एउटा गाउँमा एउटा किसान थिए । उनकी श्रीमती साह्रै सज्जन थिइन् र आफू पनि इमानदार र पितृभक्त थिए । उनका पाँच बहिनी छोरीहरू थिए । ती किसानका बाबु भन्दा आमाको पहिले नै निधन भइसकेको थियो । उनी आफ्ना दाजुभाइ भन्दा पढेलेखेको भएकोले उनलाई गाउँघरका सबैले आदरका साथ सम्मान गर्दथे । उनको दैनिकी समय धेरैजसो घरदेखि बाहिरै सामाजिक काममा बित्ने गर्दथ्यो । उनी घरमा कम बस्ने घुमफिरमा व्यस्त हुन्थे । उनले घरमा समय नदिने, धेरैजसो बाहिर रमाउने भएकोले घरपरिवारले उनकी पत्नीलाई घरमा राम्रो व्यवहार गर्दैनथे । केही काम नगरी मिठो चाहिँ खान खोज्छ भनेर उनलाई पनि घरमा राम्रो मान्दैनथे । त्यसैले उनकी पत्नीलाई घरदेखि अलि पर सानो घरबार भएको गाउँमा बस्न दिएका थिए । छुट्टिने बेलामा एक दिन बाबुले तिम्रा दाजुभाइ छुट्टिन लागे आफ्नो सम्पत्ति लिन आऊ भन्दा म मेरो बुबासँग छुट्टिन चाहन्न भनेर सम्पत्ति पनि लिन गएनन् ।
एक दुई वर्षपछि बाबुको निधन भयो । त्यसपछि बल्ल आफू कहाँ जाने के गर्ने ? सबै दाजुभाइको बन्दोबस्त भैसकेको छ । केही नलागेपछि उनी आफ्नी पत्नीसँगै गुजारा चलाएर बस्न थाले । एक दिन साँझ खाना खाएर सुते । निद्रा लागेन । उनले सोच्न थाले मेरा यति धेरै छोरी छन् । मलाई कसैले तेरो एउटा छोरी दे न भनेर मसँग माग्न आए भने कुन छोरी दिउँला ? उनले छोरीहरूको बारेमा तुलना गर्न थाले र मनमनै सोच्न थाले । जेठी छोरी जेठी भई हाली पहिलो सन्तान कसरी दिनु ? माहिली छोरी जन्मेपछि मेरो पारिवारिक स्थितिमा सुधार भयो लच्छिनकी छे, अहँ यसलाई पनि दिन सक्दिन । साहिँली छोरी जन्मेपछि अब पुग्यो यो नै कान्छी हो भनेर भनेको थिएँ, सानी राम्री माया लाग्दी छे त्यसलाई त म झनै दिन सक्दिन । अब पालो आयो काहिँली छोरीको । काहिँली जन्मेपछि साहिँलीलाई कान्छी भनेको फेरि छोरी जन्मी यो ठुली कान्छी हो भनेर कति खुसी भएँ । ठुला ठुला आँखा भएकी झन् राम्री छे, अहँ काहिँली छोरीलाई पनि दिन सक्दिन । अब पालो आयो कान्छी छोरीको कान्छी त झन् पेट पुछुवा हुन् । सबैभन्दा सानी प्यारी के दिउँला भनेर सोचेछन् । अन्तमा उनी कुनै पनि छोरीलाई दिन नसक्ने निष्कर्मा पुगे ।
जन्माइसकेपछि आफ्नो सन्तान कसैलाई पनि भारी हुँदैन, हाम्रा बुढा पाका बाबु बाजेहरूले भैँसीलाई सिङको भारी हुँदैन भन्ने उखान हालेको हामीले सुनेका छौँ । यो कुरा आफ्ना छोरीहरू कसैलाई पनि दिन नसक्ने किसानको सोच र निष्कर्षले पनि पुष्टि गरेको छ ।
कान्छी छोरी जन्मँदा उनले सोधेका थिए– “ए बुढी के पाइस् छोराकी छोरी ?”
