तिक २०८२, मंगलवार 