बुढीले भनिन्, “उही छोरी हो अब त अगेनाको खरानीले पनि पुग्दैन ।”
उनले भनेछन्– “नभन मेरा छोरीहरूलाई मैले केही पनि दाइजो दिन सकिनँ भने केराको पातमा खुट्टा धोएर बिहे गरिदिउँला ।”
आफ्ना बुढाको यस्तो कुरा सुनेर छोरी धेरै भए भन्छन् कि भन्ने सोचमा भएकी बुढीलाई पनि केही सान्त्वना मिल्यो ।
० ० ०
समय बित्दै गयो एकपछि अर्को गर्दै तीन बहिनी छोरीको पनि विवाह भयो । उनकी काहिँली छोरी (ठुली कान्छी) भने बाह्र तेह्र वर्षकी भइन् ।
किसानका एक जना नातेदार थिए । उनीसँग धन सम्पत्ति प्रशस्त थियो । तर सन्तान थिएनन् ।
उनले भने, “मलाई तपाईंकी काहिँली छोरी दिनुहोस् पढाई लेखाई सबै सम्पत्ति उसकै नाममा लेखाइदिन्छु । मैले धर्म छोरी बनाउँछु । मैले दुई वटा धर्म पुत्र राखे तर ती छोरा सबै छुट्टिएर बसेका छन् मलाई छोराले धोखा दिए । छोरी त ज्ञानी हुन्छन् तपाईंकी छोरीले त माया गर्छन् नि हैन र ?”
किसानले भने, “मलाई परिवारसँग सल्लाह गर्न दिनुहोस् ।”
पछि किसानले आफ्नी छोरी नदिने अठोट गरे । मेरी छोरी मैले किन दिने ? म गरिब छु । तर धनको लोभमा परेर मैले आफ्नो सन्तान कसरी दिने ? मेरी छोरीले आफ्नो जन्म दिने बाबु आमाको काखमा बसेर आँटो पिठो भए पनि खान्छे र हामी पाल्छौं । पछि ठुली भएपछि उसलाई सुहाउने एउटा केटा खोजेर बिहे गरी दिउँला भन्दै उनले यो छोरी माग्ने प्रस्ताव अस्वीकार गरे ।
फेरि समय बित्दै गयो । किसानकी छोरी ठुली कान्छी १६ वर्षमा लागिन् । अब बिहे गर्ने पालो उनैको थियो । ठुली कान्छीलाई देख्नेहरू जो कोहीले पनि मन पराउँथे र प्रशंसा गर्दथे । सबै दिदी बहिनीहरू भन्दा उनी पढाइमा पनि उनी तेज थिइन् । जेनतेन उनले पाँच कक्षासम्म पढिन् । त्यसपछि पढाइमा रुचि हुँदाहुँदै पनि उनको पढाई अगाडी बढ्न सकेन ।
उसै त उनका बाबु किसान भन्ने गर्थे– छोरीले धेरै पढ्न हुँदैन अक्षर चिनेर चिठ्ठी लेख्न सक्ने मात्र भए पनि हुन्छ । छोरीलाई उच्च शिक्षा दियो, धेरै पढायो भने पोइल जान्छन् । मेरा धेरै छोरी छन् पोइल गए भने बाबु बाजेको इज्जत जान्छ भन्ने गर्दथे ।
यत्तिकैमा एक जना नातेदारले आफूसँगै काम गर्ने साथी छ भनेर ठुली कान्छीको बिहेको प्रस्ताव लिएर आए । तर ठुली कान्छीको १० कक्षा पास गरेर बिहे गर्ने मन थियो । नातेदारले घर परिवारसँग केटाको कुरा गरेअनुसार किसानलाई घर र केटा चित्त बुझ्यो । केटाको घर परिवारको भित्री मन भने आफ्नै गाउँ घर नजिकको चलन चाँजो मिल्ने र दाइजो पाहुर पात दिनेसँग बिहे गर्नु पर्छ भन्ने सोचाइ रहेछ । तर ठुली कान्छीको माइती भए पनि भगवान्ले जुराएको कुरा न हो ठुली कान्छीको त्यही केटोसँग विवाह भयो ।
० ० ०
त्यसपछि ठुली कान्छीको दुःखका दिन सुरु भयो । उनले घरमा हरेक कामकुरामा ठक्कर खान पर्यो । ठुली कान्छीको यस्तो घरमा विवाह भयो कि त्यहाँ घर परिवार सबै थिए, पारिवारिक वातावरण नै थिएन । भनौँ आमाको अभाव र कमी थियो । ठुली कान्छीको बिहे भन्दा पहिले नै त्यो घरको आमाको निधन भैसकेको थियो । त्यो घरमा अभिभावकको जिम्मेवारी र भूमिका निभाउने कोही पनि थिएन । आमाको निधन पछि त्यो घरमा आमाको भूमिका कसैले पनि निर्वाह गर्न सकेको थिएन । छोराछोरी भएर आमा भइसकेकी वर्षौंदेखि त्यो घरकी आमासँग बसेर तीता मिठा अनुभव सँगालेकी जेठी बुहारीले त आमा भएर अभिभावकत्व समाल्न सकेकी थिइनन् भने १६ वर्षकी ठुली कान्छीले सक्ने त कुरै भएन । ठुली कान्छी त परिवारदेखि, त्यहाँको समाजदेखि र चालचलनदेखि टाढा र सबैसँग अनविज्ञ थिइन् । उनलाई अह्राउने, सिकाउने र संरक्षण दिने कोही पनि थिएन । घरमा गएको भोलिपल्टदेखि त आएकी छेस् अब तैँले गर, हेरम् कसरी गर्दी रै’छेस् । तेरा घरका कस्ता छन् थाहा पाउलिस् मैले त गर्न सकिनँ, म त बदमास भैहालें… जस्ता आक्रोश ठुली कान्छी माथि पोखिन थाले ।
ससुराले जेठीको माइती र मावलीबाट एक वर्ष पुग्ने फिनी रोटी आउँछ र खान पाइन्छ, तेरो माइतीबाट के आउँछ ? भन्दा ठुली कान्छीको मन सारै रुन्थ्यो । विचारी ठुली कान्छीले चुपचाप सहेर बस्थी । भन्न पनि कसलाई भनोस्, ससुराले पनि घर परिवार समाल्ने र रेखदेख गर्ने जिम्मेवारी लिनु भएको थिएन । जिम्मेवारीदेखि पन्छिएर सधैँ बाहिर बाहिरै हिँड्ने गरेको देखिन्थ्यो । जेठाजु पत्नी भक्त, श्रीमती बाहेक घरमा कसैसँग पनि खुलेर नबोल्ने, थालमा मुछेको खाना पनि पत्नीले खाऊ भने पछि मात्र मुखमा गाँस हाल्ने, नत्र थालमा हात राख्ने खालको स्वभाव थियो । जेठी बुहारीले ससुरा र पतिलाई आफ्नो मातहत र काबूमा लिएकी थिइन् । सबै मेरो हातमा छ भनेर उनी भित्र भित्रै ढुक्क थिइन् । ठुली कान्छीका श्रीमान् भरखरै पढाई सकेर घरमा आएका थिए । घर व्यवहारको बारेमा केही थाहा थिएन । घरका छोरी नन्दहरू केटाकेटी सानै थिए । ठुलो दाइ र भाउजूकै शरणमा थियो घर ।
ठुली कान्छी चाहेर पनि माइतीसँग भेट गर्न सम्भव थिएन । समय बित्दै गयो ठुली कान्छी गर्भवती भइन् । उनको एघार जनाको परिवार थियो । गर्भवती भएको बेला पोसिलो र मन लागेको खाना खान र आराम गर्न कता हो कता । सधैँ साँझ बिहान खाना पकाउने उनकै जिम्मा थियो । पतिले उनलाई कुनै कुरामा सहयोग गरेको थाहा पाए परिवारले व्यङ्ग्य वाण हान्थे ।
पहिलो पटक गर्भ रह्यो, नौ महिना बितिसक्दासम्म कसैले उनलाई स्वास्थ्य परीक्षण गराउन नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा लगेनन् वा जानु पर्छ पनि भनेनन् । पाँच दिन पहिलेदेखि उनलाई बिस्तारै प्रसव पीडाले च्याप्दै थियो । ढाड दुखेर उठ्न बस्न सकेकी थिइनन् । त्यही गर्भवती अवस्थामा तिजको व्रत बस्नु पर्छ केही खान हुँदैन भनेर उनी निराहार व्रत बसिन् । उनलाई कसैले पनि यस्तो नाजुक अवस्थामा पनि फलफूल र पोसिलो खाने कुरा खानु पर्छ, खाऊ सम्म पनि भनेनन् । एघार जनाको परिवार, त्यसमा माइत तिज मान्न आएकी आमाजू र अर्का एक जना पाहुना समेत गरी तेह्र जनालाई साँझ खाना पकाएर सबैलाई खुवाएर सुत्न गएकी उनी सुत्न सकिनन् ।
रातभरि बेथा लागेर छटपटाउँदा समेत उनका श्रीमानले पनि थाहा पाएनन् । उनी बिस्तारै तल्लो तलामा झरिन् । त्यसपछि अगेनाको छेउमा सानो गुन्द्री बिछाइन्,दाउरा बालेर ढाड सेकाएर रातभरि बसिन् । बिहानीपख भने उनी घरको माथि कोठामा गएर सुतिन् ।
गाउँकै सुँडेनी बोलाएर बिहान आठ बजे ठुली कान्छीले छोरी जन्माइन् । भगवानको कृपाले आमा र बच्चा सकुशल थिए ।
मौकाले घरमा तीन वटा भैँसी छ, सुत्केरीलाई दुई टाइम दूध दिनुस् भनेर उनका श्रीमानले भन्न सक्दैनथे । कहिलेकाहीँ बिहान चुल्होमा कराहीभरी दूध उम्लेको देखेपछि आफ्नी भाउजू नुहाउन गएको मौका छोपेर उनकी आमाजूले लौ खाऊ भनेर गिलास भरी दूध दिने गर्थिन् ।
अहिले जस्तो घर घरमा पानीको धारा थिएन । घरबाट टाढा पँधेरोबाट घैँटामा पानी भरेर ल्याउने चलन थियो । उनलाई त्यही पानी राख्ने कोठाको पानीको घैँटो हटाएर सुत्केरी बस्ने ठाउँ बनाइ दिएका थिए । यो ठाउँ पानी राख्दा राख्दा चिसो र अलि अँध्यारो पनि थियो । बर्खाको समय थियो, भुइँतला भएकोले त्यहाँ सर्प, बिच्छी र किराहरू आउने गर्थ्यो । खाना पकाउने भान्साको छेउमा यो कोठा पर्दथ्यो । सबै कुरा जेठानीकै इच्छा, तजबिज र निगरानीमा खाना तयार हुन्थ्यो । कसैले सुत्केरीको भलो हुने कुरा गर्छ भने आफू भन्दा ठुलालाई व्यङ्ग्य र सानालाई गाली गर्ने गर्थिन् ।
गाउँमा दाउराबाट आगो बाल्ने चलन थियो । यसको कुनै विकल्प थिएन । एक दिन तेल मालिस गर्ने सुँडेनीले यसो सुकेको दाउरा बोकेर सुत्केरीको कोठामा लग्दै गरेको जेठानीले देखिहालिन् । उसलाई बाहिर आँगनमा भिजेको दाउरा लैजा त्यो सुकेको दाउरा त मैले खाना पकाउनु पर्छ भन्दै गाली गरेर भान्सामा राख्न पठाइन् । असार साउनको झरीमा भिजेको तप–तप पानी चुहिने दाउरा ल्याएर सुँडेनीले सुत्केरीले ताप्ने आगो बाल्थिन् धुवाँले कोठा भरिन्थ्यो । तर आगोको धिप्को फुट्दैनथ्यो । कोठा चिसो भएर कोठाको भित्ता आधा जसो सिलन हानेर चिसो थियो । त्यसमा सुकेका दाउरा पनि बाल्न नदिने । चार पाँच दिन पछि ठुली कान्छीलाई ज्वरो आयो, चिसोले आँखा पाकेर सुन्नियो । नानीलाई पनि जिउमा आगोले पोलेको जस्तो फोका आयो । अव यो कुरा कसलाई भन्ने उनका पति उनीसँग नजिक आएर बोल्ने सोध पुछ गर्ने गर्दैनथे । उनले माइती आएकी आमाजूसँग नानीको जिउमा फोका आएको कुरा भनिन् । आमाजूबाट यो कुरा पतिसँग पुग्यो । दुवै जना सुत्केरी कोठामा गए।
सबै कुराको चियो गरिरहेकी जेठानीले घरमा आगो बालिन्, “अहिले देखि कुनामा बसेकी स्वास्नीलाई हेर्न जाने लाज पचेको, संगै सुत्न गए भइहाल्यो नि ।”
ठुली कान्छी यो सबै सुनेर दिक्क भएर त्यही अँधेरो कुनामा बसेर धुरुधुरु रुन थालिन् । जेनतेन एघार दिन कट्यो, न्वारन पनि भयो ।
० ० ०
ठुली कान्छी पतिसँगै सानो नानी लिएर माइती गइन् । त्यो बेला सवारी साधन नपाइने हुँदा बाटोमा दुई दिन लाग्यो । दसैँको बेला परेकोले दसैँ मानेर फर्किने भनी उनका पति केही दिन बसे । एक महिनाकी सुत्केरी दुई दिनको यात्राले हो कि वा सुत्केरीमा स्याहार सुसार, खानपिन, सुख शान्ति पनि नभएर हो गएको केही दिनमा फेरि ठुली कान्छीलाई जिऊ, टाउको दुख्ने ज्वरो आउने भयो, नानीलाई पनि रुघा लाग्यो । रुघा लागेर बेला–बेलामा नानीले सास फेर्न नसकेर रुन्थी आफू पनि उठेर बस्न नसक्ने थिई । दिदीहरूलाई पनि आफ्ना नानीको स्याहार सुसार गर्न ठिक्क हुन्थ्यो । आमालाई पनि छोरी ज्वाइँको सेवा सत्कार पकाई खुवाई ठिक्क हुन्थ्यो । जेनतेन बच्चाको स्याहार सुसार गर्थिन् र रुन लाग्दा पतिको सहयोग लिन्थिन् ।
अहिले पनि सम्झना छ ठुली कान्छीको विवाह नहुँदै यस्तो सुत्केरी अवस्थामा दिदीहरू माइती आउँदा उनले पकाउने खुवाउने देखि लिएर साना भतिजा भतिजीहरूलाई तेल समेत घसिदिन्थिन् । उसलाई गर्ने दिन आयो भनेर कसैले बुझेनन् । सुत्केरीलाई तल माथि गर्न गाहारो हुन्छ भनेर ठुली कान्छी माइतीमा पनि भुईँ तलामा आगो बाल्ने अगेना ( चुल्हो) भन्दा अलि भित्रको कोठामा एक्लै सुत्थिन् उनलाई राती साथी दिन आमा अगेनाको छेउमा सुत्नु हुन्थ्यो । ठुली कान्छीको अवस्था देखेर माइतीले पनि केही नराम्रो सोच्न थाले ।
सुत्केरी हुँदा राम्रो स्याहार सुसार भएन भन्ने कुरा किन कसैले बुझ्न सकेनन् । उनीसँग सुख दुःख गरेर कसैले पनि सोधनी गरेन । उनको कुराको कहिले पो सुनुवाइ भएको थियो र न कसैले बुझेको थियो । सबैले ठुली कान्छीलाई सधैँ ओझेलमा पार्थे र आफ्नो दुनो मात्र सोझ्याउँथे । घरमा त घरमा, माइती गए पनि उनी फेरि राजनीति गर्नेहरूकै खेल चक्रमा परिन् ।
हाम्रो समाजमा धेरैजसो व्यक्तिहरूले अरूलाई नराम्रो गराएर आफ्नो प्रभाव पार्ने र आफू राम्रो बन्ने प्रवृत्तिका पात्रहरू छन् । त्यसो त ठुलोले सानोलाई दबाउने चलन छ भन्दा पनि फरक पर्दैन । राजनीति जुन ठाउँमा पनि हुँदो रहेछ । घर समाज राज्य साथीभाइ सबै ठाउँमा । तर किन हो राजनीति गर्न नजान्नेहरूले नै हाम्रो समाजमा दुःख पाउने र घरेलु हिंसामा पर्ने गरेको तथ्य छ । ठुली कान्छीलाई कहिले माइती जाउँला र सुखसँग बसौँला भन्ने लागेको थियो । त्यसो त उनलाई जति दुःख परे पनि माइती गएर दुःख देखाएर बाबु आमासँग रोएर कहिले पनि उनले कुनै चिज माग्ने गरिनन् ।
ठुली कान्छीको मनमा पाप थिएन । साँचो कुरा जे छ त्यही भन्थिन् । सहयोगी भए पनि घुमाई फिराई कुरा गरेर अरूलाई आफ्नो काबूमा राख्ने कला उनीमा थिएन । उनले दुई थोपा आँसु झारेर न कसैलाई भावनात्मक रूपमा ब्ल्याक मेल गरिन् न त स्वार्थ पूरा गरिन् । उनलाई यस्तो नक्कली कुरा गर्न कहिल्यै आएन । राजनीति गर्नेले यिनै षड्यन्त्र अपनाएर अरूले उनलाई सधैँ ओझेलमा पार्ने गर्दथे तर ऊ अनभिज्ञ थिइन् यस मामलामा । उसै त उनको कुरालाई उनका माईतीमा पनि आमा बुवा दिदी बहिनीहरूले उनको मनोभावना कहिल्यै पनि बुझ्न सकेनन् । उनको कुरा उनको दुःखको कसैले पनि सुनुवाइ गर्दैनथ्यो । सानो हुँदाको धेरै कुराको उनलाई सम्झना छ । कुनै कुरामा दिदी र बहिनीसँग एउटै इच्छा वा उनको माग भयो भने जहिले पनि आमा बाबुको मत उनका दिदी र बहिनीको पक्षमा हुन्थ्यो । अनि उनी सधैँ हारेकै अवस्था हुन्थिन् । पछि ठुलो हुँदै गइन् र विवाह पछि पनि यही अवस्था नै कायम रह्यो ।
माइतीबाट एक महिना पछि फर्केर आएपछि पनि ठुली कान्छीले घरमा ठुलो सङ्घर्ष गर्नु पर्यो । धेरै दुःख कष्ट भोग्नु पर्यो कहिलेकाँही त उनी सोच्न बाध्य हुन्थिन् कि यदि मलाई मेरा बुवाले आफन्तले मागेको बेला दिएको भए, धन सम्पत्तिवाला थिए पढाई दिन्थे र पछि बिहे गरिदिन्थे । बिहे गरिदिने घर पनि पक्कै धनवाला नै हुन्थे होला र यो दुःख त भोग्नु पर्ने थिएन । कहिले सोच्ने गर्थिन् मैले घरमा धेरै अन्याय अत्याचार हुँदा पनि सहेर बसेँ, प्रतिकार गर्न सकिनँ, म सहन बाध्य भएँ । किनभने त्यहाँको समाज र वातावरण त्यस्तै थियो, मेरो कुरा कसले सुन्थ्यो र समस्या कसले बुझ्थ्यो र ? कहिले सोच्थिन् यदि मेरो घरमा अभिभावकको जिम्मेवारी लिने भूमिका निर्वाह गर्ने सासू भएको भए मैले शायद यो दुःख भोग्नु पर्ने थिएन कि । घरकी आमा नभए घर व्यवहार मिलाएर राख्न त बाबुले पनि सक्थे नि । सही र गलत भन्ने कुरा त परिवारका बुढा पाकाले नै छुट्टाउने हो नि । तर जेठी बुहारीले गरेका गल्ती नदेखे जस्तो गर्थे, किनकि सबै जना उनीसँग बोल्न सक्दैनथे ।
एक्काइसौँ शताब्दीमा आइपुग्दा पनि हाम्रो समाजमा महिलामाथि घरेलु हिंसा जल्दो बल्दो रूपमा देखा परेको छ । घरभित्रै एउटी महिलाबाट अर्की महिलामाथि अन्याय, अत्याचार र शोषण हुने गर्दछ । जसले आफ्ना घर परिवारका ठुला सदस्यहरूलाई आफ्नो काबूमा राख्नको लागि आफ्नो प्रभावमा पार्दछन् र चलखेल गर्ने गर्दछन् । त्यस्तो व्यक्तिले आफ्नै घरका सोझा सदस्यहरू माथि आफ्नो हैकम चलाउने गर्दछन् । त्यति मात्र कहाँ हो र ? अरूलाई नराम्रो देखाएर आफू राम्रो देखिन हरेक हत्कण्डा अपनाउने र अरूलाई दुःख दिने पनि गर्दछन् ।
यस्तो सामन्ती संस्कारमा हुर्केका, अरूलाई शोषण उत्पीडन दिने प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि आफूले जस्तोसुकै शोषण उत्पीडन जीवनमा भोगे पनि अरू महिलाहरूले यस्तो पीडा भोग्न नपरोस् भन्ने सोच ठुली कान्छीमा जाग्यो । उनले आफ्नै जीवनबाट सिकेको पाठ र कटु अनुभवलाई सँगालेर भविष्यमा यस्ता कुसंस्कार र प्रवृत्ति विरुद्ध सामाजिक जागरण जगाउने, समाजमा पिछडिएका, विपन्न वर्गका सीमान्तकृत महिलाहरूलाई मुक्त गराउने अभियानमा लाग्ने अठोट गरिन् ।
उनी महिलाहरूलाई पुरुषको र टाठा बाठा महिलाहरूबाट मुक्ति दिलाएर आर्थिक रूपमा पनि स्वावलम्बी बनाउने, सचेतना फैलाउने जस्ता मानव सेवा र समाज सेवाको माध्यमबाट सबल बनाउने अभियानमा लागिन् । उनले यो अभियान आफ्नो घरबाट सुरु गरिन् । ठुलो अभाव र दुःख सुख झेलेर भए पनि आफ्ना छोराछोरीलाई गाउँबाट सहरमा ल्याएर उचित शिक्षा दीक्षा दिइन् । अहिले तिनै ठुली कान्छी समुदायमा विपन्न र पिछडिएका महिलाहरूको लागि प्रेरणाकी प्रतिमूर्तिका रूपमा समाजमा स्थापित भएकी छिन् । त्यसैले जीवनमा दुःख पर्दा आत्तिने र सुख पाउँदा मात्तिनु हुँदैन भन्ने शिक्षा ठुली कान्छीले जीवनमा भोगेका भोगाइबाट लिन सकिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।